जीवन सुवेदीका दुई कृति एक चर्चा

- चेतनाथ धमला

नेपाली साहित्य आकाशमा जीवन सुवेदी एक सुपरिचित नाम हो। ललितपुर छम्पी निवासी साहित्यकार सुवेदीले कथा, कविता, निवन्ध, हाइकु, ताङ्का, गजल र समसामयिक लेखनमा निरन्तर साधनाद्वारा आफूलाई तिखारीरहेका छन्। एम.बी.ए., बी.एल, बी.एड. सम्मको अध्ययन गरेका जीवन सुवेदीले जमर्को साहित्यिक मासिक पत्रिका र बज्रबारही साहित्यिक समुह ललितपुरको सम्पादनसमेत गरिसकेका छन् भने भारत, मलेसिया, सिंगापुर, अष्टे्रलिया र नेपालका प्रायः जिल्लाहरूको भ्रमण अनुभव पनि उनको अनुभूतिको गहिराईसम्म छिरेको छ नै। सुनगाभा (हाइकु संग्रह)– २०५४, अन्तर्विरोध (निबन्ध संग्रह) –२०६५, आह्वान (कविता संग्रह) – २०६५ र आँखा (हाइकु तथा ताङ्का संग्रह) –२०६५ उनका प्रकाशित कृति हुन्।
ललितपुर, छम्पी–२ को सुन्दर, शान्ति र मर्मस्पर्शी प्राकृतिक र ग्रामिण परिवेशमा बाँचेका साहित्यकार जीवन सुवेदी सरल र सरस स्वभावले निर्धारित स्रष्टा हुन्। आफ्नो आत्माले देखेको र भोगेको यथार्थ विषय नै लेखनको अभिव्यक्ति हो उनको।
आँखा आह्वान र अन्तर्विरोध उनका नविनतम तीन कृति २०६५ सालमा प्रकाशित भएका छन्। आँखा उनको हाइकु र ताङ्का संग्रह हो। जापानी काब्य संयन्त्रभित्र हुर्किएको हाइकु र ताङ्का सुत्रात्मक काव्य लेखन परम्परा हो। ५–७, ५ गरी क्रमशः तीन हरफ र सत्र अक्षरमा संरचित हाइकु शास्त्रिय रूपमा प्राकृतिक दर्शनको पक्षपाति पनि रहेको छ। हाइकुको आन्तरिक पक्ष भन्नु नै प्राकृतिक अर्थात ऋतुबोधक बिम्वको सटीक प्रयोग हुनु हो। उदाहरणका लागि प्रस्तुत हाइकुलाई पढौं।
वर्षामा पनि
पानी परेन कतै
बाँझै त खेत (आँखा, पेज ३२)
प्रस्तुत हाइकुमा हाइकुकार (हाईजीन) जीवन सुवेदीले प्रतिकात्मक रूपमा समय वैलिनु, ओइलिनु र झर्नुको पीडा र अभावलाई अभिव्यक्तिको माध्यम बनाएका छन्। वर्षा ऋतुमा पनि पानी नपर्नु र खेतमा रोपाई गर्न असक्षम हुनुको खडेरी पीडाबोध गहनरूपले गरिएको छ। यसलाई प्रकृतिप्रदत्त विरोधाभाष र अराजकताको रूपमा पनि चित्रण गर्न सकिन्छ। यो बेमौसमको रागले सृष्टिलाई नै विचलित तुल्याउँछ नै। जहाँ हाइकुमा प्रकट हुने र अनन्त संभावनाको राम्रै छनक देखिन्छ। त्यसो त प्रकृति वा ऋतुबोधक बिम्व बिना पनि हरफ र मात्रालाई सुगात्मक रूपले पस्किएको पनि संग्रहभित्र पाइन्छ। यसलाई जापानीहरूले सेन्यू भन्दछन्। हाइकु भन्दा सेन्यूको प्रभाव र स्वभाव स्वयन्त्र त रहन्छनै यसमा पनि थप व्यङग्यशैली र सौन्दर्यको खोजी गरिन्छ जस्तै–
के व्याख्या गर्नु
पजेरो भनेपछि
त्यसै बुझिन्छ
वास्तवमा संसदीय व्यवस्थाको तत्कालीन सांसदहरूका अनेकौ विकृति र विघटित अनुहारमा पोतिएको कालो पोतो माथि सांकेतिक रूपले अधिक प्रहार गरिएको छ। यो सत्य र यथार्थको बीचमा उनीहरूको मुखुण्डो उतार्ने कार्य सुवेदीले गरेका छन्। यसप्रति उनलाई बधाई पनि छ। उनले संग्रह भित्र सांस्कृतिक, धार्मिक, श्रृंगारिक, प्राकृतिक जस्ता विषयलाई सिर्जनाको माध्यम तुल्याएका छन्। साथै सेन्यु, हाइकु र ताड्कामा आपसी हरफको संयोजना गर्दा वाक्य एक आपसमा जोडिनु हुँदैन भन्ने मान्यता पनि सैद्धान्तिक मूल्य भए जस्तै आश्चर्य बोधक (!) चिन्हको प्रयोगले सुन माथि सुगन्ध भने हुने थियो।
पाँच हरफ ५–७–५ र ७–७ गरी ३१ अक्षरले संरचित ताङ्का कविता पनि जापानी काव्य धाराको सशक्त उपविधा हो। यो आन्तरिक संरचनाले हाइकुभन्दा अलि स्वतन्त्र देखिए पनि साधना भने गहन र कठिन छ। आँखा हाइकु तथा ताङ्कासंग्रहमा जीवन सुवेदी रचित एउटा ताङ्का पढौ–
आजको दिन
नझरेको फूल हो
भोली हुँदैन
त्यो फूल पनि झर्छ
र मान्छे पनि मर्छ
(आँखा, पेज ४७), चिर स्थायित्व केही कुराको पनि देखिदैन। सत्य भनेको आफ्नो भोग हो र रूपान्तरणको पाटो हो। जे जति कर्मलाई व्यवहार र सिद्धान्तमा परिवर्तित गर्न सकिन्छ। त्यसको अनुरूप चल्न नसके त्यो खेर जाने छ। भनाइ नै छ– बगेको खोला फर्किदैन र बितेको समय फेरि आउँदैन । ताङ्काकार सुवेदी त्यस तर्फ सचेत देखिएका छन्। प्रयुक्त ताङ्काले अनेकार्थी सम्भावनालाई आत्मसात् गरेको छ।
जीवन सुवेदीको परिचय हाइकु र ताङ्कामा मात्रै सीमित छैन। उनी कवितामा पनि आफ्ना पदचापलाई फैल्याइरहेका छन्। आफ्नो तर्कलाई व्यक्त गर्न शब्द कला र विचारलाई मूल यात्रामा डोर्‍याउनु कवि सुवेदीको मन्त्र, तन्त्र र यन्त्र भन्ने नै काव्यिक सिर्जना शीलता हो। स्तर र खुराकको बान्कि हतारोमा निर्मित हुने वस्तुहरू होइनन्–जसको लागि दीर्घ साधनाको पुनित उपलब्धि पनि हो। भावात्मक उद्गार र जीवन्त सम्प्रेषण वास्तवमै उचाइका सम्भावित हरफहरू हुन्। कवि सुवेदी तिखारिने र पुष्टिने संवाद र सवालहरू अघिल्लतिर तेर्सिएका छन्–क्रमशः टिपेर हृदयमा सजाउँदै कवितामा छाइरहेका छन्। श्रीमती र श्रीमान्को संवाद कविता उनको नवीनतम कविता संग्रह आह्वान मा संग्रहित छ। आम पारिवारिक समस्या, बढ्दो महंगी, अभाव र भयग्रस्त समयको चित्रण गरिएको छ। उत्पीडन र बिछोडका कहालीलाग्दा दृश्यहरूलाई अंकित गर्दै गरिबीको दर्द र पीडालाई एक्कै ठाउँमा सजिलै उतारिएको छ। समग्रमा उनका कविताहरू समय बिम्ब बोकेर टुप्लुक्क आम पाठक सामु प्रकट भएको देखिन्छ। उनका कविताले विकृति, विसंगति, अन्याय र अत्याचारको विरुद्धमा गतिलोसाग जुध्न आह्वान गरेका छन्। गीत भए पनि गजल भए पनि कविताको गेयात्मक यात्रा हो। उनले संग्रहमा गेयात्मकतालाई केहि स्थान पस्किएका छन्। जस्तै गजल अभिव्यक्ति यस्तो छ–
फक्रिएका फूल सबै बटुवाले चुम्नु हुन्न
सबै राम्रा फूललाई आफै चुम्छु भन्नु हुन्न
(पृष्ठ–२८, आह्वान)
फेरि उनको एउटा टुक्रा कविता पढेर विश्राम लिऔं–

कतै हिउँले काटेका छन् मुना
कतै तुषारापात छ आँकुराहरूमा
यात्राको प्रथम प्रहरमै
निसारिएर मन
खुम्चिएको छ
(पृष्ठ–१४, आह्वान)
कवि जीवन सुवेदीले उपर्युक्त हरफमा भने भै देशको मुटु अहिले असामयिक रूपमा निसासिएको छ, खुम्चिएको छ। यो निकृष्टताको प्रतिवादमा निरन्तर जुटिरहनु हामी सबैको दायित्व हो। यस तर्फ नीति निर्माताहरूले छेपारे प्रवृत्ति छोडी सुन्दर परिवर्तनको यात्रामा लाग्नु उपयुक्त देखिन्छ। यो नै वर्गीय समाजलाई उठाउने आधारशीला हो।
जुन यात्राले मात्रै सम्पूर्ण चित्कारहरूको जलनलाई भेटेर मात्रै राष्ट्र प्रेमको नारा सार्थक हुनेछ। कवि सुवेदीले आह्वान कविता संग्रहमा उठाएका तर्क र पस्किएका विषयवस्तुहरू यथार्थ तस्विर हुन। जुन प्रदर्शनले जीवन र जगतको विभेदलाई सरल र सहज तरिकाले बुझ्न मद्दत पुर्‍याएको छ।यो चित्रण प्रत्येक दीनदुखीहरूको भोगाइ हो। तसर्थ यस्तै मर्मज्ञ कृतिहरू आउँदा दिनमा पढ्न र बुझ्न पाइयोस्। यहि कामना गर्दछु।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु