कारागार उपन्यासमा नारी चेतना

- सन्तोषकुमार काफ्ले

लेखसार
नारीवादी सिद्धान्त पाश्चात्य साहित्य सिद्धान्तमा आधारित सांस्कृतिक अध्ययन पद्धतिको एउटा महत्वपूर्ण पक्ष हो । यो सिद्धान्तको विकास पाश्चात्य साहित्य परम्परामा भएपनि अहिले आएर विश्व साहित्य र राजनीतिमा प्रभाव पार्न सफल सिद्धान्त हो । प्रस्तुत आलेखमा वानीरा गिरीद्वारा लिखित ‘कारागार’ उपन्यासलाई नारीवादी सिद्धान्तका मूलभूत विशेषतामध्ये नारी दमनको अवस्था र त्यसमा नारीले गरेको प्रतिरोधलाई आधार मानेर विश्लेषण गरिएको छ । नारीवादी सिद्धान्तका यी पक्षहरूका अतिरिक्त अन्य कलात्मक पक्षहरूको विश्लेषण प्रस्तुत लेखमा गरिएको छैन । नारीवादी सिद्धान्तका आधारमा विश्लेषण गर्न चाहने सिकारुहरूका लागि प्रस्तुत लेख सहयोगी सामग्रीका रूपमा रहेको छ । यस लेखमा पुस्तकालयीय अध्ययन पद्दतिको प्रयोग गरिएको छ । यसका साथै वर्णनात्मक तथा व्याख्यात्मक विधिको प्रयोग गरी यस लेखमा व्याख्या विश्लेषण गरी अध्ययन गरिएको छ । कारागार उपन्यासमा नारी स्वतन्त्रताका आवाजलाई प्रस्तुत गर्न नारी पात्रलाई नै सशक्त बनाउनु पर्ने निष्कर्ष निकालिएको छ । घरपरिवार लगायत अन्य स्थानमा नारीको उचीत सम्मान गर्नुपर्ने सुझाब रहेको छ ।

विशिष्ट शब्दावली
प्रतिरोध, चेतना, पितृसत्ता, शक्ति सम्बन्ध, पहिचान, प्रतिनिधित्व ।
१. विषय परिचय
कारागार (२०३५) उपन्यासको लेखक वानीरा गिरी हुन् । उनले कविता र उपन्यासहरू सिर्जना गरेकी छन् । वानीरा गिरी कविताभन्दा आख्यान विधामा चर्चित छिन् । वानीरा गिरीका कारागारा(२०३५), निर्बन्ध(२०४२) र शब्दातीत शान्तनु(२०५६) उपन्यास रहेका छन् । उनको शब्दातीत शान्तनु(२०५६)उपन्यासले २०५६ सालमा साझा पुरस्कार पाएको छ । उनका आख्यानमा नारी स्वतन्त्रता र नारी अधिकारका आवाजहरू उठाइएको पाइन्छ । कारागार उपन्यासमा उनले प्रणयआवेगको चित्र,स्वच्छन्द पलायन र समाजद्रोही प्रवृति देखाएकी छिन् । त्यसैगरी नारी पात्रको सिर्जना गरेर कथानकलाई जीवनवादी बनउन सफल देखिएकी छिन् । यस उपन्यासमा म पात्रका रुपमा नारी पात्रलाई उपस्थित गराएर प्रमुख पात्रको भूमिकामा देखिन्छ ।
नारीवादी सिद्धान्तको आरम्भ २० औँ शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवाज उठ्दै आएको भए पनि भर्जिना उल्फ, साइमन ड बुभाजस्ता सशक्त प्रतिभाहरूको उदयपछि यसले अझै बढी व्यापकता पाउँदै आएको छ । उत्तर आधुनिक साहित्य सिद्धान्तको महत्वपूर्ण उपलब्धिका रूपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्छ । यस सिद्धान्तमा नारीको अवस्था मात्र चित्रण नगरेर पितृसत्ताले नारीमाथि कसरी दमन गरेको छ, अनेक सामाजिक मिथकहरूले नारीलाई कसरी सीमान्तकृत तुल्याएको छ भन्ने कुराको साथै नारीले पितृसत्ताका विरुद्ध प्रतिरोध गर्दै आएको अवस्थाको समेत विश्लेषण गर्छ । कतिपय समालोचकहरू नारीका भावनाहरू नारीकै कृतिमा मात्र समेटिने विचार राख्छन् । नारीवादी सिद्धान्तले कृतिभित्र नारीको उपस्थिति, त्यसमा पितृसत्ताको दमन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई हेरिन्छ । प्रस्तुत कारागार उपन्यासका लेखक वानीरा गिरी पनि नारी स्रष्टा भएकाले उनले यस उपन्यासमा नारीहरूलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको विश्लेषण यस अध्ययनमा गरिएको छ । यस लेखको मुख्य उद्देश्य भनेकै कारागार उपन्यासमा नारीको उपस्थितिका साथै नारी चेतनाको खोजी नै गर्नु हो । यसमा नारी दमनको अवस्था, नारीहरुको प्रतिरोध र पुरुष दमनका विरुद्धको अवाज नै मुख्य विषय बनेको छ । यस लेखमा व्याख्यात्मक तथा विश्लेषणात्क विधिको प्रयोग गरिएको छ । यसका साथै नारीवादी चेतना सशक्त रुपमा नारी पात्रमार्फत खोजी भएको निष्कर्ष निकालिएको छ ।
२. अध्ययनको उद्देश्य
नारी साहित्यकार गिरिको कारागार उपन्यासमा नारीहरुको उपस्थिति कुन रुपमा भएको छ र उनले साहित्यका माध्यमबाट नारीलाई कुनरुपमा उभ्याएकी छिन् भन्ने विषय नै यस लेखको समस्या हो । यस उपन्यासमा प्रमुख पात्रका रुपमा नारी पात्रलाई चित्रण गरिएको पाइन्छ । यसै पात्रका माध्यबाट नारी दमन , पारिवारिक विघटनका साथै नारी सङ्घर्षलाई यस लेखको समस्याको विषय बनेको छ । नारी साहित्यकारले कारागार उपन्यसमा नारीलाई चित्रण गरेका आधारमा यस लेखको निम्नानुसार उद्देश्य रहेको छ । यसै उद्देश्य प्राप्तिका लागि यस अध्ययनलाई अगाडि बढाइएको छ ।
क. कारागार उपन्यासमा नारी दमनका अवस्था अध्ययन गर्ने,
ख. उपन्यासमा प्रतिरोध र पुरुषसंरक्षकत्वका विरुद्ध प्रतिरोधको अवस्था अध्ययन गर्ने।
३. अध्ययन विधि
यस अध्ययनमा द्वितीयक सामाग्री सङकलनका स्रोतलाई प्रयोग गरिएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसका साथै वर्णनात्मक तथा व्याख्यात्मक विधिको प्रयोग गर्दै अध्ययनलाई अगाडि बढाइएको छ । online सामाग्री, विज्ञका सुझावलाई पनि स्रोत सामाग्रीबाट सङकलन गरिएको छ ।

४. सैद्धान्तिक पर्याधार
उत्तरआधुनिकतावादको ठूलो छाताभित्र नारीवाद, विनिर्माणवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद, उत्तरउपनिवेशवाद आदि विभिन्न सिद्धान्त र दर्शनहरू अटाउ“छन् । यीमध्ये नारीवाद सर्वाधिक चर्चित सिद्धान्तका रूपमा देखिन्छ । नारीवाद अङ्ग्रेजी शब्द feminism को नेपाली रूपान्तर हो र यो लिङ्गकेन्द्री सिद्धान्त पनि हो । नारीलाई मुक्ति दिन, उठाउन, आत्मनिर्भर बनाउन र नारीअधिकार एवम् अस्तित्व प्राप्ति तथा समान अधिकारका निमित्त उत्प्रेरित गराउने सिद्धान्त नै नारीवाद हो अर्थात नारीकेन्द्री सन्दर्भबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने छ । समाजमा स्वास्नीमान्छे पीडित छन् र सुविधाबाट बञ्चित छन् । स्त्रीवादीहरू स्वास्नीमान्छेले लोग्नेमान्छेले सरह अवसर पाउनु पर्छ भनेर आवाज उठाउँछन् । यस नारीवादले स्वास्नीमान्छेलाई त्यहाँ स्थान दिलाउन चाहन्छ, जहा“ लोग्नेमान्छेहरू आफनै अधिकार ठान्दछन् (गौतम,२०५०)। समाजमा चिरकालदेखि प्रबल रहेको लिङ्गकेन्द्री पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्दै यसले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गर्दछ(शर्मा, २०५५)। यस आधारमा नारीवाद पुरुषसत्ताको समानान्तर भूमिका र अधिकार नारीको पनि हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्ने सिद्धान्तका रूपमा देखापर्छ । नारीवाद शाब्दिक रुपमा भन्दा पनि पारिभाषिक रुपमा अथ्र्याइने शब्द हो । समाजमा रहेको महिलाको असमान राजनीतिक परिस्थितिका विरुद्ध प्रश्न उठाउने क्रममा नारीवादको जन्म भएको देखिन्छ । नारीवाद पौरुष पक्षपातका विरुद्धको चुनौती हो (त्रिपाठी, २०६८)। नारीहरुको सामाजिक, आर्थिक एवं साँस्कृतिक स्वतन्त्रता तथा समानताका लागि सञ्चालित राजनैतिक आन्दोलनसँग नारीवादी साहित्य तथा समालोचनाको घनिष्ठ सम्बन्ध छ । नारीहरुको सोचाइ, अनुभव, क्रियाकलाप एवं गतिविधिहरुलाई विशेष महत्व दिने नारीवादले पुरुषद्वारा स्थापित नारीसम्वन्धी समस्त धारणा, दृष्टिकोण, मान्यता, कल्पना र साहित्यमा नारीको चरित्रचित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्न जोड दिएको छ । महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्वन्धी दृष्किोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरुद्वारा सिर्जित रचनाहरुबाट हुदैनन् भन्ने दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भईसकेको र नारीवादी चिन्तकहरुले पनि यसै मान्यतामाथि जोड दिएका छन् । यदपि पुरुषले लेखेका लेखचाहिँ नारीवादी नहुने भन्ने होइन । यसरी एक अर्काका पुरक भएपछि समान हौसियत हुनैपर्छ र खोज्नुपर्छ भन्ने मान्यता नारीवादको हो । अतः यस आन्दोलनको आशय लोग्ने मान्छेको विरोध गर्नु नभएर नारीलाई पुरुषसरह उभ्याउनु हो । मुख्यतया नारीवादका सिद्धान्तहरुलाई उदार नारीवाद माक्सवादी नारीवाद, समाजवादी नारीवाद, आमुल नारीवाद र समाजवादी नारीवाद आदि शाखाका रुपमा अध्ययन गर्न सकिन्छ ।
४.१.उदार नारीवाद
नारीवादका धारमध्ये उदार नारीवाद विश्वमै सबभन्दा बढी परिचित रहेको छ । यसले समाजमा विद्यमान महिलाको अवस्थाको व्याख्या गर्दछ जसलाई ‘समान अधिकार’ भनेर पनि बुझ्न सकिन्छ । महिलालाई बाह्य संसारमा प्रवेश गर्न नदिने बाधा भनेको घरपरिवार वा गृहस्थी नै हो । त्यसैले उदार नारीवादले सार्वजनिक क्षेत्रमा ध्यान केन्द्रित गर्दै सार्वजनिक बजारमा प्रतिस्पर्धा गर्ने व्यक्तिगत अधिकार प्राप्तिका लागि कानुनी, राजनीतिक एवम् संस्थागत संघर्ष गर्दछ । सामाजिक मुक्तिलाई यसले जोड दिन्छ । नागरिकता र पुरुषसँगको बराबरीका कुरा नै उदार नारीवादी दृष्टिकोणको केन्द्रविन्दु हो ।
उदार नारीवाद महिला र पुरुष बीचको समानताको आग्रह राख्दछ । महिला पुरुष जस्तै भएको र महिलाहरु पुरुषले गर्ने हरेक काम सहजै गर्न सक्ने भएकाले पुरुष सरह अधिकार प्राप्त गर्नु पर्छ भन्ने मान्यता राख्दछ । उदार नारीवाद समाजको क्रान्तिकारी परिवर्तनमा नभएर सुधारमा विश्वास गर्छ । उदार नारीवाद पुरुषसँगै सहकार्य गरेर समाजबाट प्राप्त हुने अवसरहरु हासिल गर्न चाहन्छ । उनीहरु त्यही चाहन्छन् जे पुरुषले प्राप्त गरेको छ (वेरी, सन २००२,१२१) ।
उदार महिलावादीहरुले महिलाहरुलाई स्वतन्त्रता उपलब्ध गराउन सकिएमा, समान अवसरहरु प्रदान गर्न सकिएमा, महिला प्रति गलत मान्यता र सामाजिकरण प्रक्रियाबाट महिलालाई मुक्ति दिलाउन सकिएमा मात्र महिला विकासको अवस्था सफल हुन सक्छ भन्ने व्याख्या र विश्लेषण गर्छन् । त्यसैगरी प्रजनन अधिकारका सवालमा महिलालाई स्वतन्त्र अधिकार दिनुपर्ने कुरामा जोड दिन्छन् । समग्रमा भन्नुपर्दा उदार महिलावाद ज्याला, अवसर, तथा स्वतन्त्रताका सवालमा महिलाको स्वतन्त्रतालाई जोड दिदै नीतिगत रुपमा कानुनी सुधार गरी महिलाको पहुँच बढाउनु पर्ने तर्क राख्दछ ।
४.२. माक्र्सवादी नारीवाद
माक्र्सवादी महिलावादको उत्पति र विकासको सन्दर्भलाई हेर्दा कार्लमाक्स र फ्रेडरिक एङगेल्सको कृति ( 1884 ), origin of the tamily private property and the state लाई लिन सकिन्छ जसमा समाजमा रहेको लैङ्गिक विभेदको कारक तत्वहरु उल्लेख गरिएको छ । माक्र्सवादी महिलावादले वर्गीय आधारमा समाजको व्याख्या र विश्लेषण गर्न सकिएमा महिला माथिको दमन, विभेद, असमानता जस्ता पक्षलाई हटाउन सकिन्छ भन्ने सोचाई राख्दछ । महिलामाथिको दमन, अत्याचार तथा शोषण खास गरी पितृसत्ता र पुँजीवादी संरचनाबाट भएको निष्कर्ष माक्र्सवादी महिलावादीहरुको रहेको छ । समाजमा उत्पती हुने सबैखाले द्वन्द्वको कारक तत्व शासकीय वर्गको प्रकृतिलाई मान्दै असमानता र विभेदको जड मुख्य गरी पुँजीवादी समाजलाई मान्दछ (विस्ले सन् १९९९,पृ५८) ।
माक्र्सवाद सुधारको नभएर परिवर्तनको दर्शन हो र नारीवादी दर्शन यसै पक्षबाट बढी आकर्षित छन् । लैङ्गिक विभेद हटाउनका निम्ति समाज जगैदेखि फेरिनु आवश्यक छ । समाज विश्लेषणको दरो आधार माक्र्सवादसँग छ । त्यसैले नारीवादले समाज व्यवस्थाको विश्लेषण गर्ने तरिका माक्र्सवादसँग ग्रहण गरेको छ (रुथमेन, सन् १९९१ ः ३१) र त्यो नारीवादको हाँगो माक्र्सवादी नारीवादको नामले प्रसिद्ध छ । समग्रमा माक्र्सवादले महिला पुरुषबीच रहेको असमान शक्ति सम्बन्धलाई जोड दिन्छ । यसैका आधारमा लैङ्गिक सम्बन्धको विकास र व्यवहारिक यथार्थतालाई जोड दिन सकिन्छ । उनीहरुका अनुसार यस खालको असमान शक्ति सम्बन्ध भनेको पुरुष शक्तिवान र महिला शक्तिहीन हुनु हो । समाजमा रहेको विभेद हटाउनका लागि माक्र्सवादी महिलावादले समाजमा सम्पति माथिको निजी स्वामित्वको अन्त्यसँगै विकास हुने संरचनाबाट महिलाहरुले सबै प्रकारका अधिकार र स्वतन्त्रता प्राप्त गर्न सक्छन् भन्ने मत राखेको देखिन्छ ।
४.३. आमूल नारीवाद
आमूल नारीवाद विश्वका चार प्रमुख नारीवादी धारा मध्ये एक हो यसले समाजमा विद्यमान नारी उत्पीडनलाई समूल नष्ट गर्नु पर्छ भन्ने दृष्टिकोण अगाडि सारेको छ । समाजका प्रतयेक तहमा महिलाहरु शोषित देखिएका छन् भन्ने मान्यता राख्छ । समाजमा प्रत्येक जात, वर्ण, संरचना, संस्थामा दमन विभेद र असमानता रहेकोले लैङ्गिक विभेदको जटिलतालाई विशेष जोड दिन्छ । यस्ता लैङ्गिक विभेदको महत्वपूर्ण कारक तत्व भने पितृसत्ता नै हो भन्ने बुझाई आमूल महिलावादीहरुको रहेको छ । यिनीहरुको अनुसार महिला विभेद र दमनको प्रारम्भिक थलो नै परिवार हो । नारी घरभित्रै सबैभन्दा बढी लैङ्गिक विभेदमा परेकी छन् । आमूल महिला वादीहरुका अनुसार विपरीत लिङ्गि विवाहलाई निषेध गर्नुपर्ने र समलिङ्गि विवाहलाई विकल्पका रुपमा प्रयोग गर्नु कुरामा जोड दिएको पाइन्छ ।
उदार नारीवादले सुधारका कुरामात्र गर्ने र आफूलाई सुधारका माध्यमले महिला मुक्ति हुन्छ भन्ने विश्वास नलागे पछि आमूल नारीवादीहरु एकजुट भई पितृसत्तालाई आफ्नो प्रमुख शत्रु ठानेर कार्य दिशालाई गति दिएको देखिन्छ । आमूल नारीवादका अनुसार पितृसत्ता भनेको पुरुष र पुरुषले प्रभुत्व जमाएका संगठनहरुले महिला विरुद्ध हिंसा गर्ने एउटा संस्था हो भन्दै साँस्कृतिक परम्पराले पनि महिलाको दुर्दशा भएको उल्लेख गरेका छन् (पौडेल २०५९ ः ८३) ।
समग्रमा भन्नुपर्दा आमूल नारीवादले उदार एवम् माक्र्सवादका प्रस्थापना भन्दा फरक कुरा अघि सार्दै आर्थिक वर्गका स्थानमा यौनवर्ग र पितृसत्तामा सुधार गर्दै जाने भन्ने दृष्टिकोणका सट्टा आमूल परिवर्तन आवश्यक छ भन्ने दृष्टिकोण अगाडि सारेको देखिन्छ ।
४.४ समाजवादी नारीवाद
समाजवादी नारीवादले लैङ्गिक दमनलाई बुझ्न सामाजिक कारक तत्वको खोजीलाई जोड दिदै महिला प्रतिका विभेद पुरुष र महिला स्वयमबाटै भएको ठान्छ । यसका लागि पितृसत्तात्मक सामाजिक ढाँचाले निकै ठूलो भूमिका निर्वाह गर्ने कुरामा जोड दिदै समाजका एकाईहरु बीचको प्रकार्यले सामाजिक व्यवस्था संचालित हुने भएकाले त्यही संरचना भित्र बसेर लैङ्गिक सम्बन्धको खोजी गर्नुपर्छ भन्ने मान्यता राख्छ । समाजवादी नारीवादलाई माक्र्सवादी र उदार महिलावादको संश्लेषणको रुपमा लिइन्छ ।
सामाजिक साँस्कृतिक व्यवस्थाका कारण पनि अनेकौ लैङ्गिक विभद सिर्जना हुने भएकाले यस तर्फ जोड दिनु पर्ने धारणा राख्दै सामाजिक विभेदको अन्त्यका लागि महिला र पुरुष बीचको समानता हुनुपर्ने तर्क यसमा उल्लेख गरिएको छ । समाजका प्रत्येक तहमा महिलाहरु पुरुषकै अधिनमा रहनु लिङ्गका आधारमा श्रम विभाजन र त्यस अनुरुपको सामाजिक साँस्कृतिक मान्यता हो ।
समाजवादी महिलावादीहरुले महिलाको भूमिकाको व्याख्या गर्दा लिङ्गको आधारमा गरिएको श्रम विभाजनलाई मात्र विश्लेषण नगरी सामाजिकीकरण, पुर्नउत्पादन र अवस्थामा पनि विश्लेषण गर्नु पर्ने धारणा राखिएको देखिन्छ । यसरी समाजवादी नारीवादमा समाजको यथार्थतामा बसेर लैङ्गिक भूमिका र व्यवस्था चित्रण गर्दा महिलाको वास्तविक अवस्थाको बुझ्न सकिन्छ भन्ने मान्यता यसमा रहेको देखिन्छ ( आचार्य, २०७४,२९) । यसैगरी नारीवादी चिन्तनलाई अनुसन्धान तत्वका कोणवाद निम्नानुसार चर्चा गर्न सकिन्छ ।
Ontology: लैङ्गिक विभेदका कारण नारीहरु पछाडि परेका छन् त्यसको कारक तत्व पितृसतात्मक सामाजिक संस्था हो भन्ने मान्यता नारीवादले राख्दछ । परम्परागत पुरुष प्रधान मानसिकतालाई तोडेर समाज परिवर्तन गर्नु पर्छ यो नौ वास्तविकता हो यसैलाई नारीवादको तत्व मिमांसको रुपमा लिइन्छ ।
Epistemology: समाज रुपान्तरण गरी लैङ्गिक विभेद हटाउनु र नारीहरु पुरुष सरह हरेक कार्यमा सरिक हुनपर्छ भन्ने मान्यता नारीवादको मुख्य मुद्धा हो । यसको लागि स्वयम् नारीहरु सचेत र जागरुक हुनुपर्छ । अधिकार मागेर होइन आवश्यक परे खोस्न सक्नु पर्छ, त्यसको लागि नारीहररुले संघर्ष गर्न पनि पछि पर्नु हुदैन । महिला अधिकार र समानताका लागि सामाजिक संरचना र साँस्कृतिक परम्परालाई समेत तोड्नुपर्छ भन्ने मान्यता नारीवादले राख्दछ । लैङ्गिक विभेद सामाजिक, साँस्कृतिक, राजनीतिक पितृसतात्मक सोच आदि विभिन्न कारणले हुने गर्दछ ।
Methodology: यस अध्ययन लैङ्गिक विभेदको मूल आधार सामाजिक संरचना र पितृसतात्मक व्यवहारहरु हुन् । नारीवादले विधि शास्त्रको रुपमा समाज र पुरुषहरुको व्यवहारलाई मुख्य आधार मान्दछ । नारी हक अधिकार प्राप्तिको लागि द्धन्दात्मक विधिलाई प्रयोग गर्छ । पुरातनवादी सोच र सामन्ती संस्कारको विरुद्ध आवाज उठाउने हुनाले तार्किक बहसबाट शैक्षणिक प्रयोजनलाई निक्यौल गर्न सकिन्छ । अत वास्तविक समाजको विश्लेषण, तार्किक चिन्तन, सशक्तिकरणमा जोड जस्ता प्रक्रियाहरु नारीवादले अवलम्बन गर्छ ।
Axiology: नारीहरु स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ, नारी अस्मिताको पहिचान गर्नु, सामाजिक भूमिकामा नारीलाई महत्वका साथ हेर्नु नारीवादको मुल्य हो । समाज रुपान्तरणमा नारीको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । नारीवादले दर्साउने मूल्यलाई आशावादी सोच, समतामूलक समाज निर्माण, सामाजिक दायित्वमा महिलाको भूमिका, सहकार्य र समविकासमा जोड, तथा महिला सशक्तिकरण भनी उल्लेख गर्न सकिन्छ ।
नेपाली साहित्यमा सैद्धान्तिक रूपमा नारीवादको स्थापना नभए पनि नारीवादी प्रवृत्तिका रचनाहरू भने देखिन थालेको पाइन्छ । उत्तरवर्ती नेपाली कथाका सन्दर्भमा नारीवादी चेतना पनि एउटा मुख्य प्रवृत्तिका रूपमा देखापर्छ ।

 नारीवादी दृष्टिकोण र लैङ्गिक समानता,
 नारीअस्तित्वको खोजी र नारीका भूमिकाको महिमा,
 बलात्कृत नारी अस्मिताको प्रस्तुति,
 नारीपीडाबोधको अभिव्यक्ति,
 पुरुषप्रधान समाजको विरोध र नारीअधिकारको खोजी,
 नारीका मूल्यहीन जीवनको चित्रण र मातृत्वचेतना,
 नारीस्वतन्त्रताको चाहना, विद्रोही चेतना र परतन्त्रको विरोध

पितृसत्ताको विरोध गरी नारी मुक्तिमा जोडदिंदै नारीको छुट्टै संसारको निर्माणको प्रयास गरेको छ । लैङ्गिक समानताको सिद्धान्तलाई स्थान दिंदै नारीमुक्ति र समानताको पक्षपोषण गर्छ । यसले समाजमा युगौंदेखि दविएका शोषित, पीडित नारीलाई पुरुष समान स्थान दिने अभियानको शंखघोष गर्दै नारी लेखन सम्बन्धी लुप्त परम्पराको खोजी गरी त्यसको विकासक्रम प्रस्तुत गरेको छ । महिला भेदभावको बिरुद्ध मात्र नभई सरकार, समाज र पुरुषद्वारा गरिएको सबै किसिमका दमनबाट मुक्ति प्राप्तिका लागि लड्नु या संघर्ष गर्नु पनि नारीवादको मान्यताभित्र पर्दछ । महिलाहरु शोषण, असमान तलब, दबा र दमनबाट पीडित छन् । यस्तो प्रतिकुल परिस्थिती बदल्नका लागि संघर्षको बिगुल महिलाहरुले फुक्नु पर्दछ । वास्तवमा नारीवाद घरभित्र र घर बाहिर महिलाले समानता र सम्मान पाउनका लागि आफनो जीवन र शरीरका बारेमा स्वयं निर्णय र नियन्त्रण गर्ने अधिकारको लागि गरिने संघर्ष हो । यसप्रकार नारीवादीहरु महिलाका लागि समानता र स्वतन्त्रताको माग मात्र गरिरहेका छैनन् । पुरुषहरुको लागि न्यायिक समाज स्थापनाका लागि उनीहरु लडिरहेका छन् । महिलाहरुलाई न्याय तब मिल्दछ, जब समाजमा समानता र न्याय स्थापित हुन्छ । नारीवादी संघर्षले वर्ग संघर्षसँग नजिकको सम्बन्ध राख्दछ । महिला पुरुष दुवैको लागि नारीवाद एउटा व्यक्तिगत भित्री संघर्ष पनि हो । यो एक सामाजिक संघर्ष पनि हो । महिलाको अधिकार प्राप्तिको लागि व्यक्तिगत पहल र योजनाबद्ध प्रयास अथवा संघर्ष दुवै हो । नारीवादप्रति आलोचना, पूर्वाग्रह या आरोप लगाउनेहरुले यसलाई पश्चिमी धारणाको रुपमा उठाउने गर्छन् ।
अत नारी केन्द्रित परिप्रेक्षबाट नारी हक, हित र समानताको पक्षधरतालाई नारीवाद भनिन्छ । पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र आदिलाई नकार्दै यसले नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्नेतर्फ दह्रो पाइला चालेको छ । यस लेखमा नारी दमन,नारीको प्रतिरोध र पुरुषको संरक्षकत्वका विरुद्ध प्रतिरोधका आधारमा नारी चेतनाको खोजी भएको छ ।
५. कारागार उपन्यासमा नारी चेतना
नारीवादी समालोचनाको पछिल्लो चरणमा नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयको अध्ययन गरिन्छ । प्रस्तुत उपन्यासका लेखक वानीरा गिरी पनि नारी स्रष्टा भएकाले उनले नारी पात्रलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको अध्ययन प्रस्तुत उपन्यास मार्फत गर्न सकिन्छ । यदपि पुरुषले लेखेका लेखचाहिँ नारीवादी नहुने भन्ने होइन । यसरी एक अर्काका पुरक भएपछि समान हौसियत हुनैपर्छ र खोज्नुपर्छ भन्ने मान्यता नारीवादको हो । त्यसै गरी नारी सिद्धान्तका विभिन्न पक्षहरूबाट पनि प्रस्तुत उपन्यासलाई विश्लेषण गर्न सकिन्छ । यस्ता विविध पद्धतिहरूमध्ये प्रस्तुत अध्ययनमा कारागार उपन्यासमा रहेको नारी दमनको विरोध र नारी दमन विरुद्ध प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ ।
५.१. कारागार उपन्यासमा नारी दमन
कारागार उपन्यासमा म पात्र स्त्री वा नारी हो । उ नायकप्रति आकर्षित भएकी छे । हालसम्म पनि समाजमा नारी र पुरुषबीचको सम्बनधलाई शङ्कास्पद रुपमा हेर्ने परिपाटी कायम रहेको छ । तर यहाँ एउटा विवाहित पुरुष र एउटा अविवाहित स्त्रीको सम्बन्ध शारीरिक आवश्यकता परिपूर्ति मात्र नभएर सहयोग पनि हो भन्ने देखाइएको छ । यसमा दुबै नायक र म पात्र शिक्षित वर्गका भएकाले उनीहरुको सम्बद्धता एकअर्का बीचको समझदारी पनि हो । आफ्नी धनी स्वास्नीबाट अपहेलित अपमानित र निरर्थक ठानिएको जीवन भोग्न बाध्य नायक र आफ्नै स्वजनहरुको छलकपटको कारण बूढीकन्या बस्नुपरेकी म पात्रबीचको सम्झौता प्रेम र शारीरिक आकर्षण पनि हो ।
समग्रमा भन्नु पर्दा म पात्र हीनताबोध, र अन्तरद्वन्द्वबाट उत्पन्न मानिसक तनाबमा जगडिएको छ । यस परिस्थितिलाई उसले कारागार भनेकी छे । उसले आफूलाई यसको कैदी ठानेकी छे । यस विषयलाई तलका बुँदाका आधारमा प्रष्ट गर्न सकिन्छ ।
५.१.१. परिवारभित्र नारी दमन
सुशिक्षित,अधिकृत स्तरको जागिरे,सम्पन्न परिवारकी युवती भएर पनि चालिस वर्षको उमेरसम्म पनि विवाह हुन नसक्नु,सन्तानवती बन्न नपाउनु जस्ता घटनाबाट उ कुण्ठित हुन पुगेकी छे र मानसिक रुपमा अतृप्त रहेकी छे । यी सबै हुनुका पछाडि बाबुले मर्नेबेलामा लेखिदिएको आमाको भागको गरगहना र खेत स्वत छोरीले पाउने भनिएको इच्छा पत्र हो । यसका लागि दश बर्ष बितिसक्दा पनि ठूल्दाइ, भाउजू, सानदाइ जस्ता परिवारका सदस्यले एकशब्द नशोधी असल केटा आउँदा पनि केन्सिल गर्दै जानु हो । यसरी समय बित्दै जाँदा पनि योग्य वर नजुट्नु बाको ईच्छापत्रले ल्याएको लोभ र लालच हुनुपर्दछ । यदपि परिवारको लोभको दमनमा नारी शिक्षित भए पनि समयै आफैले स्तन्त्र निर्णय लिन नसकेकोले नारी पात्रको दमन भएको छ ।
५.१.२. समाजमा नारी दमनको अवस्था
म पात्रको निकटता एक विवाहित पुरुषसँग हुन पुग्दछ । सोही पात्रबाट उ शारीरिक र मानसिक तृष्णा मेटाउन थाल्दछे । यस खालको सम्बन्धलाई समाजले अमर्यादित ठहर्याउने भएकाले यसलाई बौद्धिकताप्रतिको आकर्षणको सज्ञा दिएका छन् । उसले ‍æरोमान्स र आकर्षणको तथ्यलाई हत्केलाले ढाक्ने ढोग गरी हामी एकअर्काको प्रवुद्धतामा नै ज्यादा रिझिएका छौ । म उनलाई भन्दा बढी उसको मस्तिकलाई माया गर्छु ।Æ यसरी सामाजिक साँस्कृतिक मानमर्यादाले म पात्रलाई स्वतन्त्ररुपमा निर्णय गर्न सकेकी छैन ।
५.२. ‘कारागार’ उपन्यासमा नारीको प्रतिरोध
सम्पतिका लागि बाहिरी देखावटी बनावटी प्रेम प्रस्तुत गर्ने अनि भित्रभित्र दाजुभाउजुको व्यवहारबाट आजित भएर उ छुट्टै डेरामा बस्न पुगेकी छ । यसलाई पछिल्लो समयमा गरेको परिवारप्रतिको नारी प्रतिरोधका रुपमा लिन सकिन्छ । यसैगरी म पात्रमा आफू अविवाहित हुँदाहुँदै पनि मातृत्वको चाहना प्रवल भएर आउनुलाई नारी प्रतिरोधकै रुपमा लिन सकिन्छ । उ भन्दछे-æम बौलाएको छैन । म तिम्रो पेट बोक्छु मलाई सन्तान चाहिन्छ । म एकान्तिकताको यो नीरब कारागारलाई तोड्छु (पृ ६१) । Æ यसलाई परम्परागत सोचभन्दा भिन्न विचार राखेको लिन सकिन्छ । अविवाहित महिलाले सन्तान उत्पादनको इच्छा राख्नुलाई नारी प्रतिरोधका रुपमा लिएको देखिन्छ । यसैगरी परम्परागत सोचभन्दा भिन्न विचारहरु नारी प्रमुख पात्रका माध्यमबाट प्रस्तुत गरेर नारी प्रतिरोधलाई देखाइएको छ । प्रेमी पुरुष पात्र चाहिँ अबैध सन्तान जन्माउन चाहदैन र म पात्रको ईच्छा पूरा हुँदैन ।
‘५.२.१. पुरुषको संरक्षकत्वका विरुद्ध प्रतिरोध
बुबाआमा जीवित रहुन्जेल उनीहरुकै सानिध्य मन पराउने तर बुबाअमाको मृत्युपछि दाजुभाउजूकव देखावटी मायालाई स्पष्ट रुपमा बुझेकी छे । यसले गर्दा उ छुट्टै कोठामा डेराखोजी स्वतन्त्र जीवन जीउन पुगेकाले यसलाइ पुरुष सरक्षकत्वको विरुद्धको रुपमा लिइएको छ । यसमा नारीमाथिको दमन र त्यसका विरुद्ध उठ्नुपर्ने र नारी स्वयम् सक्षम बन्नुपर्ने विचार पनि प्रस्तुत गरिएको छ । नारी दमनका विरुद्ध नारी स्वयम् उठ्नुपर्ने र नारीको संरक्षकत्वका रूपमा पुरुष लाग्नुपर्ने धारणा पनि गलत भएको विचार यस कारागार उपन्यासमा अगाडि सारिएको छ ।
५.२.२. पितृसत्ता विरुद्ध प्रतिरोध
थापा जोडीको विवाहपश्चात केही समय राम्रो सम्बन्ध भएपनि अन्तत दुबै मृत्युको मुखमा पुग्नु, घरपट्टीकी बुहारीको श्रीमान् रातीराती रक्सी खाएर आइमान समाउन गएबाट बुहारी पनि खुसी नदेखिएकोले यी पात्रको प्रभाव म पात्रमा पर्न गएको छ । आखिर प्रेमी पात्र पनि बिहे गरेर बेखुसी नै हुन्छ भने विहे गर्नुको अर्थ नरहेको विचार पाइएको छ । छोरीले विहे गर्नुपर्ने, सन्तान जन्माउनुपर्ने घरभन्दा बाहिरको काम गर्न नहुने पितृसत्ताको मान्यताको विरुद्धमा यस उपन्यासलाइर लिन सकिन्छ ।
६. निष्कर्ष
नारी पात्रहरूले भोग्नुपरेको दमन र नारी शोषणको विरुद्ध आवाज उठाइएको छ । यसमा नारी दमनको अवस्था मात्र नदेखाई त्यसका विरुद्ध ससक्त आवाज पनि उठाइएको छ । यसमा नारीवादले उठाएका नवीनतम विचारहरूले पनि स्थान पाएका छन् । यसैगरी परम्परागत सोचभन्दा भिन्न विचारहरु नारी प्रमुख पात्रका माध्यमबाट प्रस्तुत गरेर नारी प्रतिरोधलाई देखाइएको छ भन्ने निष्कर्ष पाइएको छ । यसमा परिवारका सदस्यले नारीका समस्यामा गम्भीर नभई दिदा पारिवारिक विघटनाका अवस्थामा पुगी म पात्र डेरा लिएर बसेको अवस्था देखाई नारीलाई परिवारमा उचीत सम्मान दिनुपर्ने र नारी समस्यामा सवेदनशील बन्नुपर्ने निष्कर्ष निकालेको पाइन्छ । परिवारको लोभको दमनमा नारी शिक्षित भए पनि समयमै आफैले स्तन्त्र निर्णय लिन नसकेकोले नारी पात्रको दमन भएको देखिन्छ । नारी दमनका विरुद्ध नारी स्वयम् उठ्नुपर्ने र नारीको संरक्षकत्वका रूपमा पुरुष लाग्नुपर्ने धारणा पनि गलत भएको विचार यस कारागार उपन्यासमा अगाडि सारिएको छ ।
सन्दर्भ सूची
उप्रेती, सञ्जीव (२०६८).सिद्धान्तका कुरा, काठमाडौँ : अक्षर क्रियसन्स नेपाल ।
कार्की, नीलम (२०७२). चीरहरण, काठमाडौँ : साङ्ग्रिला बुक्स ।
गिरी, अमर (२०६९). “नारीवादी आन्दोलन र साहित्य चिन्तन”, गरिमा, ३०÷७ ।
गौतम, कृष्ण (२०६४).उत्तरआधुनिक जिज्ञासा, काठमाडौँ : भृकुटी एकेडेमी पब्लिकेशन ।
नेपाली बृहत् शब्दकोश (सातौं संस्करण २०६७) , नेपाल प्रज्ञा प्रतिष्ठान पृ.६८१

भासिन, कमला नारीवाद के हो http://samarekha.com.np/?p=1032
महर्जन, कान्छी (२०७३).“नेपाली नाटकमा नारी हस्ताक्षर”, मधुपर्क, ४९÷४ ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६१) . पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।







प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु