स्वाँगे नेता

- चूडा मणि रेग्मी

मनोविज्ञानका अनुसार भन्दा मान्छे जम्माजम्मीमा दुई खाले हुन्छ– एउटा बाहिरी प्रवृत्तिको र एउटा भित्री प्रवृत्तिको । बाहिरीमा उत्तम नेता र भित्रीमा उत्तम कवि हो । परन्तु कुरो यति मात्र छैन । हो, नेता पनि कवि हुन सक्छन् र कवि पनि नेता हुन सक्छन् । योग्यता र प्रतिभाले एउटा मान्छे दुई थोक होइन धेरै थोक पनि हुन सक्छ– नेता, कवि, चित्रकार, वैज्ञानिक आदि । तर नेपालको बात गरौं । यस देशमा कवि र नेताको गन्ती कति छ भने औंला अल्मलिन्छन्, अङ्कगणितको सहाराले जिल्ला–अञ्चल छुट्याउनु पर्छ र नेता पनि त्यतिकै छन् ।
कवित्वको गुणले मान्छे कवि भनिन्छ, गाउने गुणले मान्छे गायक भनिन्छ, नाच्ने गुणले मान्छे नर्तक भनिन्छ, चित्रकारिताको गुणले मान्छे चित्रकार भनिन्छ भने नेतृत्वको गुणले मान्छे नेता भनिन्छ, चाहे योग्य, लम्फू, स्वाँगे नै किन नहोस् । नेता भनेको नेतै हो । त्यसैले त मेरो लेखनी जुर्मुरायो । दार्शनिक दृष्टिकोणको कुनै एक दृष्टिकोणले हेर्दा ‘कुकुर र विद्वान’मा पनि अन्तर छैन, जब मान्छे समदर्शी हुन्छ । ज्ञानी आँखा मान्छेलाई मान्छे देख्छ– चाहे स्वाँगे, लम्फू वा योग्य किन नहोस् भनेर भन्ने होलान् ! हो, दृष्टिकोण यो पनि गतिलै हो । तर, चोर पनि मान्छे हो, उसको पनि पेट छ – कानुन भन्दैन र त्यसलाई चोरीको अभियोगमा सजायँ तोकी उसलाई थुन्छ र दण्ड गर्छ । जवान छ, अविवाहित छ, पढ्नुपर्ने छ वा योग्य केटी पाएको छैन, वासनापूर्ति गर्न ग¥यो उसले ‘कुकर्म’ भने पव्रmाउ पर्छ, जुत्ता खान्छ र क्वाँ–क्वाँ रोएर आँसु झार्छ । उसको त्यो कर्मलाई माफी को दिन्छ ? तर दुनियाँभरिको ज्ञान चोर्ने प्रवक्ता वा लेखकलाई सजायँ त परै जाओस्, समादर गरिन्छ, तर विवाहिता पत्नी त्याग्ने र सहवास नगर्नेलाई भने निन्दा गरिन्छ । कुरो यस्तो छ । त्यसैले नेताको स्वाँङ गर्नेलाई स्वाँगे नेता किन नभन्ने ? र किन त्यस्तो नेतृत्वको उधारो रूप स्पष्ट नगर्ने ?
तर स्वाँगे नेता बाठो छ भने जवाफ दिइहाल्ला – दुनियाँमा सच्चा नेता को छ ? के ठुला–ठुला राष्ट्रका नामी नेता स्वाँगे छैनन् ? रातदिन अस्त्र–उत्पादन गर्छन् र शान्ति–शान्ति भनेर कराउँछन् ! के यो स्वाँङ होइन ? अखवार विरोधमा लेखिरहेछ, रेडियो विरोधमा कराइरहेछ, युद्धभूमिमा लडाइँ उर्लिरहेछ तर ‘शान्तिवार्ता’मा नेता भाग लिन्छन्, हात मिलाउँछन्, हाँस्छन्, के यो स्वाङ होइन ? रुस वायाँ हो भने अमेरिका दायाँ, के यी दुई देशका नेताले कुराकानी गर्न महान्भन्दा महान् स्वाङ होइन ? यी तर्कले स्वाँगेको बचाउ शक्ति निकै बढ्न सक्छ, तर म स्वाँगे हुँ भनी माथि भनेझैं स्वाङ स्वीकार्छ को र ? स्वाँगे नेता आफूलाई वास्तवमा नेता नै ठान्छ । गाउँ जिल्ला, अञ्चल तथा क्षेत्रीय रूपमा छरीवरी नेता आफूलाई नेता नै ठान्छ – स्वाँगे विशेषणविहीन ।
अब प्रश्न गरौं– योग्य नेता को हो ? उत्तरमा छाडौं सैद्धान्तिक कुरा, व्यक्तित्वको कुराले नेतृत्व ठमाऔं । योग्य नेता विद्वान् हुन्छ कि विशेषज्ञ हुन्छ । नेतृत्व विविध क्षेत्रको हुन्छ । साहित्यिक क्षेत्रको पनि नेता हुन्छ । नेताको शाब्दिक अर्थ हो– ‘अगाडि लैजाने’ अर्थात् आफू अघि लाग्ने र अरुलाई पछि लाउने । कोठामा बसेर साहित्य रच्ने कवि कवित्व जगत्को मात्र नेता होइन, ऊ त युगको बोली बोल्ने हुनाले युगको पनि नेता हो । राजनीतिक क्षेत्रका नेताको भूमिका राजनीतिक जगत्मा सीमित छ । ऊ देशमा ठुलो भए विश्वमा नेतृत्व गर्छ, विचारधारामा सङ्घर्ष गर्दै, प्रवचन दिँदै, सङ्गठन गर्दै, एक अन्य पक्षलाई हराउँदै आफू अघि बढ्छ । ऊ निर्भीक हुन्छ, सिद्धान्तप्रिय हुन्छ र आफ्नो सिद्धान्तका निमित्त ज्यान गुमाउन सक्ने हुती भएको हुन्छ, जेल–नेल, बन्दुक, गुण्डादेखि डराउँदैन, षडयन्त्रदेखि नडराउँदै षडयन्त्र रच्दै अघि बढ्छ । दर्शन, विज्ञान वा बिभिन्न अन्य कलाका क्षेत्रमा पनि विशेषज्ञ नेता हुन्छन् । आफूले रोजेको आफ्नो प्रिय विषयमा अन्वेषण, अध्ययन, मनन, चिन्तन गरी त्यसमा योगदान दिने नै नेता हुन् । तब, अब स्वाँगे नेता को हुन् ? चिनिएन र !
अघि एउटा कुरो बिचमा आयो– एउटा महान् कवि हुन्छ तर अरु छोटा कवि हुन्छन् । आखिर छोटा कवि भएमा नै महान्को गणना हुन्छ र महत्त्व मानिन्छ । त्यस्तै छोटा नेता नभए महान् नेताको के महत्त्व ? अपसोच ! आफूलाई सर्वसाधारण नमान्ने र महान् नेता ठान्ने प्रवृत्ति भएकालाई स्वाँगे नेता नभने के भन्ने ?
अब स्वाँगे नेताको विशेष परिचय गरौं । वास्तवमा, स्वाँगे नेता अध्ययन कम्ती गर्छ । प्रायः कि हतार गर्ने प्रवृत्तिको हुन्छ कि ढिलो गर्ने प्रवृत्तिको । हतार गर्ने सर्वत्र पुग्छ र धेर बोल्छ । ढिलो गर्ने चाहिँ वचन–दरिद्र हुन्छ । दुबैमा बठ्याइँ हुन्छ । टपरटुइँयाँपन स्वाँगेको खुबी हो । कति स्वाँगे भाषण गर्छन् भने कति अन्वेषण । कति कविता गर्छन्, भने कति पत्रकारिता । महान् नेता हातमा लिने चेष्टा गरी कति धाक लाउँछन् भने कति व्यापारीका पिठ्ठू हुन्छन् । कति गुप्तचरी गर्छन् र कति अन्य क्षेत्रमा स्वाँङ देखाउँछन् ।
छोटकरीमा, योग्यताको अभावमा नै स्वाँङ गर्ने बानी बस्छ । वासनाको भोको कुरूप झिलिक्क भएझैं शक्तिको भोको नेता मन नपराई नपराई हाँस्छ र नसुहाइकन पनि ठिक्क पारी कुरा गर्छ । कुनै स्वाँगे त न्यायको बाटो जानेर पनि पापी पेटको लागि झुठ बोल्छन् र कुनै स्वाँगे अर्कोलाई खाडलमा जाकेर आफू मात्र एउटा सानो सिटमा बसेर मख्ख पर्छन् । स्वाँगे भए पनि नेता हुँदा साधारण नमस्ते, मिठो भोजन, थोरै शक्ति प्राप्त हुन्छ । वास्तवमा, मानसिक विकृतिले नै स्वाँगेपन पलाउँछ र स्वाँगे नेताका रूपमा झाँगिन्छ । स्वाँगेपन एक महामारी हो, यो यहाँ व्याप्त छ । जबतक अशिक्षाको मैलो प्रकाश यहाँ रहन्छ, जबतक यहाँ जनता पुरा साक्षर शिक्षित हुन्नन् – यो महामारी समाप्त हुन्न । यी स्वाँगे अड्डा–अदालततिर जति छन्, उति राजनीतिमा, जति पत्रकारितामा छन् उति साहित्यमा । यी गाउँ, सहर सबैतिर नै व्याप्त छन्, यसैले स्वाँगे प्रवृत्ति हाम्रो एक रोग तथा समस्या हो, यसको समाप्ति हाम्रो निम्ति एक ओखती र समाधान हो ।

वि.सं.२०३०

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 पौष, 2077

लेखकका अन्य रचनाहरु