अमेरिका नम्रता गुरागाईंको एकल कविता बाचन सम्पन्न

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तराष्ट्र्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा हुने मासिक कविता गोष्ठी यसपाली ऋषि बस्ताकोटी तथा कल्पना बस्ताकोटीका निवासमा सम्पन्न भयो । सधैं गरिने कार्यक्रम भन्दा अलि भिन्न ढंगले गर्ने निर्णय अनुसार नम्रता गुरागाईंको एकल कविता वाचन साहित्यकार कुन्ता शर्मा आथित्यमा सम्पन्न गरियो । साहित्यकार कुन्ता शर्मालाइ स्वागत गर्दै शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिखर दुलालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन ऋषि बस्ताकोटीले गर्नुभएको थियो ।
कार्यक्रमको शुरुवातमा कुन्ता शर्माले “पोथी बास्नु हुदैन” भन्ने कविता पाठ गर्नुभएको थियो ।त्यही कविताले चर्चाको शिखरमा पुग्नुभएको कुन्ता शर्मा लामो समयदखि कहिले प्रजातन्त्रको वकालत गर्न बासेको पाइन्छ, कहिले महिलाहरुलाइ जागरुक बनाउन बासेको पाइन्छ त कहिले साना नानीहरुलाइ सुरक्षा दिनका लागि बासेको पाइन्छ । आफूले भोगेको समाज, देखेको राजनिति र त्यसले जन्माएको नैराश्यतालाइ बढो सुक्ष्म ढंगले प्रस्तुत गर्नु साहित्यकार कुन्ता शर्माको आफनै मौलिकता हो । सुन्दा सिधा लाग्ने तर बांगो अर्थ बोकेको वहांको कविताले धेरै महिलालाइ आफनो अधिकार खोज्न प्ररित गर्यो र अझै गरिरहेकैछ । उमेरका उत्तरार्दमापनि सबैका अधिकारका लागि कुन्ता शर्मा त्यसरी नै बासिरहेजस्तो लाग्छ जसरी ३० अगाडि समाज परिवर्तनका लागि बास्नुभएको थियो । वहांको त्यो कविता पटक पटक सुन्दापनि सधैं उस्तै लाग्नका पछाडी आम नारीहरुका कथा ब्यथाहरु जोडिएका छन ।
साहित्यकार कुन्ता शर्माको कवितामा तथा कविताजस्तै मन्तब्यपछि कवि तथा गजलकार ऋषि बस्ताकोटीले नम्रताका कवितामाथि आफै लगायत बिभिन्न साहित्यकारहरु तथा घरपरिवारले बिभिन्न कोणबाट केलाएका टिपोटलाइ प्रस्तुत गर्नुहुंदा स्वयं नम्रता नै छक्क परेकी थिइन । टिप्पण गर्ने साहित्यकारहरुमा
डा. रजनी ढकाल, सहप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिवि- नम्रताका कवितामा बाल्यकालीन स्निग्ध अनुभूतिदेखि आजको जीवनका सङ्घर्षशील पाटो र मानवताको सङ्कटका अनेक पक्ष सरल भाषिक कलामा उजागर भएका छन् । नम्रताको लेखन राष्ट्रियदेखि अन्तर्राष्ट्रिय घटना र विषयलाई मानवतावादी तरल संवेदनामा घोल्नु र तिनका विरुद्ध खबरदारी गर्नु रहेको छ । गहन कुरालाई पनि सरल भाषामा बुनिदिनु र विषयलाई पाठकका मनमा सरल सम्प्रेषण गर्न सक्नु नम्रताको काव्य लेखनको मौलिक विशेषता हो । नारी संवेदनाका सूक्ष्म तहलाई उकेरा लगाउने उनका कविताले मूल रूपमा मानवताको संवेदनालाई सरल र निर्भिक रूपमा पछ्याइरहेका हुन्छन् । नम्रतालाई अझ सूक्ष्म विम्बमय बुनोटले भरिएका विचारोत्तेजक कवितालेखनको निरन्तरताको शुभकामना !
हरिराज भट्टराइ- प्राञ्जल शैलीमा ध्वनि र व्यन्जनाको सहज चमत्कार देखिनु नम्रताको काव्यको पहिलो पहिचान हो । कोमलता र माधुर्यभित्र नम्रता मानवता, जीवनप्रेम, र सद्भाव संचार गरिरहेकी हुन्छिन ।सामाजिक, राजनीतिक ,चेतनाका झिल्काले विगत झल्काएर अबको यात्रा सुखद हुनुपर्छ भन्ने संकेत उनको रचनाले गर्छन । माटोको माया, जातीय चेतना,र सांस्कृतिक अनुरागबाट उनको काव्य सिर्जना चुलिन्छ ।
भारती गौतम- जुन र गुलाब अनि वसन्तको कविता मात्र हैन कवियत्री नम्रता गुरागाई जीवन हिड्ने वाटाका उकाला ,ओराला अनि भन्ज्याङहरुको कविता लेख्छिन्। सवैले भोगेको अनुभुत गरेको तर व्यक्त गर्न नसकेका भावनालाई जुन र गुलाव जस्तै सुन्दर ढंगले प्रस्तुत गर्छिन्।
अनिल पौडेल- नम्रता मूलत:यथार्थवादी कवि हुन् तर उनको आवाज दीनहीनको पक्षमा केद्रीत छ। सामाजिक विकृति र विसंगतिसँग लेखनकर्मबाट कुस्तीखेल्नु उनको कविताकर्मको अभिष्ट हो ।
खुमबहादर खडका, उपप्राध्यापक नेपाली शिक्षा, मध्यपश्चिमान्चल विश्वबिद्यालय सुर्खेत- नेपाली डायास्पोरा साहित्यमा कलम चलाउने विशिष्ट प्रतिभा हुन । विशेषगरी कविता विधामा सफलता हासिल गरेकी नम्रता स्वच्छन्दतावादी भाबधाराकी कवि हुन । यिनका कवितामा दुइ स्थानिक चित्रण, डायास्पोरिक जीव भोगाइ र गृहविरहको कलात्मक उदबोधन एबं राष्ट्र्रप्रेमको भावना पाइन्छ । यिनको जहां मेरो आफनो मन शीर्षकको कविता मध्यपश्चिमान्चल विश्वबिद्यालय सुर्खेतमा बी एड तहमा नेपाली डायास्पोरा साहित्य अन्तगर्त पठनपाठन २०६९ सालदेखि हुदै आएको छ ।
सैलेन्द्र शाकार- नम्रताका कवितासंग्रह “मन भए तिमीसंग” पढदै गर्दा “मलाइ नपढेर मात्र हो” नामक कतिाका यी दुइ हरप “तिमीले मलाइ नपढेर मात्र हो, म किताब भएर टेवलमा बसेको धेरै भयो” ले मलाइ अत्यन्त आकर्षित गर्यो । यो आकर्षण त्यस्तै थियो जसरी पहिलोपल्ट कवि वाशु शशीको “टेवलमाथि राखिछोडेको हात कति बुढो देखिएको” अथवा “पुग्छु भनेर गएको ठाउं पाइलैपिच्छे पर सर्छ”, ले शुरुमै अघोर आकर्षित पैदा गरेको थियो नेपाली कविता बिधामा । समष्टिमा भन्नुपर्दा नम्रताका कविताहरुमा आग्रह, चुनौती र संघर्षका जीवन स्वरुप रहेको मैले पाएं । जीवन र मृत्यूमध्ये जीवनलाइ रोजेकाले उनका कविताहरुमा बिविध रंगहरुको सुन्दर र अर्थपूर्णउपस्थिति पाइन्छ ।
डा. गोविन्द भट्टराई - नम्रताका अभिव्यन्जना कलामा निखार छ, परिष्कार छ। विचार र भावना मिसिएका छुने कविता छन् ।उनका कवितामा राष्ट्रप्रेम छ, डायास्पोरिक जीवनको अशुरक्षा वॊध र अफ्ट्यारो छ , कतै कुनै घरमा वा हृदयले छुँदा उठेको मन छ ।कही साधारण मूड का पनि छन्, केही असाधारण मूड का पनि छन् ।
साहित्यमा नलागेका तर नम्रताका हरेक कविताहरुलाइ नजिकबाट सुनेका श्रीमान शरद आचार्य तथा छोराछोरी सम्पदा र सगुन आचार्यले समेत अझै लेख्ने हौसला दिएका थिए ।
शरद आचार्यको आंखामा नम्रता- “म गएको २२ वर्षदेखि नम्रतालाई चिन्छु । उनको बानी सुक्ष्म कुरालाइपनि गहिरिएर हेर्ने छ । उनका सृजनाहरुले समाजका बिविध पाटालाइ सुन्दर ढंगले प्रस्तुत गर्छन । धेरैजसो सिधै भनेका कुराले मर्मसम्म पुरयाएका हुन्छन । उनका कविताहरु पढदा साह्रै रमाइलो लाग्छ । उनको यो लेखाइलाइ निन्तरता दिइरहुन मेरो शभकामना !”
ऋषि बस्ताकोटी- पहिलो चरणमा कविताको खोजी गर्दै नम्रता देशको पुर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा डुलेको देखिन्छ भने पछिल्लो चरणमा कविताले नम्रतालाई खोजेको देखिन्छ । नम्रताका कविता पढ्न सजिला छन्, बुझ्न त्यति अफ्ठ्यारा छैनन् तर नम्रताकै जस्ता कविता लेख्न भने उति सजिलो छैन ।

शिशिर खनालबाट बाचित नम्रताको कविता “म” बाट शुरु भएको कार्यक्रममा नम्रताले आफनो कविता लेखनका तीन दशकलाइ प्रस्तुत गरेकी थिइन । पहिलो दशकमा बिद्यार्थी नम्रताले अन्याय र असामानता विरुद्द बालेको आगो “आस्थाको दियो”, “बेदना” कवितामा प्रस्तुत गरिन जुन कविताहरु भोगेरभन्दा धेरै देखेर र सुनेर लेखेकी थिइन । दोस््रो दशकमा देश छोडेर परदेश आएपछि नम्रताले देखेर, सुनेरभन्दा धेरै भोगेर कविता लेखिन । “तिमीसंग मन भए”, “नडामेका मनहरु”, “महिला”, “बा...जागिर भैहाल्थ्यो कि”, “अनलाइन मायां” जस्ता कवितामा उनि जात, संस्कृति, रहनसहन, अबस्था, ब्यबस्थाले पारेका प्रभाबलाइ उठाउंदा उनि कहिले देशभित्र पुग्छीन भने कहिले देशको सिमना नाघेर मानविय हितका लागि हातमा हात मिलाउंछीन । तेस्रो दशकमा नम्रता मातृभमीलाइपनि जोडदै समय र ठाउंमा देखेका र भोगेका रहनसहनलाइ कवितामा उन्दै उन्दै गएकी छन तर मातृभमीमा भएको कुनैपनि परिवर्तनमा तुरुन्तै उनि चर्को आवाज फाल्न तथा मानविय हात अघि बढाउन पछि पर्दिनन ।
एकल कविता वाचन कहिले एकल त कहिले दोकल हुंदै जांदा उपस्थित दर्शकहरुलाइपनि फरक फरक स्वादमा कविताहरु सुन्ने मौका मिल्यो। कहिले कुन्ता शर्माका चर्चित कविता “पोथी वास्न हुदैन” , “धातु”, “कसरी सम्झाउ नानीहरुलाइ”ले कविता वाचनको रोनक थप्यो भने कहिले नम्रताको कविता “नडामेका मनहरु”ले कविताको रोकन थप्यो । कवि विक्रम गौतम र निर्मला राजभण्डारीले नम्रताका “माग” र “बाटो” कवितालाइ वाचन गरेको सुन्दा अर्कै आनन्द आएको अनूभुती कवि नम्रताले गरेकि थिइन ।

Thursday, December 19, 2019