विशिष्ट बालसाहित्यकार विनय कसजूको सम्झना

- प्रा. डा. चूडामणि बन्धु

पाल्पाको सुन्दर नगरी तानसेनमा जन्मेका विनय कसजू (२००४(२०७६) ले बाल्यकाल र किशोरकालका दिनहरू रिडीमा बिताएपछि उनी पाल्पाको तानसेनमा बसाइँ सरे र पत्रकारिता गर्न थाले । उनले सम्पादन गरेको साहित्यिक पत्रिका श्रीनगरमा मैले लोकगीतका विषयमा लेखेको एउटा लेख प्रकाशित भएको थियो । विनय कसजूले सुरुमा लघुकथाहरू लेखे र पत्रकारिता गर्न थाले । उनले पाल्पाबाट २०४० मा सत्य समाचार र २०५० मा गाउँले देउराली पत्रिका पनि निकाले । यसैक्रममा उनी सूचना प्रविधितिर आकर्षित भए । उनी काठमाडौँ आएपछि ललितपुरको सानेपामा मेरै घरछेउ एउटा घर किनेर बस्न थाले । पत्रकारिताको पृष्ठभूमि र सूचनाप्रविधिको विशेषज्ञताका कारण उनले रासस, प्रेस काउन्सिल, राष्ट्रिय सूचना आयोग जस्ता संस्थाहरूमा गहन दायित्वको पनि निर्वाह गरे । विशेष गरी नेपाली बालसाहित्य लेखनतिर केन्द्रित भएपछि भने उनले यसैका लागि बढी समय दिन थाले । हुँदा हुँदा उनको सबै समय बालसाहित्य लेखन, अनुवाद, प्रशिक्षण र बाल पठन प्रवद्र्धनमा नै बित्न लाग्यो । सुरुमा उनका बालकथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन्थे, २०६० का दशकपछि बालकथाका पुस्तकहरू निस्कन थाले । विनय कसजू जस्तो बालसाहित्यको विकासमा समर्पित व्यक्तिकी जीवन सङ्गिनी गङ्गा कसजूले उनका कार्यहरूलाई सघाउँदै आपैmले पनि बालकथा र बालचित्रकथा तयार गर्न लागिन् । उनीहरू जस्तो बालसाहित्यमा समर्पित दम्पती छिमेकमै पाउनु मेरालागि पनि सौभाग्यको कुरो थियो ।
विनय कसजूले आफ्ना प्रारम्भिक चरणका बालकथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्न दिए तर पछिल्ला दिनहरूमा उनका बालकथाका सङ्ग्रह, चित्रपुस्तकहरू, श्रव्य सीडीहरू, बालसाहित्यका विषयमा लेखिएका पुस्तकहरू र बालसाहित्यका अनूदित कथाहरू विभिन्न प्रकाशनद्वारा प्रकाशित भए । उनले नेपाल बालसाहित्य समाजका गतिविधिहरूमा सहभागी भएर यसका राष्ट्रिय सम्मेलनहरूमा महŒवपूर्ण कार्यपत्रहरू प्रस्तुत गरेर नेपालमा बालसाहित्यको विकासका निम्ति वकालत गरे । उनले घान्द्रुक सम्मेलनमा सहभागी भई प्रस्तुत गरेको नेपालमा बालसाहित्यको विकासका निम्ति सरकारी र गैरसरकारी स्तरबाट गर्नुपर्ने कामहरूको रूपरेखा यसको एउटा उदाहरण हो । उनले नेपालका विभिन्न भागमा कार्यशालाहरूको योजना गरी नेपाली लेखकलेखिका र बालबालिकालाई कथालेखनको प्रशिक्षणको आयोजना गरे । यसबाट धेरै लेखक र बालबालिका लाभान्वित भए । यी कार्यशालाहरूबाट बालकथा र किशोर कथाहरू तयार गरी प्रकाशित भएका छन् । नेपालमा बालसाहित्यको सम्बद्र्धन र अनुसन्धानलाई गति दिन उनले बालवाङ्मय तथा अनुसन्धान केन्द्रको स्थापना गरे । यस केन्द्रबाट उनका निर्देशनमा महŒवपूर्ण कार्य भएका छन् । पछिल्ला वर्षहरूमा नेपाली भाषामा किशोरकिशोरीहरूका निम्ति लेखिएका पुस्तकहरूको सङ्ख्या ज्यादै कम रहेका अवस्थामा यसको विकासका निम्ति कार्यक्रम बनाई लेखन र प्रकाशन गर्ने काम अघि बढाइयो । उनले किशोर साहित्यको आख्यानपरक धारणालाई प्रस्तुत गरे । किशोरकालका समस्या र अनुभवलाई आख्यानमै राम्ररी भन्न सकिन्छ । यसैक्रममा उनको विशेष संयोजनमा कार्यशालाहरू भए र कथा सङ्कलनका दुई भाग प्रकाशित भइसकेका छन् । मजस्तो कथा नलेख्ने मान्छेले पनि लहै लहैमा उनकै प्रेरणा र विजयराज आचार्यको हुटहुटीले कथा लेखी टोपलेँ र ती कथाहरू किशोर कथा भाग १ र २ मा प्रकाशित पनि भए ।
ललितपुर सहरको सानेपा टोलका महिलाहरूको सक्रियतामा एउटा बालपुस्तकालयको स्थापना गरियो जसमा कसजू दम्पतीको सक्रिय सहयोग रह्यो । त्यसको सञ्चालनमा गङ्गा कसजूको सक्रियता अझ बढी रह्यो र त्यस कामका उनको निरन्तरता छँदै छ । नेपालमा एउटा राष्ट्रियस्तरकै बालपुस्तकालयको स्थापना हुनुपर्ने आवश्यकताको अनुभव गरी यसको सम्भावनाबारे पनि विचार हुँदै थियो । यसलाई गति दिने कुरामा इन्दिरा दलीको योगदान पनि उत्तिकै उल्लेखनीय रहेको छ ।
नेपाल बालसाहित्य समाजबाट तयार गरिएको नेपाली बाल विश्वकोशको दोस्रो संस्करणको सम्पादनमा विनय कसजूको विशेष योगदान रह्यो । समाजले नेपाली बाल विश्वकोशको दोस्रो संस्करणको लेखन र सम्पादन गर्ने जिम्मा लिएपछि यसमा संशोधन, परिवर्तन र परिवद्र्धन गरेर दुई खण्डमा बनाउने निर्णय भयो । यसका लागि लेखहरू तयार गर्न समाजका धेरै सदस्य तयार भए । तर विज्ञानका विविध विषयमा लेख्नेहरूको कमी नै रह्यो । नेपालमा वैज्ञानिकहरू भए पनि नेपालीमा लेख्ने अभ्यास भएका र हामीलाई समय दिन सक्ने ज्यादै कम पाइयो । यस्तो अवस्थामा विनय कसजूले केही शीर्षकहरूमा लेख्ने र सम्पादनको काममा पनि सहयोग गर्ने वचनबद्धता देखाउनु भयो । यसले गर्दा सम्पादक मण्डललाई हौसला मिल्यो र काम अघि बढ्यो । यसैबिच कसजू दम्पतीको अमेरिका भ्रमणको आयोजना बन्यो । सम्पादनको काम उनले सँगै लिएर गए र घुम्ने र रमाइलो हेर्ने समयलाई छोट्याएर त्यहाँ पनि विश्वकोशका लागि लेख्ने र सम्पादन गर्ने काम चलाइराखे । उनी फर्केर आएपछि हामीले युद्धस्तरमा काम सम्पन्न ग¥यौँ र बुझायौँ ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई अझ सक्रिय गर्ने उनको चाहना थियो । नेपालमा बालसाहित्यको विकासको गति मन्द रहेका अवस्थामा त्यसप्रति जागरुकता र सचेतता ल्याई विकासको मार्गतिर लैजानु आवश्यक रहेको विषयमा समय समयमा चर्चा भइरहन्थ्यो । बालसाहित्यको सैद्धान्तिक र प्रायोगिक ज्ञान बढाउँदै विश्वका बालसाहित्यसँग परिचित हुने र नेपाली बालसाहित्यको सम्बद्र्धन गर्दै अन्तर्राष्ट्रिय जगतमा यसको परिचय दिनुपर्ने कुरामा पनि उनी चिन्तनशील रहे । त्यसका लागि एउटा गहकिलो शोध समीक्षामूलक पत्रिका निकाल्ने योजना बनाएर काम पनि थालिएको थियो । तर अकस्मात् उनी बिरामी परे र उपचारका क्रममा उनको असामयिक दुखद् देहान्त भयो । उनको निधनले नेपाली बालसाहित्यको विकासमा अपूरणीय क्षति भयो ।
विनय कसजूका सिर्जनाका अनेक पाटाका योगदानको स्मरण गरियो, जस्तै पत्रकारिता, सूचना प्रविधि, लघुकथा, बालसाहित्य आदि । अन्य क्षेत्रमा काम गर्दा पनि आफ्ना समयमा उनी सधैँ सक्रिय रहे । तर बालसाहित्यको विकासका निम्ति उनी जस्तो निरन्तर लागिरहने सक्रिय स्रष्टा मैले कमै पाएको छु । उनले नेपाली बालसाहित्यको सङ्ख्यात्मक र गुणात्मक वृद्धिमा सहयोग गरे । अत्यन्त लगनशील, मिलनसार, विनयी तथा सहृदयी मित्र हाम्राबिच रहेनन् । यो राष्ट्रकै लागि अपूरणीय क्षति थियो । नेपाली समाजले नेपाली बालसाहित्यका क्षेत्रमा तन, मन र धन दिएर काम गर्ने एउटा विशिष्ट व्यक्तित्व गुमायो । उनको जीवन समस्त बालसाहित्यकारका लागि प्रेरणाको स्रोत बनेको छ । उनका साथ बितेका स्मृति हामीसँगै छन् र नेपाली बालसाहित्यका पाठक बालबालिकाका मनमा पनि उनी उनले रचेका पात्रहरूका साथ स्मृतिमा रहिरहने छन् ।

सानेपा, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 15 पौष, 2077

लेखकका अन्य रचनाहरु