बाकस

- धीरकुमार श्रेष्ठ

तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न गर्न सकी ।

बाकस तपाईको श्रीमानले काम गर्नुभएको दुबईको कम्पनीबाट आएको हो । भोलि काठमाडौ आइपुग्छ । बन्द अथवा आन्दोलन-हडताल केही भएन र बाटो क्लियर भयो भने पर्सी तपाईको घरमै आइपुग्छ । हामी त्यही प्रयासमा छौ । भद्र आवाजबाट सरलाले पहिलो प्रश्नको उत्तर पाई ।

दोस्रो प्रश्नको उत्तर पाइन । पहिलो प्रश्नको उत्तर नै यति लामो थियो कि दोस्रोको उत्तर आयो आएन भन्ने सरलाले थाहा पाइन । भद्र आवाजले पहिलोको उत्तर दिएर दोस्रोको जानीजानी नदिएको हो अथवा पहिलोको दिद दिदै दोस्रोको उत्तर दिन उसले स्वयम् भुलेको हो । यो थाहा पाइन सरलाले ।
पहिले कहिल्यै यस्तो भएन । कारण थियो, पति सुबोधको फोन आउने समयको पुर्वजानकारी उसलाई हुन्थ्यो । अघिल्लोपटक फोन गर्दा पछिल्लोपटक गर्ने फोनको मिति, बार र समय भन्थे सुबोध । त्यसपछि फोन आउने दिन र समयको प्रतीक्षामा सरला मात्र होइन, घरका सारा सदस्य बस्थे ।

सुबोधको फोनको प्रतीक्षा सबैभन्दा बढी सरलालाई हुन्थ्यो । सरलापछि उसकी आमा मनदेवीलाई । बाबु तिर्थबहादुरलाई पनि छोराको फोनको प्रतीक्षा नहुने होइन । छोरासग फोनका कुरा गर्ने उसको पालो सबभन्दा पहिले आउथ्यो । बाबुपछि आमाको । आमापछि सरलाको । बाबु र आमासग कुरा गरेर उब्रेको जति समय सुबोध सरलासंग कुरा गर्नमा बिताउथ्यो ।

सुबोधसंग कुरो गरिरह“दा सरलामा मीठो रोमाञ्चको सञ्चार हुन्थ्यो । चुम्बकमा फलाम टासिएकी हुन्थी । पटकपटक एक वर्षो छोराले रिसिभर खोस्न खोज्दा ऊ दह्रो गरी समात्थी । उसलाई लाग्थ्यो, छोराले रिसिभर होइन उसको सुबोधलाई ऊबाट खोस्न खोजेको हो । अरू जुनसुकै कुरामा भागबण्डा गर्न रुचाउने सरला सुबोधमा एकाधिपत्य चाहन्थी । सुबोधको भागबण्डा उसलाई कुनै पनि र्सतमा मञ्जुर थिएन । सुबोधउपर केवल एकल अधिकार स्थापित गर्न चाहन्थी । सुबोधलाई आफूबाट छिन्न खोज्ने जोसुकै भए पनि उसका लागि मञ्जुर थिएन । त्यो चाहे छोरा होस् अथवा सासूससुरा । छोरा भए, पर धकेलेर भए पनि सुबोधउपरको एकाधिकारलाई कायम राख्थी । तर सासूससुरा भए उसलाई सकस पथ्र्यो । त्यही निहुमा बेलाबेला ठाकठुक पथ्र्यो । यो कुरा बुझेका सासूससुरा अब सुबोधको लगाम हाम्रो हातमा छैन' भनी छोराबुहारीसंग निश्चित दूरी कायम राख्थे । यसरी दुवैको सीमारेखा आफसेआफ निर्धारण भयो । आ-आफ्नो सिमारेखा बुझेका सासूससुरा अलग्गिएपछि सरला सुबोधसग निर्धक्क कुरा गर्थी ।

सरलाको आकाश छयँङ्ग हुन्थ्यो । कही कतै कालो बादलको टुक्राटाक्री त के धर्र्सोसम्म हुदैनथ्यो । विशाल आकाशमा सरला निर्धक्क विचरण गर्थी । सुबोध निर्धक्क विचरण गथ्र्यो । दुवैको विचरणमा उतारचढाव र आरोहअवरोहहरू आउथे । उतारचढाव र आरोहअवरोहहरू अरू विषयमा भए सहज समाधान हुन्थ्यो । तर यौन विषयमा पुगेपछि पोखरीबाट बाहिर निस्कन दुवैलाई समस्या पथ्र्यो ।

सरला सुबोधलाई छिटो स्वदेश फर्किन अनुरोध गर्थी । मन भए पनि परिबन्धले गर्दा तत्काल फर्किन नसक्ने विवशता सुबोध प्रकट गथ्र्यो । तर हर पल हर क्षण सरलासगै एकाकार भएर रहेको विश्वास दिलाउथ्यो,
'चराजस्तो उडेर अहिले आउन मन छ । तर के गर्नु आएर मात्र नहुने । अजिङ्गरले बेरेजस्तो बेरोजगारीले सताउछ । केही दिन धैर्य गर । चाडै आउछु । म सधै तिमीसगै हुन्छु । जहिले सपनामा तिमीलाई देख्छु ।
अ होला कस्तो ठीक्क पार्न जानेको लोग्नेमान्छेको जात न हो । स्वास्नीको कुरा के बुझथ्यो र र? सरला अविश्वास प्रकट गर्थी । आउन सक्तैनन् भन्ने जानीजानी छिटो आउन जिद्दी गर्थी । त्यही लुकेको हुन्थ्यो रहस्य । त्यसको उत्खनन सुबोधका लागि सरल भए पनि समाधान जटिल थियो । त्यही जटिलता सरलाका अगाडि राख्थ्यो ।
अ होला वा पाइछ होला नि राम्री-राम्री, अनि .... तीर हान्न चुक्तैनथी सरला ।
सरलाले वाक्य पूरा गर्न पर्दैनथ्यो । कुरो बुझथ्यो सुबोध । सरलाले पनि कुरो नबुझेकी कहां हो र तर भौतिक नभए पनि ध्वनिक सन्तुष्टि गुमाउन चाहदिनथी । सुबोधसग गरिएका तिनै वार्तालापको मीठो सम्झनामा उसले अर्को फोनको प्रतीक्ष गर्नुपथ्र्यो । सुबोधसग गरिएका तिनै संवाद प्रतीक्षाका समयका आह्लादकारी साथी हुन्थे । ती संवाद कहिले गुनासा प्रकटमा केन्द्रित हुन्थे भने कहिले एक-अर्कालाई अनुरोध गर्नमा । कहिले उपदेश दिनमा केन्द्रित हुन्थे भने कहिले एक-अर्काका बारेमा जानकारी दिन । जसरी होस् जे गरेर होस् तिनका जहाज खुला आकाशमा उडेको उडेकै हुन्थ्यो ।

सासूससुराहरू मनमनै भुट्भुटिएर यताउति हिडिरहन्थे । सुबोध र सरलाको जहाज जमिनमा उत्रिने नाम लिदैनथ्यो । हुने भए र मिल्ने भए सासूससुराले सरलाको हातको रिसिभर खोसेर याकी गाला 'चडयँम-चडयँम' चड्काउथे । तर अप्रत्यक्षमा जस्तोसुकै हुरीबतास चले पनि प्रत्यक्षमा दुवै शान्त देखिन्थे । शान्त समुद्रजस्तै । तिनको अनुहारलाई हेरेर भन्न सकिन्नथ्यो समुद्रभित्र तीव्र वेगमा सामुद्रिक धार हुडलिएर बगिरहेको छ । कसैले अनुमान गर्न नसकिने सामुद्रिक ज्वालामुखीका तावामा ती भकभक उम्लिरहेका हुन्थे ।

सुबोधसग फोनमा कुरा गर्न पाउदा सरला सारा संसार बिर्सन्थी । सासूससुरा मात्र होइन छोराको समेत हेक्का हुदैनथ्यो । यो कुरो बुझेका सासूससुरा नातिलाई आफूसगै लग्थे । उसैको अनुहारमा सुबोधलाई देख्थे । केटाकेटीमा सुबोधलाई खेलाएको सम्झना ताजा पार्न नातिलाई खेलाउथे । नाति होइन केटाकेटी अवस्थाको सुबोध आफ्नो काखमा छ भन्ने भ्रममा ती सुबोधको अनुपलब्धताको क्षतिपुर्ति गर्थे । यो एउटा विधि थियो सन्तुलित बाच्ने । नखल्बलिई संयमित बाच्ने सरला र सुबोधको भण्डार रित्तिने आश गर्नु बेकार थियो । सासू र ससुरा दुवैले पटकपटक घाटीमा नअड्केको खकार सफा गर्न जबरजस्ती खोकिसक्दा पनि सरला र सुबोध उडिरहन चाहन्थे । सासूससुराले आकाशबाट जमिनमा ओराल्न नसकेका सरला र सुबोधलाई समयले ल्यान्डिङ गियर बदल्न बाध्य पाथ्र्यो । नचाहदा-नचाहादै दुवै जमिनमा ओर्लिन्थे । त्यति बेलासम्म दुवैको अप्राप्ति सन्तुष्टिको चरणसम्म पुगिसकेको हुन्थ्यो । त्यसैको सहारामा दुवै बाकी दिन बाच्थे । चाडै फोनमा भेट्ने वाचासहित रिसिभर राख्थे । सुबोधका बारेमा त थाहा भएन तर रिसिभर राखेको धेरै बेरसम्म सरला मोहनी लागेजस्ती हुन्थी । एकोहोरिन्थी । सुबोधसग फोनमा कुरा गरेको हयाङओभर निकै समय रहन्थ्यो । त्यस हयाङओभरले पनि उसलाई सुबोधसग सगै बसेजस्तो आनन्द दिन्थ्यो । त्यही आनन्दमा निमग्न हुन्थी सरला ।
त्यही निमग्नतालाई बेलाबेला उग्राइरहन्थी सरला । फुर्सतका समय कटनीको गतिलो माध्यम थियो निमग्नता । छिमेकीहरू झटारो हानेर जिस्क्याउथे पनि । तर झटारो पनि उसका लागि आङ सिरिङ्ग पार्ने मीठो र्स्पर्श हुन्थ्यो ।मीठो र्स्पर्शको आशमा बसेकी बेला भद्र आवाजले फोनमा बाकस आउदै गरेको खबर सुनायो । फोन कहाबाट आयो? भनी सोध्ने शुद्धिसम्म रहेन । सुबोधको नामसग उसले बिर्सने गरेकी थुपै्र विषयमध्ये त्यो पनि पर्यो । यस कुराको होस उसलाई फोन राखिसकेपछि भयो ।

फोन कहांबाट आएको होला? भन्ने प्रश्नमा उसले थुप्रै विचारविमर्श गरी । थुप्रै सम्भावनाहरू उसका मनमा आउदै जादै गरे । त्यस्ता सम्भावनामा विदेशस्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय, स्थानीय जिल्ला प्रशासन कार्यालय आदि क्रमशः आउदै जादै गरे । तर सरलाको विश्वास कुनै सम्भावनामा अडेन । सरकारी संयन्त्रको नाडी थाहा भएर विश्वास नगरेकी होइन । तर कताकता अनजानमै उसमा त्यस्ता संस्थाप्रति अविश्वास थियो । त्यो जन्मजात थियो अथवा सिर्जित - तर थियो सरलामा । त्यही अविश्वासले सम्भावनाको डोरी म्यानपावर कम्पनीतर्फसोझियो । तर गैरजिम्मेवार रूपमा झर्केर बोल्ने र बोल्नुपर्दा पैसा तिर्नुपर्नेजत्तिकै गर्ने म्यान पावर कम्पनीको बोल्ने शैली एकाएक कसरी परिवर्तन भयो? कुनै गैरसरकारी संस्थाले तालिम दिएबापतको प्रतिफल हो कि? यस्तै हुडलोमा सरला परी ।

आ......... जसले खबर गरे पनि खबर गर्यो । कुरो सकियो । बरु बाकसमा के पो होला ? अन्त्यमा चित्त बुझाउने किनारा फेला पारी ।

टी.भी. पठाइदिएको हो भनु भने घरमै छ । कतै ठूलो आकारको रङ्गीन ल्याट्रोन टी.भी. पठाइदिनुभएको हो कि? सरलाले मनमनै सम्झी ।

घरको ब्ल्याक एन्ड ह्वाइट र सानो आकारको टी.भी.मा मान्छे सानो देखिन्छ । अग्लो विशाल वृक्षजस्तो देखिनुपर्ने मान्छे माखाको पित्त जत्रो देखिदा टी.भी. हेरेको स्वाद हुदैन । धरहराको बार्दलीबाट सडकमा हिडिरहेको लिलिपुटजस्तो मान्छे के हेर्नु । कम्तीमा टी.भी.मा त ठूलो फराकिलो मान्छे देखियोस् । पैसा कमाए भने सबभन्दा पहिला ठूलो, अग्लो र फराकिलो मान्छे देखिने टी.भी. किन्छु । फुच्चे मान्छे हर्दाहर्दा आखा सागुरो भइसक्यो । सरलाले पूर्वस्मृति रिवाइन्ड गरी । सुबोधले गरेका कुरा सम्झी ।
फोनमा धेरै पैसा खर्च हुन्छ । कम्प्युटरबाट च्याटमा कुरा गर्दा थोरै पैसाले पुग्छ । एक-अर्काको अनुहार हर्दै मज्जाले कुरा गर्न पाइछ । भ्वाइसमेलबाट बोलेरै कुरा गर्न मिल्छ । जमाना का हो का पुगिसक्यो हामी चिप्लेकीराको गतिमा छौ । तिमी पनि कम्प्युटर चलाउन सिक र साइबरमा गएर च्याट गर्न सिक । अनि अघाउजी कुरा गर्न पाइछ ।' एकपटक फोनमा सुबोधले भनेका कुरा सम्झी ।

सामान्य कम्प्युटर चलाउन सरलालाई नआउने होइन । कुनै अन्तराष्ट्रिय गैरसरकारी संस्थाले दानमा दिएको कम्प्युटरबाट बिहेअघि स्कुल पढ्दाकै अवस्थामा सिकेकी थिई । केवल च्याट र इमेल गर्ने तरिकाको अभाव थियो । गाउले बजारमा खोलिएको साइबरभित्र छिरेर त्यो पनि सिकी । सुबोधलाई दुईचारपटक इमेल गरी र उसैसग च्याटमा कुरा गरी । सासूससुरालाई पनि आफूसगै लगेर च्याटमा कुरा गर्न लगाई । सुबोधको अनुहारै हेरेर भ्वाइसमेलबाट कुरा गर्न पाउदा हुनुसम्म खुसी भई । तर रहस्यका कुरा गर्न नपाउदा उसको मन कुडियो । निर्धक्क कुरा गर्न नपाउदा असजिलो लाग्यो । त्यही गुनासो गरी । सुबोधले इमेलमा लेख्न भने । त्यसै गरी । चित्त बुझेन । चित्त नबुझेको कुरा इमेलमा लेखी । चित्त नबुझेको कुरा इमेलमा लेखेबापत, कतै कम्प्युटरको सेट नै पठाइदिएका त होइनन्?सरलाको मनले प्रश्न गर्यो । सुबोधले कम्प्युटर पठाइदिएको हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन सरलाले । टेलिभिजनभन्दा कम्प्युटरको सम्भावना बढी भयो ।

उसले सासूससुरासग पनि चर्चा गरी । सबैले अनेक सम्भावनाउपर विचार गरे । कसैले घरका सबैलाई लुगाफाटो, कसैले छोराका लागि खेलौना, कसैले फि्ज, कसैले ग्यास चुलो; यस्तै-यस्तै सम्भावना प्रकट गरे । सहरको सपना बोकेर गएका सुबोधले यस्तैयस्तै सामग्रीको जोडजाम गरेको हुन सक्ने सम्भावनाउपर विचार भयो । तर कसैले ठोकुवा गरेर भन्न सकेनन् बाकसमा के आउदै छ? जेहोस् बाकस आउने भनेको पर्सि दिन आयो । बिहानैदेखि घरमा चहलपहल सुरु भयो । बाकस होइन, बाकसका ठाउमा स्वयम् सुबोध आइरहेको भान सबैलाई भयो ।
सरलाले आफूलाई सिगारी ।
छिः कस्ती उत्तँउली लोग्ने आउने भन्दैमा बेहुलीजस्ती सिगारिन पर्छ र कसैको नभएको लोग्ने भन्ला भन्ने पीरले उसले आफूलाई बेहुली बनाइन । नभए फेरि एकपटक बेहुली बन्ने रहर जागेको हो ।

आ .... भन्नेले जेसुकै भनोस् । मुख थुन्न कसले पो सकेको छ र आफूलाई मन लागेको गर्ने हो ।एकचोटि मसक्क आटेकी हो । तैपनि बेहुलीजस्तो सिगार्न सकिन । तर अरू दिनभन्दा बढी सिगारी । पहिलो नजरमै सुबोधको मन हर्ने सुन्दरीमा आफूलाई रूपान्तरित गरी । सिउदोमा अरू दिनभन्दा बढी सिदुर, गलामा मोटो रातो पोते, कानमा गोलो घेरो भएको कुन्डल, हातभरि 'छन्-छन्' बज्ने चुरा, पाउमा पाउजेब लगाई । उसको त्यो रूप सुबोधलाई औधी मन पथ्र्यो । उसले आफूलाई सिगार्दा सुबोधलाई मन पर्ने र मन नपर्ने कुराको ख्याल गरी । प्रत्येक सिगारका सामान हातमा लिदा सबभन्दा पहिले सुबोधको रुचि सम्झी । उसलाई मन नपर्ने कुनै सिगार गरिन ।

उसका प्रत्येक पाइला र गतिविधिले एउटा मीठो तरङ्ग तरङ्गित गर्यो । त्यसैको धुनमा सबैले बिर्सर र्बोध होइन बाकस आउदै छ । अन्ततः धुलौटे डगरमा कालो रङको जिप धुलो उडाउदै आउदै गरेको देखियो । जिपको पाङ्राले उडाएको धुलोले डुब्न लागेको घामको रातो गोलो घेरोको उज्यालो छोपियो । गाउका केटाकेटी रमाउदै जिपको पछिपछि कुदे । गाउका अरू पनि झुम्मिए ।

जिप सरासर सरलाको घरअगाडि रोकियो । सबैजनाले सुबोध खोजे । सुबोधको सट्टा जिपबाट बाकस निस्क्यो । आगनको बीचमा राखियो । कसैलाई विश्वास भएन सुबोध होइन, बाकस आएको हो । सबै सुबोध खोज्न थाले । विश्वास नलागेर कसैकसैले दायाबाया हेर्न नसक्ने गरी दुवै हत्केलाले दुई आखा छेकेर जिपभित्र हेरे । सुबोध थिएन । अनि आगनमा लमतन्न बाकसतिर लागे । सबैको ध्यान बाकसमा केन्द्रित भयो ।
आमा, बुबा र सरला सुबोधको सट्टा बाकस आएको मान्न तयार भएनन् । बरु केटाकेटीदेखिको जिस्किने बानी गएको रहेनछ भन्ने सम्झे । सबैलाई छकाउन ऊ बाकसभित्र लुकेको छ । बाकसभित्र सुतेर छकाउन खोजेको हो भन्नेमा आमा, बुबा र सरला विश्वस्त भए ।

बाकसको खापा उघारियो । बाकसभित्र सुबोध मजाले सुतेको थियो । निद्रा नखल्बलियोस् भनी सेतो पारदर्शी प्लास्टिकले छोपिएको थियो । गर्मी नहोस् भनी वरिपरि बरफका टुक्रा थिए ।
कसैले सुबोधको मीठो निद्रा बिथोलेनन् । सरलाले पनि । ऊ हेरेको हेर्यै भई । सुबोधलाई मीठो निद्रा निदाउन दिई । घचघच्याएर उठाउने साहस गरिन । मोहनी लागेको जस्तो सुबोधको अनुहारमा हेरिरही । उसको हेराइको चुम्बकीय आकर्षाको भेउ सबभन्दा पहिले सासूले थाहा पाई । मुटु हल्लियो । हंसले ठाउ छाडयो । आफूभन्दा बुहारीको अवस्थाले सतायो । क्यै बिघ्न नपरोस् भनी कुममा हल्लाएर ब्यूझाउन खोजी । तर अबेर भइसकेछ । सुबोधकै छेउमा सरला डङ्रङ्ग लडी । अलिकति खाली ठाउ बचेको रहेछ । त्यसको पुर्ति गरी ।

समाप्त

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2065

लेखकका अन्य रचनाहरु