साइतामाको सेरोफेरो

- कृष्ण प्रर्साई

कस्तो पहेँलिन सकेका पातह, जापानमा ! कस्तो रंगीन हुन सकेका, जंगलका रुखहरु हिउँद पस्नु भन्दा अघाडिका जापानी पहाडी डाडाहरुमा ! ! र कति सुन्दर हुन सकेका ,हिउँद पस्नु भन्दा अघाडिको जंगली पाखाहरुको पुरुषार्थ जापानमा ! ! ! सम्झदै मात्र पनि रमाईलो लाग्छ जापानमा ।

कोइकेसान (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ)ले आफनो घर आफै बनाएको हल्ला त्यसताका सम्पूर्ण चिचिबु शहरभरि फैलिएको थियो । शिक्षण पेशामा रहेका कोइकेसानले दुईवर्षलगाएर एकतले काठको घर बनाएका थिए । त्यसो त ताजिमासान पेशाले आर्किटेक्ट इन्जिनियर भए पनि चित्रकार हुन् । भारतको ताजमहल हेरिसकेपछि आफ्नो पुरानो नाम फेरेर नयाँ नाम ताजिमा राखेका हुन । उनले पनि आफ्नो काठको दुई तले भवन आफै बनाएका छन् । सानोतिनो कलाकारिता बोकेको उनको घरभित्र पस्ने वित्तिकै कला संग्राहलय को सानोतिनो आभास भेटिन्छ । जानेर हो वा नजानेर मलाई थाहा छैन तर कृष्णको मुर्ति देखि राम नाम लेखिएका कपडाको पर्दा उनका घरमा भेटिन्छन् । जापानमा आफनो काम आफै गर्नु उत्तम मानिन्छ त्यसमा पनि आफू बस्ने घर आफै बनाउनुलाई ठूलो पुरुषार्थ ठानिन्छ । चिचिबु शहरका अर्का प्रसिद्ध कलाकार कुसुगेसान झन कम का छैनन । चित्रकारिता सिकाउने र उनी बस्ने उनको घर अझै पनि उन्नाइसौं सताब्दीको छ । घर नजिकै वारीमा उभिएको ठूलो रुखको हागामा उनले आफनै पाराको चाङ्ग बनाएका छन् । जँहा उनी कहिलेकाँही चित्रकला सिक्न आउने वालवालिकालाई चढाएर रमाइलो मान्दछन् । त्यस्तो टौवा नेपालका पहाडी वा भित्री मधेसका खेती गरिने गाउँले इलाकामा जंगली जनावर र पंक्षीबाट अन्न जोगाउन रुखहरुमाथि हालिने गरिन्छ ।

प्रकृति र स्थानीयतालाई जीवनको सवै भन्दा महत्वपूर्ण वस्तु मान्ने कुसुगेसानको चित्र कला जापानमा महंगो मूल्यमा बिक्री भएर चर्चित समेत रहेको छ । उनलाई हवाइजहाज चढ्न डर लाग्छ रे त्यसैले उनी समुन्द्रपार को यात्रा त्यति रुचाउदैनन् । आधुनिक विकासलाई त्यति मन नपाराउने उनी प्रकृतिलाई जस्तो छ त्यस्तै रहन देउ भन्ने मान्यताका पक्षपाती हुन् । त्यसैले उनको घरबाट स्पष्टै देखिने र जापानभरि नाम चलेको बुकोसान (सम्मानित पहाडको नामपछि सान शब्द आउछ) छेवैमा निर्माण गरिएको सिमेन्ट कारखाना प्रकृत्ति सँग मान्छेले खोजेको निउँको रुपमा लिएर सरकार सँग जाइलागे । सिमेन्ट कारखाना राखिए पछि पहाडको उचाइ दुई फिट कम भयो भन्ने भुगोल बिद्हरुले उनको कुरालाई साथ दिएकाले त्यस बिरुद्ध आन्दोलननै छेडे । साइतामा प्रान्तको गहनाकै रुपमा रहेको बुकोसान बचाउ आन्दोलनका अगुवा नै रहे कुसुगेसान । सम्पदाहरुको यथास्थितीकै उपस्थिति र अस्तित्व स्वीकारने कुसुगेसानलाई हजारौ गाउलेहरुले समेत साथ दिए त्यसो त साइतामाभरि पानीका अजश्र नसुक्ने श्रोतहरु पनि छन् जस्लाई भण्डारन गरेर टोकियो सम्म पुर्याइएको छ । साइतामा प्रन्तकै पानीको बितरणले टोकियो र आसपासका सहरहरु बाँचेका छन् ।

त्यतिमात्र होइन सयौं बर्षपुरानो जापानको जीवन परिवेश हेर्नुपर्यौ भनेपनि साइतामालाई नै लिनुपर्ने हुन्छ । कुनै कुनै दुर्गम ठाँउका घरहरु त नेपालकै गरीवहरु बस्ने घरहरु झै लाग्छन् तर त्यहाँ बस्ने मानिसहरुको जीवनस्तर भने नेपालको जस्तो छैन । कमजोर स्थितिको परिवार वा दुख पाएको ज्येष्ठ नागरिक छ भने बिभिन्न क्लव वा समूदायहरुबाट भने सम्मको सहयोग हुन्छ जापानमा । उमेरा पाका भएका नगरिकलाइ जापानमा नब्बे प्रतिशत नै छुट हुन्छ औषधी र अस्पताल खर्चमा । ज्येष्ठ र गरिव नागरिकहरुका लागि ठुल्ठुला रोगको निशुल्क उपचार हुन्छ जापानमा । त्यसैले पनि संसारभरमै सवैभन्दा उच्च आयू बाँच्ने मान्छेहरुको संख्या र्सवाधिक छ जापानमा ।

चिचिबु शहरकै अर्का प्रभावशाली प्रोफेसर मानावु साकाई त झन मैले विर्सिनै नसक्ने सेरामिक्स कलाकार र कवि दुवै हुन् । दुईवटा सेरामिक्सका प्रयोगशाला आफनै घरमा राखेर प्रायःजसो उनी जापानका धेरै ठाउँमा सेरामिक्स कला पर्दर्शनी गर्दछन । धेरैपटक म उनीसंग उनको पर्दर्शनीमा दर्शक भएर भागलिएको छु । अपाङ्गहरुको अति सम्पन्न र सुविधायुक्त विद्यालय होस वा आश्रम गृहमा बृद्धलाई मन बहलाउन सिकाइने काचो माटाको सृजन कालिगढी होस उनले मलाई साथै लिएर जापानका विभिन्न स्थिति र अवस्था को अनुभव दिएकाछन् । विदेशीले समेत जान अनुमति नपाउने त्यहाँको पागलखानामा उनकै सहयोगले म घुमेको छु । दिनमा दुई बट्टा सिगरेट र जतिपनि कोकाकोला पेय पदार्थ खान छुट हुने त्यहाँको पागलखानाको कोठा बर्सेर सेतो रंगले पोत्नुपर्छ रे त्यसैले होला प्रत्येक कोठामा बसेर सबै पागल कैदीहरुले खाने सिगरेटको धुवाबाट निस्कने पहेँलो निकोटिनको रङ्गले भरिएका वरिपरि र माथिका भित्ताहरु पहेँलिएर अचम्म र उदेकलाग्दा थिए । किनहोला मानसिक रोगीहरुलाई जापानमा त्यति धेरै चुरोट र त्यस्तै खाले पसलहरु राख्न दिएको ? किन होला मानसिक रोगीलाई त्यति धेरै चुरोट खान सिफारिस गरेको ? मलाई जापानी चिकित्सकहरुसँग अचम्म लाग्यो । पागलखानाका केही कोठामा मानसिक रोगीहरुलाई खुट्टामा ठिँगुरो कसेर साङ्लाले बाँधिएका दृश्यहरु पनि देखिन्थे तर तिनीहरुका भने छुट्टै र निजी एकल कोठा थिए । हुन त जापान भन्दा पनि चर्को रुपले कोरियामा चुरोटको प्रयोग बढी गरिन्छ । कलेजका केटाकेटी लगायत वयस्कहरुले समेत कोरियामा चुरोटको प्रयोग हुन्छ । चुरोटको प्रयोग गर्ने मुलुकमा कोरिया पछि जापान आउछ । हुनत जापानका धेरै बिद्यालयमा अध्ययानरत अहिलेको पुस्ताका केटाकेटीहरु कुलतमा लागेको पनि सुन्नपाइन्छ । माध्यमिक स्कुलबाटै केटासाथी र केटी साथीको रोजाई सामान्य भइ सकेको छ जापानमा । कपाल रङ्गाउने, पाश्चात्य संकृतिको हुवहु नक्कल र फेसनले गम्लङ्ग अंगालो मारिसकेको छ जापानलाई । जापानी यूवा, यूवतीलाई हाइस्कुलसम्मको बाध्यात्मक शिक्षा लिनुपर्ने नियम नटेर्नेहरु पनि धेरै छन् जापानमा । त्यसैले आफ्ना धेरै सन्तानहरुसँग कम आशावादी देखिन्छन् अभिभावकहरु । अत्याधिक स्वतन्त्रताको नकारात्मक प्रभावले जापानलाई पुरै गाँजेको मैले देखेको छु । पाश्चात्य छाडा संकृतिलाई अनुसरण गर्ने बानी र पश्चिमा साम्राज्यवादको धङ्गधङ्गी यूवा पुस्तामा छलंङ्ग देखिन्छ जहितहि । आफ्ना परम्परा बोकेका जात्राहरुमा पनि विदेशबाट नृत्यंङ्गनाहरु मगाएर महंगो मुल्य चुकाउदै अर्धनंग्न नृत्यहरु देखाइन्छ जापानमा । प्रायःगरी ब्राजीलबाट आउने ती नर्तकीहरुको वजारै लाग्ने गर्छ जापानी गाँउका जात्राहरुमा ।

जे होस मेले चिचिवुका रंगिन पटके जात्राहरु नजिकबाट हेरेको छु । यहाँ जात्रामा खर्च हुने अतिसबाजीको झिलीमिली पत्याईनसक्नु खर्चिलो छ । नेपालमा मनाइने रथ तान्ने जात्राहरु जस्तै हुवहु खालका जात्राहरु जापानको चिचिवुमा पनि मनाइन्छन् र प्राचीन सिन्तो धर्म र झण्डै यससंग सम्बन्धित मन्दिरहरु चिचिबुभरि नै छरिएर रहेकाछन् । तर त्यहाँ नेपालमा झै मन्दिरमा पूजा हुँदैन । तिनीहरु मात्र हेर्नका लागि र मन्दिरमा पुगेर तीन पटक अवाज निकालेर मन्दिरमा राखिएको घण्टी बजाउने परम्परामा मात्र सिमित छन । भनिन्छ सिन्तो परम्परा बुद्ध धर्म भन्दा पनि अघिको मान्यतामा हुर्किएको परम्परा हो जो विस्तारै जापानबाट लोप हुने स्थितिमा छ ।
यति हुँदाहुदै पनि त्यहाँ मनाइने जात्रामा समीका हाँगा र पातको प्रचुर मात्रामा प्रयोग भएको मैले पाए । समीको महत्व पूर्वीय परम्पारमा ज्यादै महत्वपूर्ण रहेको छ । पन्च पल्लव मा पर्ने समीका रुखहरु मैले जापान, चीन, हङकङ्ग र कोरिया जस्ता विकसित मुलुकका शहरहरुमा बाटाको पेटी वा घरहरुका गमलामा सजाउने परम्परा नै देखेको छु । जानेर होस वा नजानी होस समीका विरुवाहरु कोरियाका घरहरुमा समेत प्रसस्तै भेटिने गरिन्छ । पन्च पल्लव भित्र पर्ने समीलाई नेपालमा धार्मिक र ज्योतिषीय हिसावले महत्वपूर्ण मानिन्छ । समी अर्थात शिव र शुक्र ग्रहको प्रतीकको रुपमा नेपालमा पूजा गरिन्छ । शुक्र ग्रहलाई विज्ञान, प्रसाधन, रुप र कामको पर्यायको रुपमा पूर्वीय हिन्दु दर्शनले लिने गरेको छ ।
कोइकेसान, मानावुसान, ताजिमासान र कुसुगेसानहरुको आफ्नो घर रहेको साइतामा प्रान्त कला र साहित्य बाहेक प्राकृतिक संरचनामा पनि अब्बल रहेको छ ।

साइतामा प्रान्त जापानी पहाड र समथर मैदाहरुको संगमस्थल हो । हिउँदमा हिउँ जम्ने उच्च पहाडी श्रृङखला देखि मैदानसम्मका भू-भागहरु यस प्रान्तका गहनाहरु हुन् । धेरै सुरुङ भएको रेलमार्ग र झण्डै दुर्गमझै लाग्ने कतिपय पहाडी इलाकाहरु यस प्रान्तमा रहे पनि भौतिक विकास भने सबै ठाउँमा उस्तै पाराले पसिसकेको छ जापानको साइतामा प्रान्तमा ।

चिचिवु साइतामा प्रान्त भित्रैपर्ने सानो र प्राचीन शहर हो । जहाँ वर्षरि नै मनाईने अनेकौँ जात्राहरुले यसको साँस्कृतिक र धार्मिक महत्व उजागर गरेका छन् । सम्भवतः जापान भरिनै सबै भन्दा ज्यादा प्राचीन मन्दिरहरु रहेको क्षेत्र हो साइतामा । जहाँको मान्यताअनुसार मन्दिरहरु धेरै रहेको क्षेत्रमा भूइचालो कम जाने र यसले पुर्याउने क्षति पनि कम हुने विश्वास गरिन्छ । यसको ज्वलन्त प्रमाण सयौँ वर्षेखि प्रायः जाने गरेका भूइचालाहरुले यस क्षेत्रमा कुनै नोक्सानी नगरे बाट पनि बुझनसकिन्छ । समग्रमा साइतामा मन्दिरहरुको, भित्री घना पहाडहरुको, पानी भण्डारन क्षेत्रहरुको र जात्राहरुका लागि नाउँ चलेको ठाउँ हो ।

सन् २००५ को २६ नभेम्बर दोश्रो पटक मैले जापान टेक्दा मेरो गन्तव्य रहेको साइतामा प्रान्तमा हेर्दाहेर्दै देख्दादेख्दै मैले देखेका रंगीन जंगलहरु विस्तारै पातहरुमा सुक्दै र हिउदलाई ख्वााउदै र खुइलिदै गए । नराम्रा र जिंगरिङ्ग हुदै गए । यसअघि जुलाईतिर जापान टेक्दा सबै पहाडलाई हरियालीमा देखेको थिएँ ।
जापानीहरु जंगललाई, उर्वरा खेतहरुलाई, पहाडलाई र नदी नालालाई असाध्यै माया गर्छन् । उनीहरुको अधिकांश थर र जात यस्तैै वस्तुहरुसँग जोडिएको मैले भेटेको छु ।

जापानसँगको मेरो सम्बन्ध सधै पहाडहरुसँगको छ । जंगल र हिउँसँगको छ । त्यसैले मैले पहाडभित्र कसरी विकास फुलाउन सकिन्छ , जंगललाई सबैले मायाँ गरेर कसरी सुरक्षित बचाउन सकिन्छ र चिसा कठ्याङ्गरिने हिउँहरुमा मानव सभ्यतालाई कसरी पालन पोषण गर्न सकिन्छ भन्ने कुरा यहीँबाट सिकेको छु । राम्ररी भन्नु पर्दा उच्च पहाडभित्र कसरी बाटो बनाउन सकिन्छ ,कसरी रेल कुदाउन सकिन्छ र कसरी मोटर गुडाउन सकिन्छ यी सबै कुराहरु मैले यहीँआएर देखेको छु ।

हो, मेरो देशमा गरीवी छ । गरीवी सँग लड्ने सक्ने शक्ति पहाडसँग हुँदैन । यस मानवीय भुखण्डमा रोग छ, रोगसँग भिड्न सक्ने सामार्थ्य हिमाल सँग पनि हुदैन । यहाँका तर्राईहरुमा अभाव र पीडा छ । अशिक्षा,अनिकाल,बाढी,पहिरो,दहेज जातपात जस्ता वर्षौ पुराना समस्यासँग हामी हरदम लडिरहेका छौ । यति भएर पनि हामीसँग सम्पदाहरु छन् । सहास गर्ने हो भने पानीका अविरल र अजश्र श्रोतबाट देश उज्याल्याउन सकिन्छ र सक्नु पर्छ । प्रकृतिले दिएका अनन्त उपहारहरुबाट औषधि उमार्न सकिन्छ र सक्नुपर्छ । ती उनै डाँडाहरु हुन् जस्को चौतारीमा बसेर कुनै भोको बटुवा अघाएको अनुभुत गर्छ र गर्नसक्नु पर्छ । सेतै फुलेका हिमाल देखाएर पौरखी आफ्नो व्यावसाय गर्छ र गर्नसक्नुपर्छ । शाल्रि्राम कुद्ने नदी यसै देशमा मात्र पाइन्छ । कस्तुरी बिन्दा यसै देशमा भेटिन्छ । यतिका पाइलाहरु, किन्नर किन्नरी का नुहाउने पवित्र जलकुण्डहरु, अस्टचिरिन्जीवीका गन्तब्यहरु, अखण्ड र अनन्त फैलिएका हिमगिरिका सन्तानहरु यसै देशका गहनाहरु हुन् । यिनीहरुले फुल्न पाउनैपर्छ र उज्यालो बनाउनै पर्छ मेरो देशको मुहारलाई ।

तेसैले पनि मैले भन्नै पर्छ , मेरो देशमा उदाउने र्सर्ूय भन्दा प्यारो मलाई अरु कुनै देशमा उदाउने र्सर्ूय हुन सक्दैन । मेरो देशमा उड्ने परेवाको उर्डाई र कावा खेलाई अरु कुनै देशका परेवाहरुको भन्दा रमाईलो हुनै सक्दैन । मेरो देशमा बगेका खोलाको मधुर आवाज भन्दा अरु कुनै देशका खोलाबाट आउने आवाजले मलाई प्रभावित पार्नै सक्दैन । म धेरै कुरामा लाचार छु, अभिशप्त छु र वाध्य छु । यो भन्दा सत्य पनि अरु कुनै कुरा हुन सक्दैन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 4 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु