अध्ययनको सर्न्दर्भ

- सङ्गीत आयाम

वास्तवमा अध्ययन के हो ? आजसम्म अध्ययन यही नै हो भनेर कतै पनि सही प्रकारले परिभाषित गरेको देखिएको छैन । अध्ययनका बारेमा धेरैले धेरै पटक चर्चा गरेका छन् तर अध्ययनको परिधि र प्रवृत्तिमा समाहित भएर ठोस परिभाषा दिने काम भने कतैबाट पनि शसक्त रूपमा आएको देखिदैन । कोही भन्छन्; स्कूल, कलेजमा पढेर प्रमाणपत्र हासिल गर्ने प्रक्रिया नै अध्ययन हो त कोही भन्छन्; विभिन्न विषयमा प्रशिक्षण लिएर प्रविधिसँग नजिक हुनु नै अध्ययन गर्नु हो । कोही भन्छन्; जे जस्तो रूपमा भए पनि पढ्ने-लेख्ने काम नै अध्ययनको पहिलो र अन्तिम शर्त हो त कोही भन्छन्; नयाँ नयाँ कुरामा आफूलाई सङ्लग्न गराएर हरेक विषय वस्तुमाथि प्रयोग गर्नु नै अध्ययनलाई पुष्टि गर्नु हो ।

के पुस्तकहरू पढ्नुमात्र अध्ययन हो त ? पुस्तकहरू अध्ययनका सामाग्री हुन् तर सम्पूर्ण अध्ययन त्यही मात्र हो भन्नु आफूलाई फैलाउन नसक्नु हो । के सत्ता हासिल गरेर शासन गर्नु मात्र अध्ययन हो ? देश र समाजलाई वुझ्न यो पनि एउटा अध्ययनको माध्यम हुनसक्छ तर यो मात्र अध्ययनको विषय हो भन्नु आफ्नो बौद्धिकतामाथि प्रश्न चिन्ह लगाउनु हो । के नयाँ-नयाँ आविस्कार गरेर युगलाई उन्नतिको मार्गमा प्रविष्ट गराउनु मात्र अध्ययन हो ? नयाँ वस्तुहरूलाई परिभाषित गरेर समय सापेक्ष प्रयोग गर्नु पनि ठूलो अध्ययनको सर्न्दर्भ हो तर अध्ययनको शुरुवात यसैबाट भएर यसैमा अन्त्य हुन्छ भन्नु मुर्खता हो । आर्थिक असमानताको विरुद्धमा लडिएको विषय मात्र अध्ययन हो ? वर्गीय विभेदलाई कम गर्दै लैजानु पनि अध्ययनमा सङ्लग्न रहनु हो तर त्यो मात्र अध्ययन हो भनेर भन्नु अरु प्रकारका अवस्थाहरूलाई आत्मसात नगर्नु हो । अध्ययनका विषय के
होइनन् र ? अध्ययन गर्नुपर्ने आवश्कता कहाँ छैन र ?

के त्यसोभए माथि उल्लेख गरिएका कुराहरूमा नै अध्ययनको सीमा परिलक्षित छ त ? अध्ययनको सीमा हुन्छ कि हुँदैन ? कुन आधारले अध्ययनको सीमा निर्धारण गर्ने ? के त्यसरी गरिएको सीमा निर्धारण नै अन्तिम हुन सक्छ ? के त्यो नै त्यसको परिभाषित गन्तव्य हुन्छ त ? आउनोस्, अध्ययनको सर्न्दर्भ के हो र त्यसको सीमा के कति हो भन्ने बारेमा व्यापक चर्चा परिचर्चामा जुटौं । त्यसमथि अब चिन्तन मनन गर्ने बेला भैसकेको छैन र ?

अब प्रश्नहरू स्वत तपाईले आफ्ना अघि उभिएको पाउनुहुन्छ । तपाईको अघि उभिएको पहिलो प्रश्न यस्तो हुनेछ, अध्ययन त गर्ने अब कुन विषयको गर्ने त ? त्यसको नजिकै अर्को प्रश्न हुन्छ । अध्ययनलाई न्याय गर्ने विषय कुन हो र त्यसलाई हानी पुर्याउने सर्न्दर्भ कस्तो हो ? त्यसकै समानान्तर रूपमा उभिएको अर्को प्रश्न फेरि यस्तो छ, के साँच्चै नै कुनै विषयमा पारङ्गत हुँदैमा अध्ययन सकिएको मान्नुपर्छ ? अलि पर तर आत्मविश्वासका साथमा उभिएको अर्को प्रश्नमाथि तपाईको ध्यान एक्कासि पुग्यो भने मलाई कुनै अनौठो लाग्ने छैन । के कुनै विषय अध्ययनको क्षेत्र हो भन्दैमा अरु विषयहरू त्यसभन्दा पृथक रहन सक्छन् ? प्रश्नदेखि नभाग्नुहोस, बरु त्यसको उत्तर खोज्नुहोस् ।
तपाईलाई लागेको हुनसक्छ मैले धेरै अध्ययन गरिसकेको छु, अब मलाई अध्ययनको के आवश्यकता छ र ? तपाईलाई लाग्ला; मैले सम्पत्ति प्रशस्तै जोडेको छु र मेरो परिवार एकदमै खुशी छ, अब अध्ययन नगरे पनि मलाई पुग्छ । हो, तपाई केही हदसम्म आर्थिक रूपमा कङ्गाल हुनेहरूका अगाडि सम्पन्न हुनुहुन्छ तर तपाईभन्दा धेरै गुणाले सम्पन्न हुनेहरूका अगाडि फेरि पनि तपाई कङ्गाल नै हुनुहुन्छ । तपाईको सीमा के हो त ? तपाईले आफूभन्दा पछाडिकालाई हेरेर सन्तुष्ट हुने हो कि आफूभन्दा अगाडि पुगिसकेकालाई हेरेर असन्तुष्ट हुने हो ? यसलाई तपाईले वास्तवमा कसरी लिनुहुन्छ ? अध्ययनको प्रक्रिया पनि यस्तै यस्तै हो, जहाँ तपाईले अध्ययनलाई समाप्त गर्नुहुन्छ त्यहाँ तपाईको विकास-क्रम पनि अवरुध्द हुन्छ । आर्थिक क्षेत्रको मात्र कुरा होइन अध्ययनको उपस्थिति हरेक क्षेत्रका लागि ठूला-ठूला चुनौतिहरू हुन् जसलाई अस्वीकार गर्ने हो भने कुनै क्षेत्रको विकास प्रक्रिया नै सम्भव छैन र त्यसको पुष्टि बारम्बार भैरहेको पनि छ ।

म भन्छु, अध्ययन शब्द नै विशालताको अर्को रूप हो । यो कुनै विषयसँग मात्र सम्बन्धित छैन, सबै विषयहरू यसका मूलभूत तत्वहरू हुन् । चाहे तपाई विज्ञानको कुरा गर्नुहोस्, अध्ययन नभइकन कुनै पनि कुराको वैज्ञानिक उन्नति सम्भव छैन । चाहे तपाई राजनीतिका कुरा नै किन नगर्नुहोस् अध्ययन नगरिकन समाज, देश र अन्तराष्ट्रलाई बुझ्न सम्भव नै छैन भने हुन्छ । चाहे तपाई अर्थशास्त्रको कुरा गर्नुहोस्, अध्ययन विना आर्थिक विषमताको कुरा र आर्थिक गुणहरूका सर्न्दर्भलाई बुझ्न र आत्मसात गर्न नै सकिदैन । चाहे तपाई साँस्कृतिक अभियानका कुरा नै किन नगर्नुहोस्, अध्ययन विना सँस्कृति र त्यसको विकास क्रमलाई तपाईले नजिकबाट अनुसन्धान गर्न नै सक्नुहुन्न ।

घरबाट तपाई बाहिर निस्कनुहुन्छ, तपाईलाई अध्ययनको आवश्यकता पर्छ । आफूसँग केही अध्ययनको पृष्ठभूमि छ भने तपाईको छाती गर्वले फुल्छ नत्रभने आफूसँग त्यति अध्ययन छैन भने तपाई निदाउरो देखिने क्रम शुरु भैसकेको हुन्छ । तपाईलाई थाहा छ, घरबाट बाहिर निस्किसकेपछि समाजसँग साक्षात्कार हुन्छ र त्यहाँ त्यसका विविध पक्षहरूसँग जुध्नुपर्छ । तपाईलाई थाहा छ, घरबाट बाहिर निस्किएपछि विभिन्न समस्याहरूसँग तपाईले फेस गर्नुपर्दछ र त्यहाँ तिनीहरूका समाधान गर्न कटिबद्ध भएर लाग्नुपर्छ । कदम कदममा तपाईसँग नसुल्झने रहस्यहरू हुन्छन्, त्यसलाई तपाईले नै सुल्झाउनुपर्छ । पटक पटक तपाईको जीवनमा चुनौतिका पहाडहरू आउँछन् र त्यसलाई तपाईले नै पन्छाउनवुपर्दछ, । घरिघरि असफलताका पदचिन्हहरूले तपाईलाई पछ्याउनेछन् जसबाट बच्न तपाईले सफलताको लागि लड्नुपर्छ । बारम्बार शत्रुहरूले तपाईलाई आक्रमण गर्न सक्छन्, प्रत्याक्रमण गर्न तपाई तयार रहनुपर्छ । के यी कुराहरू प्राप्त गर्न अध्ययन विना सम्भव छ त ? के अध्ययन नै नगरिकन जीत हासिल गर्न सम्भव छ त ?

तपाईलाई लाग्न सक्छ, स्कूल, कलेजबाट प्राप्त गरेका र्सर्टिफिकेटहरू नै अध्ययनका विशिष्ट प्रमाणहरू हुन् । हो, निश्चित रूपमा केही हदसम्म निर्धारित गरिएका पाठ्यक्रमहरू पनि अध्ययनका स्रोत हुनसक्छन् तर त्यो नै अध्ययनको सम्पूर्ण रूप हो भनेर भन्नु त अन्धाले हात्तीलाई छाम्दा घरको कल्पना गरे जस्तै कुरा हो । के अध्ययनको परिधि यति साँघुरो भैसक्यो कि त्यसलाई अब कतैबाट प्राप्त गरिएका प्रमाणपत्रहरू द्वारा मात्र प्रमाणित गर्न सकियोस् ! के अध्ययनको परिवृत्त अब यति संकुचित भैसक्यो कि त्यसलाई अब जे जस्तो कारणबाट भए पनि प्राप्त गरिएका र्सर्टिफिकेटहरूमा मात्र कैद गरिएको होस् ! वास्तवमा अध्ययनको फैलावटलाई नाप्न सकिने सही प्रकारको संयन्त्रको अहिलेसम्म विकास नै भएको छैन । अध्ययनको मूल्यवेत्तालाई कुनै पनि वस्तुले विभाजन गर्न नै सक्दैन ।

तपाईले कल्पना नै गर्न सक्नुहुन्न कि विद्यार्थीकालमा पढ्नमा लद्दु रहेका आइन्स्टाइन पछि कसरी स्व-अध्ययनको बलले महान वैज्ञानिकको रूपमा विश्वमाथि शासन गरे ! तपाईलाई यो कुरा पचाउन मुश्किल लाग्न सक्छ कि गरीविको जर्जरताले पढ्न नपाई बच्चैदेखि कामको खोजीमा भौतारिनु परेका मेक्सिम गोर्की पछि कसरी महान लेखकका रूपमा विश्व विख्यात भएका थिए ! आफ्नो अध्ययनको बलमा सत्य कुरा बहुमतले मात्र सिद्ध हुँदैन भन्ने दार्शनिक सुकरातले सत्यलाई प्रमाणित गर्न घट्घटी विष पिएको कुरालाई तपाईले यसलाई अध्ययनसँग नजोडी सुखै छैन । अहिंसाका महान पूजारी महात्मा गान्धीले आफ्नो देश र समाजलाई गहिरो अध्ययन गरेकै कारण भारतलाई स्वतन्त्र बनाएका होइनन् र ? यस्ता धेरै उदाहरण छन् जसले अध्ययनको बलमा नै संसारलाई हार्दिकतापूर्वक जितेका छन् । अध्ययन प्रगतिको लागि मात्र आवश्यक छैन आमूल परिवर्तनका लागि पनि जरुरी हुन्छ । अध्ययन समस्याहरूको समाधान मात्र होइन नयाँ आविष्कारहरूको लागि पनि उचित प्लेटफार्म हो ।

तपाई गाई-वस्तु चराउनुहुन्छ, त्यो पनि अध्ययनको विषयवस्तु हुनसक्छ किनकि गाई-वस्तुको मनोविज्ञान बुझेर आफ्नो काममा समर्पित रहनुभयो भने त्यसले तपाईलाई सम्बन्धित विषयको विशेषज्ञ नबनाउला भन्ने छैन । तपाईलाई थाहा नै छ, दक्षिण अफ्रिकाका महान राजनेता नेल्सन मण्डेला आफ्नो बाल्यावस्थामा गाइ-वस्तुहरू चराउँथे र भोक लाग्यो भने गाईको थुनमैं मुख लगेर तन्तनी तातो दुध पिउँथे । गाई-वस्तु चराउँदा चराउँदै आज उनी विश्व राजनीतिलाई प्रभाव पार्ने हैसियतमा पुगेका छन् । के उनले अध्ययनलाई छोडेका भए यहाँसम्म आइपुग्थे त ?

तपाई मेलापात गर्नुहुन्छ, त्यो पनि अध्ययनकै सामग्री हुनसक्छ किनकि तपाईको खेती-पातीमाथिको ज्ञान क्रमशः समृध्द हुँदै जान्छ र अनुभवले तपाईलाई परिपक्व बनाउँदै लैजान्छ । तपाई दिनभरि खटिएर काम गर्नुहुन्छ र थाकेर बेलुकी घर फर्किनुहुन्छ, यो तपाईको नियमित प्रक्रिया जस्तै हुन्छ । तर यस्तो प्रक्रियाबाट पनि तपाईले धेरै कुरा सिकिरहनु भएकै हुन्छ । यसलाई अध्ययन नभनेर के भन्ने ? तपाईलाई लाग्न सक्छ, जिन्दगीभरि काम गरियो तर आर्थिक अवस्था कहिल्यै सुध्रिएन । यसको अर्थ के हुन्छ भने तपाईले कामलाई मात्र बाँच्ने माध्यमका रूपमा लिनुभयो तर यसलाई अनुभव र ज्ञान प्राप्त गर्ने माध्यमका रूपमा कहिल्यै लिनुभएन । कामलाई पूजाको रूपमा ग्रहण नगर्दा तपाईको कामले बाँच्ने सहारा त दिन्छ तर प्रगति गरेर अघि बढ्नलाई त्यो ठूलो व्यवधान भैदिन्छ । काम कहिल्यै पनि सानो ठूलो हुँदैन, कामलाई त्यस रूपमा हेर्ने हुँदैन भन्ने मलाई लाग्छ । कामलाई गर्वको रूपमा ग्रहण गर्ने हो भने त्यहाँ अध्ययनको महासागर नै उर्लिएको तपाईले पाउनुहुन्छ । तपाईको जिन्दगी त्यसमा पौडिदा पौडिदै परिष्कृत र परिमार्जित किसिमले अघि बढ्छ अनि त्यसबाट केही न केही निकास निस्कन्छ नै, म यस कुरामा अत्यन्तै विश्वस्त छु ।

आफूसँग नभएको कुरा सिक्नु मात्र अध्ययनमा जुट्नु होइन, कुनै काम गरेर अनुभव बटुल्नु पनि अध्ययनमा सहभागिता जनाउनु हो । लेख्न सक्नु मात्र अध्ययनको विशेषता होइन अझ केही कुरा प्राप्त गर्न गरिएको कठोर मेहनत पनि अध्ययनको उदाहरण हो । अनि तपाईसँगै दिनप्रतिदिन बढेको क्षमताको अभिवृद्धि पनि अध्ययन कै रूप होइन र ? अध्ययन कुनै वर्ग विशेषमा सीमित छैन न कुनै जात जातिमा कैद छ । अध्ययन कुनै रङ्गभेदमा परिलक्षित हुँदैन न कुनै लिङ्गभेदमा प्रायोजित हुन्छ । अध्ययनले होचो अग्लो भन्दैन न कालो गोरो भनेर नै कुनै नीति निर्धारण गर्दछ । अध्ययनले दुब्लो पातलो भन्दैन न सानो ठूलो भनेर नै भेदभाव गर्दछ ।
अध्ययन त कालाहरूको स्वतन्त्रताको लागि गीत गाउने गायक बब मार्लेलाई पनि आफ्नो गीत-सङ्गीत कलात्मक बनाउन र आकर्ष ढङ्गले प्रस्तुत गर्न चाहियो । अध्ययन त गोराहरूका महादूत जर्ज बुशलाई पनि चाहिएकै छ । अध्ययन त तानाशाह हिटलरलाई पनि नभै भएको थिएन । अध्ययन त वैज्ञानिक डाल्स डार्विनलाई पनि अत्यन्तै आवश्यक रहृयो । अध्ययनबाट आजसम्म को बच्न सक्यो र ? अध्ययनले कसलाई आफ्नो नियन्त्रणमा लिएन र ? अध्ययन नगरेको मान्छेले गरेको प्रगति र अध्ययन गरेको मान्छेले गरेको प्रगतिमा कति अन्तर छ, यो कुरा तपाईलाई भनिरहनु नै पर्दैन । सबै ठूला ठूला मान्छेहरू अध्ययनकै कारण ठूला भएका हुन्, यो कुरा घामजस्तै प्रष्ट छ । के कुनै मान्छे अध्ययन विना ठूलो हुन सम्भव छ त ? के कुनै मान्छे अध्ययन बिना मान्छे हुन सक्छ त ?

मान्छेहरू जन्मिन्छन्, मर्छन् । मान्छेहरू आज यहाँ छन् भोलि कहाँ छन् । एउटा सामान्य मान्छे पनि भोलि असाधारण भएर निस्कन सक्छ । अहिले खाए भोलि के खाउँ भन्ने गरिव मान्छे पनि भोलि ठूला ठूला कल-कारखानाका मालिक बन्न सक्छ । नपत्याउँदो खोलाले बगाएका उदाहरणहरू कति छन् कति । आज नसुहाउँदो लागेका कुराहरू समयक्रममा भोलि अत्यन्त आवश्यक बन्न पनि सक्छन् । आज रमाइलो मानेर गरिएका काम भोलि नरमाइलोका कारण पनि हुन सक्छन् । मात्र तपाईले अध्ययनप्रति विश्वास गर्नुपर्छ, भोलि प्रत्येक कुरा सुन्दर रूपमा प्रस्तुत हुन्छन। मात्र तपाईले अध्ययनप्रति चाख बढाउनु पर्छ भोलि प्रत्येक कुरा रमाइला र नौला देखिन्छन् ।

तपाईले कहिल्यै सोच्नुभएको छ ? यस्तो हुनुमा के को मूख्य भूमिका हुन्छ । तपाईलाई लाग्नसक्छ; धनको, पद-प्रतिष्ठाको यसमा मुख्य हात रहेको हुन्छ । तपाईलाई लाग्नसक्छ, यस्तो हेरफेर हुनुमा भाग्यको हात हुन्छ । तपाईलाई क्रमश अनुभव हुँदै जान्छ कि अध्ययन छ भने आउँदा दिनहरू र्सार्थक हुन्छन् त्यो छैन भने तिनै दिनहरू निराशापूर्ण हुन्छन् । अध्ययन छ भने आगामी दिनहरू उज्यालो हुन्छन् त्यो छैन भने सबै दिनहरू अन्धकारमैं हराउछन् । अध्ययन कै कारणले इतिहासले तपाईलाई अभिवादन गर्छ, अध्ययन नहुँदा त्यसले तपाईको कुरालाई उडाउँछ । न मान्छेलाई अध्ययनप्रति अविश्वास छ भनेर सुख हुन्छ न मान्छेले अध्ययनलाई तिरस्कार गरेर नै कुनै ठूलो उपलब्धि हासिल गर्न सक्छ । न मान्छे अध्ययनबाट भाग्छु भनेर नै भाग्न सक्छ न मान्छेले अध्ययन गरेर अब मलाई पुग्यो भनेर नै भन्ने स्थिति छ ।

यहाँ तपाईले प्रश्न पनि उठाउन सक्नुहुन्छ । अध्ययन सबैका लागि समान छ र यो सबैका लागि व्यापक छ भने किन यस संसारमा यति धेरै वर्ग विभाजन छ ? यस प्रश्नका लागि तपाईलाई धन्यवाद छ । म के भन्छु भने वर्ग विभाजनमा मूख्य रूपमा त आर्थिक कारणहरू जिम्मेबार छन् र ती आर्थिक कारणहरू अध्ययनकै कारणले समाधान हुन सक्छन् । प्रत्यक्ष रूपमा तत्कालै आर्थिक समाधान अध्ययनबाट सम्भव नदेखिए पनि समयको विस्तारसँगै त्यो सम्भव हुन्छ भन्ने मलाई लाग्छ । एकछिन सोच्नुहोस् त, सबैले आ-आफ्नो कामलाई अध्ययनको विषय बनाउने हो भने आर्थिक समस्या हल हुन सक्छ कि सक्दैन ? जब काम पूजाको रूपमा परिवर्तित हुन्छ तव व्यक्ति स्वयं त्यस कामप्रति आधिकारिक हुन्छ, यो कुरालाई तपाई मान्नुहुन्छ कि मान्नुहुन्न ? के आधिकारिक भैसकेको व्यक्तिमाथि कुनै सामन्ती, धनीमानी व्यक्तिले शासन चलाउन सक्छ त ? जब कामले प्रतिफल दिन खोज्छ तब व्यक्तिको आर्थिक हैसियत पहिलाकै जस्तो भेरहन्छ त ? कुनै काम जीविकोपार्जनको साधन बन्यो र त्यसले आम्दानीको बाटो पनि तय गर्यो भने कसैले त्यो व्यक्तिलाई आउने दिनहरूमा हेप्न सक्छ ? के तपाईलाई अझै पनि लाग्छ अध्ययनले परिणाम दिन सक्दैन ?
वास्तवमा अध्ययन कुनै सामान्य प्रक्रिया होइन, कामप्रतिको अत्यन्तै गम्भीरता हो । अध्ययन कुनै जादुको लठ्ठी होइन साधनाप्रतिको महान एकाग्रता हो । अध्ययन कुनै मनोरञ्जनको सर्न्दर्भ होइन प्रष्ट विचार र दृष्टिकोणको माध्यम हो । अध्ययन कुनै खेलौना होइन समपूर्ण अर्को ठूलो नाम हो ।

तपाईसँग संभावनाहरू छन् भने तपाई आफूलाई भोलिको लागि अति आवश्यक छु भनेर जाने हुन्छ । तपाईसँग क्षमता छ भने आफूलाई प्रतिस्पर्धाको लायक ठाने हुन्छ । तपाईसँग अनुभवहरू छन् भने आफू जलेर पनि अरुलाई उज्यालो दिने स्तम्भकै रूपमा बाँच्न सक्नुहुन्छ । तपाईसँग कला छ भने जस्तै पीडामा पनि मजासँग हाँस्न सक्नुहुन्छ । योग्यताले नै समयलाई निर्देशित गरिरहेको हुन्छ । ज्ञानले नै भविष्यलाई अन्धकारबाट बचाउँछ । परिश्रमपूर्वक गरिएको कामले नै सकारात्मक परिणाम दिन्छ । अध्ययनको कारण नै मान्छे गुलामीबाट मुक्त हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु