उसको मृत्यु

- सङ्गीत आयाम

कुनै कारण बिना नै उसको मृत्यु भयो । मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु । खुट्टाहरू फतक्क गलेका छन् । हातहरू मानौं अपाङ्ग भएका छन् । संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ । मनहरू लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर ।

साँझ ढल्दैछ । म झ्याल खोल्छु, हावाको एक चिसो झोका कोठाभित्र पस्छ । लाग्छ हावाको झोंकासँगै उसको सम्झना पनि कोठाभित्र प्रवेश गरेको छ । स्मृतिहरूको भेलले मलाई बगाएर पर कतै एकान्तमा पुर्याउँछ । म उसको ओठ सम्झन्छु ।
उसका कलिला ओठहरूमा अद्भुत प्रकारको जादु थियो । त्यो जादुले ओतप्रोत भएका ती ओठहरू मैले सहस्र पटक चुमेका ओठहरू थिए । अहा ! कति राम्रा थिए ती ओठहरू । उसका स्वप्निल तरङ्ग व्यूँझाउने ओठहरू यति सुन्दर थिए कि मानौं ती ओठहरू मैले कोर्समा पढ्ने गरेका शेलीका कविताहरू हुन् । मानौं मैले एकान्तमा भिजेर समयलाई मनोरम बनाउने गरेका डी. एच. लरेन्सका उपन्यासहरू हुन् ।

फेरि अर्को चिसो झोंकाले म स्मृतिबाट खस्छु । आर्कल्याम्पको प्रकाशले छोएको सेतो फूललाई झयालबाट टाउको निकालेर म बाहिर हेर्छु बाहिर अलि चिसो नै रहेछ, शायद रात पनि धेरै ढलिसक्यो होला । साँझ डुबेको पनि धेरै समय भैसक्यो, खोइ ! निन्द्रानै आउँदैन । संझनाहरू चाहिं यसरी आएका छन् कि के भन्ने - म उसको आँखा सम्झन्छु ।

उसका ठूला ठूला आँखाले मलाई मानौं मोहनी नै लगाएका थिए । म उसको आँखा हेरिरहन्थें एकनाशले टोल्हाएर । मैले सयौं पटक चुमेका ती आँखाहरू कुनै सुल्झनै नसक्ने रहस्यहरू थिए । कति आत्मीय थिए ती आँखाहरू ! कति रोमाञ्चक थिए ती आँखाहरू ! ती आँखाहरूको गहिराइमा एउटा पृथक संसार थियो । ती आँखाहरूले बोक्ने गरेका एउटा क्यानभासमा समय लत्पतिन्थ्यो अमृत भएर । म कसरी ती आँखाहरूलाई बिर्सन सक्छु र जसले मभित्र सहस्र र्स्पर्शहरू खोपेर गए । यो पीडाको मौसममा स्मृतिले दिएको थप पीडा पिएर म ऊबाट भाग्नै नसक्ने भएको छु यतिखेर ।

रात ढल्दैछ । समय बहकिदैछ । मात्र एकान्तमा रातलाई लिएर बस्नु शायद पागलपन नै हो क्यार ! शायद अरु नै केही हुनसक्छ रातभरि भरि आफूलाई टाँगेर बाँच्नु । अनायास यो के - पानी परेजस्तो छ बाहिर । अघिसम्म त पानी पर्ने जस्तो मौसम नै थिएन, मात्र चिसो हावा बगिरहेको थियो । होइन पानीको छिटा त भित्रै पस्नै लाग्यो, झयाल लगाउनु पर्यो । म उठ्छु । झयालतिर बढ्छु तर हातहरू भने र्सन नै मानिरहेका थिएनन् । स्मृतिको कुन सम्मोहनले तानेर मलाई फेरि पनि उसको नजिकै पुर्याइदिन्छ ।

केही दिन पहिलाको त घटना हो । यस्तै झमझम पानी परेको समय थियो । हामी ओत लागेर बसेका थियौं सडकको छेउमैं । बर्सिरहेको पानी देख्दा यस्तो लाग्थ्यो नजिक आउँदै गरेको रातलाई समेत पिइदिनेछ यसले आफ्ना ओठहरू फैलाएर । पानीको भेलमा सडक पनि बगेझैं लाग्थ्यो सँगसँगै । ठीक यसैबेला उसका हातहरू पानीमा र्सवाङ्ग रुझिरहेको गुलाफको फूलतिर सोझिन्छन् । मैले त्यस फूलमाथि आफ्नो ध्यान केन्द्रित गर्छ। वास्तवमैं पानीमा भिजेको त्यो फूल यति सुन्दर देखिन्थ्यो कि मन बहकिहाल्दथ्यो । उसका ओठहरूले मसँग त्यो फूल टिप्ने अनुरोध गर्न थाल्छन् ।
पापा, त्यो फूल मलाई चाहियो, टिपेर ल्याउनोस् न ।

मैले उसलाई भन्छु, पानी परिरहेको छ अहिले हुँदैन ।
ऊ एकदमै जिद्दी थियो, मेरो केही लाग्दैन । म फूलतिर बढ्छु र त्यसलाई टिपेर फर्किदा निथु्रक्क रुझिसकेको हुन्छु । मेरा कपडाहरू पानीले लपक्क भिजेको देखेर होला उसको हाँसोले रोकिने नाम नै लिएन । 'थ्याक्यूं पापा !' ऊ भन्दै थियो । उसको चञ्चल र कोमल हाँसोले त्यत्रो पानीले भिजाउन नसकेको मेरो मन चुर्लुम्म डुब्ने गरी भिजाएको थियो । मात्र संझना छ, पत्र-पत्र हुँदै उप्किरहेका ।
ओहो ! पानीले सिरानी पनि भिजाएछ । पानी त क्रमशः बग्दै गएर तन्नाभरि फैलिंदै गएछ । म फेरि उठ्छु । अब त झयाल लगाउनै पर्छ नत्र पानी कोठाभरि फैलिनेछ । कत्रो पानी परेको - म बाहिर हेर्छु बाढी नै आएजस्तो छ सडकमा । अनायास आर्कल्याम्पको प्रकाशमा नुहाइरहेको त्यो सेतो फूलमा मेरो आँखा पुग्छ । ठ्याम्मै उस्तै फूल ! कत्ति फरक छैन, मानौं त्यो फूल यस फूलमा रूपान्तरण भएको छ अहिले । तर ..... खोइ, उसको हात सोझिएको त्यो फूलतिर ? खोइ, उसका ओठहरूले त्यो फूल टिप्ने अनुरोध गरेका ? पीडाको अदृश्य उदासी कोठाभरि पोखिन्छ र सुस्त सुस्त बढ्नथाल्छ त्यसको गाढा रङ्ग । म चुपचाप अघिको फूललाई नियाल्छु र देख्छु उसको स्मृतिले व्यूँझाएको प्रतिबिम्बित रूपलाई ।

ओहो ! पानीले तन्ना पुरै भिजाएर कोठाभरि फैलिएछ । अघि नै झयाल लगाउनु पर्ने ! म झयालतिर बढ्छु र त्यसलाई बन्द गर्छु ।

मध्यरातको शून्यतामा एउटा अनौठो लाग्ने आवाजले मलाई झस्काउँछ, म त्यस आवाज आएकोतिर हेर्नपुग्छु । ए ! आमा पो हुनुहुँदो रहेछ ढोका खोलेर आउनु भएको । आमा पनि उसको मृत्युले आहत् हुनुभएको कुरा म उहाँको भिजेका आँखा हेरेर नै थाहा पाउँछु । आमातिर म सम्पुर्ण रूपमा केन्द्रित हुँदानहुदै उहाँको वाक्य खसिसकेको हुन्छ ।

बाबु, तँ अहिलेसम्म सुतेको छैनस् ? के गरिरहेको यतिबेलासम्म ?
मैले भन्न खोज्छु 'आमा, तँपाई पनि त सुत्नुभएको छैन नि !' तर भन्दिन ।
आमाको ओठ फर्फाइरहेको थियो, शायद उहाँ अरु पनि केही कुराहरू भन्न खोज्दै हुनुहुन्थ्यो । आँखामा रसाएको आँसुलाई बलजफ्ती रोक्दै आमाले शब्दहरूलाई बडो कठीन ढङ्गले निकाल्नुहुन्छ ।
'बाबु, गएको मान्छे अब फर्केर आउने होइन । नआउने कुरामा मन लगाएर मात्र के हुन्छ -' मलाई थाहा थियो, यो कुरा आमाले आफैंलाई सान्तोना दिन भनिरहनु भएको थियो ।
'कसरी भुल्ने आमा उसलाई ? मैले मनमनै आफूलाई दोहोर्याउँदै थिएँ ।
आमा कतिखेर त्यहाँबाट बाहिर जानुहुन्छ, मलाई थाहा नै हुँदैन । म त आफैंमा हराएको थिएँ, पीडा र उदासीको बोझले थिचिएर ।
मैले झयाल खोल्छु । ए ! पानी त थामिएछ । त्यत्रो झमझम परेको पानी थामिएला जस्तै थिएन । आर्कल्याम्पको प्रकाशले त्यो परको सेतो फूलमा उज्यालो छरिरहेको थियो । तर उसको सामीप्यले दिएका सहस्र उत्साहहरू र खुशीका गीतहरू भने हराएका थिए कुनै अज्ञात गन्तब्यतिर यात्रारत रहेर ।
मैले अन्तिमपल्ट झयालबाहिर हेर्दा बिहान भैसकेको थियो । टेबुलमा चिसो भएको कप थियो चियाको शायद आमाले ल्याएर छोड्नुभएको थियो । बाहिर उज्यालो परसम्म पोखिसकेको हुन्छ, म कोठाबाट बाहिरिन्छु र केही टाढा पुग्छु ।

झलमल्ल घाम लागेकोले मौसम सफा थियो । राती परेको पानीले गर्दा प्रकृति मुलायम देखिन्थ्यो । मलाई आफ्नो उदासी केही कम भएको जस्तो महसुस हुँदै जान्छ । सँधै उदास रहेर पनि त बाँच्न सकिदैन, मैले सोच्दै हुन्छु । सँधै पीडा लिएर कसरी यात्रा तय गर्न सकिन्छ र ? मलाई समयले सिकाउँदै थियो ।

त्यो सेतो फूल त्यहाँ थिएन, मलाई फेरि समयले उपहास गरेझैं लाग्छ । कसले टिपेछ त्यो फूल ? कति निष्ठुर हात होला त्यो फूल टिप्ने ? उसलाई पनि त मृत्युले यसरी नै टिपेर लग्यो, मैले केही पनि गर्न सकिन । जे कुरा भुल्न खोजिन्छ, त्यही कुराले किन यसरी सताउँछ ? प्रश्न जीवन्त हुँदै थियो ।

घरी-घरी आइरहने उदासीबाट बच्न म डी. एच. लरेन्सको कथासङ्ग्रह पढ्न थाल्छु । 'दि रकिङ हर्स विनर' भन्ने कथा त्यस सङ्ग्रहको शुरुमैं थियो । यस कथामा सानो केटो 'पौल'को मनोविज्ञान बिगारेर उसकी असन्तोषी आमाले अन्त्यमा आफ्नै छोराको मृत्यु गराएकी कुरा थियो । यो कथाले झन् उसको मृत्युलाई ताजा गराउँछ, म पुस्तकलाई फ्यात्त मेचमा फाल्छु । किन हरेक कुरा उसको मृत्युसँग जोडिएर आउँछन् ? के यसबाट बच्ने उपाय छैन ? म साँच्चै नै यस्तो कुराको प्रतीक्षामा थिएँ कि कमसेकम उसको मृत्युले दिएको यातनालाई भुल्न सकुँ ।

मध्यान्नतिर एकहूल केटाकेटीहरू आउँछन्, म उनीहरूलाई हेर्न थाल्छु । शायद उसका साथीहरू होलान् । अँ, उसका साथीहरू नै रहेछन् । उनीहरूको अनुहारमा अनन्त खुशी छचल्किरहेको थियो । उनीहरूका आँखा यसरी चम्किरहेका थिए कि मानौं जसरी अन्धकारमा हठात् प्रकाश चम्कन्छ । आफ्ना साना हातहरूमा फूलका गुच्छाहरू लिएर उभिएका ती केटाकेटीहरूमाझ मैले उसलाई खोज्छु । अँह, ऊ त्यहाँ थिएन । सँधै साथीहरूमाझ रहने उसको उपस्थिति आज साथीहरूका माझ नै हराएको थियो । मेरो आँखामा हेर्दा एउटा सानो केटाले मसँग केही सोधिरहेको मलाई आभाष हुन्छ ।

ऊ भन्दै थियो, 'अङ्कल, आकाश आज किन स्कूल नआएको ? आज हाम्रो रिजल्ट पनि भयो । अङ्कल सुन्नुहुन्छ - आकाश त स्कूलभरिमा सबैलाई टपेर बोर्ड फस्ट भयो नि !
म मौन थिएँ । आफ्ना आँखामा रसाएको आँसुलाई लुकाउन म उनीहरूदेखि उता फर्किन्छु ।
एउटी सानी केटी मेरो सामुन्यमा आउँछे र जिद्दी गर्न थाल्छे । 'भन्नुहोस् न अङ्कल, आकाश खोइ भन्या?

सार्है जिद्दीवाल हुन्छन् केटाकेटीहरू । आफूले खोजेको कुरा पाउने त यिनीहरूको स्वभाव नै हुन्छ । मेरो आकाश पनि सार्है जिद्दी गथ्र्यो र पनि अत्यन्त प्यारो थियो । उसले जिद्दी गर्दा उमेर अनुसार कति सुहाउँथ्यो पनि । मैले परतिर हेरें, एकहूल चराहरू स्वतन्त्रताको उपभोग गरेर उडिरहेका थिए ।
केटाकेटीहरूको स्वर बढ्दै थियो । 'अङ्कल, आकाश खोइ भन्या ? हामीसँग किन नबोल्नुभएको अङ्कल ?

'बाबुनानी हो, आकाश छैन ।

मेरो कुरा खस्न नपाउँदै एकस्वरमा उनीहरूले सोध्छन् । 'आकाश कहाँ गयो अङ्कल ?
'बाबुनानी हो, आकाश त हामीलाई छोडेर टाढा गयो ।' मैले भन्न नचाहँदा नचाहँदै भन्छु ।
'अङ्कल, हामीले आकाशलाई बधाई दिन यी फूलहरू ल्याएका । ठूला ठूला आँखा भएकी केटीले फूलहरू मलाई दिदै भन्छे ।

केटाकेटीहरू जान्छन् । खोइ, कति बुझे यी अबोध केटाकेटीले मृत्युको भाषा - फूलहरूलाई मायाले सुम्सुम्याउँदै म सोच्न थाल्छु ।

केटाकेटीहरू पर पुगिसकेका हुन्छन् । खोइ, कुन सम्मोहनबाट प्रेरित भएर हो म उनीहरूलाई हेर्नथाल्छु । यो के? मेरा आँखा अनायास पछिपछि हिंडिरहेको एउटा केटोमाथि पर्छ । मैले हरेक कोणबाट उसलाई नियाल्छु । आकाशको उचाइको र शरीर पनि आकाशको जस्तै । आकाशकै रङ्गको र हिंडाइ पनि आकाशको जस्तै । मेरा पाइलाहरूमा शक्ति भरिन्छ र त्यो केटोप्रतिको आकर्षाले म उतिर जोडसँग भाग्न थाल्छु । एकछिन पछि म त्यो केटोको नजिकै हुन्छु । हातहरू उसलाई उचाल्न खोज्दै हुन्छन् । ओठहरू उसलाई चुम्न उद्दत देखिन्छन् । काख आफ्नो शून्यपन पर फाल्न सायद रिक्तताको ठाउँमा उर्त्र्सग भर्दै हुन्छ । छाती मौनतालाई पृथक गरेर सायद संवाद स्थापित गर्दै हुन्छ ।

मेरो आभाष पाएर होला ऊ मतिर फर्किन्छ । मैले उसलाई पैतालादेखि शीरसम्म हेर्छु ए ! आकाश त होइन रहेछ । अँह, आकाश जस्तो लागेको त आकाशको साथी पो रहेछ ।

म घरतिर फर्किदै गर्दा परैबाट आमालाई देख्छु । आमाले अघिदेखि नै मलाई हेरिरहनु भएको रहेछ । मलाई कस्तो कस्तो लागेर आउँछ । मलाई साँच्चै नै आफ्नो स्थितिको कारण अप्ठ्यारो महसुस हुन्छ । आमा घरभित्र जानुहुन्छ । म घरसम्म पुगेर टक्क अडिन्छु । वास्तवमा म यस्तो कुराको प्रतीक्षामा हुन्छु जसले उसको मृत्युलाई उसका संझनाहरूदेखि पृथक गरोस्, जसले उसको मृत्युलाई उसका स्मृतिहरूबाट अलग गरोस् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 आश्वीन, 2065

लेखकका अन्य रचनाहरु