पाठक

- विक्रम सुब्बा

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातिमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायद, ऊ नै दरिद्र नागरिक हो ।

मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँने गरी आमाले चुमेको हुन्न
शायद, ऊ नै सबेभन्दा कुपोषित बालक हो ।

मैले पढेको तेस्रो पाठ
दूधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे –
कञ्चन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडीबुटीका सुगन्ध र कन्दमूलको स्वाद
आमाको दुधले लिखित नोटेशनबाट
अनि, मेची र कर्णालीका लयदार लोरीका धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छ, जसको नसामा आफ्नो देशको हाव-पानी दौडँदैन
शायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।

चौथो पाठमा मैले
कञ्चनजङघा, सगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमै टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
मभित्र प्रवेशित उर्जाकै धूप जलाएर
मैले सबैभन्दा महान पूजा गर्न सिकेँ
लाग्छ, सबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायद, ऊ नै सबैभन्दा पाखण्डी सन्तान हो ।

मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतिजस्तै
लम्पसार आमाको पार्थिव शरीरलाई
महान सूत्रझैँ पढिरहेछु
बिजुली चम्केझैँ क्षणभरमा
टुहुरा हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरू उपस्थित
यो दीक्षान्त समारोहजस्तो मातृ-मृत्यु उत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी, खौरेको शिरमा थापिरहेछु
लाग्छ मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायद, रुँदै आमाको लासमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु