श्रीपेच ब्यवस्थापन

- कुसुम ज्ञवाली

युवाहरुको लाखौंको संख्यामा उर्लेको मानव सागर वादशाहको दरवार तर्फबढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ठानेर युवाहरुले दरवारबाट वादशाहको श्रीपेच खोसेर बरामद गरे ।
यसलाई टायर सँगसँगै सडकमा जलाई दिनु पर्छ एकजना मझौला कदका मंगोलियन युवाले प्रस्ताव राखे ।
यो धातुबाट बनेको हँदा यो आगोबाट नष्ट हँदैन त्यसैले जमिनमा गाड्नुपर्छ अर्का जोसिली युवतिले आक्रोस पोखिन ।
यसलाई एसिडमा हालेर गलाउनु पर्छ" अर्का विज्ञानका विद्यार्थीले प्रस्ताव राखे ।
हेनुहोस ! यसलाई अन्त गर्न गाह्रो छ यो अनन्त छ, भौतिक रुपमा अन्त गर्दैमा यो नष्ट हुदैन भावना, प्रवृत्ति र संस्कारवाट अन्त गर्नूपर्छ" एकजना चिण्डे तालू भएको वौद्ध युवाले तर्क गरे ।


युवाहरुको जमातमा मतमतान्तर मनग्ये भयो । कसैले टुक्राटुक्रा पारेर खोलामा मिल्काउने कुरा गरे । कतिले हिँउमा पूरी दिने प्रस्ताव राखे । अन्तमा एकमतले श्रीपेचलाई घोटेर सिध्याउने निश्चित भयो । टुक्रा टुक्रा पारेर घोट्न थालेपछि थाहा भयो श्रीपेचमा भएको कडा हिराहरुले गर्दा घोटेर सिध्याउन नसकिने रहेछ । अनि एक एक जनाले एक एक वटा टुक्रा श्रीपेचको आ-आफै व्यवस्थापन गर्ने निधो भयो । सबै युवाहरुलाई श्रीपेचका टुक्राहरु बाँडियो । साँझपख सबै युवाहरु एक एक टुक्रा श्रीपेच वोकेर घरतर्फलागे ।

विहान उठ्दा त्यही सानो टुक्रा श्रीपेच उज्यालो नभएको मौका छोपेर सिङ्गै श्रीपेचमा परिवर्तन भएर युवाहरुको हरेक अँध्यारो टाउकोमा चढ्यो र ढालिएको एउटा वादशाहको दरवारको ठाउँमा वस्तीमा ससाना दर्जनौ दरवारहरु खडा भए ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु