“मन भए तिमीसग” लाई मसंगको मनले नियाल्दा

- भारती गौतम

“मन भए तिमीसँग” भन्ने बाक्यांश कुनै प्रेमिल अभिब्यक्तिको टुकुरो नभै मेरो हातमा भर्खरै परेको एउटा कविता संग्रहको नाम हो। संग्रहमा उपरोक्त शीर्षक भएको समेत गरेर तीन दर्जनभन्दा बढि कविताहरु छन्। यसकी जननी नेपाली कविताकाशका अशंख्य ताराहरु बीचका चम्किला ताराहरु मध्येको एउटा तारा हुन पुगेकी छन र त्यो तारालाइ हामी नम्रता गुरागाईं भनेर चिन्ने गर्छौ।

प्रसिद्द पश्चिमेली कवि रवर्ट फ्रस्टका अनुसार जब भावनाले आफनो विचार पाउछ र त्यो विचारले शब्द पाएपछि त्यो कविता हुन्छ।
गीत सबै प्रकारका बाजाभित्र हुन्छ तर सही संगीतकारको कलाको जादुको छडीले नछोएसम्म ती बाजाहरु चुल्हामा बज्ने भाडाजस्तै मात्र हुन पुगेजस्तै भावनालाई पनि भावकले आफना मोहिनी शब्दका धागामा नउनेसम्म जिवन्त हुन सक्दैनन। भावनाको बिबिधताले नै अभिब्यक्ति कहिले मन पगालेर आंखाबाट पोखिन्छ, कहिले मन फलाएर ओठबाट छछल्किन्छ। जसरी ब्यक्तिए पनि, जसबाट सिर्जिएपनि कवितामा परिभाषित भावनाको अनुहार सधैं शुन्दर हुन्छ पहरामा फुलेको सुनाखरी होस या गमलामा फक्रिएको गोदावरी होस।
शायद कविता अभिब्यक्तिको सबैभन्दा मिठो गीत होला, जसलाइ गाउन पनि सजिलै सकिने र सुन्न पनि मन लागी रहने। स्रष्टाले सिर्जिएको सिर्जनाभरी छताछुल्ल पोखिएको गीतलाइ एउटा कविले कहिले हावाको हल्लाबाट, कहिले पानीको प्रवाहबाट, कहिले आकाशको अग्लाइबाट, कहिले फराकिलो फाँटबाट त कहिले सांघुरो सांधवाट आफनो आफनो सुरमा समेटेको हुन्छ।
सृष्टिको शुरुवात भने पनि मानव सभ्यताको आरम्भ भनेपनि काव्य अथवा कविता नै सिर्जनाको मुल मान्न सकिन्छ। बैदिक काल भनिने बेलामा रचित बेदहरुदेखि लिएर महाभारत, रामायण सबैको नै रचनाको प्रारम्भ काब्य या कविताबाटै भएको मान्न सकिन्छ। पहिले पहिलेका ग्रन्थहरुको भाषा संस्कृत हुने हुंदा ती गन्थहरु कुनै सिमित वर्गको लागि मात्र उपयोगी थिए तर पछि भानुभक्तिय युगदेखि यस्ता मिठा र गहन काव्यहरुको रचनाको माध्याम नेपाली भाषा हुन पुग्यो। भानुभक्तपछि मोतिराम भट्ट, राजिबलोचन जोशी, आदिले अनि निकै पछि लेखनाथ पौडयालसम्मले पद्य र छन्दोबद्द कविताको सिर्जना गरे भने महाकवि लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण सम र गोपाल प्रसाद रिमाल आदि कविहरुले गद्य कवितालाइ लोकप्रिय बनाए।
मेरो हातमा परेको कविता संग्रह एक नारी स्रष्टाको भएको हुदा नारी सिर्जनाको पृष्ठभूमी पनि असान्दर्भिक नहोला, त्यसमा पनि भौगोलिक परिधि नाघेपनि मन र मुटुमा नेपाललाइ आफैसंग लिएर देशको दुखाईसंग दुख्ने र हसाईसंग हास्ने स्रष्टाको अर्को छुट्टै महत्व हुन पुग्छ।
नेपालभित्र बसेर कविता लेखेर समाजमा छाप छोडने नारीहरु ललित त्रिपुरा सुन्दरी, प्रेम राजेश्वरी र योगमायादेखि पारिजात, बानिरा गिरी, मंजु काचुली, शारदा शर्मासम्म र नेपालको सिमानापारि भारत र भारतिय उपमहाद्दिपमा रहेर रचना गर्ने चन्द्रकला नेवार, देवकुमारी प्रधान, बिन्ध्या सुब्बा सम्मका अनगिन्ती नारी कविहरुको योगदान त छदै थियो। अहिलेको विद्युतिय युगमा संसार एउटै सिमामा बाधिन लागेको समयमा बाहिरको नेपालको सिमाना पनि बृहत हुन पुगेको छ। नेपाल बाहिर नेपाल बोकेर आउने रचनाकारहरुको लामो पंक्तीमा प्रस्तुत कविता संग्रहकी स्रष्टाको नाम निकै गाढा मसीले कोरिन पुगेको छ।
“परिवेश र म” नामक कविता संग्रहबाट नेपाली कविताजगतको नारी हस्ताक्ष्ँरमा नाम कमाइसकेकी नम्रता गुरागाईंको यो संग्रह पहिलो संग्रहबाट विषयबस्तुले, परिस्थितिले र परिधिले नै बेग्लै छ। एउटै आमा बाबुका छोराछोरीको ब्यक्तित्वमा देखिने असामाज्यस्ता जस्तै यो बिबिधता अनौठो चाहि देखिदैन। परिवेश र म मा उनको युवा जोश जांगर र परिवेशको कुण्ठाबाट आएको बैचारिक जलन छ र त्यसप्रति बिद्रोह छ भने प्रस्तुत संग्रहमा जीवनको यथार्थसंगको आत्मसात छ , आफ्नो नियन्त्रणको सिमा पारीसंगको मौन संझौता छ। जे भएपनि दुवै संग्रहमा नम्रता एउटी खारिएकी कवि छन्।
घर रोएको बेला दुःख बाडेकी छु, घर हांसेको बेला सुख बाडेकी छु, आफूलाइ छोएका आरोह अबरोह नै मेरो लेखनका विषयवस्तु बनेका छन् नम्रताले आफ्नै शब्दमा गरेको परिभाषा “मन भए तिमीसंग” कविता संग्रहको वास्तविक परिभाषा हो। यसै तथ्यको अनुसरण गर्दा मात्रै पनि नम्रताका कवितालाइ तीन वेग्ला वेग्लै वर्गमा वर्गिकरण गर्न मन लाग्छ।
नम्रताका कवितालाइ वर्गिकरण गर्ने सिलसिलामा प्रकृति, प्रेम, र परिवेश वारेका कविता पर्न आउछन्। ती सबै पक्ष्ँलाइ केलाउन खोज्दा पहिलो वर्ग अर्थात प्रकृति संबन्धी कविता त्यति धेरैको संख्यामा नभएपनि गहकिला छन्, अर्थपूर्ण छन र कलात्मक छन।
डेभिडफल्सदेखि नायग्राफल्स सम्म, हिउ र म, हिउको अस्तित्व कविताहरु प्रकृतिसंग सामिप्य राख्ने
कविताहरुमा पर्छन्।

त्यहा उ उडिरहेको छ बुर्कुसी मारेर र
खसिरहेको छ जवानी सकिएको रुखहरुमा बाटो दोवाटोहरुमा
हिउ र म शिर्षकको उक्त कविताले हिउलाइ जिवन्त बनाएर प्रस्तुत गरेको छ।

त्यसैगरी हिउको अस्तित्व कवितामा यस्तै प्रयोग गरिएको देखिन्छ

उसको चम्किलो पिठ्युमाथि
वुट बजारी रहेछन् मान्छेहरु
यसमा पनि कविले हिउलाइ जिवन दिएकी छन।

त्यसैगरी डेभिडफल्सदेखि नायग्राफल्ससम्म कवितामा आफनो मुलुकको डेभिडफल्स र मुलुक बाहिरको नायग्राफल्सको समानता देखाउदै नम्रता यसो भन्छिन

न त भाषाको चिन्त छ उसलाइ न त देशको नै
न त सुरक्षाको चिन्ता छ न त सिमनाको नै।

यसरी प्रकृतिलाइ पनि आफनो अभिब्यक्तिको क्यानभाषमा जिवन्त बनाइ उतार्नमा निपुन देखिन्छिन नम्रता। हुन पनि त हो छांगाबाट झरेको झरना पोखराको डेभिडफल्समा होस कि क्यानडा र अमेरिका दुबैतिर बग्ने नायग्राफल्समा होस उनिहरुलाइ भूगोलको के सरोकार र? छांगाबाट खसेको पानीको के को देश के को परिवेश?

नम्रताका कविता मध्ये केही कविताले प्रेमलाइ अंगालेका छन्। कुनैले दुइ प्रेमीको वियोगको गाथा गाएका छन भने कुनैले मिलनको संदेश बोकेका छन । विधुवा, अनलाइन मांया, तिमी कहिले आउछौ, मांया तिम्रो र हाम्रो, मलाइ नपढेर मात्र हो हरियो चुराको गहिरो खोजाइ, सधैं सधैं, मेरो प्यारो मान्छे , आदि कविताहरु मार्फत नम्रता आफनो संवेदनशिल नारी पे्रमिल हृदयको परिचय दिन्छिन।

हामी एक अर्काका सहयोगी हात
मांया लिने र दिने जात सधैं सधैं।

मेरो जिन्दगी समर्पित गर्ने एउटा मिठो संसार चाहिन्छ (हरियो चुराको गहिरो खोजाइ)

उपरोक्त अभिब्यक्ति नम्रताको कोमल र संवेदनशिल मायालु पक्ष्ँ बोलेको छ।

“मन भए तिमीसग” कविता संग्रहमा रहेका अरु सबैजसो कविताहरु वर्गिकरणको तेस्रो र सबैभन्दा महत्वपूर्ण अंश परिवेशको परिभाषाभित्र राख्न मन लाग्छ।
आफनो मन्तब्य स्वीकार गरे अनुसार स्रष्टा नम्रताको जीवनलाइ प्रत्यक्ष र परोक्ष रुपले छोएका सबै पक्षलाइ इमान्दारितापूर्वक समेटिकी छन् आफना कविताहरुमा। आधा दशकदेखि प्रवासको बासमा परिआएका, सामाजिक, सांस्कारिक बिबिधताले भोग्नु परेका तकनिकि बाधाहरु सबैले नम्रतालाइ कविता लेख्ने प्रेरणा दिएका छन। वर्क परमिट, बा जागीर भैहाल्थ्योकि कविताहरु यसका उदाहरण हुन। आफूसग परिचित माटो, आफूले डोब बनाएको बाटो, आफूले खनजोत गरेको पाटो मात्र नभएर आफूले आफना मानेकाहरु, आफूलाइ आफनो ठान्नेहरु सबैलाइ उतै कतै छोडेर पराइ मुलुकमा पलायन थुप्रै थुप्रै नेपालीहरुले पाउने हण्डर कवियत्रि नम्रताले पनि पाएकी छिन। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान बेला बेला चरितार्थ हुन पुग्ने परिस्थितिमा कुनै न कुनै बेला हामी सबै परेजस्तै नम्रता पनि यसको अपवाद छैनन्। स्वीकार गरेपनि नगरेपनि आखिर यथार्थ त सबैलाइ उस्तै त हुन्छ नी।

“मन भए तिमीसंग” कविताका बांकी कविताहरु अर्थात दुइ तिहाइभन्दा बढि कविताहरु चाहि कवियत्रिको आन्तरिक परिवेश भित्र समेटिएका छन। उनी नेपाल बाहिर बसेर कविता कोर्छिन तर मन भित्रको नेपाल कविता बनेर वर्षेको हुन्छ। कविता पढदा लाग्छ नम्रताले नेपाल कहिल्यै छोडेकी छैनन्।

आफनै गाउ वस्तीका गीत गाएकी छु मैले। मेरा रचनाहरुमा फैलाएर मनको सिमाना सिंगो नेपाली भएर वाच्न कोशिस गरेकी छु मैले।
नम्रताको उपरोक्त साविति थुप्रै कविता भएर पुष्टिएको छ। उनि धरान र धनकुटा गर्ने भरियासंगै डोकामा तक्मा अडयाएर उभिएकी छिन कतै र भारीभित्रको सुन्तलाका दाना र त्यसको आयस्ताको हिसाब निकाल्छिन, कतै कहिले विराटनगरको एउटा सिन्को नभाची जस लिने प्रवृतिको यसरी आलोचना गर्छिन :

गाउंलाइ बोलाएर टुडिखेल भर्छ, दिनभरीको काम खोसेर आमसभा गर्छ
नेता खुशी पार्न सधैं सधैं गाउलाइ विर्सिएर पर्व गर्छ। (धरानदेखि विराटनगरसम्म)

आफनो मुलुकमा भएको राजनैतिक परिवर्तनको असर, बढदै गैरहेको आर्थिक विषमता, आफू आफू माझको झै झगडा आदिले उनी उही रहे जस्तै दुखेकि छन आफना कविताहरुको माध्यमबाट। मुलुकमा हालै आएको राजनैतिक परिवर्तनप्रती आशाबादी पनि छन् नम्रता। भौतिक उन्नतीको चरम सिमामा पुगेको र आधुनिकताको अग्रज मुलुकमा बसोबास गरीरहेकि भएपनि तीज दशैं, तिहार आफनो मुलुकले मनाउदा उनी त्यही पुगेकी हुन्छिन। बाहिर बाहिर यहा पनि ति चाड मनाउन पनि नछोडने नम्रता हृदयले आफनै गाउं पाखामा हुन्छिन।

केटाकेटी बेलुन र चंगासंगै उडिरहेका होलान्,
दिदी बहिनीहरु ढिकी जांतोमा आफना खुशीहरु छिन्किरहेका होलान (तिहारको संझना)

कोही पिंगमा मच्चिएर रमाएलो गर्छन,
कोही गीत र चुटकिला बाडेर रमाइलो गर्छन (दशैं घरभित्र र बाहिर)

वर्षैपिच्छे आउने दरखाने दिनले आमाबाट टाढा रहेपनि संझनाले
आमाकै काखमा पुरयाउदोरहेछ (तीज र जन्मदिन)

परदेशको परिवेशमा वर्षेनि आफनो मुलकमा मनाइने यस्ता यस्ता चाड पर्वहरुले सबैलाइ एकपटक आफनै मुलुक पुरयाएको हुन्छ , अनि त्यसैको संझना स्वरुप आफूसंग ल्याएको सानो नेपालको स्थापना गरी त्यस्ता चाड पर्वहरु गमलामा गुरांश उमारेजस्तै अलिकति स्मरणमा र अलिकति यथार्थमा मनाइने गरेको पनि नम्रताका कविताले उल्लेख गरेको छ।
तीन दर्जनभन्दा बढी कविता समेटिएको संग्रह “मन भए तिमीसंग” ले जीवनको सम्पूर्ण पक्षलाइ छोएको छ। प्रकृति, दर्शन प्रेम, जीवन, धर्म संस्कृति, समवेदना, आक्रोस, आवेश, आवेग मात्र नभएर देश भक्ति, मातृभक्ति, पतिभक्ति आदि सबै नै कुनै न कुनै कवितामा प्रतिविम्वित भएकै छन्। सबै नै जसो कविताले पाठकको अन्तरलाइ छोएका हुन्छन्। उचित शब्द चयन, समसामयिक विषयवस्तु, इमान्दार अभिब्यक्ति भएको हुनाले नै “मन भए तिमीसंग” संग्रह भित्रको कविता पढदा पाठकहरु आफैले नै भोगेका परिस्थितिहरुसंग आत्मसात गर्न पुग्छन्। सरल र सरस ढंगले इमान्दारी पूर्वक ब्यक्तिएका अनुभूतिहरुमा पौडी खेल्नेजति सबैले त्यहा आफैलाइ पाउन सक्छन। स्वदेशमा रहे आफनै वरीपरीका वर पिपल, ढिकी जांता, धरान धनकुटाको उकाली ओरालीमा सुन्तला, डुकु र डोकाको माझ पाठकले आफूलाइ पाउन सक्छौं भने मुलुक बाहिर भएकाहरु सबैले एकपल्ट आ आफनो घर जाने मौका पाउन सकिन्छ “मन भए तिमीसग” संग्रह भित्र डुबुल्की मार्दा।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 माघ, 2065

लेखकका अन्य रचनाहरु