सीमाको परी सार्वजनिक

२१ अप्रिल, शनिबार, काठमाडौँ
झण्डै दुई दशक सहकारी आन्दोलनमा बिताएकी सीमा पुरीको पहिलो उपन्यास ‘परी’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य दोर्जे लामा, साहित्यकार मधुसूदन पाण्डे, समिक्षक रमेश शेभेच्छु, उपन्यासकार सीमा पुरी लगायतले परीको संयुक्त विमोचन गरे । ।
पुस्तकको समीक्षा गर्दै समालोचक रमेश शुभेच्छुले परी एक सचेत नारी उपन्यास भएको बताउदै सौतेनी आमाप्रति हेरिने दृष्टिकोण, छोरीप्रति हेरिने सामाजिक दृष्टिकोणलाई समेत उपन्यासले सकारात्मक दृष्टिकोणबाट उठाएको फरक उपन्यास भएको बताए । सामाजिक चेनताको दृष्टिले परिस्थिति कमजोर हुदाँ पनि सकारात्मक सोचका साथ कथावस्तु अघि बढेको उनको भनाइ छ। ‘मनोविज्ञान, माक्र्सवाद, विसंगतिवाद र अस्तित्ववादमा आधारित रहेर कथावस्तु अघि बढेको छ’, उनले भने । नारी चेतना जगाउने उपन्यास पढ्दा चलचित्र हेरेझैं लाग्ने उनले सुनाए ।
साहित्यकार मधुसूदन पाण्डेले आमा र छोरीको कथामार्फत सामाजिक चेतना प्रदान गरिएको बताए । त्यसैगरि उनले परी उपन्यासले आम नारीहरुमा आशा र उत्साह जगाउने धारणा राखे ।
लेखक पुरीले जीवन र जगतलाई आत्मसात गर्दै उपन्यास लेखिएको बताइन्। ‘साहित्यिक यात्रामा अब रचनात्मक ढंगले अघि बढ्ने छु,’ उनले भनिन्। सूर्य बी.सी.ले सम्पादन गरेको उक्त पुस्तक बीएन पुस्तक संसारले बजारमा ल्याएको हो । १२८ पृष्ठको पुस्तक मूल्य २२५ रुपियाँ रहेकोछ ।

Sunday, April 21, 2019