एक पागलको डायरी

- मोमिला

मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्‍याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्‍यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्‍यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।
... इमानलाई अधिक प्रेम गर्ने ऊ पनि सायद मजस्तै जीवनको नियम इमानदारपूर्वक पालना गर्दागर्दै एक्लो बृहस्पति झूटो भएसरह बेइमानहरूको भीडबाट छुटेको -अलग्गिएको) इमानी पागल हुनुपर्छ ।
... हुनसक्छ, तोड्नकै लागि बनाइएका हुन्छन् नियम र संविधानहरू । त्यसमा पनि भ्रमद्वारा भ्रमकै लागि भ्रमित नियम र संविधान उफ् नियम नतोडिँदा पो पागल ...।
अक्सर कहीँकतैका लागि मेरो प्रस्थान प्रारम्भ समयमै भए पनि प्रायः पुग्दा समयभन्दा ढिलै पुग्ने मान्छे म, सभ्यहरूको सङ्गमस्थल कहीँ सभा-सम्मेलनहरूमा समयभन्दा अघिको त के कुरा ! समयमै मात्र जब म पुग्छु, जरुर पागलको उपहार मिल्दछ । यस्तैयस्तै अनुभूतिहरूको आवाज उही पागलले सुन्ने र पागललाई सुनाउनुदेखि बाहेक कहीँकतै कुनै अडेसा नरहँदा अन्ततः आफैँमाको एकान्तले खिचेर मलाई डायरी लेख्न अनुरोध गर्‍यो । बुझ्यौ ! यो क्षण तिमी त्यही पागलको डायरी पढिरहेछौ ।
जब तिमी यो डायरी पढ्छौ, सम्झ तिमी कुनै दिनको उज्यालोमा गएको रातको सपना सम्भिmरहेछौ, जुन अतीतले तिमीलाई विशेष सुख त दिँदैन नै तर विशेष दुःख पनि दिँदैन । क्रमशः ओझेल पर्दै जान्छ दिन जसै, अन्तरक्ष्िामा पुगेर गुमाएको धर्तीको तस्बिर खिचेझैँ तिमी मेरो डायरीको पिँजरामा आफ्नो संसार खोज्न थाल्नेछौ र भेट्नेछौ आफ्नै पि्रय कोठा, जहाँ वर्षौंदेखि तिमी दोस्रो व्यक्तिको व्यथा सिरानी हालेर सुत्छौ र बिर्सन्छौ आफ्नो पीडाको कथा ।
मलाई त्यो लेखक सबैभन्दा बढी मन पर्छ, जसलाई पढ्दा जोकोहीमा तर्क र चेतनाको सीमान्त विन्दुमा पुगेर हृदयालु पागलपनको रौनक छाओस् । एक लेखकीय सन्दर्भमा नै जबजब हामी एउटा कलात्मक सीमा पार गर्छौं र पागलपनको रमरममा डुब्छौँ, तब थाहा लाग्दछ कि हामीले सीमा पार गरी छाडेर आएको संसारचाहिँ पागल रहेछ ... । यसैले त लाग्छ, हरेक सिर्जनात्मक क्षण हाम्रा पागल आकाङ्क्षाहरूको प्रतीति हो । चाहे त्यो किशोरकुमार र अरूणा लामाका दर्दभरकिा गीतहरू होऊन, चाहे हरभिक्त कटुवालका कविताहरू, चाहे सरुभक्तका पागल प्रेमका पहेलीहरू, चाहे भ्यानगगका प्रेमिल पागल पेन्टिङ्हरू होऊन्, जो आफ्नै जिन्दगीप्रति कृतघ्न बनेर एक अञ्जान समय शब्दमा ध्वनित हुन्छन्, धुनमा झङ्कृत हुन्छन्, रङ्गमा एकाकार हुन्छन् ... । यसरी आफ्नै जिन्दगीप्रतिको मेरा कृतघ्न पहेलीहरू नै डायरीबद्ध हुँदै जान्छन् ...।
...यथार्थतः डायरीबद्ध मेरो उद्धृत समयले न कुनै भूमिका लेख्यो, न कुनै सम्पादकीय नै लेख्यो ! केवल आफ्नै मानसभूमिमा त्यो समय बिलकुल अवैध कल्पना बनेर फैलिरह्यो ... ।
हुन पनि बुद्धको आत्मा कपिलवस्तु जलिरहँदा राजनीतिक दोहोरीमा राजधानीका सडकहरू उत्सवमय हुन्छन् । घरभित्र लोग्नेस्वास्नीको झगडा हुन्छ, टायर बल्छ बाहिर सडकमा । बाह्रबिसे घटनाको पहिरो खस्छ जडीबुटीको चोकमा र अवरुद्ध हुन्छ उही सडक । चेतना कतै विदेशमा बन्धकी राखेर यहाँ 'हो' मा 'हो' को नाराजुलुसले सडक ढाकिरहन्छ, आमाहरू सडकमै सुत्केरी हुन्छन् र धिक्कार्छन् भाग्यलाई । पुल्चोकबाट प्रारम्भित पेट्रोलपङ्क्तिहरूले दुई हातको फैलावटजसरी दुवैतिर भारत र चीनको सिमाना छोइसकेका छन् । उही पङ्क्तिको सीमामा कुुर्दाकुर्दै पत्थरमा अनूदित हुन्छन् अहल्याहरू र कुल्चिइनुपर्ने सडकको अकाट्य हिस्सा बन्छन् । यसरी जनता बिच्छिएको अवरुद्ध सडकमा जनतालाई किचेर अब कति दिन कुद्छन् अग्रगामी चिल्ला गाडीहरू !
विश्वास नै हुँदैन कि म भने गन्तव्य कँुदिएको खुला सडकमा निर्बिघ्न यात्रारत छु ... । यद्यपि, उही पागलसँग, त्यो पनि नितान्त मेरो निजी सपनामा, जो केवल मात्र मेरो अर्थात् एक पागलको हो ।
आँखामा पर्दा हालेर पनि यात्रामा सदा म नयाँ नेपालको दर्शन गररिहेछु । अञ्जानमै छुटेका क्रूर शासकका सालिकबाहेक त्यहाँ कुनै कविका सालिकहरू छैनन्, पुरातात्त्विक दरबारहरू छैनन् । सङ्ग्रहालयमा परचियहीन मानवकङ्कालहरू सङ्गृहीत छन् । कतै देखेदेखेजस्तो, चिनेचिनेजस्तो तर साइनबोर्ड बदलेर आफ्नै इतिहासको चिहानमा उभिएका बडेमाका ल्यान्डमार्कहरू त्यहाँ छन् र जम्मामा म बाँचेको युगमा रङ्गहीन रङ्ग पोतिएको छ । अब समकालीन आमाहरूका साथमा आफ्ना सन्तानहरूलाई आफू बाँचेको युगको परचिय दिने सन्दर्भित कुनै मौलिक कलाकृतिहरू रहेनन्, उज्यालो-अँध्यारो कुनै पृष्ठभूमिहरू छैनन्, जहाँ रत्तिो भाँडा बजेसर िनयाँ र आधुनिकताको निगाहमा बजिरहेछन् रििमक्स धुनहरू... !
यतिखेर इतिहासको अमूर्त अवधारणायुक्त परदिृश्यमा भयानक सपनाबाट बिउँझेसर िथकित र चकित यो क्लान्त पागल पात्र आफन्तहरू छुट्टी मनाउन गएको दसैँको उदास राजधानीलाई आफ्नो डायरी पढेर सुनाइरहेछ ... !
खै कहाँबाट सुरु हुन्छ म उभिएको धर्तीको आकाश ! र, खै कहाँ पुगेर अन्त्य हुन्छ ! आकाशको त कुनै दोष छैन तर ऊ बिनाकारण धर्तीका नीलडामहरू स्वयम्मा खापेर बाँच्न अभिशप्त छ ! साँझ पनि उदास छ किनभने कोही आउँदो प्रभातको जड नै उखेलिरहेजस्तो छ, यहाँ ! जीवन जप्दैजप्दै भङ्ग भएको तत्पश्चात्को निस्सार पहेलीजस्तो, सर्वस्व ठानेको डायरी हराएपछिको एकतमासको खाली र अधुरो जीवनजस्तो आगामी अनिष्टको भयमा सन्नाटामय गुमसुम छ बस्ती ! सुकेको पात झरेको आवाजले पनि झस्कन्छ गाउँसहर !
यसरी आफ्नै जिन्दगीसँग कस्तरी दूरी बढेको छ, यहाँ सभ्यताको चिहानघारीमा कहिले फुल्छ, अर्को फूल !
यथार्थमा तिम्रो स्वीकृत एकान्त र मेरो इच्छित एकान्त जरुर भिन्न होला । तिमी कोहीकसैबाट एक्लिएर आफैँसँग रहेका छौ, सायद ! तर, म आफूबाट एक्लिएर दुनियाँमा जिउन चाहन्छु, तिमीसँग हाँस्न-रुन चाहन्छु । फेर िपनि सकिरहेकी छैन । र पनि मेरो एकान्तमा एकएक वृक्षको आवाज अनि हरेकलाई स्पर्श गरेर बहने हावाको भिन्नभिन्न सुगन्धलाई महसुस गर्न चाहन्छु । तिनीहरूमध्ये म जुन सुगन्धले बेस्सरी स्पर्शित हुन्छु, सिर्फ उसैको पछि बहन्छु, जबसम्म म उसलाई सम्पूर्ण महसुस गर्दिनँ । यद्यपि, एकाग्रता अर्को पागलपन हुनसक्छ ।
पि्रय भावक ! मेरो डायरी अब तिमीले सम्झेको पागलको कहानीभन्दा कहाँ भिन्न रह्यो र ! जसले हर सुखदुःखमा मेरो साथ निभाएको छ, जसको साथ म आफूलाई सम्पूर्ण सुरक्षित महसुस गर्छु, आत्मीय अनुभूत गर्छु ।
जब म पारजिात सोच्छु, यी कथनहरूमा म उनलाई याद गर्छु- 'जीवन जतिजति बाँच्दै गयो, उतिउति अनुभूतिहरूको विशाल काव्य बन्दै जान्छ !' यथार्थमा यो उनको जीवनप्रतिको कलात्मक अवधारणा थियो । जीवनप्रतिको मेरो अनुरागमय कलासंवेदन सायद त्यहीँबाट प्रारम्भ हुन्छ । त्यहीँबाट डायरीबद्ध हुँदाहुँदै यहाँसम्म आइपुग्दा मेरो दुस्साहस काव्यमय बनेछ क्यारे ! यसर्थमा नै उनीप्रति म आभारी छु र रहनेछु ।
जब म उनलाई पढ्छु, उनको आँखा र हृदय निकै नै खाली भेट्छु । पढ्दा उनका उपन्यासका कतिपय पानाहरू पनि खाली भेट्छु, जतिबेला म उपन्यासमै पागल भएर हराएको हुन्छु । कति सुखद छन् ! पाना खाली रहेका क्षणहरू, जहाँ स्वयम् म खाली पानामा एकाकार भएर डायरीबद्ध भइसकेकी हुन्छु ।
आज म यो पागलको डायरी मेरो समयलाई उपहारस्वरूप चढाउन चाहन्छु । पि्रय समय ! कतै तिमीले फुर्सदमा यो डायरी पढेछौ भने जहाँजहाँ खाली पाना भेट्नेछौ, सम्झ त्यो पाना तिमी-म उभिएको धर्तीको नाममा समर्पित छ !
नेपाल साप्ताहिक

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 7 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु