गणतन्त्रको खेती

- विक्रम सुब्बा

भन्दिनु है पारिजात दिदीलाई भन्दिनु

दिदीले छोडेर गएको मुलुकमा

सम्बिधानका पन्नापन्नामा फलेका

गुलिया, चिप्ला र धारिला अक्षरहरू

भोक मार्ने मकैभटमास बन्न सकेनन्

तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

 

भन्दिनु है पारिजात दिदीलाई भन्दिनु

आन्दोलनको हलोमा  जुलुसका नाराहरु नारेर

गल्लीगल्ली, सडक र चोक जोत्दै जाँदैछन्

फालि अडकाउँने दरबारका जग समेत जोत्दै जाँदैछन्

सातसमुद्र पारी र छिमेकक फिरङ्गी-मोडलका

ग्र्याण्डडिजाइन र रोडम्याप जोत्दै जाँदैछन्

जोतेको सियो र खनेको चपरीमा

आफ्नै रगतका वीउ हाल्दै जाँदैछन्

यो महान खन्जोतबाट कोही आतङ्कित छन्

र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा

बचाउका काला बङ्कर तैयार गरिरहेछन्

तर गणतन्त्रको खेती गर्नेहरू

बङ्करहरू पनि जोत्दैजोत्दै जाँदैछन्

 

भन्दिनु है पारिजात दिदीलाई भन्दिनु...

सम्बिधानका पन्नापन्नामा फलेका

गुलिया, चिप्ला र धारिला अक्षरहरू

भोक मार्ने मकैभटमास बन्न सकेनन्

तसर्थ सुरु भएको छ गणतन्त्रको खेती

__________________________________________________________________________________________________

 

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु