छोराको उमेर

- प्रोल्लास सिन्धुलीय

राजेन्द्रमानले गजिन्दरतिर हेर्‍यो । गजिन्दरले उमेशजङ् तर्फदृष्टि फ्याँक्यो । उमेशजङ् पनि उत्तर दिनसक्ने हिम्मत नभएकोले चुपचाप भित्तातिर हेर्न थाल्यो । बाँकी अरूहरू एकअर्कासँग मुखामुख र कानेखुसी गर्न थाले । निकै बेरपछि एउटा बच्चाले हात उठायो ।
प्रश्नकर्ताले हकार्‍यो, -"ए फुच्चे तँ यस प्रश्नको उत्तर दिन सक्छस् ?" फुच्चे निर्भीक थियो । उसले स्वाभिमान पूर्वक भन्यो -"अहँ सक्दिनँ ।"
प्रश्नवाचकले धोद्रो स्वरमा पुनः हकार्‍यो, -"किन हात उठाइस् त ?"
उमेशजङले आफ्नो छोराको दुस्साहसप्रति क्षमायाचना गर्‍यो । बच्चालाई विशेष बैठकमा ल्याएकोमा उसले खानुसम्म गाली खायो । हिजो सहरमा राष्ट्रघातको विरोधमा जुलुस र आमसभाहरू गरिएका थिए । त्यही जुलुसमा सामेल भएको आशङ्का गरी हाकिमले आफ्ना कर्मचारीहरूलाई चेतावनी दिन सो विशेष बैठक बोलाएको थियो । उसले हरेकलाई एउटै रुखो प्रश्न गरेको थियो "राष्ट्रियता ठूलो कि जागिर ?"
बेलुका उमेशजङले आफ्नो छोरालाई झट्कारेर तान्यो र खाटमा थच्चार्‍यो, "ल भन तैँले के भन्न बैठकमा हात उठाएको थिइस् ?"
फुच्चेले अलिअलि डराउँदै, अलिअलि जोशिदै भन्यो, "म भन्थे, महाशयहरू मेरो बाबासँग यसको उत्तर छ ।"
फुच्चे केटाको आफ्नो बाबुप्रतिको धारणा उच्च थियो । ऊ आफ्नो बाबालाई कायरता पूर्बक कसैको सामु झुकेको देख्न चाहन्नथ्यो । आफ्नो जन्मदाता बाबुलाई फुच्चे केटाले संसारकै साहसीहरू मध्येको एक ठानेको थियो ।
उसले खुइय्य गर्दै भन्यो, "छोरा मैले आफ्नो स्वाभिमान गुमाइसकेको छु ।हिम्मत र उत्साहलाई यो जागिरसँग साटिसकेको छु । मभित्रको मानवता र राष्ट्रप्रेम खोक्रो र बलरहित छ । मैले जागिरे हाँसो हाँस्नुपर्छ, मैले जागिरे भाषामा बोल्नुपर्छ ।" त्यसबेला मैले उत्तर दिएको भए भन्नुपथ्र्यो "जागिर नै ठूलो हो श्रीमान् ।"तेरो उमेरमा म पनि तँ भन्दा स्वाभिमानी थिएँ बाबु ।" फुच्चे केटा भोलिपल्ट बिहान सबेरै उठ्यो र मन्दिरमा गयो । भगवान्को मूर्तिअगाडि आँखा चिम्लेर उसले प्रार्थना गर्‍यो "हे भगवान् । मेरो यो स्वामिमानी उमेर मेरो बाबालाई दिनोस् ।"


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु