सनाखत

- दिव्य गिरी

मान्छेहरू घरबाट बाहिर निस्किँदा मनभित्र यौटा त्रास पनि आफुसँगै लिएर निस्किन्थे । त्यो त्रास तिनीहरूको मन-मस्तिष्कमा हरदम बसिरहेकै हुन्थ्यो । भनौं सम्पूर्ण वातावरण नै त्रासमय थियो र त्रासैत्रासको घेराभित्र कैद थिए मान्छेहरू । किनकि समय पहिलेपहिलेको जस्तो शान्तिपूर्ण थिएन । माओवादीले शान्तिसम्झौता गरेर जनयुद्ध रोकिएपछि पनि अपहरण, हत्या, लुटपाट, कुटपिट अनि चन्दाआतङ्कका घटनाहरू रोकिएको थिएन । एकातिर तर्राईमा देखापरेका थरिथरिका समूहहरूले पनि माओवादीसैलीकै क्रियाकलाप गर्नथाले पछि अपहरण र हत्याका घटनाहरू बढ्न थालेको थियो भने अर्कोतिर योङ् कम्यूनिष्ट लिग ( वाई.सी.एल.) आतंकले जनताको मनमा डर र त्रास यथावत थियो । रेडियो र टेलिभिजनका मुख्य समाचार पनि अपराधिक घटनाहरूकै खवरबाट थालनी हुन्थे । दिनदिनै हुने हडताल, राजमार्ग बन्दले गर्दा त जनजीवन झन कष्टकर हुँदै गएको थियो । त्यही असहज परिस्थितिका कारण मान्छेहरू साँझ-बिहान निर्धक्कसँग हिँडडुल गर्न सकिरहेका थिएनन् । कहिले, कहाँ कतिखेर के हुन्छ त्यो भन्न सकिने अवस्था थिएन । त्यसको प्रत्यक्ष असर बिहान सबेरै शहर बजारमा दुध, दही, तरकारी, फलफूल र अन्य दैनिक उपभोगका सामानहरू बेचेर जिविकोपार्जन गर्ने र प्रातःभ्रमणमा निस्किनेहरूलाई परेको थियो । त्यसैले बिहान झलमल्ल उज्यालो भएपछि मात्र मान्छेहरूको चहलपहल पनि शुरू हुन्थ्यो । त्यस्तो समयमा अचानक यौटा ठूलो खैलावैला र हलचल ल्याइदियो सडक-दोबाटो छेउमा भेटिएको लाशले ।

लाश यौटा युवकको थियो । उज्यालो भएपछि मात्र मान्छेले लाशलाई देखेका थिए । हल्ला चारैतर्फसुकेको खरमा आगोझैँ फैलियो । सानादेखि ठुलामान्छेहरूको भीडले एकैछिनमा सडक वरपरको ठाउँ ढाक्दै गयो । बुढादेखि बच्चासम्मको भीडले लाशलाई चारैतिरबाट घेरिंदा टाढाबाट देख्नेलाई यस्तो लाग्थो कि मानौं त्यहाँ भित्र कुनै चटकेले चटक देखाइरहेछ । कसैले पनि केही भन्न सकिरहेका थिएनन् । तर पनि लाश हेर्नेहरूको अनुहारमा दुइवटा छुट्टाछुट्टै भाव अड्कल काट्न सकिन्थ्यो । यसलाई कसैले मारेको हो वा यो आफै मरेको हो ।

लाशको जुन अवस्थामा थियो त्यसबाट यो भने स्पष्ट थियो कि लाशलाई अन्यत्र ठाउँबाट त्यहाँ ल्याएर फालिएको । किनकि लाश वरपर त्यस्तो कुनै संकेत वा चिन्ह थिएन कि घटना त्यहाँ नै घटित भएको होस् । लाश विल्कुल कोल्टे परेको थियो । यसो हेर्दा मान्छे निदाइरहेको जस्तो । त्यसैले लाशको पुरै अनुहार देखिँदैनथ्यो । लाशको जिउडाल हेर्दा उसको उमेर त्यस्तै २१।२२ वर्षो हुनसक्ने सबैको अनुमान थियो । एउटा पुरानो नीलो जिन्सपाईन्ट, हवाई नीलोचप्पल र रातोधर्का भएको क्रसचेक सेतो कमिज मात्रले पनि त्यो युवक एउटा सामान्य मानिस हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो ।
लाश हेर्नेहरूको भीड आ-आफ्नो प्रतिक्रियाहरू यस प्रकार व्यक्त गरिरहेका थिए ।
यो कुनै गार्मेन्टमा काम गर्ने मान्छे जस्तो छ ।
यो कुनै ज्यालामजदुरी गरेर हिँड्ने जस्तो छ ।
यो कुनै 'ट्यापे' (आजकल गाँजा, चरेश, हिरोइनजस्ता लागुपदार्थ सेवन गर्ने अम्मलीलाई प्रयोग गरिने शब्द) जस्तो छ ।
यो पक्कै पनि जँड्याहा हुनु पर्दछ ।
यो चोर, लफङ्गा जस्तो छ ।
यो गुप्तचर जस्तो छ ।
यो वाइ.सि.यल्. (योंग कम्यूनिष्ट लिग सदस्य) जस्तो छ ।
आदि इत्यादि ।

तर उपस्थित भीडले व्यक्त गरेको त्यस प्रकारको प्रतिक्रियाको खासै अर्थ थिएन । जब कि त्यो व्यक्ति को हो र ऊ आफै मरेको हो ? वा कसैले उसको हत्या गरेको हो ? भन्ने यथार्थ रहश्यमय नै थियो । यथार्थ चाहिँ यो थियो कि त्यसरी लाशहरू भेटिनु झन्झन् सामान्य कुरा र मान्छे मार्नु ख्यालख्याल जस्तो भएको थियो ।
मान्छेहरूको भीड बाक्लिँदै र पातलिने क्रम यथावत भैरहेको थियो । त्यसरी बाक्लिने र पातलिने भीडभित्र एउटा अज्ञात व्यक्तिको लाश वेवारिस अवस्थामा थियो ।

चौबाटोभन्दा पर करिव चौथाई किलोमिटरको दूरीमा अस्थाई प्रहरी चौकी भए पनि घटनास्थलमा कुनै प्रहरीको उपस्थिती थिएन । प्रहरीथानामा पुगेर कसैले पनि घट्नाको सूचना दिने आँट गरेका थिएनन् । किनकि जो व्यक्ति त्यो सूचना लिएर जान्छ उसैमाथि अनेक शङ्का-आशङ्का गरिन्छ भन्ने सबैमा परेको थियो । सबैजना त्यो लाश कसको होला र किन मर्यो वा मारियो होला भन्ने जिज्ञाशा आफुभित्रभित्रै गुम्साएर बसिरहेका थिए ।
मुढोझैँ पल्टिएको त्यो लाशमाथि आउने-जाने सबैले सहानुभुति व्यक्त गर्न भने बिर्सेर थिएनन् । अर्थात चित्त दुखाउनेहरू थिए अपरिचित नै भए पनि । यर्सअर्थमा भन्नुपर्दा मानिसहरूले मरेको लाशमाथि भए पनि मानवता प्रकट गरिरहेका देखिन्थे । त्यति हुँदाहुँदै पनि त्यो हजारौंको भीडमा त्यस लाशलाई चिन्ने कोहि थिएनन् । यसबाट पनि त्यो लाश त्यस क्षेत्र वरिपरिको होइन भन्ने कुरा प्रष्ट थियो । प्रष्ट नभएको कुरा चाहीं त्यो मान्छे आफै मरेको हो कि वा अरू कसैले हत्या गरेको हो भन्ने जिज्ञाशाभित्र भीड रूमल्लिरहेको थियो । भीड सल्बलाइरहेको थियो ।

त्यतिकैमा दुईजना पुलिस - एकजना हवल्दार हातमा 'वाकिटकी' बोकेर र अर्को सिपाही हातमा लठ्ठी लिएर भीड भएतिर आइरहेका सबैले देखे । त्यतिबेला समय विहानको करिव एघार बज्दै थियो । पुलिसहरू आएको देखेपछि भीड केही सलबलायो । भीडभित्रका मानिसहरू कोही पछिपछि हट्न थाले भने कोहीकोही पुलिसको केरकारमा परिन्छ भन्ने डरले जान थाले ।

पुलिस भीड छेउ आइपुग्यो । दुवै पुलिसले पहिले त्यहाँ जम्मा भएका मान्छेहरूलाई हेरे । अनि दुवै जनालेे वरिपरि घुमेर चौतिरबाट लाशको निरिक्षण गरे । लठ्ठी बोकेको पुलिसले भीडका सबै मान्छेलाई अझ टाढाटाढा रहन भन्यो र अर्कोले 'वाकिटकी' बाट केन्द्रमा खबर गर्यो । भीड एकदम मौन र शान्त थियो । 'वाकिटकी' बोक्ने हवल्दारले भीडतिर हेर्दै भन्यो - "तपाईं मध्ये कसैले यसलाई चिन्नु हुन्छ" ?

त्यहाँ भीडमा उभिएका मान्छेहरू कोही पनि बोलेन । उसले फेरि पनि त्यहि प्रश्न दोहर्यायो । भीडले पूर्ववत कुनै प्रतिकिया जनाएन । मानौं भीड मौनधारण गरिरहेथ्यो ।

अन्ततः पुलिसले लाश वल्र्टाईपल्र्टाई हेर्यो । कहीं कतै घाउचोट थिएन । लाश मस्त न्रि्रामा सुतिरहेको मान्छे जस्तो मात्र थियो । हवल्दारले कमिज र पाइन्टको खल्ति खोतलेर हेर्यो । उसको परिचय खुल्ने खासै कागजपत्र पनि भेटिएन । केवल यौटा मैलो रूमाल, गैँडा चुरोटको बट्टामा तीनवटा चुरोट मध्ये एउटा आधा सल्काएर निभाएको ठुटो, एउटा सस्तोखाले चाइनिज ग्याँस लाइटर अनि एक-दुई रूपैयाँका केही डवल मात्र भेट्यो । भीडका मान्छेहरू शान्त भएर त्यो सबै दृष्य बडो उत्सुकतासाथ हेरिरहेका थिए ।
त्यति बेलासम्ममा लाशको मुखमा झङ्गि भन्किन सुरू गरिसकेको थियो । केही परको नालीबाट आएर लाशमाथि भन्किने झङ्गिहरूको सङ्ख्या बढ्दै थियो । चर्को थियो घाम । त्यसैले लाशको मुख पहिलेकोभन्दा अलिक फुल्दै गएको हो कि भने जस्तो देखिन्थ्यो ।

त्यस्तैमा केही पत्रकार र टेलिभिजनका समाचारदाताहरू आए । त्यो वेवारिसे लाशवारे कुनै यथार्थ जानकारी नपाएपछि उनीहरू पनि समाचार संकलन र टेलिभिजन खिचेर गए ।

अन्त्यमा पुलिसले मुचुल्का खडा गर्यो । तर मुचुल्कामा त्यहाँ उपस्थित हुने कसैले पनि सही गर्न चाहेनन् र मानेनन् पनि । एकतर्फी मुचुल्का उठाएर पुलिसले रेडक्रसको एम्बुलेन्समा राखेर लाश पोष्टमार्टम गर्न अस्पतालतर्फलग्यो । त्यहाँको भीड छिनभरमै तीतर-वितर भयो । मानिसहरूको आवत-जावत पनि सामान्य हुन थाल्यो ।

त्यसदिन साँझपख विभिन्न टेलिभिजन च्यानलहरूले राजधानीमा वेवारिसे युवकको लाश फेला परेको खवर आ-आफ्नै ढङ्गबाट प्रचार-प्रसार गरे । भोलिपल्ट विहान पत्रपत्रिकाले फोटो सहित खवर छाप्यो । पहिले पहिले भए यस्ता घट्नाले ठूलै हल्लाखल्ला मच्चाउँथ्यो । मान्छेहरूमा निकै खैलाबैला हुन्थ्यो । तर समय परिस्थिति त्यस्तो थिएन । किनकि दिनदिनै मान्छे मरेका र मारिएका बढ्दो घटनाहरूले त्यस्तो हल्लाखल्ला मच्चिन पनि छाडिसकेको थियो । मानौं मान्छे मर्नु र मारिनु अब कुनै ठुलो कुरा होइन । त्यो सामान्य विषय र नियमित प्रक्रिया जस्तै भैसकेको थियो ।

मानिसहरूमा भित्रभित्रै एउटा आशङ्काले ठाउँ बनाएको थियो कि सेना वा पुलिसले माओवादीको शङ्कामा हत्या गरेको हो वा माओवादीले सुराकीको आरोपमा हत्या गरेको । अथवा कुनै अपराधिक समूहले सरकार र माओवादी दुवैलाई बदनाम गर्ने नियतले सुनियोजित ढँगबाट हत्या गरेको । यस्ता हुनसक्ने सम्भावित थुप्रै आशङ्काहरूले वास्तविकता के हो भन्नेतर्फभने कुनै निर्कौल दिन सकेको थिएन । आँखिर हत्या जसले गरे पनि हत्या हो र त्यसको खास कुनै न कुनै कारण त पक्कै हुन्छ नै । तर यहाँ त्यो कारण नै मुख्य रहश्यमय भैरहेको थियो । मानिसहरू त्यसैमा अल्मलिएका थिए ।

भोलिपल्ट ।

भात पकाइरहेकी सुनमायालाई घरवेटीको ठूली छोरीले अतालिँदै भनी - "दिदी दिदी, यो फोटो हेर्नोस् त... यो त दाईको फोटो जस्तो छ .. उहाँलाई कसैले मारेर फालेको... "।

यो सुनेर सुनमाया छाँगाबाट खसेजस्तो भई र अखवारको फोटो हर्ेनथाली । नभन्दै फोटो उसको लोग्ने यमबहादुर कै थियो । ऊ बेहोस भई । सुनमायाले अघिल्लोे दिन साँझ टेलिभिजनमा समाचार हर्ेन पाएकी थिइन । काम धन्दा गर्दागर्दै अवेर भैसकेको थियो । त्यसो त ऊ विस्थापित भएर काठमाडौं आएपछि उसलाई टेलिभिजनका समाचारहरू त्यति मन पर्दैनथे । लोकदोहरी र धारावाहिक टेलि-श्रृङ्खलाहरू भने नविर्राई हेर्ने गर्थी । त्यस दिन ती दुवै कार्यक्रमहरू थिएनन् । साँझसम्ममा पनि लोग्ने नआउँदा लोग्नै मालिककै घरमा बस्यो भन्ठानेर ऊ चाँडै सुतेकि थिए । किनकि उसलाई अलिअलि सञ्चो पनि थिएन ।
यमबहादुरको विगतको कथा ।

अत्यधिक मादक पदार्थ सेवनको कारण उसको बाबुको मृत्यु हुँदा यमबहादुर नौ बर्षो मात्र थियो । बाबुको मृत्युपछि विधवा आमाले गाउँघरमा ज्याला-मजदुरी गरेर छोराछोरीलाई दुःखसाथ हर्ुकाएकी थिईन् । यमबहादुर पहाडको गाउँमा सामान्य खोतिपाति गरेर बस्दथ्यो । बुढी आमा र एउटी वहिनी उसैको आश्रयमा थिए । दुईजना दिदीको विवाह पहिले नै भैसकेको थियो । उसको पनि एक वर्षपहिले मात्र विवाह भएको थियो ।

माओवादी व्रि्रोह सुरु भएपछि गाउँमा अपहरण, हत्या, जबर्जस्तीचन्दा र हिँसाले चरमसीमा लियो । सुरक्षाफौज र माओवादीबीच भइरहने भीडन्तले सम्पूर्ण देश युद्धमय भयो । गाउँका युवा-युवतीहरू कोही आफुखुसी त कोही जवजर्स्र्ती माओवादीमा लागे । कोही युवाहरू भने छिमेकी देश भारततिर, कोही जग्गाजमीन बन्धकी राखेर मलेसिया, सिङ्गापुर, कोरिया अनि खाडी मुलुक- कतार, सउदी अरव, कुवेततिर त कोही सदरमुकाम र राजधानीतिर लागेका थिए ।

गाउँका साथीभाई त्यसरी विदेशिएको देखेर उसलाई पनि गाउँ छोडेर जाउँजाउँ जस्तो लागेको थियो । जतिखेर उसको मनमा त्यो इच्छा आयो त्यति नै बेला इराकमा बाह्रजना नेपालीको निर्ममतापूर्वक विभत्स हत्या भयो । एउटाको घाँटी सेरेर र अरूको गोली हानेर भएको उक्त हत्याकाण्डले देशभर निकै ठूलो तहल्का मच्चायो । देशभर तोडफोड, आगजनी र लुटपाटले उग्ररूप लियो । त्यस घटनापछि उसको विदेशिने मनसाय पनि बीचैमा तुहियो । त्यसैले दुःखसुख गरेरै भए पनि उसले घरमै बस्ने निधो गर्यो ।

देशमा हत्या, हिंसा, दोहोरो मुठभेड र अपहरणको क्रम बढिनै रहृयो । त्यतिकैमा अचानक एकदिन उसलाई पनि घरमा नै आएर सुरक्षाफौजले लिएर गयो । घरमा रूवावासी चल्यो । ऊ स्वयम् पनि डरले थुर्थुर काम्यो । एक शब्द पनि बोल्न सकेन । आँखामा आँशु र मलिन अनुहार लिएर कसाहीले डोर्याउँदै लगेको बुढीबाख्रीझैँ ऊ पनि सिपाहीको पछिपछि खुरूखुरू गएको दृष्य उसका परिवारले अश्रुपूर्ण आँखाले टुलुटुलु हेरिरहे ।

तीन हप्तापछि ऊ अकस्मात घर आयो । तर उसको शारीरिकस्थितिभन्दा पनि मानसिकस्थिति पहिलेको जस्तो थिएन । जुनवेला पनि तनावग्रस्त देखिन्यो । प्रायजसो टोलाइरहन्थ्यो । त्यसैले पनि होला ऊ धेरैजसो घरमा नै बस्दथ्यो । सबैसँग कम बोल्थ्यो र प्रायः हाँस्दैनथ्यो । ऊ केही हराएहराए जस्तो, उदासउदास देखिन्थ्यो । उसलाई आफ्नो जीवन नै कस्तोकस्तो लागिरहेको थियो । तर त्यो कुरा उसले कसैलाई भनेन । भन्नु उपयुक्त पनि ठानेन ।

एक साँझ सबैजना खाना खाएर सुत्नजाने तरखरमा थिए । त्यतिकैमा बाहिर मान्छेहरूको खल्बल् सुनियो । उनीहरू सबैजना डरत्रासले भित्रभित्रै चिप्लेकिराझैँ खुम्चिए । तत्काल ढोका खोलेर बाहिर हेर्ने उनीहरूको आँट आएन । चुपचाप बसिरहे चालमारेर । एकछिनपछि बाहिरबाट कसैले ढोका खोल्न भन्यो । डर्राईडर्राई उसले विस्तारै ढोकाको आधा खापा खोलेर बाहिर चिहायो । केही नकावधारीको समूह आँगनमा देख्यो । उसले ढोका खोल्नेवित्तिकै नकावधारीहरू मध्ये चारजना जबरजस्ती घरभित्र पसे । तिनीहरूसँग विभिन्न प्रकारका हतियार थिए । तिन्ले घरका सबैलाई डरधम्की देखाए । घरमा खानतलासी गरे । धनसम्पत्ति केही नपाएपछि अन्ततः उनीहरूले यमबहादुरलाई आफैसँग लाने कुरा बताए । त्यो कुरा सुनेपछि घरमा आमा, वहिनी र श्रीमतीको रोदनले घरको चारै भित्ता थर्कियो । उसकी बुढीआमाले एकजना नकावधारीको खुट्टामा नै छाँदहालेर विलौना गरी । वहिनी र श्रीमती एकअर्कोलाई अँगालोमा बेरेर रोइरहेका थिए । उसले पनि हात जोडेर अनेक बिन्ती गर्यो । तर उनीहरूको रोदन पुकार कसैले सुनेन । अन्ततः यमवहादुर उनीहरूसँगै जान बाध्य भयो ।

रातको अँध्यारोमा नकावधारीहरूले यमबहादुरलाई कता लगे थाहा भएन । भोलिपल्ट गाउँमा यमबहादुर अपहरित भएको खवर फैलियो । छरछिमेकीहरू उसको घरमा जम्मा भए । उसकी आमा, वहिनी र स्वास्नीलाई आश्वासन र शान्त्वना दिए । उनीहरूले गर्न र दिनसक्ने पनि त्यहि मात्र थियो । त्यस घटनापछि गाउँमा अरू खैलाबैला मच्चियो र बाँकी रहेका युवाहरू पनि गाउँ छोड्नेक्रमले पुनः तीव्रता लियो । जसको कारण गाउँ केवल केटाकेटी र बुढाबुढीको आश्रयस्थल जस्तो मात्र भयो । प्राकृतिक र दैविप्रकोप पर्दा समेत आपतकालिन सहयोग गर्नसक्ने युवा गाउँमा प्रायः भएनन् ।

समय बित्दै गयो । गाउँ झन्झन् सुनसान हुँदै थियो । नौला कोही मानिस गाउँमा देखियो कि सबै मानिसहरू उसलाई अनेक शङ्काको दृष्टि हर्ेर्थे । एकले अर्कोसँग खुलेर कुरा गर्दैनथे । खेतिपातिमा गए पनि साँझ पर्नु अगावै घर आउँथे । अँध्यारो हुनुपहिले नै घरको झयालढोका थुनेर बस्दथे । यस्तैक्रम चलिरहेथ्यो । त्यतिकैमा एकदिन झमक्कसाँझ परेपछि यमवहादुर टुप्लुक्क घर आयो । घरका परिवार उसलाई देख्नेवित्तिकै पहिले त आर्श्चर्यमा परे । अनिपछि खुसीले रून थाले । मन थाम्नै सकेन र उसको पनि आँखाबाट आँसु झर्यो । केही क्षणको रूवावासीपछि उसले मुटुमा गाँठो पारेर भन्यो - "आमा, अब हामी यहाँ नबस्ने ।" यो सुनेपछि त आमा, वहिनी र उसकी श्रीमती झन् रून थाले । उनीहरूको रुवाई यस्तो थियो कि मानौं घरको कुनै सदस्यको मृत्यु भएको छ । रूवावासी थामिएपछि उसले सबैलाई सम्झायोे । ऊ आफु कसरी भागेर आएको हो त्यो कुरा पनि बतायो ।

अन्ततः यमवहादुर र उसको परिवार त्यहि रात गाउँ छोडेर हिँड्यो । घरबाट निस्केपछि उसकी आमा ढोकाको संघारठेलोमा शिर राखेर निकैबेर रोइरही । घरबाट हिँडिसकेपछि पनि धेरै पटक फर्कीफर्की घरतिर हेर्दै र आँखाबाट आँसु झार्दै गरी । त्यसबेला उनको छाती भित्र घरको माया र घर छोड्दाको पीडा ज्वाला बनेर उठेको थियो । अनि त्यो पीडा आँशु बनेर खहरेझैआँखाबाट बग्दै थियो । अँध्यारोमा हिँड्दा रूखबाट सुकेको पात खसेको आवाजले पनि उनीहरू झस्कन्छे । तर्सन्थे । उनीहरू सदरमुकाम आईपुग्दा नपुग्दै झसि्मिसे उज्यालो भयो । त्यहाँ एकजना टाढाको नातेदारकहाँ एक हप्ता विताएर यमवहादुर स-परिवार राजधानी भित्रियो ।

राजधानी छिरेपछि भर्खर्रभर्खर बस्ती विकास हुन लागेको कुनै नयाँ आवासक्षेत्रमा उसले डेरा लियो । करीव एक महिनासम्म कामको खोजीमा भौतारिएर हिँड्दा टाढाको गाउँकै चिनजानको मान्छे फेला पर्यो । ऊ पनि गाउँ छोडेर राजधानीमा एउटा सानोतिनो किराना पसल राखेर जिविका निर्वाह गर्दै थियो । केहीदिन पछि उसैले यमवहादुरलाई एउटा नवधनाढ्यको घरको बगैंचा सिँगार्ने काममा लगाइदियो ।
यमवहादुर इमान्दारीपूर्वक काम गर्न थाल्यो । उसलाई शहरमा जेनतेन जीवन गुजारा गर्न सजिलो भयो । तर राजधानी पसेको दुई महिना पनि नपुग्दै उसकी आमा हृदयघातबाट परलोक भईन । उसकी वहिनी टेम्पोपार्क नजिकैको सामान्य रेष्टुराँमा भाडा माझने काम गर्दर्थी । त्यतिकैमा एकदिन उ पनि बेपत्ता भई । खोज तलाश गर्दा कहीँ पत्ता लागेन । कसैले टेम्पो ड्राईभरले भगायो भने कसैले भारततिर वेश्यालयमा बेचिसके भने । तर यथार्थ के हो त्यो थाहा भएन । यस घटनाबाट ऊ साह्रै दुःखी र पीडित देखिन्थ्यो । विक्षिप्त मनस्थिति लिएर पनि ऊ जीउनुको वाध्यतासँग संर्घषरत भईरहृयो । कहिले आफ्नो भाग्यलाई दोष दिन्थ्यो त कहिले भगवानलाई सराप्थ्यो । विरानो शहरमा अब उसको भन्नु एक श्रीमती मात्र थिई जो ऊभन्दा पनि बढी निरास र उदास देखिन्थी ।

यमवहादुर समयमै काममा जान्थ्यो र समयमै डेरामा र्फकन्थ्यो । त्यस्तैमा घर मालिकको कान्छीछोरीको विवाह हुने दिन नजिकिंदै थियो । विवाहको तयारी धुमधाम चलिरहेथ्यो । त्यसैले पनि यमवहादुर कहिले डेरा र्फकन्थ्यो कहिले उतै बस्थ्यो ।
आज अचानक उसको लाश सडकको दोवाटोछेऊ भेटियो ।
विडम्बना ! एता यमवहादुरको लाश सनाखतविनानै शवगृहमा थियो भने उता उसकी स्वास्नी त्यही अस्पतालको आकस्मिक कक्षमा वेहोस अवस्थामा थिई ।
त्यहाँ उपस्थित भएका महिलाहरू आपसमा भन्दै थिए - "सुनमायाको पेटमा गर्भ रहेछ ।"

समाप्त

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु