सिंहदरवारको पूर्वी गेट

- टेकब कोइराला

दश बजेभित्रै कार्यालय छिरिसक्नुपर्ने भएकोले पनि दायाँ–बायाँ नहेरिकन लम्किएको होला। नत्र त ऊ बाटामा हिँड्दा घर, पर्खाल, साइनबोर्ड, मान्छे, मोटर, पसल सबैलाई एक एक नजर लगाउँदै हिँड्ने मान्छे हो। ऊ पर पुगुञ्जेलसम्म हेरिराखेँ मैले।

“कति बज्यो होला?” मैले कुनै अर्को दिन सिंहदरवारको पूर्वी गेटबाट भित्र छिर्दै गर्दा अनायासै सोधेको थिएँ। उसले त्यस दिन कपाल अरु बढि छोट्याएको थियो। टि–सर्ट, जिन्स र कन्भर्स सुज। सदाभन्दा छरितो देखिएको थियो। छड्के पारेर ब्याग भिर्नु उसको पहिल्यैदेखिको बानी झैं देखिन्थ्यो। मेरो जिज्ञासा धेरै दिनसम्म जिज्ञासाकै रुपमा रहिरहन सकेन। एकदिन पत्ता लगाएको थिएँ त्यो झोलामा के हुने गर्छ भनेर। कलम, कापी, कर्ण शाक्यको सोच, एउटा ताजा खवरपत्रिका, स्ट्यापल मेशिन, क्यालकुलेटरदेखि लिएर काइँयो, खानेपानी भएको सानो बोत्तल, फोल्डिङ्ग छाता समेत त्यही ब्यागमा राखेको हुन्थ्यो उसले। जहाँ गए पनि बोकिरहन्छ त्यो झोला।

सामान्यतया म गेटबाट भित्र छिर्दा सँधै उस्तै–उस्तै समय हुने गर्छ। सरकारी जागीरमा ५–१० मिनेट ढिलो वा छिटो हुनुले खासै फरक पर्दैन। म घडी बाँध्दिन, तर घरमा भित्तेघडी हेरेर हिँडेपछि अफिस पुग्दासम्म प्रायजसो मलाई समयको हेक्का रहिरहन्छ।

“कति बज्न पर्‍यो र?” एक मुस्कान फ्याँक्दै उसले प्रतिप्रश्न गरेको थियो।

“हैन..., ढिला भयो कि भनेर .......।” केही अनमन्यष्कताका साथ मैले प्रश्न गर्नाको कारणबारे प्रष्टिकरण अघि सारेँ। हामी बीच पहिलो सम्वाद यसरी शुरु भएको थियो। जागीर गर्ने अड्डा, घर–ठेगाना, काठमाडौं बसाई आदि विषयमा परिचयात्मक स्वरुपका सम्वाद गर्दै हामी छुट्टिनुपर्ने दोवाटोमा पुग्यौं।

“हवस् त।” उसले बिदाईको भावमा भनेको थियो।

“हवस्।” मैले पनि उस्तै भाव मिसिएको एक मुस्कान व्यक्त गरेँ हठात्। त्यसपछि आ–आफ्नो गन्तव्यतर्फ डोरियौं। ऊ गयो गृह मन्त्रालयतर्फ, म गएँ सामान्य प्रशासन मन्त्रालयतर्फ।
कार्यालय पुगेर हाजिरी जनाएपछि आफ्नो कार्यकक्षमा गएँ। अघिकै छोटो तर रोचक यात्रानुभव मानसपटलमा बारम्बार मडारिरह्यो मीठोसंग। अग्लो कद, चुस्त र स्वस्थ देखिने जिउडाल। बात मार्दा हाँस्ने र हँसाउने खालका सन्दर्भहरु प्रयोग गर्न खप्पिस व्यक्ति। ऊ जनार्दन। जनार्दन अधिकारी। घर गुल्मी। शिक्षा एम.ए। पद शाखा अधिकृत। सरुवा भएर काठमाडौं आएको एक महिना भैसकेको थियो। यसअघि पनि पूर्वी गेटबाट भित्र छिर्दै गर्दा उसलाई देख्ने गरेकै हो धेरै पटक। तर कहिले ऊ अघि, कहिले म अघि। बोल्ने मौकै कहाँ मिल्थ्यो र! त्यसदिनको संजोग। संगै भइयो। मैले सोधिहालें अनायासै 'कति बज्यो होला?' अपरिचित लोग्नेमानिससंग मित्रताका लागि बहाना बनाएको यो पहिलो पटक। यसैका लागि पनि ठूलै साहस बटुल्नुपरेको थियो मनभित्र।

म अनामनगरमा बस्छु। ऊ घट्टेकुलोबाट आउने गर्थ्यो। सिंहदरवारको पूर्वी गेटबाट भित्र छिर्नुअघि ऊ आउने बाटोतर्फ एक नजर फ्याँक्नु मेरो आदत बनिसकेको थियो। बाटामा आउँदै गरेको नदेखेमा गेट पार गरेर कुर्ने गरिन्थ्यो। ऊ आएपछि मात्र संगै अफिसतर्फ हिँड्ने गरिन्थ्यो। बाटोमा पर्ने दायाँ बायाँका भवनहरु नेटिभी भवन, श्रम मन्त्रालय, सतर्कता केन्द्र, जलस्रोत मन्त्रालय, संसद भवन छिटो छिटो कटेझैं लाग्थ्यो। कुरा सिद्धिएको हुँदैनथ्यो। बाटो साह्रै छोटो भयो हाम्रो लागि। म आउन ढिला भएको दिन उसले पनि त्यसरी नै कुर्थ्यो। अफिस छुटेपछि पनि संगै बाहिरिने। हामीले यही थिति बसालेका थियौं।

पूर्वी गेटदेखि सिंहदरवारको प्राङ्गणसम्मको यात्रालाई लम्ब्याएर हामीले कहिलेकाहीं न्यूरोड, रत्नपार्क, गोदावरी, दक्षिणकाली, नगरकोटसम्म पुर्‍याएका थियौं। एउटै आइसक्रिम दुवैले चाट्थ्यांै। एउटै सोलीको चना दुवैले टोक्दै शान्तिबाटिकामा थकाई माथ्यर्ौं। यो दशैंमा चाडपर्व भत्ता समेतले गर्दा दुई महिना बराबरको तलव बुझेको हुनाले उसलाई मैले एकजोर रिबोक सुज किनिदिएको थिएँ। उसले पनि मलाई लेटेष्ट मोडलको लेडिज ह्या48डब्याग किनिदिएको थियो।

“तिम्रो मन्त्रालयले मलाई सरुवा गरिदिए पनि हुन्थ्यो।” अनायासै ऊ बोल्यो। अनपेक्षित प्रसंगले म एकपल्ट झस्किएँ। के ऊ सरुवा भएर टाढा जान चाहन्छ? मेरो अन्तर्मनमा उब्जियो यो प्रश्न र घोच्यो एकफेर चस्स।

“सिंहदरवारभित्र त्यो पनि गृह मन्त्रालयको जागिर छाडेर कहाँ जानपर्‍यो र तपाईँलाई?” मैले केही गम्भिर हुँदै सोधें।

“सामान्य प्रशासनमै आउनुपर्‍यो क्या, बिहान बेलुकाको भेटले मात्र भएन, दिनभर पनि संगै भइन्थ्यो कि?” उसले हाँस्दै गरेको यो ठट्टाले मैले तुरुन्तै राहत महसुस गरें।

“दिनभर मात्र किन, सँधै संगै हुने गरी सरुवा मिलाउन पाए कस्तो होला?” मैले घरजम बसाउने मनसायले मौकाको फाइदा उठाउँदै प्रसंगलाई यस रुपमा बदलेँ।

“ब्यूरोत्रे्कटिक बिहे गरेर, ब्यूरोत्रे्कटिक परिवारको सृजना गर्ने बिचार गर्‍यौ कि के हो?” उसको ठट्यौलीपन यहाँनेर पनि ब्यक्तिएको थियो।

“मैले ठट्टा गरेकी हैन क्या ....।” मैले उसको हात समाउन पुगेछु।

मेरो रोषभाव देखेर झन उक्सिँदै भन्यो – “ल त नेमप्लेट तयार गर्न लगाऊ शा.अ. जनार्दन अधिकारी, ना.सु. शोभा पाठक, नवागन्तुक कर्मचारीहरु श्री भुन्टे, पुन्टे, च्यान्टी.......।”

“बस्.. बस्.. बस् ..!” मैले ब्रेक लगाएपछि मात्र ऊ रोक्कियो।

“कहिलेकाहीं त सिरियस् बन्न सिक्नोस्।” मैले बडो व्यावहारिक मुद्रामा भनें।

“वास्तवमा म पनि धेरै दिनदेखि यही विषयमा सोँच्दैथिएँ, मेरो मनको कुरा गर्‍यौ तिमीले।” मेरो पिठ्यूँमा ढाप मार्दै भन्यो। बिहेको लागि उसले सहमति जनायो झैं लाग्यो मलाई।

“दशैंमा घर जाँदा हाम्रो बिहेको बारेमा घरमा पनि सल्लाह गर्नेछु।” उसले यसो भन्दै गर्दा मेरो पूरै शरीर एकपटक रोमाञ्चित बन्यो। म केही लजाएँ। यस्तैमा साँझ पर्नै लाग्दा हामी त्रिभुवनपार्कबाट धरहराको टुप्पोलाई हेर्दै शहरतर्फ हुइँकिएका थियौं।

एकमिनेट मौनधारण गरियो। सबैले बोल्ने क्रम पनि सकियो। अन्तिम श्रद्धाञ्जलिका लागि टेवुलमाथि सजाएर राखिएको जनार्दनको फोटोमा माला र पुष्पगुच्छा अर्पण गर्न सर्वप्रथम सचिवज्यू, त्यसपछि सहसचिवज्यू अनि अन्य वरिष्ठ र कनिष्ट कर्मचारीहरुको क्रमैसंग पालो। मेरा हात काँपिरहेका थिए। गोडाहरु धरमराइरहेका थिए। पुष्पगुच्छा अर्पणसंगै अश्रुवर्षा पनि भइरहेको थियो। मेरो मन अग्घोरै कोक्किँदै आयो। हाँसिरहेको जनार्दनको तस्वीरतर्फ आँखा जुधाएर धेरैबेर त्यहाँ टिकिरहन सकिन। यथासम्भव दौडदै आफ्नो कार्यकक्षतर्फ गएँ। टेबुलमाथि घोप्टो परेर धेरैबेर सुँकसुकाइरहेँ। प्रेमपीडालाई चिच्याई–चिच्याई ओकल्न मन लाग्यो। पत्रिकाको तस्वीरतर्फ आँखा पर्‍यो। अहिले नै बोलुँला झैं हाँसिरहेको तस्वीर त्यहाँ पनि। तस्वीरमाथि 'हार्दिक श्रद्धाञ्जलि।' तलपट्टि 'हाम्रा अत्यन्त मिलनसार, कर्तव्यनिष्ट कर्मचारी स्व. जनार्दन अधिकारीको असामयिक ..........' यसपछिका हरफहरु पढिरहने हिम्मत म मा बाँकी रहेन। यथास्थानमा नै आफूलाई बिस्तारै बिस्तारै पग्लदै गइरहेझैं लाग्यो। म आफ्नै आस्था र विश्वासबाट च्यूत भइसकेकी थिएँ। भर्खरै मात्र पलाएको पालुवामा विषाक्त डढेलो लागिसकेको थियो।
उसले म संग गरेको बिहेको बाचा अव कहिल्यै पूरा नहुने भएको छ। गुल्मी जाँदै गर्दा सडक दूर्घटनामा उसको दुःखद निधन भएको थियो। यसै दूर्घटनासंगै मेरो समेत सारा सपना दूर्घटित भएको छ।

दिन र रात उस्तै चलिरहेको छ। मौसम उस्तै। अनामनगरको बाटो उस्तै। गाडीहरुको चहलपहल उस्तै। सिंहदरवारको पूर्वी गेट उस्तै। सिंहदरवार परिसरभित्रको कल्याङ्गमल्याङ्ग यथावत्। मलाई किन किन त्यो पूर्वी गेटबाट प्रवेश गर्न मन लाग्दैन। आजकल दक्षिणी गेटबाट आवत–जावत गर्ने गरेको छु।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 पौष, 2065

लेखकका अन्य रचनाहरु