डा पौडेलको ‘लोकवार्ता सिद्वान्त र नेपाली सन्दर्भ’ बजारमा

काठमाडौँ, १४ माघ ।
प्राडा. द्रोणकुमार उपाध्याय पौडेलद्धारा लिखित ‘लोकवार्ता सिद्वान्त र नेपाली सन्दर्भ’ बजारमा आएको छ ।

नेपाली भाषा र साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिभएका व्यक्तिको लोकपरम्परा र लोकसंस्कृतिलाई समावेश गरेर लेखिएको उक्त पुस्तक बजारमा ल्याएको हो ।

लेखक प्राडा पौडेलले पुस्तकमा पहिलेदेखि लोकमा चल्दै आएको परम्परा र संस्कृतिलाई व्याख्या गर्नुभएको छ । भौतिक संस्कृतिअन्र्तगत परम्परागत नेपाली मकुन्डो, नेपाली संस्कृति र रुख, नेपाली परम्परागत वेशभूषा, परम्परागत गहना, परम्परागत लोकवाद्य, पातबाट बनाइने परम्परागत सामान, खर, घास, परालबाट बनेका परम्परागत सामानको बारेमा समावेश गरिएको छ ।

रीतिरिवाज र प्रथाअन्तर्गत लोक चिकित्सा, जनरीति, झुमाप्रथा, धामी, बोक्सी, पुराना नृत्य, पुराना पर्व, लोकदेवता, झापाका राजवंशीमा परम्परागत औषधोपचारको प्रयोग समेटिएको छ । यसैगरी पुस्तकले संस्कृति र धार्मिक अनुष्ठानको बारेमा समेत प्रष्ट पारेको छ । धर्म र संस्कृति, समाज र संस्कृति, कुमारी पुजा, स्वस्थानी पुजा, देवाली, मेला, नेपाली समाज र सांस्कृतिक रुपान्तरणलाई चर्चा गरेको छ ।

साहित्यमा विशेष रुची राख्ने लेखक डा पौडेलले लोकसाहित्यलाई जोडदार ढंगले उठाउनुभएको छ । लोकगाथा, लोकनाटक, लोकगीत, लोकछन्द, लोक संगीत र शास्त्रीय संगीत, समाज रुपान्तरणमा लोकसाहित्यको भूमिकालाई पुस्तकले दर्शाएको छ । यस्तै पुस्तकले सांस्कृतिक परिवर्तन, नेपाली अक्षर चिनाउने मौलिक पद्दती, प्राचीन लोकवाङ्मयलाई समेत समेटेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लोकवार्ता अध्ययनका क्षेत्रमा कृतिहरुको अभाव भएको बेलामा प्राडा पौडेलको यो कृति उपयोगी हुने बताउनुहुन्छ । “इतिहास पढ्ने विद्यार्थीलाई यो कृति महत्वपूर्ण सहयोग पुग्नेछ,”–उहाँ भन्नुहुन्छ ।

Tuesday, January 29, 2019