कृष्ण बजगाईंको दाइबुचु बेलायतमा सार्वजनिक

२७ जुलाई, लन्डन
बेलायत निवासी साहित्यकार बजगाईंले दाइबुच नियात्रासङ्ग्रह ल्याएका छन् । अंग्रेजी साहित्यका स्वच्छंदतावादी कवि विलियम वर्डस्वर्थ म्युजियमको रुपमा संचालित उनको निवास ग्रासमेर, बेलायतमा लेखक बजगाईंले दाइबुचु सार्वजनिक गरे । उनको जापान यात्राका अनुभूतिहरु समाविष्ट दाइबुचु शिखा बुक्स काठमाण्डौले प्रकाशन गरेको हो ।
बौद्धिक र अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईले यस कृतिमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । एघार वटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रासङ्ग्रह हो । यस भन्दा अघि उनको युरेशियाको स्पर्श र भाया साक्रा नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
बेल्जियम र बेलायतमा लामो समय बिताएका बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा सक्रिय छन् । समकालिन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाई विगत तेह्र वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।

Saturday, July 27, 2019