समालोचकका रूपमा अर्जुन प्रधान

- नवीन पौड्याल

१. व्यक्तित्व र कृतित्व-
नेपाली साहित्यमा अर्जुन प्रधान एक आदरणीय व्यक्तित्वका रूपमा देखिन्छन्। उनी साहित्यका एक गम्भीर अध्येता हुन्। उनको जीवनका अधिकाँश भाग साहित्यका विभिन्न पक्षमा सेवा गरेको छ। उनीसाहित्यका स्रष्टा र द्रष्टा दुवै हुन्। अझ उनलाई सबैभन्दा बढी समालोचकका रूपमा मान्न सकिन्छ। पुस्तक प्रकाशनका हकमा हालसम्म उनका बीसवटा साहित्यिक कृति प्रकाशित भइरहेका छन्। उनी अहर्निश अध्ययन मनन र लेखनमा लागिपरेका छन्। उनका समालोचनाको पुस्तकको सूचि यस प्रकारले देखिन्छ- ‘सिर्जनाको सेरोफेरो’ (२००७), ‘विमर्शन’ (२०१२), ‘सन्धान-नामा’ (२०१४), ‘आख्यान कोण’ (२०१५), ‘अन्तर्दृष्टि’ (२०१६), ‘चिन्तनपथ’ (२०१७), ‘मननमार्ग’ (२०१८) र ‘परखपृष्ठ’ (२०१९) गरी जम्मा आठवटा पुस्तक प्रकाशित भइसकेका छन्। पछिल्ला वर्षहरूमा उनका बर्सेनी एकेकवटा समालोचनाका पुस्तक प्रकाशित भएका छन्। अझै उनी समालोचना लेखनमा सक्रिय छन्। यसबाहेक उनले केही कविताको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित देखिन्छन्।
१४ नोभेम्बर, १९५१ मा जन्मेका अर्जुन प्रधानका पिता स्व.रामलाल प्रधान र माता स्व सूर्यमाया प्रधान हुन्। उनले आफ्नो अध्ययनका क्रममा अङ्ग्रेजी विषयमा स्नातकोत्तर समाप्त गरेका हुन्। उनले नागरीफार्म उच्चतर माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षकका रूपमा दीर्घ सेवा गरेर सेवानिवृत्त भएका हुन्। सेवानिवृत्त भेपछि भने उनी साहित्य सेवामा समर्पित छन्। आफ्ना विद्यार्थीका उनी सदा प्ररणाका स्रोत बनेर धेरै विद्यार्थीलाई सही दिशा निर्देशन दिने गरेका छन्।
२. अर्जुन प्रधानको समालोचना प्रवृत्तिको रेखाङ्कन-
अर्जुन प्रधानका पछिल्ला छवटा समालोचना पुस्तकका आधारमा उनको समालोचना प्रवृत्तिको अध्ययन गरिएको छ। मूल्याङ्कन, निर्णयवादी, विश्लेषणात्मक विवेचनात्मक प्रवृत्ति पाइन्छन्। उनलाई स्थानीय साहित्यिक प्रतिभालाई मूल्याङकन गरिदिएर आलोकित पारिदिने एक विशिष्ट समालोचक हुन्। उनी स्वचछन्दवादी प्रवृत्तिका समालोचक पनि हुन्। उनको लेखको शीर्षक रखाइबाट नै उनको यो प्रवृत्ति झल्किन्छ।
पछिल्ला छवटा समालोचना पुस्तकमा निम्नअनुसार स्थानीय सर्जक प्रतिभाहरूको अध्ययन, समीक्षण र मूल्याङ्कन गरेका छन्। सन्धान-नामामा सङ्गृहीत जम्मा पन्ध्रवटा लेखहरूमा पन्द्रजना सर्जकहरूको कृतित्व मूल्याङ्कन गरिएका छन्। ती हुन्- सुष्मा मोक्तानको उन्मुक्तिका चाहना (कवितासङ्ग्रह, २०१४), अमला सुब्बाको पाइलाहरू (गीतिनाटक, २०१४), सचेन्द्र दुमी राईको श्रद्धाञ्जलि मायाञ्जलि (कवितासङ्ग्रह, २०१३), गोपीचन्द्र प्रधानको धरती (कथासङ्ग्रह), पूर्ण बान्तवाको घाइते संसार र उद्बोधनका धुनहरू (कवितासङ्ग्रह, २०१२), एसेम चौहानको समग्र कविताकारिताबारे अध्ययन, जस योञ्जन प्यासीको एउटा खुल्ला किताब (गीतसङ्ग्रह) जय क्याक्टसको विश्वासको घर (कविता-सङ्ग्रह), तेजमान बराइलीको मुक्तकीय आभा (मुक्तकसङ्ग्रह), वीरभ्रद्र कार्कीढोलीको समय र रागहरू (कवितासङ्ग्रह), सतीश रसाइलीको तिमी भए नभएको बेला (कवितासङ्ग्रह, २००६), किशन प्रधानको अडिँदै जीवनका मोडहरूमा (संस्मरण), पवन नामदुङको सिमानाको रूख (कथासङ्ग्रह, २०१३), सुकराज दियालीको व्यक्ति र कृतित्व र सुरज रोसुरीको धुवाँ (कवितासङ्ग्रह,) गरी पन्ध्रजनाका कृतित्व र व्यक्तिमाथि अध्ययन गरेका छन्।
आख्यान कोण (२०१६) मा निम्न प्रकारले कृतित्व र व्यक्तित्वमाथि अध्ययन गरिएको पाइन्छ - विन्द्या सुब्बाको शीतलहर (कथासङ्ग्रह) राधा रसाइलीको अर्पण (उपन्यास), नीना राईको अन्तर्दृष्टिका रङ्गहरू (कथासङ्ग्रह), कौशल्या मुखियाको दृष्टि (कथासङ्ग्रह, २०१४), उदय सुब्बा गोर्खाको नयाँ साल अनि जैमतीका सपनाहरू (२००९), शरद् छेत्रीको सूर्यस्नान (कथासङ्ग्रह), प्रेम गुरूङको अमुर्त क्षण (उपन्यास), रणजीत सुब्बाको कथान्तर (कथासङ्ग्रह), एम डी कार्कीको सिंहासन (उपन्यास, २००६), माधव बुढाथोकीको नयाँ घर (कथासङ्ग्रह), राजबहादुर राईको रङ्दु कमानको परिवेशभित्र उपन्यास 2008 कमल चामलिङको प्रीतिको फूल कथासङ्ग्रह 2007, सिद्धार्थ राईको शून्यता यात्रा कथासङ्ग्रह राजेन्द्र ढकालको कुनै अर्को दिशा कथासङ्ग्रह। यसमा उनन्तिसजना आख्यानकारहरूको बारेमा मूल्याङ्कन गरेका छन्।
अन्तर्दृष्टि २०१७ मा निम्न सर्जक र सिर्जनाहरूका बारेमा अध्ययन गरिएको छ- मणिका मुखियाको क्षितिज हराएपछि (कवितासङ्ग्रह), सृजना सब्बाका अँग्रेजी कवितासङ्ग्रहहरूको समीक्षा, चन्द्र बानुछाको कविताकारिता, सचेन्द्र दुमी राईको अक्षर मात्र (कवितासङ्ग्रह), कालूसिँह रनपहेंलीको प्रश्नचिह्न (कथासङ्ग्रह), सञ्जय विष्टको शब्दान्त (कथासङ्ग्रह, १९९३), सुमन बान्तवाको कवित्व, ध्रुव चौहानको पेटेन्ट आँसु (कथासङ्ग्रह), सोनाम छिरिङको निदाउन नसकेका रातहरू (कथासङ्ग्रह, २०११), भूपाल सुब्बाको चिया जीवन (कवितासङ्ग्रह), युवराज काफ्लेको ध्वनि प्रतिध्वनि (निबन्ध र संस्मरण), सचिन खवासको म दार्जिलिङमा दार्जिलिङ खोजिरहेछु (कवितासङ्ग्रह), सुकान्त राईको अँग्रेजी कवितासङ्ग्रह Mongolian Aqua, जगत राई, नगेन्द्र प्रधान अज्ञात र एन डी राई घायलको संयुक्त रूपमा मूल्याङकन, रीता ठकुरीको कोलाहलभित्रको स्पन्दन (कथासङ्ग्रह, २०१५) गरी जम्मा सोह्रजनाको सिर्जनाको मूल्याङ्कन गरेका छन्।
चिन्तनपथ २०१७ मा पनि केही स्रष्टाहरूको मूल्याङ्कन गरिएको छ। रणजित गुरूङको सूर्यदृष्टि (मुक्तकसङ्ग्रह, २०१०), सुभद्रा बमजन सावालीको बेदनाको स्केच (कवितासङ्ग्रह, २०११), विनेश प्रधानको कृति अधीति (समालोचना, २०१६), गोकुल रसाइलीको यथाक्रम (कवितासङ्ग्रह) विमल राईको फुटेका बाक्केहरू (लेखसङ्ग्रह), मुन्नु गौतमको मुक्त संवाद (लेखसङ्ग्रह), भवजीत तामाङको साहित्यिक योगदानको मूल्याङ्कन, अमर दुङमालीको सिमाना छेउ उभिएर (कवितासङ्ग्रह, २०१४), राजेन्द्र भण्डारीको शब्दहरूको पुनर्वास (कवितासङ्ग्रह), उदय सुब्बा वियोगीको अहर्निश प्रतीक्षा (कवितासङ्ग्रह, २०१४), कमला राईको समयका पाइलाहरू (कवितासङ्ग्रह), एम एल दियालीको व्यक्तित्व, सचेन्द्र राई दुमीको समयको कठघरा (?) गरी जम्मा तेह्रजना सर्जक र तिनका कृतिको मूल्याङ्कन गरिएको पाइन्छ।
मननमार्ग २०१८ मा समीक्षित केही स्रष्टा र सृष्टिहरू यी हुन्-
के बी योगीको जय गुरू गोरखनाथ (परिचय, २०१२), मोहन ठकुरीको सर्जक सन्दर्भ (निबन्धसङ्ग्रह), मनोज लामाको उन्मुक्ति, कथाले लिपेका कविताहरू (संयुक्त), श्याम बान्तवाको विस्थापित व्यवस्था (कवितासङ्ग्रह, २०१०), मनप्रसाद सुब्बाको नेत्तिफुङको बासना (काव्य, २०१६),वीणाश्री खरेलको शेष-अवशेष (कवितासङ्ग्रह), शीला लामाको विस्मृत स्मृति (कवितासङ्ग्रह), नीरा सुब्बाको बिस्कुन (कथासङ्ग्रह, २०१६), पूर्ण योञ्जनको भुँइमा झ्याँगिने अक्षर (कवितासङ्ग्रह, २०१५), पी टी योल्मोको सावित्री (कथासङ्ग्रह, २०१७), राजेन्द्र पाशाको आत्मा अभिव्यञ्जना– अन्तर्मनका रागहरू (कवितासङ्ग्रह), उदय थुलुङको अक्षरेखा (कथासङ्ग्रह), बिजय बान्तवा कैलाशीको क्षितिज खोज्दै (तीर्थाटन, २०१८), उषा किरण सत्यदर्शीको मुक्तिबोध (नाट्य)।
परखपृष्ठ (२०१९) मा प्रकाशित केही स्रष्टा र तिनका कृतिहरूको मूल्याङ्कन गरिएको छ। विचन्द्रको कवित्व, एस के बान्तवाको सम्झनाका थुँगाहरू (संस्मरण निबन्ध, २०१९), वीणा हाङ्खिमको उज्यालो पोखिएपछि (कवितासङ्ग्रह), आर के प्रधानको केही संस्मरण केही अर्चना (यात्रा निबन्ध), नवीन पतझडको कथामन (कथासङ्ग्रह, २०१६), बालकृष्ण थामीको बफरिङ जिन्दगी (कवितासङ्ग्रह, २०१७), पूरण गिरीको गीतकार परिचय, कमला तामाङको अक्षर यात्रा (कवितासङ्ग्रह, २०१८), कमल रेग्मीको घामपानी (गीतसङ्ग्रह), कृष्ण पी ठटालको मनको दह (गजलसङ्ग्रह), विनोद रसाइलीको आगोको ठिही (कवितासङ्ग्रह, २०१४), सबिता सङ्कल्पको मनान्दोलन (कवितासङ्ग्रह), प्रवीण राई जुमेली इस्पाक्टो अक्षर (कवितासङ्ग्रह) र शारदा स्टेफीको अस्तित्वको अनुहार (कवितासङ्ग्रह, २०१८) गरी जम्मा चौधजनाको मूल्याङ्कन गरिएको छ।
यस हिसाबले हेर्दा यी छवटा समालोचना पुस्तकमा जम्मा ८७ वटा लेख समावेश भएका छन् भने ८६ वटा लेखमा नै कृतिकारको कृतित्वका बारेमा समीक्षा गरिएका छ।
कृतिको नाम लेख सङ्ख्या समीक्षित कवितासङ्ग्रह सङ्ख्या समीक्षित कथासङ्ग्रह
सङ्ख्या समीक्षित निबन्धसङ्ग्रह
सङ्ख्या समीक्षित
उपन्यास
सङ्ख्या समग्र कृतित्व
बारे
अन्य
(समालोचना/ नाटक/ सामान्य/ व्यक्तित्व)

सन्धान नामा १५ ७ ३ १ 0 ४
आख्यान कोण १५ 0 १० 0 ४ 0 १
अन्तर्दृष्टि १५ ८ ४ १ 0 २
चिन्तनपथ १४ ७ १ ४ 0 १ १
मननमार्ग १४ ७ ३ ३ 0 0 १
परखपृष्ठ १४ १० १ २ १ ०
जम्मा ८७ ३९ २२ ११ ४ ८ ३
यस हिसाबले हेर्दा अर्जुन प्रधानको कविता समालोचना सबैभन्दा बढी रहेको छ भने त्यसपछि कथा समालोचना रहेको पाइन्छ। निबन्ध समालोचना पनि रूचि देखाएका छन्। उपन्यास र नाटकमा उनको त्यति रूचि देखिन्न भन्ने एउटा लेख भने समालोचनाको पनि समालोचना गरिएका पाइन्छ।
३. अर्जुन प्रधानको समालोचकीय प्रवृत्तिको रेखाङ्कन –
अर्जुन प्रधान साहित्यका एक सचेत, सुपरिचित र मर्मज्ञका साथै एक गहन अध्येता हुनाले उनको समालोचना विशिष्ट रहेको छ। उनका समालोचनामा प्रत्येक कवि लेखकको बारेमा लेख्दा तिनको सामान्य जीवन वृत्त, व्यक्तित्व, कृतित्व, समकालीन कवि-लेखकहरूको नामोल्लेख, मुख्य प्रवृत्ति, स्वर र कथ्य आदि केलाउनु, खुट्याउनु रहेको देखिन्छ। कृतिकार र कृतिको मूल्याङ्कन गरिएको पाइन्छ। यद्यपि कृतिको भाव पक्षलाई नै खोतलेर निकाल्नु उनको रूचि देखिन्छ। उनी कविता समालोचनामा नै बढी रमाएका छन्। उनी कविता समालोचना गर्दा कविको सामान्य परिचय दिएर समग्रमा कुनै पनि कवितासङ्ग्रहमा सङ्गृहीत कविताहरूका मूल भाव, कथ्य, वस्तु, प्रस्तुति, स्वरूप, बनोट, शब्द, भाषा र शैली आदिलाई संक्षिप्त भए पनि खुट्याउने काम गर्छन्। यसो हुँदा कविता रसास्वादन गर्ने सामान्य पाठकका निम्ति सहयोग सिद्ध हुन्छ। त्यसबाहेक कविताको सन्दर्भको पृष्ठभूमि, भूमिकाको मुख्याङ्श, कविको मन्तव्य, कवि वा कविताबारे अरू कसैले लेखेको छ भने टिप्पणी, विचार, सामाजिक सांस्कृतिक परिवेश, भाव आदि पक्रने कोसिस गरेका हुन्छन्। कविताभित्रको पंक्तिहरूलाई पनि प्रस्तुत गरेर आफ्नो समीक्षकीय विचारलाई पुष्टि गरेका हुन्छन्।
कविता समीक्षणका क्रममा उनले गीत, गजल, मुक्तक, गीतिनाटक, काव्य आदिको पनि अध्ययन प्रस्तुत गरेका छन्। उनले गीतकारहरू जस योञ्जन प्यासी, पुरण गिरी र कमल रेग्मीको गीतभित्र भाव, स्वर, अन्तर्वस्तु, शैली आदिको चर्चा- समीक्षण गरेका छन्। गीतभित्र अन्तर्निहित संवेदना, आवेग, गेयता आदि खोजेर तिनको पुष्टि गरेका छन्। यसैगरी मुक्तकभित्र अन्तर्निहित सूक्ष्म भावलाई समात्ने प्रयास गरेका हुन्छन्। सूक्ष्म आयामको रहे पनि मुक्तकभित्र भाव, विचार, सन्देश र शिल्पमा सघन हुन्छ। तेजमान बराइली, राजेन्द्र पासा र रणजीत गुरूङको मुक्तकीय कवित्वको सन्धान गरेका छन्। अमला सुब्बा छेत्रीको पाइलाहरू भन्ने गीतिनाटकलाई मिथकीय अध्ययन गरेका छन्। कृष्ण पी ठटालको मनको दह गजलसङ्ग्रहको पनि सामान्य अध्ययन गरेका छन्। सङ्ग्रह सङ्ग्रहका आधार लिएर कवि र कवित्वमाथि समुचित अध्ययन गरिएकोमध्ये सुष्मा मोक्तान, अमला सुब्बा, एसेम चौहान, सचेन राई दुमी (दुई पटक), पूर्ण बान्तवा, जय क्याक्टस, वीरभद्र कार्कीढोली, सतीश रसाइली, सुरज रोसुरी, मणिका मुखिया, ध्रुब चौहान, भूपाल थापा, सचिन खवास, सुभद्रा बमजन सावाली, गोकुल रसाइली, अमर दुङमाली, राजेन्द्र भण्डारी, कमला राई, मनोज लामा, श्याम बान्तवा, मनप्रसाद सुब्बा, वीणाश्री खरेल, शीला लामा, पूर्ण योञ्जन, वीणा हाङ्किम, कमला तामाङ, विनोद रसाइली, सविता थापा सङ्कल्प, प्रवीण राई जुमेली, शारदा स्टेफी गरी एकतीस जना जतिको मूल्याङकन गरेका छन्। यसैगरी एउटा कृतिभन्दा कृतित्वहरूलाई आधार बनाएर विचन्द्र प्रधान, भवजीत तामाङ, सुकराज दियाली, सुमन बान्तवा, चन्द्र बानुछाको समग्र योगदानको मूल्याङ्कन गरेका छन्। उनले सिर्जना सुब्बाका दुईवटा र सुकान्त राईको एउटा अँग्रेजी कवितासङ्ग्रहको पनि समालोचना गरेका छन्। यसैगरी दिवङ्गत भइसकेका पुराना तर ओझेलमा परेका एन डी राई घायल, जगत् राई विश्व र नगेन्द्र प्रधान अज्ञातको सम्झना गरेर चर्चा उठान र मूल्याङ्कन गरेका छन्। राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा र प्रवीण राई जुमेली र विचन्द्र जस्ता प्रवीण र वरिष्ठ कविहरूदेखि लिएर धेरै नवीन कवि-लेखकहरूलाई न्याय दिन सकेका छन्।
यसैगरी आख्यान समालोचनामा पनि हात बसेको छ। जम्मा बाइसवटा कथासङ्र्गह र चारवटा उपन्यासमाथि अध्ययन प्रस्तुत गरेका छन्। कथाको अध्ययन गर्ने क्रममा कथाको मूल प्रवृत्ति, भाव,वस्तु र अन्तर्वस्तु, वाक्य र शब्दले बोकेका अर्थ र सन्दर्भको निर्क्योल गरेका हुन्छन्। कथाभित्रका रूचि क्षेत्र र विषय क्षेत्रलाई समात्ने कोसिस गरेका हुन्छन्। कथा र उपन्यास विधाका तात्विक विम्रर्श, वस्तु र पात्रविधानका साथै कौतुहल, बिम्ब र प्रतीकलाई पनि खोज्ने काम गर्दछन्। राधा रसाइलीको अर्पण, प्रेम गुरूङको अमूर्त कण, एम डी कार्कीको सिंहासन र राजबहादुर राईको रङ्दु कमानको परिवेशभित्र गरी जम्मा चारवटा उपन्यासहरूको प्रवृत्तिगत र तत्वगतका साथै अन्य विभिन्न पक्षबाट अध्ययन र समीक्षण गरेका छन्। कवितामा झैं आख्यानको समीक्षा गर्दा यसभित्रको बाह्य सन्दर्भ, सर्जकको मन्तव्य, आख्यानभित्रको उल्लेखनीय उद्धरण पंक्ति, अरू समीक्षकको टिप्पणी आदि प्रस्तुत गर्दै आफ्नो समालोचकीय धारणालाई पुष्टि गरेका हुन्छन्। उनले एउटा कथासङ्ग्रहलाई आधार लिएर तिनको विभिन्न पक्षको अध्ययन गरेका कथाकारहरूमा गोपीचन्द्र प्रधान, पवन नामदुङ, विन्द्या सुब्बा, कौशल्या मुखिया, उदय सुब्बा गोर्खा, शरद् छेत्री, रणजीत सुब्बा, माधव बुढाथोकी, कमल चामलिङ, सिद्धार्थ राई, राजेन्द्र ढकाल, कालूसिंह रनपहेँली, सञ्जय विष्ट, सोनाम छिरिङ, रीता ठकुरी, नीरा सुब्बा, पी टी योल्मो, उदय थुलुङ, नवीन पतझड आदिको समीक्षा गरेका छन्। यसै गरी नीना राईको भने समग्र कथाकारितामाथि अध्ययन प्रस्तुत गरेका छन्। यसमा विन्द्या सुब्बा, उदय थुलुङ, सञ्जय विष्ट र कालूसिंह रनपहेंली जस्ता ख्यातनामा कथाकारदेखि केही ओझेलमा परेका कथाकारमाथि अध्ययन गरेका छन्।
अर्जुन प्रधानले निबन्ध विधामाथि पनि अध्ययन-समीक्षण गरेका छन्। यसभित्र रहेका संस्मरण, यात्रा संस्मरणात्मक निबन्ध र समालोचनाका कृतिहरूको सम्यक् चर्चा-समीक्षण गरेका छन्। त्यस्ता निबन्धात्मक कृति सर्जकहरूमा किशन प्रधान, विमल राई, मुन्नु गौतम, के बी योगी, मोहन ठकुरी, विजय बान्तवा कैलाशी, आर के प्रधान हुन्। विनेश प्रधानको समालोचनात्मक पुस्तक ‘कृति अधीति’ (२०१६) को भने समालोचनाका विभिन्न प्रणाली र पद्धतिका आधारमा विश्लेषण गरिएको छ। यसरी उनले समालोचनाको पनि समालोचना गरेका छन्। नाट्य समालोचनामा भने एकमात्र उषाकिरण सत्यदर्शीको नाट्यकृति मुक्तिबोधको सम्यक् समीक्षण गरिएको पाइन्छ। यसमा नाट्य तत्वलाई आधार बनाएका छन्।
५. अर्जुन प्रधानको समालोचनाको प्राप्ति र सीमा-
हालमा भारतीय नेपाली समालोचना क्षेत्रमा सबैभन्दा बढी मात्रामा समालोचना लेख्ने अर्जुन प्रधान बनेका छन्। उनका आठवटा समालोचनात्मक कृति प्रकाशित हुनु लरतरो कुरा होइन्। लगभग शयजना भन्दा बढी सर्जकको सिर्जनात्मक कार्यलाई समीक्षण र मूल्याङ्कन गर्नु ठुलो उपलब्धि मान्न सकिन्छ। यद्यपि उनका समालोचना लेखनका केही सीमा र कमजोरी पक्ष पनि नपाइने होइनन्। उनले लेखेका अधिकांश कृतिहरू स्थानीय र सीमित क्षेत्रका हुनु उनको समालोचनागत प्राप्ति र सीमा दुवै हुन्। आफ्नै वरिपरिका मूल्याङ्कनका किरण नपाएका ओझेलमा परेका सर्जकहरूलाई साहित्यिक समाजमा चिनारी गराउनु महत् उपलब्धि हो। यद्यपि यहीनेर बढी स्थानीय सर्जकहरू कृतिहरूमा सीमित रहनु पनि उनको सीमा हो। उनी समालोचनामा बालासन नदी वरिपरि मात्र सीमित रही चियाका बुट्टाहरूमा नै अल्झिएका छन्। उनको समालोचनाको केन्द्र दार्जिलिङ, खरसाङ मिरिकतिरका गाउँ बस्ती कमानका कृतिहरूको चर्चा गरेका छन्। यी क्षेत्रबाहिरका धेरै ठुलो नेपाली साहित्य संसारका कृतिहरूको उनको दृष्टि परेको देखिन्न वा भए पनि अत्यन्त थोरै गरेका छन्। यतिसम्म कि कालिम्पोङका मुन्नु गौतमबाहेक अरूका कृतिले उनको दृष्टि पाएका छैनन्। सिक्किमका राजेन्द्र भण्डारी र प्रवीण राई जुमेलीको एकेकवटा कवितासङ्ग्रह र एम डी कार्कीको एउटा उपन्यासबाहेक अरूको समीक्षा गरिएको छैन। आसामलगायत पूर्वाञ्चलका कसैका कुनै कृतिबारे उनको नजर परेको छैन। आसामतिर पनि राम्रा राम्रा कृति दिनानुदिन प्रकाशित भइरहेका छन्, नयाँ नयाँ सर्जकहरूको उपस्थिति बढ्दो छ। यसरी बढी स्थानीयता जोड दिनु पनि समालोचना टाक्सिनुबराबर हो। यसलाई पनि अर्जुन प्रधानको समालोचकीय कमजोरी र सीमा मान्न सकिन्छ।
उनले त्यस्ता स्थानीय कृतिहरूको प्रसंशा र सकारात्मक पक्ष मात्र चर्चा गरेका छन् तर कमजोरी पक्षबारे उनले आँखा चिम्लेका छन्। कहिलेकाँही सबैलाई प्रशंसा गर्नु मात्र पनि कृति र कृतिकारले प्रगति गर्ने अवसर नपाई टाक्सिनु हो। सर्जकहरूले आफ्नो कृतित्वको कमजोरी पक्षबारे थाह नपाउने स्थिति हो। स्रष्टाको कमजोरी पक्ष पनि देखाइदिनु दृष्टाको उत्तरदायित्व र कर्तव्य हो। उनीहरूलाई आफ्नो कृतिको यहाँनेर कमजोरी रहेछ भन्ने अवगत हुनु र यसको अवकास पाउऩु पनि आवश्यक हुन्छ। उनीहरूको क़ृति लेखनको विकास गर्ने अवसर पाउनु हो। त्यसै गरी अर्जुन प्रधानको समालोचनामा भाव पक्षको बढी विवेचना भएको पाइन्छ तर शैली पक्षको थोरै चर्चा गरिएको पाइन्छ। कृति भन्नु नै भाव र शैली दुवैको समान र सन्तुलित प्रस्तुति हुन्छ। समालोचकले भाव पक्षलाई मात्र चर्चा र समीक्षण गर्नु तर शैली पक्षको चर्चा कम गर्दा पनि एक पाखे हुन्छ। दुवै पक्षलाई समान रूपमा हेर्नुपर्दछ। लेखकहरूलाई प्रेरणा दिन उनीहरूको कृतिको गुण मात्र केलाउनु पनि कहिलेकाँही अनर्थ हुन्छ। यद्यपि यसमा अर्जुन प्रधानको मात्र कमजोरी नभएर प्रायः समालोचना लेख्नेजत्ति सबैको सामुहिक कमजोरी हो। भारतमा रामकृष्ण शर्मा र केही थोरैबाहेक अहिलेसम्म कमजोरी पक्ष केलाउने देखाउने खासै प्रणाली स्थापित भएको छैन। सर्जकहरूले आफ्नो कृतिको प्रशंसा नै बढी खोज्ने मनोविज्ञान हुन्छ। सर्जक रिसाउँछ कि! हतोत्साहित भएर लेख्न छाड्छ कि! किताब बिक्री हुँदैन कि! इत्यादि मनोवैज्ञानिक कारणले सर्जकको प्रशंसा मात्र गरिने चलन छ।
अर्जुन प्रधान एक गहन अध्येता हुन्। उनी अँग्रेजी साहित्यको पनि समान अध्येता हुन्। उनले नेपाली समालोचना लेख्दा अँग्रेजी सिद्धान्त र पद्धतिको त्यति प्रयोग गरेको पाइनन। कृति पढेर मनमा परेको प्रभावलाई नै उनले लेख्ने हुँदा बढी प्रभाववादी समालोचना बनेका छन्। उनी सैद्धान्तिक समालोचनाभन्दा व्यवहारिक समालोचना बढी लेख्ने गर्छन्। यद्यपि उनी एक सफल समालोचक हुन्। सबै समालोचकका केही न केही प्राप्ति र सीमा हुन्छन्। नेपाली भाषा साहित्यमा समालोचना विधा बाँझो रहेको, धेरै राम्रा राम्रो सर्जकहरूको उपस्थिति देखेर तिनको कृतित्वमाथि केही लेखिदिने आफ्नो कर्तव्य सम्झेर समालोचना गर्नु नेपाली साहित्यका निम्ति ठुलो उपलब्धि हो। उनी यसरी सर्जकहरूलाई साहित्यिक चिनारी दिन, उनीहरूलाई प्रेरणा र हौसला दिने हुट्हुटीले साहित्य सेवा गरिरहेका छन्। उनले प्रवीण र नवीन दुवै खाले कवि लेखहरूलाई चिनाउने काम गरेका छन्। उनले कर्तव्यबोध, उत्तरदायित्व र सेवाभावले निस्वार्थ रूपमा आफ्नो समालोचकीय धर्म निर्वाह गरिरहेका छन्। उनी आफ्नो ठाउँमा इमानदार छन्। उनले स्वच्छन्द र स्वतन्त्र किसिमले समालोचना लेख्दा कुनै स्थापित साहित्यवेत्ता, समालोचक वा पाश्चात्य विद्वानको पङ्क्तिहरू लिएका हुँदैनन्। त्यसो हुँदो कुनै कृतिको समालोचना लेखे कुनै पाद टिप्पणी वा सन्दर्भ स्रोत पाइन्न। उनलाई लागेको, देखेको कुरालाई लेख्छन्। यो पनि उनको लेखनगत प्राप्ति र सीमा दुवै हुन्। उनी कुनै सिद्धान्तमा अल्झिएका देखिन्नन्। कतिपय कृतिको भावपक्षका साथै संरचना पक्ष पनि नकेलाएका होइनन्। सुरज रोसुरीको धुँवा कवितासङ्ग्रहको बनोट, बनोट, शब्दशय्या, वाक्य प्रयोग जस्ता संरचनाका पक्ष पनि केलाएका छन्।
६. मूल्याङ्कन र उपसंहार
यसरी हेर्दा अर्जुन प्रधानको समालोचकीय परिधि विस्तृत र सीमित दुवै रहेको छ। उनी पाठनिष्ठ, कृति र कृतिकारपरक, प्रवत्तिपरक पक्षमा अध्ययन गर्ने, मूल्य निर्धारण गर्ने समालोचक हुन्। उनले आलोचनाको आलोक नपाएका, ओझेल परेका कवि लेखकहरूको कृतित्वको बारेमा अध्ययन गरेर साहित्यकार र साहित्य अध्येतालाई ठुलो गुण लाएका छन्। उनी आफ्ना वरिपरिकै लेखकहरूको कृतिलाई आँखा चिम्लिएर, नाघेर परपरका ठुल्ठुला कवि लेखकहरूको मात्र समीक्षण गर्ने समालोचक होइनन्। आफ्नो गाउँ-ठाउँ, अञ्चल र जिल्लाका समीक्षाबाट बञ्चित, निराश तर राम्रा राम्रा सर्जकहरूलाई चिनाइदिएर, आलोचकहरूका नजरमा नपरेका, मोफसलतिर रहेका साहित्य सर्जकहरूको मूल्याङ्कन गरिदिएर सबैका निम्ति साधुवादका पात्र भएका छन्। कति सर्जक त निकै वरिष्ठ भएर पनि नामै नसुनिएका, कम चर्चा पाएका, योगदानको मूल्याङ्कनहीन भएर, अचिनारू, ओझेल भएर बसेका थिए, तिनको पनि सही मूल्याङ्कन गरेका छन्।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु