यन्त्रवत् लघुकथा संग्रह एक समीक्षा

- माधव घिमिरे

प्रस्तुत यन्त्रवत् लघुकथासंग्रह कृतिमा ४७ वटा लघुकथाहरु संकलित छन् । आकारका दृष्टिले कथा र लघुकथाको निश्चित मापदण्डको अवस्था नबनिसकेको अवस्थामा दुवैको के कस्तो भिन्नता वा सामीप्यता छ छुट्याउनु गाहारो कुरा हो । कथाको आरम्भ कहिले भयो जिज्ञासा उठ्नु स्वाभाविक हो । वास्तवमा भन्ने हो भने जहिले देखि धरतीमा मानवको उत्पत्ति भयो त्यतिबेलादेखि नै आदिमानवहरुले अगेनाको डीलमा बसेर कथा भन्ने र सुन्ने गर्थे भन्दा अत्युक्ति नहोला । रमाइलो कुरा त के छ भने आज पनि हाम्रा गाउँघरमा हाम्रा हजुरआमा आमाहरुले यो परम्परालाई निरन्तरता दिई रहनुभएको छ । अर्कोतिर कथामा आधुनिकता पनि भित्रिएकै छन्-कथा, लघुकथा, सूत्रकथा आदिका रुपमा । पूर्व तथा पश्चिममा परम्परागत कथाको प्राचीन लिखित परम्परा हामी पाउँदछौं । पूर्वमा ऋग्वेद ब्राम्हण ग्रन्थ र उपनिषदले प्राचीन ग्रन्थ परम्पराका इतिहास आरम्भ गरेका छन् भने लौकिक सँस्कृतिमा रामायण र महाभारत जस्ता वृहत् कथाका साथै पाचतन्त्र र हितोपदेश अनि बौद्ध जातक कथाहरुले कथा परम्परालाई धनी बनाएका छन् । यसैगरी पश्चिममा कथा परम्पराको अति प्राचीन लिखित रुफ् इजिप्टको "दुई दाजुभाइ" कथालाई मान्न सकिन्छ । यो इ.पू. ३०० देखि ४०० बीच अवधिको मानिएको छ । यसको क्रमिक विकास १४ औं शताब्दीको मध्यतिर इटालेली कथाकार बोक्यासिमका "डेकामरा" र चसरको "केन्टवरी टेल्सु" मा देखा पर्यो । यसै पृष्ठभूमिमा १९ औं शताब्दीतिर पश्चिममा हेनरी हड्सन जस्ता विख्यात साहित्यकारले कथा सिद्धान्त स्थापना गरे । त्यसपछि त त्यही सिद्धान्तलाई पछ्याउँदै के युरोप के एशिया सबैतिर आधुनिक कथाहरु सिर्जना भए । फलस्वरुप यसको प्रभाव नेपालमा वि.सं. १९९२ मा गुरुप्रसाद मैनालीमा सर्वप्रथम पर्यो र उनको "नासो" कथाबाट आधुनिक कथाको युग नेपालमा आरम्भ भयो । तर यो संग्रह भित्र समेटिएका लघुकथा न त हेनरी हड्सनका सर्टस्टोरी जस्ता हुन् न त पाचतन्त्रका नीतिकथा जस्तानै हुन् । त्यसैले पुस्तकको आरम्भमा "कृष्ण बजगाईंका लघुकथा" शीर्षकमा प्रा.डा. माधवप्रसाद पोखरेलले "नेपाली साहित्यमा लघुकथा नाम चलेको यो विधा अंग्रेजी साहित्यको "सर्ट स्टोरी पनि होइन" "सर्ट सर्ट स्टोरी" पनि होइन" भन्नुभएको उचित हो ।
कथा संग्रहभित्र प्रवेश गर्नुअघि एउटा कुरा भनिहालौं-नेपाली भाषा र साहित्यको सेवा गर्ने विद्वान्-विदुषीहरुमध्ये नेपाल बाहेक प्रवासमा बसेर साहित्यलाई समृद्ध बनाउनेहरुको ठूलो जमात् छ । भारतको दार्जिलिङ् देहरादुन बनारस र आसाममा मात्र होइन सात समुद्रपारी बस्नेहरुको पनि ठूलो योगदान छ । यसै क्रममा कृष्ण बजगाईं पनि पर्नुहुन्छ जो ब्रसेल्स बेल्जियममा बसेर पनि नेपाली भाषा र साहित्यको विकासमा लागि पर्नुभएको छ । उहाँले नेपालमा रहँदा पनि बेलाबेलामा विभिन्न पत्रपत्रिकाको माध्यमले साहित्य सेवा गर्नुका साथै मौलिक रचनाहरु सिर्जना गर्नुभएको कुरा विवेच्य ग्रन्थको अन्तिम पातोको विवरणबाट प्रष्ट हुन्छ ।
संग्रहका सवै कथामा व्यङ्ग्य चेतना पाइन्छ भने अर्कोतिर समाजमा देखिएका विसंगति प्रति निकै छेड हान्न खोजिएको पाइन्छ । कुनैबेला देवकोटाले "सानो कथा एउटा आँखिझ्याल हो जसबाट संसार चिहाइन्छ" भने झैं यहाँ पनि कथाकारले नेपाली समाजका विसंगति र विकृतिलाई आफ्ना अनुभूतिका माध्यमले चिहाउन खोजेका छन् आकारका दृष्टिले कथा लघु भएपनि विषयवस्तुमा भने विस्तृत छन् । कथा लघुकथा जे भएपनि मुख्य तत्व उत्सुकताको राम्रो निर्वाह हुनुपर्छ जुन कुरा यस संग्रहका कथाहरुमा लागू भएको छ । "यन्त्रवत्", "मन्त्रीको जुत्ता", "साचालन" जस्ता कथा यसका राम्रा उदाहरण हुन् । विषयवस्तुका रुपमा देश र समाजमा देखा परेका अप्ठ्यारा परिस्थिति प्रति व्यङ्ग्य गर्दै सर्वोपरि स्थान दिइएको कुरा-"उन्मूलन", "राहत", "योग्यत", "परिवर्तन", "आँखा", "कुकुर","राजनैतिक प्रयोगशाला" जस्ता कथाले पुष्टि गर्छन् । "शब्दहरुको मृत्यु" मा नयाँ प्रयोग भएको छ । शब्द शब्दकोशलाई पात्रको रुप दिएर जुन व्यङ्ग्य कथामा गरिएको छ त्यो उत्कृष्ट छ । यसै कथाको सानो नमूना हेरौं- शब्दकोशले भने-"हेर मैले सबैलाई समान व्याख्या गरेको छु । यो त प्रयोगकर्ताहरु नै जानुन् । यसमा मेरो केही दोष छैनु ।" संग्रहको सबैभन्दा लामो कथा "प्रतिविम्ब" हो जुन ४ पृष्ठको छ । प्रशासनिक विसङ्गतिप्रति व्यङ्ग्य गरिएपनि प्रस्तुतिमा भने केही फितलोपना छ । "विमोचन" कथाले आजका साहित्यकारहरुको कटु यथार्थ प्रस्तुत गरेको छ । कथामा झैं उनीहरु आत्महत्या गर्न नसके पनि प्रतिदिन आत्महत्या बराबरकै कष्ट झेलिरहेका छन् ।
समग्रमा प्रस्तुत कृतिले आजको नेपाली समाजमा देखा परेका विविध क्षेत्रका विसङ्गति र विकृतिलाई उदाङ्गो पारेको छ । यस प्रकारको ग्रन्थ प्रकाशन गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वािसंगटन डि.सी.लाई धन्यवाद दिनै पर्छ । "आत्मकथ्य" शीर्षकमा कथाकारको आफ्नो कथाबारे स्पष्ट धारणा प्रस्तुत भएकाले पाठकलाई कथा बुझ्न अझ सरल भएको छ । पुस्तकको आवरण छपाइ कागज सबै उत्कृष्ट छन् । मूल्य ५०।- लाई सस्तो मान्नुपर्छ ।

कृतिः यन्त्रवत्
विधाः लघुकथा
कथाकार: कृष्ण बजगाईं
प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वॉशिंगटन डी. सी. अमेरिका
मूल्यः ५०।- पृष्ठः ११२

साभार: रचना पूर्णाङ्क ९८, २०६५

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 पौष, 2065

लेखकका अन्य रचनाहरु