यही मंसीर १३, २०७७ मा लघुकथा समाज, नेपालको आयोजनमा नेपाल–भारत लघुकथा सम्मेलन सम्पन्न भयो । प्रविधिका माध्यमबाट आयोजना गरिएको यस सम्मेलनको अध्यक्षता लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए भने कार्यक्रम सञ्चालन लघुकथा समाजका सचिव तुलसीहरि कोइरालाले गरेका थिए । कार्यक्रममा नेपाल प्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि एवम् मनुमुक्त मेमोरियल ट्रष्टका प्रमुख ट्रष्टी विशिष्ट अतिथि थिए ।
यस सम्मेलनको प्रारम्भमा समाारोहका अध्यक्ष एवम् लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा समाज नेपालको स्थापनाको बाह्र बर्षमा लघुकथाका क्षेत्रमा भएगरेका कार्य प्रस्तुत गरे । उनले लघुकथा गोष्ठी, प्रशिक्षण, अध्ययन–अनुसन्धान, पुरस्कार वितरणका क्षेत्रमा गरिएका कार्यको बारेमा आफ्ना दृष्टिकोण राखेका थिए । नेपाल–भारत लघुकथा सम्मेलनका संयोजक डा. पुष्करराज भट्टले नेपाल भारत लघुकथाका क्षेत्रमा गरिएका कार्यको चर्चा गरे । उनले सम्मेलनमा सहभागी लघुकथाकारहरूको संक्षिप्त परिचय प्रस्तुत गरे । भारतका तर्फबाट सहभागी लघुकथाकार डा. सत्यवीर मानवले भारतममा लघुकथाको विकासका लागि भएका कार्यको चर्चा गरे र आफ्ना लघुकथा पनि वाचन गरे । कार्यक्रमका विशिष्ट अतिथि डा. रामनिवास मानवले नेपाल–भारत लघुकथाको क्षेत्रमा भएका कार्यको चर्चाका साथै मनुमुक्त मानव मेमोरियल ट्रष्टद्धारा अन्तरराष्टिय स्तरमेँ गरिएका कार्यको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल–भारत सम्बन्ध भावनात्मक सम्बन्ध भएको विचार व्यक्त गरे । उनले नेपाल प्रज्ञा प्रतिष्ठान एवम् भारतको साहित्य एकेडेमीको सहकार्यमा भएका अनेक कार्यको समेत चर्चा गरे । उप्रेतीले लघुकथा समाज, नेपालद्वारा आयोजित यस कार्यक्रमले नेपाल भारतका बिचमा साहित्यिक–सांस्कृतिक सम्बन्ध अरु प्रगाढ हुने विश्वास व्यक्त गरे ।
लघुकथा सम्मेलनमा भारतका तर्फबाट डा. रामनिवास मानव (विशिष्ट अतिथि), डा.सत्यवीर मानव (समीक्षक), डा.हुँदराज बलवाणी, डा. सन्ध्या तिवारी, राकेश भ्रमर, सागर सूद सञ्जय, प्रबोधकुमार गोविल, डा. योगेन्द्रनाथ शुक्ल, भगवतीप्रसाद द्विवदी, डा. जीतेन्द्र भारद्वाज सहभागी हुनुहुन्थ्यो । नेपालके तर्फबाट लघुकथा वाचन गर्ने लघुकथाकारमा प्रा.डा. कपिल लामिछाने, सरुभक्त, अशेष मल्ल, नवराज रिजाल, हरिप्रसाद भण्डारी, ध्रुव मधिकर्मी, सुमन सौरभ, कृष्ण बजगाईँ, सुषमा मानन्धर एवम् सिन्धु गौतम हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल भारतका धेरै लघुकथाकारले भाग लिएका थिए ।
समाचार श्रोत: डा. पुष्करराज भट्ट
संयोजक, प्रथम नेपाल–भारत लघुकथा सम्मेलन