अनुहार पढ्ने बानी

- विवश वस्ती

हिजोआज म अरूका विदर्ीण्ा, सुन्दर र आकाङ्क्षाविहीन अनुहारहरू पढ्न थालेको छु । अथवा सबै खाले अनुहार । धेरै घोत्लिएर, धेरै गमेर र धेरै मग्न भएर पढ्न थालेको छु । यसरी पढ्दा आद्योपान्त पढ्नु पर्दोरहेछ । त्यही कारण नयाँ-नयाँ अनुभवको क्षितिजमा विचरण गर्न पाइरहेको छु र अरूको अनुहार पढ्दा पाइने नाफा/नोक्सानहरूका लेखाजोखासमेत गर्न थालेको छु । अरूहरूको अनुहार पढ्न चाख्न पाइने स्वाद प्रत्यक्ष ग्रहण गर्न थालेको छु । मलाई लाग्यो, हरेक अनुहारको आफ्नै लिपि र भाषा हुँदारहेछन् । एउटाको लिपि, अर्कोसित पटक्कै मेल नखाने । बिल्कुलै बेग्लै लिपी र भाषा । कस्तो रमाइलो ! हुन पनि अनुहारको भाषा धेरै जटिल, दुर्वोध र लिप्यान्तरण गर्न कठिन हुँदोरहेछ । हिटलरको अनुहार कसैले पढ्न सकेनन्, त्यसकै प्रतिफल लाखौँ यहुदीहरूले उनको ग्याँसच्याम्बरमा मृत्युका रङ्गनि सपनाहरू बुन्नुपर्‍यो । बीसौँ शताब्दीको सबभन्दा ठूलो त्रासदीले रेखाङ्कति हुने मौका पायो । हो, म अरूको अनुहार पढ्ने कार्यमा व्यस्त छु अचेल । तपाईंहरूको सुझाव होला- 'यो खराब बानी हो । अरूको अनुहार पढ्नु शोभनीय र नैतिक कार्य कदापि होइन । यस्तो बानी तत्काल परित्याग गरिहाल्नर्ुपर्छ ।' म कसैको सुझाव सुन्ने, त्यसलाई फटाफट ग्रहण गर्ने र लागू पनि गरिहाल्ने पक्षमा छुइन । कदापि छुइन । कसैले मलई त्यस्तो ल्वाँदे सुझाव दिन्छ भने म उसको विरुद्धमा उभिनु आफ्नो गहन दायित्व ठान्दछु । मेरो धरातललाई कुरूप बनाउने, खुम्च्याउने र अरूको राइँदाइँ गर्ने थलो बनाइन्छ भने मेरा इन्द्रियहरू मौनताको साइनबोर्ड झुण्ड्याएर बस्दैन । तुरुन्तै कार्यरूपमा दह्रोखरो ढङ्गले उत्रिहाल्दछ । म आफ्ना इन्द्रियहरूलाई उचाल्दै भन्छु- 'तिमीहरू के हेरेर बसिरहेका छौ - आफ्नो कार्य-मैदानमा शस्त्रअस्त्रसहित उत्रिहाल । होइन भने म तिमीहरूलाई निलम्बन गर्न बाध्य हुनेछु ।' यो त मेरो आफ्नो कुरा भयो । हो, म अरूको अनुहार पढ्न थालेको छु । सडक वा बाटोघाटोमा हिँड्दा वा बसमा चढ्दा, पार्कमा आरामपर्ूवक बस्दा होस् वा आफ्नो कार्यकक्षमा रहँदा होस्, क्याबिनहरूमा बस्दा होस् वा साथीभाइसित रमाउँदा होस्, म हरेकपल अरूको अनुहार पढिरहेको हुन्छु । धेरै गहन र सारभूतरूपमा पढिरहेको हुन्छु । निकै नै रोमाञ्चित र द्रविभूत तुल्याउँदो रहेछ यो नयाँ बानीले । त्यसैले त कसको अनुहार पढ्दा कस्तो खालको अनुभूति हुन्छ - मस्तिष्कमा तरङ्गहरू कसरी उठ्छन् - कसरी नवीनतम खुराक प्राप्त भएको बोध हुन्छ - भन्ने कुरा पनि म रिट्ठो नबिर्राई भन्न सक्ने भएको छु । मलाई थाहा भइसकेको छ, कसको अनुहार पढ्दा ताजा र स्फर्ूत अनुभूत होइन्छ र कसको अनुहार पढ्दा जुम्सोपनसित सम्बन्ध विस्तार गर्न सकिन्छ । कसको अनुहारमा आग्रहका थोप्लाहरू हुन्छन् र कसको अनुहारमा पर्ूवाग्रहका नक्षत्ररेखाहरू हुन्छन् । मलाई एक एक थाहा छ । कसको अनुहारले अवसरवादका गोरेटाहरू पहिल्याइरहेका छन् र कसको अनुहारमा इमानदारका शीतहरू टल्किरहेका हुन्छन् - भन्ने कुरा पनि मेरो जानकारीको विषयवस्तुभित्रै पर्दछ । चोर, डाँका, फटाहा, सुधो, साधु, लफङ्गा, पाकेटमार, विद्वान्, भलाद्मी, चाप्लुसीवाद, चाकडीवाद, लिच्चड, इमानदार, गौप्राणी- हो, कसको अनुहार पढ्दा के कस्ता अनुभूत हुन्छ भन्ने कुरा म इमानदारपर्ूवक बताउन सक्छु । तपाईंहरू भ्रममा नपर्नुहोला, म कुनै अनुहार-विशेषज्ञ हुँ । अथवा ज्योतिषविद्यामा मैले गहन अध्ययन गरेको छु । ज्योतिषहरू अरूको अनुहार हेरेर अनुमानका अनेकन धर्सर्ाा कोरिरहेका हुन्छन् । उनीहरू अरूको जीवनका आगामी पक्षहरूमाथि हस्तक्षेप गरिरहेका हुन्छन् ।

म त्यो कोटीमा पनि परिन । साँच्चै, म अरूको अनुहार मजाले पढ्न सक्ने भएको छु तर यति मात्रै कहाँ हो र ! कसको अनुहार पढ्न कति गाह्रो हुन्छ भन्ने कुरा पनि मलाई थाहा छ । धेरै नै मुस्किल हुन्छ कसै कसैको अनुहार पढ्न त । एक हेराइमा त्यस्ताहरूको अनुहार पढ्न सकिँदैन । कसैको अनुहार हर्ेदा धेरै नै समथल देखिन्छ तर त्यो अनुहारभित्र गमेर विचरण गर्ने हो भने धेरैभन्दा धेरै उबडखाबडहरू पाइन्छन् । सोच्नै सकिन्न । धेरै मानिसको अनुहार चन्द्रमाजस्तो हुन्छ, जसमा सुन्दरता र शितलताका कैयन् अंशहरू रहेको जस्ता लाग्छ तर त्यसको कुरूपपनसित हामी पत्तै नपाई झुक्किइरहेका हुन्छौँ । त्यस्ता अनुहारहरूले नराम्ररी धोका दिन्छन्, बेलामौकाहरूमा । सावधान ! त्यस्ता अनुहारहरूसित । चन्द्रमाजस्तो अनुहारसित । बस चढ्दा चोरहरूको फेला पर्नु स्वभाविक हो तर म बस-चोरहरूको अनुहार परैबाट ठम्याउन सक्दछु । त्यसैले बेलैमा र्सतर्क हुन मलाई करै लाग्छ । चोरहरू पनि निकै बाठा हुन्छन् । को चलाख छैन को छ भन्ने कुरा उनीहरू सजिलै ठम्याउँछन् । त्यसैले एकपटक बाहेक म अहिलेसम्म चोरहरूको फेला परेको छुइन । चोरहरू पनि मेरो नजिक पर्न चाहँदैनन् । सायद मलाई पनि उनीहरूले आफूभन्दा ठूलो, महाचोर देखेर पो हुन् कि ! केही दिनअघि मैले एकजना चोरको अनुहार पढेँ । सपाट, स्पष्ट र खुला थियो उसको अनुहार । कर्मले, वृत्तिले ऊ चोर भए पनि आफ्नो कार्यमा इमानदार पाएँ मैले । अहँ ! दोहोरो चरित्रको सङ्गारमा उभिएको थिएन ऊ । हातमा फूलको गुच्छा देखाएर छुरा घोप्ने उसको स्वभाव थिएन पटक्कै । ऊ इमानदारपर्ूवक चोथ्र्यो, इमानदारपर्ूवक आफ्नो कर्मको मैदानमा जुट्थ्यो । उसको अनुहारले यस्तै कुरा बताइरहेको थियो । उसको अनुहार पढ्न पाउँदा मलाई गौरव-अनुभूति भयो । संसारका सबभन्दा इमानदार, भलाद्मी व्यक्तित्व कतै चोर नै पो हो कि ः मलाई यस्तै लागिरहेको छ तर यसमा छलफल, विचार-विमर्शको त्यत्तिकै जरुरत छ । बिनाप्रमाण त्यत्तिकै बोल्नु वा घोषणा गरिहाल्नु उचित कार्य होइन । आफूलाई विद्वान्को पङ्क्तिमा उभ्याएर चोर कर्मलाई गति दिने अनुहारहरूलाई चुनौती हो जस्तो लाग्यो मलाई उसको अनुहार । साथै मुकुन्डो पर््रदर्शन गरेर आफ्नो अनुहार देखाइरहेकोे स्वाङ रच्नेहरूका निम्ति पनि जवाफ हो उसको अनुहार । मुकुन्डोधारीहरूको रमाइलो संसारबारे एउटा प्रसङ्गको याद आयो मलाई । फागुको दिन थियो । टोलका केही केटाहरू हरेक पटक दिक्क तुल्याउने एकजना नेतालाई ठीक पार्ने जुक्ति सोच्छन् । उनीहरूले सल्लाह गरेछन्- 'आज त्यो फटाहा नेतालाई रङ दल्ने बहानामा अलकत्रा दलिदिनर्ुपर्छ । ताकी उसको अनुहार हर्ेनलायक होस्, भद्दा र कालो ।' त्यहीअनुसारको योजना बन्यो । टोलका सबै केटाहरूले होली खेल्ने निमन्त्रणा नेतालाई दिए । नेता पनि खुसीसाथ आए । र, ती रुष्ट एवं उद्दण्ड केटाहरूले नेताको मुखमा अलकत्रा दलिदिए । नेताको अनुहार क्षणभरमै विरूप भयो । केटाहरूले सन्तोषको लामालामा सास फेरे । तर अचम्म भयो । एक छिनपछि त नेताको अनुहार पूरै सफा र टलक्क टल्किएको थियो । के भयो यस्तो - कतै जादूले त काम गरेन - केटाहरू खासखुस गरे तर नेताको अनुहार सफाचट भएको कारण भने उनीहरूले जति प्रयास गरे पनि पत्ता लगाउन सकेनन् । बाध्य भएर नेतालाई नै सोधे- 'हैन, नेताज्यू ! तपाईंले त जादू नै गरिदिनुभयो । अघि मात्रै हामीले त्यस्तो अलकत्रा दलिदिएका थियौं तर अहिले त ... - नेताले मुसुक्क हाँस्दै जवाफ दिए- 'त्यो अघि तपाईंहरूले कहाँ मेरो अनुहारमा अलकत्रा दल्नुभएको हो र ! मैले लगाएको मुकुण्डोमा पो दल्नुभएको हो त ! मैले त्यो मुकुण्डो त फ्याँकिहाले नि ।' यस्ता अनगिन्ती मुकुन्डोधारीहरू हामी जताततै पाउँदछौँ । हर्ेदा अनुहारजस्तै लाग्छ तर मुकुण्डो बेरेर आफूलाई प्रदर्शित गरिरहेका हुन्छन् तिनीहरू । त्यसैले तिनीहरूसित सदैव होसियार हुनर्ुपर्दछ किनभने तिनीहरू मुकुन्डो-वार्ता गर्छन्, मुकुन्डो-संवादलाई निरन्तरता दिन्छन्, मुकुन्डो-आन्दोलन गर्छन्, मुकुन्डो-सहमति खोज्छन्, मुकुन्डो-सम्झौता गर्छन् र मुकुन्डो-सत्तासिन हुन्छन् । तिनीहरूले जब देश चलाउँछन्, त्यसमा तिनीहरूको वास्तविक अनुहारले होइन, मुकुन्डोले राज गरिरहेको हुन्छ । त्यस्ता मुकुन्डाहरू र्सवव्याप्त छन् । समाजका हरेक अङ्ग-अङ्ग त्यस्तै मुकुन्डाहरूले ढाकिएका छन्, कर्ुर्सर्ीीमा त्यस्तै मुकुन्डा फैलिएका छन्, निर्ण्ाायक तहमा त्यस्तै मुकुन्डाहरूको हालीमुहाली यथावत् छन् । 'तिमीहरू मुकुन्डो हौ ।' कसैले प्रतिवाद गरे भने तिनीहरू दावी गर्दै भन्छन्- 'लौ हेर, हामी कहाँ मुकुन्डो हौँ - हामी त सद्दे अनुहार हौँ' । हो, वास्तवमा मुकुन्डोधारीहरूको अनुहार पढ्न धेरै गाह्रो हुन्छ ।

उनीहरू बाहिर एउटा अनुहार पस्केर भित्र अर्कै अनुहारद्वारा सारा गतिविधि सञ्चालन गरिरहेका हुन्छन् । बाहिरबाट हर्ेदा उस्तै लाग्छ तर फरक हुन्छ धेरै धेरै । त्यसैले मुकुन्डोधारीहरूको अनुहार जतिसुकै अलकत्रा दले पनि, मोविल र्छर्किए पनि तिनीहरू नै सफासुग्घर भएर निस्किन्छन् । समाजमा तिनीहरूकै मान, सम्मान, इज्जतको ओइरो चल्छ । राष्ट्रिय एवं अन्तर्रर्ााट्रय परिदृश्यहरूमा तिनीहरूकै बोलवाला चलिरहेको हुन्छ । साला ! धर्ूत मुकुन्डोधारीहरू ! आफ्नो अनुहार हुँदाहुँदै अर्कै अनुहार देखाउन पल्केकाहरू ! फटाहाहरू ' म चार्वाकको अनुहारलाई सम्मान गर्दछु । जसले प्राचीन विद्वत परम्परामा देखिएका मुकुन्डो-चिन्तनलाई पर्दाफास गरेका थिए । म उनको अनुहार सम्मानपर्ूवक पछ्याउँछु । धेरैपटक पढेको छु मैले चार्वाकको अनुहार । पर्ूर्वीय दर्शनमा भौतिकवादी दार्शनिकको मान्यता पाएका चार्वाकले एकपटक युधिष्ठिरको अनुहारलाई निकै नजिकबाट चिनेका थिए र उनको अनुहारमा लागेको दागलाई औँल्याउने हिम्मत जुटाएका थिए । त्यही हिम्मतले उनलाई मृत्युको यथार्थसित नजिक हुनु करै लगायो । महाभारत युद्ध भर्खरै टुङ्गएिको थियो । पाँच पाण्डवको जमात विजयभावमा आफ्नो सहरतिर फर्किदै थिए । युद्धस्थलबाट । सहरमा उनीहरूको विजयोत्सवलाई वैधानिकता दिन हजारौं जनपङ्क्ति क्रियाशील थिए । सबैको हातमा फूलमाला थियो । स्वागत गर्नेहरूमा त्यतिखेरका ठूल्ठूला ऋषिमुनिहरू पनि थिए । ऋषिहरूको लहरमा उभिएका थिए चार्वाक पनि । सबै ऋषिहरूले युधिष्ठिरलाई विजय भएकोमा बधाइ दिए तर चार्वाकले सिधै भने- 'म तिमीहरूको यो विजयलाई वैधानिकता दिन सक्दिनँ ।' 'किन -' युधिष्ठिरले सोधे । 'तिमीले जुन वियोत्सव मनाइरहेका छौं । यो बन्धुबान्धव मारेर मनाइएको विजयोत्सव हो । यस्तो विजयोत्सवलाई म कसरी मान्यता दिऊँ -' चार्वाकको यस्तो कडा उद्गार सुनेर युधिष्ठिर तिल्मिलाए । वरिपरि बसेकाहरू ऋषिमुनिहरूको ओठमुख सुक्यो तर त्यसको प्रतिफल ज्यादै दुःखदायी भयो । युधिष्ठिरका चेलाचपेटाहरूले त्यो विद्वान्, दार्शनिक र समयको पदचापलाई ठीकसँगले पहिल्याउन सक्ने चार्वाकलाई जिउँदै जलाएर मारे । लाग्छ, आफ्नो आलोचना गर्नेहरूप्रति असहिष्णु बन्ने प्रवृत्तिको त्यही समयदेखि विकास भएको हुनर्ुपर्छ । आलोचना गर्नेहरूलाई शत्रुको पङ्क्तिमा उभ्याएर दण्ड दिने प्रयासको सुरुवात धर्मराज युधिष्ठिरले नै गरे कि - सदैव सत्य कुरा मात्र गर्ने उपाधि पाएका युधिष्ठिरले नै यो संस्कृतिको जग बसालेका हुन् कि - हरेक मानिसको अनुहार आफ्नै प्रकारका हुन्छन् । एकाध मानिसहरू बाहेकको अरू अनुहारमा तादात्म्यता मिल्दैन । विख्यात् साहित्यकार रस्किन बान्ड र हाम्रा विनयकुमार कसजूको अनुहार मिल्दोजुल्दो छ, भारतका चलचित्रकर्मी गौतम घोष र हाम्रा नारायण ढकालको अनुहारमा पनि समानता पाइन्छ, सञ्चारकर्मी गोपाल गुरागाईं र साहित्यकार नन्दु परिश्रमी पनि उस्तै अनुहारका व्यक्ति हुन् । मेरै अनुहार पनि मिल्छ, लोकगायक प्रेमराजा महतसित तर मलाई 'सिमसिमे पानीमा....' भन्दै रेखा शाहसित दोहोरी भने गाउन आउँदैन । एक दिन त पुरानो बानेश्वरको एउटा होटलवालाले मुखै फोरेर भने- 'हजुर, प्रेमराजा महत हो -' मैले भनेँ- 'त्यस्तो लाग्छ र -' 'अँ, मिल्दोजुल्दो छ ।' होटलवालाको दावी थियो । तर भ्रममा नपर्नोस् । कसैको अनुहार हिटलरको जस्तो भयो भन्दैमा उसले ग्यासच्याम्बरको परिकल्पना गर्न रुचि नराख्ला । कसैको अनुहार महात्मागान्धीको जस्तो भयो भन्दैमा धोती र लठ्ठीको भरमा सत्याग्रह गर्न नचाहला । कसैको अनुहार मर्लिन मुन्रोजस्तो भयो भन्दैमा सेक्सी-हाउभाव पस्कँदै नहिँड्ला । कसैको अनुहार गिरिजाप्रसाद कोइरालाको जस्तो भयो भन्दैमा हठवादलाई प्रश्रय नदेला । कसैको अनुहार प्रचण्डको जस्तो भयो भन्दैमा जनयुद्धका नाममा हतियारको मेला नलगाउला । हिजोआज अरूको अनुहार पढ्न थालेपछि म धरै कुरामा पछि पर्दै गएको छु । अथवा पछि परेको अनुभव गर्न थालेको छु । यस्तो व्यस्त हुनपुगेको छु, कि आफ्नो अनुहारचाहिँ कस्तो होला भन्ने मलाई हेक्कासमेत हुन छाडेको छ । अफसोस ! मैले आफ्नो अनुहार चाहिँ पढ्न पाइरहेको छुइन, पढ्न सकिरहेको छुइन । कस्तो विडम्बना ! एउटा झिनो आशा सँगालेको छु, कतै मेरो अनुहार पनि अरू कसैले पो पढिरहेका छन् कि - मेरो अनुहार पढेर अरू कसैले आफ्नो धारणाहरू बनाइरहेका पो छन् कि ! एक पटक आफ्नै अनुहार पो पढ्नु पर्‍यो ।

साभार: मधुपर्क

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु