लघुकथा समाजको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

१ जनवरी, २०२१, काठमाण्डौं
नयाँ वर्षका दिन लघुकथा समाज नेपालको आयोजनामा भर्चुअलरुपमा अन्तर्राष्ट्रिय लघुकथा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न देशका २२ जना नेपाली लघुकथाकारहरुले लघुकथा वाचन गरेका थिए ।
उक्त गोष्ठीमा डेनमार्कबाट प्रभात किरण, स्विजरलेण्डबाट लक्ष्मण देवकोटा, अमेरिकाबाट हिरण्य भोजपुरे, आविष्कार भारती, विश्वराज अधिकारी, कृष्ण कुसुम, आचार्य प्रभा, सीता अर्याल, खेमराज पोखरेल, क्यानडाबाट सुरेन उप्रेती, बेलायतबाट कृष्ण बजगाई, धर्म सापकोटा राजु, स्पेनबाट शारदा पौडेल, मलेशियाबाट राजु क्षेत्री अपुरो, भारतबाट ईगम खालिङ, देवी प्रसाद थापा, नेपालबाट सरुभक्त, छविरमण शिलवाल, सुमन शौरभ, सिन्धु गौतम, शुष्मा मानन्धर र डा. पुष्करराज भट्टले आआफ्ना लघुकथा वाचन गरेका थिए ।
मन्तव्यको क्रममा साहित्यकार विश्वराज अधिकारीले यस्तो कार्यक्रमले गर्दा विदेशमा रहेका हामी मूलधारको साहित्यमा जोडिन सहयोग पुग्ने विचार राखे । प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती सरुभक्तले यस्ता कार्यक्रमले लघुकथाको नयाँ इतिहास बनाउने कुरा बताए । कार्यक्रमका सभापती तथा नेपाल लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अहिले नेपाली भाषामा उच्चस्तरको लघुकथा लेखिन थालेको बताउँदै यस्ता गोष्ठीलाई निरन्तरता दिने बताए ।
लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईंले संयोजन गरेको उक्त कार्यक्रममा समाजका सचिव तुलसीहरि कोइरालाले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा प्रविधि संयोजन छविरमण शिलवाल र आविष्कार भारतीले गरेका थिए ।

Friday, January 1, 2021