बाँझो दिन

- डा. विदुर चालिसे

लज्जा छोपछाप हुन्थ्यो या हुँदैनथ्यो, कसैलाई थाहा थिएन । उपाय न हो गुप्तवास ।
––“ल ! ल !! बोल्न हुँदैन । परपुरूषलाई त हेर्न पनि हुँदैन । कति सानै उमेरमा जिउ लाग्या यस्को ।”
आमाको रूढ बचन जबर्जस्ती रमाको कानमा पर्याे । उ लजाउँदै मुख छोपेर कसैले नदेख्ने गरी गुप्तवासतिर लागी । उनकी आमा हातमा रमाका लागि आवश्यक विछ्यौना र कपडाका पोकापाकी बोकेर पछिपछि हिंडिन ।
––“आमा किन कसैसँग पनि बोल्न हुँदैन ?”
––“रोग सर्छ के !, तँसँग रोग छ । जिउ हुनु भनेको रोग हो ।”
रमा केही बोल्न सकिन । आलश्य, थकित र कम्पन मानिरहेकी रमा सतहमा नै चुपचाप लागी । एकछिन अगाडिसम्म तन्दुरूस्त रमा एकाएक आमाका लागि रोगी बनी ।
––“आमा त्यसो भए मलाई अब के हुन्छ ?”
––“केही हुँदैन, डाक्टरलाई जँचाउन नि पर्दैन ।”
आलश्यको आमाको अनुहार भित्तामा राखेको ऐनामा टल्किरहेथ्यो । उल्टो फर्केर गुप्तवासमा बसरहेकी रमाले पुलुक्क ऐनामा आफ्नो अनुहार हेरी । उसलाई त्यसैत्यसै कता जाउँ कता जाउँ भयो ।
––“आज पहिलो चोखिने दिन, नुहाउन आइज नानी !”
हिजो अस्तिको भन्दा देखिएको आमाको नरम बोलीले रमालाई आश्चर्य पार्याे अनि सम्झी ।
––“आज रोग निको हुँदै गएछ, मलाई !”
गुप्तवासबाट पूर्ण रूपमा चोखिने अन्तिम दिन छिमेकी भाउजु उसलाई भेटन गइन । उनी अस्पतालको आइसियु वार्डमा नर्सको काम गर्थिन । उनले अस्पतालको शैइयामा सुतिरहेकी रमातिर हेरेर सान्त्वना दिइन ।
––“ महिलाहरूका लागि मात्र, आज भेण्टिलेटरको टुल्सहरू सब अफ भयो हैन ?”
परम्परागत रूढ थेरापीले उब्जाएको छुइघरको सत्य तथ्य खोज्नु रमाका लागि पनि चुनौती नै थियो । समय क्रममा उसको विवाह भयो । तर उसको कुनै सन्तान जन्मेको थाहा भएन । छुइघरमा जानुअघि उ एकदिन बाँझिन पुगेकी थिई ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु