विघटन

- श्रवणकुमार ढुंगाना

उनीहरू ऊसँग बोलिरहेका थिए । ऊ मौन, शान्त सुनिरहेको थियो।

... त्यति भैसकेपछि हामीसँग बोल्ने ठाउँ थिएन। अथवा भनौं हामीले बोल्ने बाटो राखेनौं। अझ भनौं हामीले बोल्ने नैतिकता गुमायौं, हैसियत गुमायौं। अब त बुझ्नुभयो होला हाम्रो अवस्था। त्यसपछि हामीले निर्णय गर्यौं, प्रभु पशुपतिनाथसँग वर माग्ने। यो कुरा सुनेर छक्क पर्नुभयोहोला- यिनिहरूले त जे गरे आफ्ना बुद्धिले गरेको होइन रहेछ भन्ने पनि सोच्नु भयो होला। हामीलाई नालायक सम्झिनुभयो होला। अब नालायक सम्झिसकेपछि यति चाहिँ हाम्रै बुद्धिले गरेको हो भन्ने सम्झिदिँदा पनि फरक परेन नि, होइन?

अँ, त्यसपछि हामीले नन्दिको सहारा लियौं। मध्यरातमै भेटघाट छलफल गर्यौँ। र समय पाएर प्रभु पशुपतिनाथकोमा बिन्ती बिसाउन गयौं । `हे प्रभु, हे भक्त वत्सल ! हामी हजुरको भक्त भएर इमानदारी देखाउन नसके पनि अब त्यो प्रण गर्छौं, हजुरको पथमा चल्छौं। हे नाथ हाम्रो यो विन्ती सुनिबक्सियोस्! हाम्रो याचना के भने। हामी नालायक भयौं। हाम्रो नैतिकता रहेन। इमान्दारी रहेन। हामीमा सामान्य विवेक पनि भएन। हामी दास होइनौं भन्नलाई बर्षौं लड्यौं, तर हामी आफू पनि बिक्नुको हदसम्म बिक्यौं। हामी जस्तै बिक्नेलाई किन्न पनि सिक्यौं। चोरी, चकारी, लुटपाट हाम्रो नित्य कर्म भयो। हे प्रभु, हे भक्त वत्सल ! हे बिधाता ! हजुरको विधिले बनाउने विधानमा हामीलाई उपद्रवी गाईलाई दाम्लोले बाँधे जस्तो, टोकाहा कुकुरलाई साङ्लोले बाँधे जस्तो, चोर विरालोलाई डोकोले थुने जस्तो बाँध्ने, थुन्ने बन्धनको विधान लेखियोस्। जसरी हजुर प्रति यो सारा श्रृष्टि अनुगृहित छ, त्यसरी नै हामी प्रति यो लोक अनुगृहित छ। हुन त यो श्रृष्टिले हजुरलाई वस्त्राभुषणले युक्त र दिगम्बर जुनसुकै रूपमा पनि स्विकारे को छ। त्यसरी नै यो लोकले हामीलाई पनि वस्त्र युक्त र नग्न हरेक रूपमा स्विकारेको छ। हजुरको जस्तै यो लोकमा हामीले पनि अनेक पन्थ निर्माण गरेका छौं । ती एक अर्कामा लड्छन्, मर्छन्। हजुर जस्तै हामी पनि यो लोकका लागि निर्विकल्प हौं । त्यसैले, हामीलाई लोकको डर चाहिँ होइन । हामी हाम्रै उग्रता, बुद्धि हीनता, दम्भले आफै आफै लडेर मासिन्छौं कि भन्ने डरले यो वर मागेका हौं प्रभु!´ हाम्रा कुरा सुनेर प्रभु किंचित मुस्कुराइबक्सियो र `तथास्तु´ भनिबक्सियो।

त्यसरी हामीले हामीलाई बाँध्यौं, र सोच्यौं - अब हामी सच्चियौं। तर बिस्तारै हामी जे जे ले जसरी बाधियौँ, हामीमा त्यसै अनुसारको गुण प्रकट हुन थाल्यो। प्रकट हुन थाल्यो त के भन्नू? त्यो हामी मै थियो पहिल्यै, त्यसैले त हामी ले आफूलाई बाँध्ने वर मागेका थियौं। त्यो जो हामीमा पहिल्यै थियो, त्यसले उग्रता लियो। हाम्रा दाम्ला फुत्किए, साङ्ला चुँडिए, आवरण उछुट्टिए। हामी आफैं दिग्भ्रमित भयौं। त्यो लोकलाई भन्ने कुरा थिएन। लोकमा त्यो बुझ्ने क्षमता थिएन । पहिले हामी वर माग्न सगोल मै गएकाहरू हामी सँगै फेरि श्री पशुपतिनाथको शरणमा जाने मतिका रहेनौं, त्यसैले आफ्नै आफ्नै तालमा, आ-आफ्नै चेतनाले डोरिएर प्रभु कै शरणमा पुग्यौं । त्यत्ति हो, हामी सबैलाई थाहा भयो कि हामी सबै त्यहीँ पुगेका रहेछौं। हामी अन्यौलमा थियौं । हामीले हामीलाई नै बाँध्ने डोरि चुँडाल्नु हुन्थ्यो कि हुन्थेन?
प्रभु हामीलाई देखेर मुस्कुराइबक्स्यो। हामीले गुनासो गर्‍यौं- `हजुरले हामीलाई मानिस रहन दिइबक्सिएन। हामी त हजुरका उत्कृष्ट श्रृजना हौं। हामी गलत कसरी हुन सक्छौं ? हामी त हाम्रा पौरखले हाम्रा बन्धनहरू विघटन गरेर स्वतन्त्रताको प्राप्ती गरेकाहरू हौं। हामीले आफ्नै इच्छाले बन्धन रोजेका हौं। ´

प्रभु फेरि मुस्कुराइबक्सियो। हामीले कुनै जवाफ पाएनौं। अनि हाम्रो हविगत के भयो त्यो त तिम्रो सामु प्रष्टै छ। अँ, तिमीसँग श्री पशुपतिनाथका भूत, प्रेत, पिचासलाई देख्नसक्ने आँखा छ क्यारे। श्री पशुपतिनाथले मसानमा खरानीले हाम्रालागि केही लेखिदिइबक्सिएको छ। हामीले पनि तिम्रो जस्तै दृष्टि प्राप्त गरेमा पढ्न सक्ने हुनेछौं। इच्छा भए तिमी पढ्न सक्छौ।

उसले त्यो मसान तिर आँखा दौडायो- `हामी खराब भयौं, नालायक भयौं भनेर तिमीहरूले आफूलाई बाँध्यौ। तिम्रो बन्धन त आकाशमा चराको बन्धन जस्तो हो, पानीमा माछाको जस्तो हो। तिम्रा बन्धनका डोरी हावा हुन्, तिम्रा बन्धनका साङ्ला पानी हुन्। तर तिमीले आफ्ना बन्धन पनि विघटन गर्यौ र जे रोज्यौ तिमीले बन्धनमा पारेका गाई, कुकुर, बिरालोको जस्तो बन्धन रोज्यौ´ यो देखेर ऊ भित्रको पशुपतिनाथ मुस्कुराए, उ मुस्कुरायो। र त्यो समय उनीहरूलाई त्यहीँ छोडेर जता जान आएको थियो त्यतै लाग्यो।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 15 पौष, 2077

लेखकका अन्य रचनाहरु