ढकालकृत गान्धीको स्वराजमा-लघुकथाको रेखाङ्कन

- सुकराज दियाली

राजेन्द्र ढकाल भन्ने बितिकै हामी एक एक हरफे कथाको सर्जक भनी चिनिहाल्छौं। उता पनि एक हरफे कवि अमर वानियाँ लोहोरो सिक्किममा छन्। एता एक हरफे कथाकार ढकालजी छन्।
उनी विचलनवादी कथाकार पनि हुन्। कथा सिर्जनामा नयाँ प्रकारले प्रस्तुत गर्नुपर्छ भन्ने चेत राख्ने कथाकार हुन्। नब्बेको दशकदेखि कथा लेखनमा निरन्तर लागि परेका ढकाल मोटो र छोटो लेख्न रूचाउँछन्। भन्ने कुराहरू सोझो रूपले भन्न मन पराउँछ। वाद-विवाददेखि टाड़ा रहन्छ। कहिले काहीं कविता पनि लेख्छन्। तर कविता लेखेर उनी सन्तुष्टि हुँदैनन्। जति कथा लेखेर हुन्छन्। उनको मौलिक कृतिहरू गान्धीको स्वराजमा लघु कथा सङ्ग्रह, कुनै अर्को दिशा कथा सङ्ग्रह प्रकाशित छन्। अनुवाद साहित्यमा पनि उतिकै दखल पारेका छन्। मौलिक कृतिहरूभन्दा ज्यादा उनको अनुवाद कृतिहरू छन्। अनमोल मोती, गोलाई में परिवर्तन, आरोह, केही विदेशी कथाहरू, आकारो में अंतर्भुक्त भाव, अक्षर अभिलेख, आदि नेपालीबाट हिन्दीमा, हिन्दीबाट नेपालीमा अनुवाद गरेका छन्। झण्डै एक दर्जन भन्दा बेसि कृतिहरू अनुवाद गरेका छन्।
हिन्दी र नेपालीमा डब्बल एम. ए. गरेका ढकाल एच. एस.-सम्म विशुद्ध विज्ञान लिएर पढ़ेका हुन्। उनी पेशाले शिक्षक पनि हुन्। उनी आफै टंकन गरी कितापहरू बनाउछन्।
गान्धीको स्वराजमा लघु कथा सङ्ग्रहः असम डिगबोई बोधकुमारी स्मृति प्रकाशनद्वारा प्रकाशित 26 औं कृति गान्धीको स्वराजमा कथाकार राजेन्द्र ढकालको प्रथम प्रकाशित कृति हुन्। सन् 2005-मा प्रकाशित यो कृतिभित्र जम्मा 25 वटा लघुकथाहरू समावेश छन्। नहुँदा-हुँदा, आत्मा सन्तुष्टि, दुखेसो, जेनेरेशन गैप, सांसारिक, बालक, यो कस्तो प्रतिवाद, आदर्श र स्थिति, उपलब्धि, रहस्य, निर्दोषी, पत्नी, बाउ मऱ्यो, गान्धीको स्वराजमा, को बलवान, फरक, अम्मल, व्रती, स्थिति, बोध, निष्कर्ष, फेरि एकपल्ट, भनाइ र गराइ, वास्वतमा र तृप्ति।
लघुकथाः लघु र कथा शब्दको योगफलबाट लघुकथा भएको छ। जसको अर्थ लघु- छोटो र सानो कथाको अर्थ गद्धरचना जसमा कुनै घटना-उपघटना पात्र-पात्राको माध्यमबाट प्रकट हुन्छ। त्यहाँ परिवेश, काल चरित्र, द्वन्दव कथात्मक आदि। जसरी लघुकथा शब्दले छोटो कथा बुझाउँछ जसरी अंग्रेजीमा short story micro fiction आदि शब्द प्रयोग गर्छन्। गोपाल अश्वकले भनेका छन्- लघु कथा लघुतम् गध्द रचना हो जसको आकर छोटो एक वा अधिकतम् दुई घटनाको प्रकटीकरण प्रतिकात्मक चित्रण दुरूस्त संवाद द्वन्दव तथा चोटिलो अत्यन्त हुन्छ। छोटो आकारको कथालाई बुझिरहेका छन्। एकै बसाईमा पढ़ी सक्नुपर्ने एकपन्ना वा दुईपन्नाको कथालाई बुझेपनि यसले लघु कथाको पहिचानलाई स्थापना गर्दैन। त्यहाँदेखि उतापनि लघु कथामा हुनपर्ने आवश्यक तत्वहरू रहेको पाइन्छ। लघुकथा भन्नाले कथाकै सानो रूप हुन् जसमा परिवेश संवाद द्वन्द प्रतिकात्मक चित्रण जस्ता कारकहरूले कथा अर्थिएको हुनुपर्छ भनी कथाकार एवं कथाविद्हरूले आफ्नो विचार प्रकट गरेका छन्। लघुकथा संक्षिप्तमा आकारको प्रभावपूर्ण कथात्मक गध्दविधान हो। जसले मानवीय संवेदनाहरूको कुनै एकक्षणलाई आफ्नो प्रभावशाली एवं कलात्मक शिल्पद्वारा सघनताकासाथ प्रकट गर्छन्। साहित्यविद् डा. किशोर काबराको भनाइलाई लिन सकिन्छ। साहित्यविद् दयाराम श्रेष्ठको भनाइलाई पनि लघु कथाको समीकरण सन्दर्भमा जोड़्न सकिन्छ। क्षणभरमै विचार वा भावको प्रभावकारी बिस्फोटन हुन सक्ने भित्री अणु सामर्थ्य भएको छोटो कथा नै लघु कथा हो। यसै सन्दर्भमा भारतीय नेपाली साहित्यमा लघु कथा लेखनमा देखापरेको कथाकार राजेन्द्र ढकाल र उनको गान्धीको स्वराजमा- लाई लिनसकिन्छ।
गान्धीको स्वराजमा-भित्रको लघु कथाको संरचनाः कथाहरू आकारमा छोटा आधा, पन्ना एकपन्ना र ज्यादाभन्दा दुईपन्नाकै लघुकथाहरू छन्। नहुँदा-हुँदा, आदर्श र स्थिति, उपलब्धि, रहस्य, बाउ मऱ्यो, स्थिति, वोध, निष्कर्ष,भनाइ र गराई र तृप्ति- डिमाइ साइजको कितापमा आधा पन्ना रहेका छन्। उसरी नै जेनेरेशन गैप आत्म सन्तुष्टि,बालक, यो कस्तो प्रतिवाद, गान्धीको स्वराजको बलवान, फरक, अम्मल, फेरि एकपल्ट र वास्तवमा डेढ़ पन्नाको अनि दुखेसो निर्दोषी र पत्नी दुईपन्नाको छन्। यो कथा सङ्ग्रभित्रको सबैभन्दा लामो कथा सांसारिक हुन्।
गान्धीको स्वराजमा-भित्रको लघु कथाको अध्ययनः लघु कथाकार राजेन्द्र ढकाल विशेष माइक्रोकथा लेखनमा महत्व दिने कथाकार हुन्। उनी विज्ञानको विद्यार्थी भएको हुनाले यसो हुनसक्छ। माइक्रोमा जुन शक्ति प्राप्त गर्न सकिन्छ अन्यमा यसको तुलनमा धेरै मत्थर पाइन्छ। आफू त डल्ले कराउँछ बलले भन्ने सिद्धान्तलाई काँधमा हालेर लघु कथा लेखनमा उत्रेका हुनन् ढकाल। एक हरफे कथाको विकल्प भइसकेका छन् ढकाल। कथा लेखनमा मानव संवेदनाशीलताको पक्षमा रहेको विभिन्न गटनी-उपघटनाहरूलाई यथावत् समाजबाट टिपेका हुन्छन् ढकालजीले। समाजमा भइरहेको घटनाहरू जीवनसित सादृश्यता लिएका समयका टुक्राहरू नै उनको कथा लेखनले प्रस्तुत गरेका हुन्छन्
लघु कथामा विषयवस्तुः लघु कथाकार ढकालले आफ्नो जीवनको वरपरका कुराहरू उनकै समाजबाट टिपेका छन्। घर परिवारमा रहेको द्वन्दव, छोरा-छोरीको पालन-पोषण, गाउँ-घरमा भइरहेको दमन शोषण, स्वार्थी समाजले मानवताको मूलमन्त्रलाई बिर्सिएको, धनी गरीबको जीवनशैलीबाट उठेको अपुग र अभावको विवाद , समाजमा गरीबले बाँच्नु परेको बाध्याताको जीवनशैली, ठूला-बढ़ाले प्राप्त गरेको अधिकारलाई अनावश्यकतामा प्रयोग गरिरहेका जाँड़-रक्सीको प्रभावले परिवारमा छाएको विकृति, परिवारको संस्कार संस्कृतिले आधुनिकताको नाममा विकृति लिदैं गरेको स्थितिलाई कथामा मूल विषय लिएर प्रस्तुत गरेका छन्। सुक्ष्म दृष्टिकोणले हेर्ने हो भने गान्धीको स्वराजमा-भित्रको कथाहरूमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र धार्मिक विषयवस्तुहरूलाई प्रस्तुत गरेका छन्।

गान्धीको स्वराजमा-भित्रका लघुकथाको प्रवृतिहरू

समयको यथार्थ
को बलवान? लघुकथामा को बलवान रहेछ भनी बढ़ो सुन्दररूपमा कथाले प्रस्तुत गरेका छन्। मान्छेको पावर यति शक्तिशाली हुन्छ। जसको शक्ति उसैको भक्ति समाजमा हामी बाँचिरहेका छौं भन्ने सन्देश दिन चुकेका छैन यस लघु कथाले।

प्रगतिवाद- शिक्षित युवाहरूमाथि भएको शोषणलाई लघुकथा फरक-मा खुबै प्रभावशालीरूपमा प्रस्तुत गरेका छन्। आजको युगमा मानिसको दक्ष र शिक्षालाई नहेरेर मालिकको चम्चा गिरी गर्ने वा उसैको नजिक रहेको चिना-जाना मान्छेलाई प्राथमिकता दिन्छन्। तेलवादी पक्षले नै ज्यादात्तर स्तिथिलाई उचालेर बाँच्न सक्ने कुरोलाई यस लघुकथाले बढ़ो सुन्दर तरिकामा पाठकलाई चेतना दिएका छन्।यस्ता घतलाग्दो लघुकथाले पाठकलाई सन्तुष्टि दिन्छ किन भने यस्ता घटनाहरू हाम्रो समाजले भोगिरहेका छ्न्। मालिकले हाम्रो रगत-पसिना कम्ति मूल्यमा लिन खोज्छ। उनीहरूले हम्रो पसिना बेचेर मुनाफा कमाउँछन् हामीले हाम्रो पसिनालाई सस्तो मूल्यमा बेचेर खाने वाध्याता सिर्जना हुन्छ। यस लघुकथाले मानव मिसिन हौं भन्न खोजेका छन्।
समाजमा परिमेयकरण स्वरःकथामा लत र अम्मल मानव जीवनमा नभएको राम्रो भन्ने पक्षमा यो कथाले दिन खोजेका सन्देश पनि हो। सभ्य भाषामा राम्रो शैलीमा लत र अम्मल शिकार भएका मान्छेहरूलाई सम्झाएको बुझाएको घटना हो-लघुकथा अम्मल।
समयको चेतना
समय र स्थितिमाथि प्रतीकात्मक अर्थवोध लघुकथा खोला मुढ़ा-मा कथाकार अनि कथाकारभन्दा स-सना भाईहरूले प्राप्त गरेको वस्तु- समय चेतनाको वोध हो।
राजनैतिक चेतना-
हामीले भोगीरहेको जीवनशैली र हाम्रो राजनैतिक नेताहरूका क्रिया-कलापलाई कथाकारले उदाङ्गो पारेका छन् भनाइ र गराइ लघुकथामा। माइक बन्द गर्नु बिर्सिनु र जनता जनार्दाका तीनैवटा आँखा खुलिसकेका पक्षलाई कथाकारले यस लघुकथामा प्रभावशालीरूपमा प्रस्तुत गरेका छन्।
कथामा भयवादः
गान्धीको स्वराजमा कथा घटना प्रधान लघुकथा मान्न सकिन्छ। रतनले भोगेको आर्थिक अवस्थाले हाम्रो समाजको पढ़ेका लेखेका युवा बेरोजगारिताको अनुहार हो। बेरोजगारिताको हेपाइ र दमनको उजगार गर्न खोजेका छन्। बाँच्नको लागि मानिसले अपनाउनु परेको अनुकूलतालाई दर्शाएका छन्। पाठक जस्ता नामक शोषणकारी हाम्रो समाजमा हिजो पनि थियो, आज पनि छ, भविष्यमा पनि जन्मिरहने छ। पाठक जस्ता शोषणधारीली बुझुने र सम्झाउने भाषा केवल भयमात्र हो भन्ने भावलाई कथाकारले बड़ो सुन्दररूपमा भयवादलाई प्रयोग गरेका छन्। भय-ले सिर्जना गरेको स्थितिमा कामकुरो सहजरूपमा हुँदोरहेछ भनी कथाकारले यस कथामा दर्शाएका छन्।
गान्धीको स्वराजमा-भित्रको कथाशिल्पः
लघुकथालाई चिन्हित गर्नमा शिल्प र शैली पनि उतिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ। लघुकथाकारले आफ्नो छुट्टै प्रकारको परिचय स्थापना गर्नमा छुट्टै शिल्प अंगालेका हुन्छन् । लघुकथाकार ढकालको रचना क्रियालाई सिपालु शिल्पका हातहरूले नाप्न सकिन्छ। शिल्पकारिता पक्षमा ढकालको लघुकथाहरू सुन्दर ढंगमा प्रस्तुत भएका छन्। छोटो संवाद एवं मोटो वर्णन शैलीमा कथालाई बुनेका छन् जस्तै-1. तिमी किन बुझ्दिनौ? त्यो भाई जसले जिउँदो हुँदा त केही दिएन-मरेपछि कत्रो देला र?(सांसारिक-बाट)
2.ऊ मैले गुरूको सेवा गर्ने मौका भेटें –म धन्य भएँ म खुशी भएँ-कारण उनी मेरो उपलब्धि हुन्-(उपलब्धी)।
3.सँधै यस्तै त हुन्छ गरूङ्ह्गो ठूलो पत्र आयो सँधै यस्तै त हुन्छ गरूङ्गो ठूलो पत्र आयो भने तपाईँको गोष्ठीको हुन्छ कि यात्राको-(पत्नीबाट)।
के यहीं स्वराज मागेका थिए गान्धीले(गान्धी-बाट)।
फरक, अम्मल, व्रती, फेरि एकपल्ट, वास्तव आदि कथामा छोटो-मोटो संवादशैली पाइन्छ। उसरी नै लघु कथामा व्यङ्ग्यात्मक शैली जस्तै भनाइ र गराइ, वोध, अम्मल र को बलवान? जस्ता लघु कथाहरूमा।
वर्णनात्मक शैलीमा रहेको लघुकथाहरूमा निष्कर्ष, वोध, व्रती, स्थिति र रहस्य आदि कथाहरू कथाको लघुतम रूपमा कथाकारले कथानाक, कथ्य, चरित्रविकास र कथाकार उदेश्यलाई फ्रस्ट्याउन सकेका छन्। संक्षिप्तमा कथालाई मोटोरूप दिन उसको कथा शिल्प र शैलीलीई सलाम गर्नुपर्छ।
लघुकथामा हुनपर्ने तत्वहरूले भरिएको गान्धीको स्वराजमा-कथाभित्र कथाकार राजेन्द्र ढकालले बाँचेको/भोगेको स्थितिलाई टिपेर स्पष्टरूपमा फोटोकपी गरेका छन्। यी कथाहरू पढ़ीरहँदा ढकाललाई बुझिरहनु गाह्रो पर्दैन। उनको सिर्जनाले दर्शाएका ती लघुकथाले उनको परिवेश समय र समाजको स्थितिलाई दह्रोरूपमा समातेका पाइन्छ। लघुकथाकारको जीवनशैली र परिवेशको नजीकरहेको ती लघुकथाहरूमा असमे नेपाली जनजीवनको बचाई, जीवन भोगाई, समाज र राजनैतिक एवं शैक्षिक वातावरणको सुगन्ध पाइन्छ। सर्जकको सिर्जनामा उसकै समाज र संस्कृति परम्परा जीवनशैली पाइरहनु भनेको सफल सिर्जना मान्न सकिन्छ।यसै सन्दर्भमा ढकालका लघुकथाहरूलाई लिन सकिन्छ। आकर वा आयामको दृष्टिकोणले मात्रै नभएर लघुकथामा हुनपर्ने तत्वहरू पाइन्छ। ती लघुकथामा अझ धेरै विषयवस्तु र विशेषताहरू पाइन्छ। गान्धीको स्वराजमा-लघुकथा सङ्ग्रह यतिबेला भारतीय नेपाली साहित्यमा कथा पाठकले खोजि-खोजि पढ़ने पुस्तक हुन् भनीरहँदा दुइमत नहोला।
दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु