मेरो एउटा नेता थियो

- गोपाल झापाली

मेरो एउटा नेता थियो,
आस्था र आदर्शको पुञ्ज थियो
उ सबैको कुरा गथ्र्यो, समानताका कुरा गथ्र्यो
एउटा रोटी बाँढेर आधा आधा खाउँ भन्थ्यो
गरिवका छानि छानि घरका धुरी छाउँ भन्थ्यो
थोरै बोल्थ्यो, धेरै सुन्थ्यो
बोले पछि फेरी सुन्थ्यो
मर्नु परे मर्छु बरु, झुठको साक्षी हुन्न भन्थ्यो
स्वाभिमानको खोले खान्छु, कालो धन छुन्न भन्थ्यो ।
त्यहि प्यारो मेरो नेता, कति छिट्टै अर्कै भएछ,
उ बेलाको होईन रैछ, अहिले त शासक भएछ ।

बगरमा बालुवा चाल्ने, झुपडीमा टुकी बाल्ने
हात भरि ठेला उठाई, दिन भरि ठेला ठेल्ने
यिनै त हुन् हाम्रा साथी, हामी पनि यिनका साथी
हाम्रो शासन आउँछ एक दिन, पुग्छन सारा सवै माथि
भन्थ्यो मलाई त्यो नेताले सवैका दिन पक्का आउँछन्,
समानतको हुन्छ समाज, सवका सबले न्याय पाउँछन्
जनताकै विचमा बस्छु, जनता जस्तै भर बाँच्छु,
भन्थ्यो मलाई पहिला पहिला जनताकै गीतमा नाच्छु
त्यही प्यारो मेरो नेता, कति छिट्टै अर्कै भएछ,
उ बेलाको होईन रैछ, अहिले त शासक भएछ ।

गरिवका पसिनामा होली खेल्नेहरु,
देशको माटो कुम्ल्याउनलाई खोला नदी पेल्नेहरु
तिमीलाई सल्लाह दिन्छन् भन्ने सुन्छु प्यारा अचेल
सम्झ्या छौ कि बिर्सियौं, ती बेलाका नारा अचेल
हेर्न मात्र पाईने भयौं आकाशको तारा जस्तो
भोका, नाङ्गा बोले भने ठान्न थाल्यौ साह्रै सस्तो
चट्टान जस्तै अडान थियो, गरिवका प्यारा थियौ
झुपडीमा ज्योती ल्याउने भरोसाका टाकुरा थियौं
त्यही प्यारो मेरो नेता, कति छिट्टै अर्कै भएछ,
उ बेलाको होईन रैछ, अहिले त शासक भएछ ।

कमल, झापा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु