कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौं, २९ जुन, २०१८
कथाकार सविता श्रेष्ठ ‘बेहोसी’ को नवीनतम कृति ‘सेतो स्कार्फ’ (कथासङ्ग्रह) आज लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कवि/संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरेका हुन् । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर कृति लोकार्पण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि दिवसले नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरुका त्यो कुरा रहेको बताए ।
सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आख्यानमा सविताले चालेका पाइलाहरुले साहित्य आकाशको उचाई मापन गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

लोकार्पण कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उनका कृतिहरुलाई पाठकमाझ ल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

विशिष्ट अतिथि वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताइन् । नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको उक्त कार्यक्रम नेपाल स्रष्टा समाजले लोकार्पण कार्यक्रमको आयोजना गरेको थियाे ।

कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग(कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् ।

Friday, June 29, 2018