थोत्रो घर

- कुसुम ज्ञवाली

"हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।" ........ मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले कब्जा गरेको सामान्तको यो घरमा अब हाईस्कूल खोल्ने छौं ।" ....... लालसेनाका कमाण्डरको भाषण ठूलो तालिका साथ समाप्त भयो । घरधनी भागेर बेल्जिएम गएको थियो ।
"यी कोठाहरु भत्काएर ठूलो हल बनाउनु पर्छ, क्षेत्रीय स्तरका प्रशिक्षणहरु समेत गर्न सकिने गरी" भु.पु. छापामारले प्रस्ताव राखे ।

"त्यसो नगर्दा वेश हुन्छ कमरेड, बच्चाहरुको स्कूल भएकाले र धेरै वटा कक्षाकोठा चाहिने हुनाले यी स-साना कोठा ठिकै छ" जनसरकारका योजनाकारले विमती जनाए ।
"यी विलासी सोफा टेवुल भत्काएर टेवुल बनाउनु पर्छ, यी सबै सामान्तवादका चिन्हहरु हुन" जनमिलिसीया प्रमूखले प्रस्ताव राखे ।

"अफिसका लागि यी सोफा काम लाग्छ, बनाउने बजेट छैन यसैलाई रुपान्तरण गरी प्रयोग गर्नु राम्रो हून्छ ।" जनशिक्षा विभागका प्रमुखले सल्लाह दिए ।
"यो घरको ढोका दक्षिण फर्केको छ यसलाई उत्तरतर्फ फर्काउनु पर्छ" प्लाटुन कमाण्डरले सुझाव राखे ।
"यो अलि जाडो ठाउँ हो । दक्षिण मोहडा हुँदा घाम बढी लाग्छ त्यसैले बच्चाहरुको स्वास्थ्य चिसोवाट वचाउनका लागि यसलाई परिवर्तन नगरौं । वास्तुशास्त्रको अर्थमा हेर्दा पनि यो ठिकै छ ।" वास्तुविद कमरेडले विमति जाहेर गरे ।

अघिदेखि छलफल सुनेर बसेका गाजस प्रमुखलाई चित्तै बुझेन र भने- "यस पुरानो सामन्तको घरमा केही पनि परिवर्तन नगर्ने भए क्रान्तिको के अर्थ भो ? हामी कसरी क्रान्तिकारी भयौं ? क्रान्ति भनेको त परिवर्तन हो नी, यति चाडैं विर्सिदिने ?"

सबैजना गम्भिर भए । युद्धको विभिषिका उनीहरुका मानस पटलमा सिडीको चक्का झै घुम्यो ।
"यसका भित्तामा पहेंलो माटोले लिपेको छ । यसको सट्टामा रातो माटोले लिपौं । रातोमाटोको रंगले हाम्रो झण्डा र सहिदको रगतको सम्मान गर्नेछ रुपान्तरण भनेको यही हो" । योजनाविदको कुरा सबैले माने । भित्रका कुनै चिज परिवर्तन नगरी बाहिर रातो माटोले लिपियो मात्र आवरण परिवर्तन गरि नयाँ क्रान्तीका लागि स्वीकार्य भयो त्यही थोत्रो घर ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु