गीतालाई गुराँस भएर बस्न मन लागेपछि

- छविरमण सिलवाल

“साहित्यकार बन्न असिमित अध्ययन चहिन्छ, अनुशासन चाहिन्छ, लक्ष्य चाहिन्छ, एउटा निश्चित विधाको आराधना र अभ्यास चाहिन्छ। अमर साहित्यकारका अमर कृतिहरूले त्यो बताउँछ। सिर्जना रिफाइनमेन्ट आर्ट हो, परिष्कारको कला। त्यो केवल अध्ययनले पूरा हुन्छ।” डा.गोविन्दराज भट्टराईको यी भनाईहरूले मन छुन्छन्। हुन पनि सत्य त्यहि हो जुन उहाँले लेख्नु भएको छ, देख्नु भएको छ। मैले यी कुराहरू यहाँ यसैले उल्लेख गरें जसले मेरो मन छोएको छ। मैले यहाँ उल्लख गर्न लागेको संग्रह “म पनि गुराँस हुन पाए” कविता संग्रहको हो। गीता लामीछानेजीका रचनाहरू त मैले पढेको थिए। तर म उहाँसंग राम्ररी परिचय हुन सकेको थिएन। आषाढ १४ गते बुढानिलकण्ठ आश्रम स्कुलमा भएको बिविध गोष्ठिमा उनको म पनि गुराँस हुन पाए पुस्तकको बिमोचन भएको थियो। मैले पुस्तक पढ्ने अवसर प्राप्त गरें। कवि हृदय पनि बढो विचित्रको हुन्छ। सम्भव असम्भव केहि पनि हेर्देन। तर यहाँ उल्लेख गर्न लागेको पुस्तकको कुरा बेग्लै छ। कविलाई गुराँस हुन रहर लागेको छ। पाखाँभरी गुराँस भएर फूल्ने रहर जागेको छ। तर कविको मन मात्र त्यसो भएको हो। साँच्चै कविहरूनै त्यसरी गुराँस भए भने कविता कसले लेख्ने होला? कविको हृदय अत्यन्त कोमल हुन्छ, संवेदनशिल हुन्छ त्यसैले उ सुष्म भन्दा सुष्म कुराहरूलाई नजिकबाट नियाल्न सक्छ। त्यसैले उ कवि बन्नसक्छ। साँच्चै सिर्जना रिफाइनमेन्ट आर्ट हो, परिष्कारको कला डा.गोबिन्दराज भट्टराईका यी वाक्यहरू अत्यन्त सान्दभिक लाग्दछन्।
कवि गुराँस हुन नसके पनि शव्दहरूका थुङ्गा समेटेर एउटा सिङ्गो पुस्तक दिएकी छिन गीता लामिछानेले “म पनि गुराँस हुन पाए” कविता संग्रह। यस संग्रहमा जम्मा ५२ ओटा कविताहरू छन्। उनले निर्भिकताका साथ इमान्दारी पूर्वक आफ्नो संस्कृति र सभ्यताका साथै जीवनको जटिलतम गूँढ रहस्यलाई कला र विचारको माध्यमबाट सशक्त अभिव्यक्ति प्रस्तुत गरेकी छिन् आफ्नो संग्रहमा। उनका कविताहरू क्रमशः जटिलता तर्फ उन्मुख भएका छन्। पढेर नथाकिने सललल वगेकाछन्। जति पिए पनि तलतल नमेटिने शितल जल जस्तै। आफ्नै मातृभूमि नेपालका परिवेशलाई कविताका बिषयहरूमा चयन भएका छन्। पहाड, नदि, हिमश्रृखलाहरूसंग नजिकबाट रम्न सकिन्छ पुस्तक पढिरहँदा। लेखकिय धर्म भनेकै यहि हो। पाठकहरूलाई मनोरन्जन दिनसक्नु, तर त्यो मनोरन्जन भित्र यथार्थ लुकेको हुनु पर्दछ। उनले कल्पनाका कुराहरू मात्र गरेकी छैनन् पुस्तकमा समयसंग सम्झौता गर्न नसकेका तिता यथार्थहरू पनि कविताका विषयबस्तु वनेकाछन्। जसले दुःख देख्दैन उसले के दुःखका कुरा लेख्ने , जसले पहाड खोलानाला देख्दैन, उसले के खोलानाला र पहाडका कुरा लेख्ने? त्यस्ता लेखकहरूले त मात्र महलमा बसेर कल्पनाका कुराहरू न लेख्ने हुन। गीता लामिछाने यी कुराहरूबाट पृथक रहेर कविता सिर्जना गर्ने गर्दछिन। उनले दुःखलाई नजिकबाट हेरेकी छिन पहाड र खोलानालासंग नजिकिएकी छिन्। त्यहि पहाड भित्र घाँस दाउरामा गर्न भ्याएकी छिन नजिकबाट गुराँसलाई सुम्सुम्याउन पाएकी छिन् र त उनलाई पनि गुराँस भएर बस्न मन लागेको हो। कविताको एक अंशः–
गोठालो जादाँ सिरुवारीमा
खाटा–खुल्टी भड्खाराहरूमा
गम्किएका हुन्थे–गुराँसका गुम्छाहरू
सुरेली खेल्थें रुखहरूमा
झुल्थें कहिले हाँगाहरूमा
टिपेर सुम्सुम्याउँथें अँगालोमा
छताछुल्ल बनाउँथें चउरभरि
चुम्दाचुम्दै सिउरिन्थे शिरमा
हराउँथे मैले मलाई
लाली ती पत्रहरूमा .....
पृ.२२
“चितवनको काव्यिक माहौलमा आधा आकाशको उपस्थितिलाई प्रतितिधित्व गर्ने एउटी भद्र, शालीन र मृदुभाषी स्रष्टा हुन्–गीता लामीछाने। समाजसेवा र वाङ्मय सँगसँगै लैजानु चुनौतिपूर्ण भए पनि उनले यसलाई राम्रोसित समायोजन गरेकी छिन्। चितवनमा उनको साहित्यिक उपस्थिति ओजपूर्ण छ।”वाल्मीकि साहित्य सदनका उपाध्यक्ष धनराज गिरी गीताका बारेमा यस्तो टिप्पणी गर्छन् उनको पुस्तकमा। गीता लामिछाने नेपाली काव्य फाँटकी उदयीमान, प्रतिभाशाली तथा स्वतन्त्र परायण नारी स्रष्टा हुन्। कटाकेटीउमेर देखि नै साहित्य यात्रामा लागिरहेता पनि संग्रहको रुपमा यो उनको पहिलो प्रयास हो। अझ उनिसंग आन्दोलन र प्रतिगमका बारेमा लेखेका धेरै कविताहरू छन्। अव ति कविताहरूको अर्को संग्रह पनि आउने आशा गरौं।
सधै–सधै
बेदना र बहमा मुछिएर
मनका रहरहरू
चुल्हो चौकामा तेर्स्याएर
जीवनरुपी मालामा उनिरहेकी छौ
माकुरी तिमी ......
पृ.६१
प्रेम र माधुर्यका मात्र कविता लेख्नेहरूका लागि यो एउटा गतिलो चड्कन हुनेछ जस्तो लाग्छ। प्रेम भनेको युवा युवती विचको मात्र नभएर प्रकृति आफ्नो मातृभूमि प्रति पनि हुन्छ भन्ने कुरा यो संग्रहले बताउँछ। अधिकाशं कविताहरूमा प्रकृति प्रेम झल्कन्छन्। गीताको पहिलो प्रयास भए पनि यो संग्रहले उनलाई धेरै माथि पुर्‍याएको अनुभव हुन्छ। नेपाली साहित्यमा नारी स्रष्टाका अग्रस्थानमा उभ्याउन सफल देखिन्छिन्। क्रमशः लेख्दै जानुपर्छ समयका बाछिटाहरूसंग सम्झौता गर्न सक्नु पर्छ। आफ्नो राष्ट्र र राष्ट्रियतालाई सधै हृदयमा बसाउनु पर्छ। आफ्नो साहित्य यात्रालाई अगाडी बढाउँदै जानुपर्छ, अवश्य पनि सफलता हात लाग्छ। गीताको साहित्य यात्रा शुभ रहने छ, अझै लेख्दै जानुपर्छ लेखिरहनु पर्छ निरन्तर निरन्तर.... ...........शुभकामना.......

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु