दाइजो

- रवीन्द्र तिमसेना

डाँडाखर्के साइलाले आफ्नी कनिष्ठ पुत्रीको कन्यादान गरेर बाबु हुनुको जिम्मेवारी पूरा गर्न चाह्यो । यसअघि पाँच पुत्रको बिहेमा मनग्गे दाइजो ल्याए पनि एक पैसा खर्च नगरी छोरीको बिहे उम्काउने उसको ध्याउन्न थियो । त्यसैले उसले छिमेककै दाइजोविरोधी अभियन्ता हसिनाका एकल पुत्रलाई आफ्नी पुत्री कन्यादान दिने मनशाय बनायो । केराको पातमा गोडा धोएर छोरी अन्माउने र हसिना पुत्रलाई ज्वाइँ बनाउने योजना अनुसार उसले लमी पठायो । लमी र हसिनाबिचको कुराकानीपछि बिहे हुने पनि पक्कापक्की भयो ।
बिहेको अघिल्लो दिन डाडाँखर्के साइँलाले आफ्नी हुनेवाला सम्धिनीलाई फोनमा चेपारो पार्दै भन्यो, “सम्धिनी हजुर, आफ्नी छोरीलाई अन्माउँदा सानोतिनो कोसेली दिएर पठाउने हाम्रो पुरानो चलनै हो, केही पनि कोसेली दिन नपाउँदा त एउटी पुत्रीको पितालाई निकै असजिलो लाग्दो रहेछ ....” हुनेवाला सम्धीको कुरा सुनेर मनमा लालच उत्पन्न भए पनि प्रकट नहुने गरी हसिनाले जबाफ फर्काइन्, “सम्धी हजुरलाई थाहै छ नि मैले दाइजोविरोधी अभियानको नेतृत्व गरेको ।” हसिनाको कुरा सुनेर डाँडाखर्के साइलाको साहस बढ्यो र आफ्नै चेपारे शैलीमा ढुक्कले थप्यो – “तर केही न केही टक्र्याउन पाए यो लोकमा त के परलोकमा पनि मुक्ति पाउने थिएँ सम्धिनी हजुर मैले ।” यस्तो प्रस्तावपछि हसिनाले मुख मिठ्याइन् र सतर्कतापूर्वक भनिन्, “हामीलाई त केही चाहिने होइन क्यारे सम्धी हजुर, तर हाम्रो पनि एक्लो छोरो, सम्धीज्यूको इच्छा त्यस्तै छ भने आफ्नै छोरी–ज्वाइँलाई रिङरोड आसपासमा दुई–धाइ तलाको कुटी किनेर दिइबक्से हुन्छ नि ।” हुनेवाला सम्धिनीको कुरा सुनेर डाँडाघरे साइलो स्तब्ध भयो । हसिनाले फोनमै थपिन्–“हाफ फर्निस्ड गर्ने कि फुल फर्निस्ड गर्ने (घरभित्रको सजावट आधा गर्ने कि पूरै गर्ने) भन्ने कुरा सम्धी हजुरले नै बिचार गरिस्योस् न ।”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु