स्मृतिमा विनय सर

- शान्ति सापकोटा

सिर्जनात्मक प्रशिक्षण कार्यक्रमका अध्यक्ष कमल ढकालले मलाई फोन गरेर भन्नुभयो, “भोलि बिहान बालसाहित्यसम्बन्धी निकै महत्वपूर्ण कक्षा हुनेछ, नछुटाउनु होला है मेडम ।” उक्त कार्यक्रमको पहिलो ब्याचको पहिलो विद्यार्थी म नै थिएँ । त्यो दिन २०७१ भदौ ३० गते थियो । म धोबीघाटस्थित आफ्नो निवासबाट बानेश्वरको थापागाउँमा रहेको लेखनकुन्जमा पुगेँ । त्यस दिनका प्रशिक्षक हुनुहुन्थ्यो, बालसाहित्यका आदरणीय लेखक विनय कसजू ।
गोरो अनुहार, फुलेको कपाल र शान्त स्वभाव– पहिलो पटक देख्दा नै मलाई त्यस्तो लाग्यो । विनय सरको नाम सुने पनि भौतिक रूपमा प्रत्यक्ष देखेको त्यसैबेला थियो । उहाँको परिचय कमल सरले दिनुभयो । त्यसपछि विनय सरले प्रशिक्षण कार्यक्रम अगाडि बढाउनु भयो । उहाँको प्रशिक्षण कार्य बिल्कुलै फरक थियो । आफ्नो अनुभव र भोगाइभन्दा पनि कसरी सिकाउने ? साहित्यानुरागीहरूलाई बालसाहित्यकार कसरी बनाउने ? भन्ने उद्देश्य उहाँको थियो । बालकथा किन लेख्नुपर्छ र कसरी लेख्नुपर्छ भन्ने जस्ता गहन कुराहरू गर्दागर्दै त्यसै समयमा थोरै अभ्यास पनि गराउनु भयो । त्यसले गर्दा मलाई बालकथा लेखनमा केही ऊर्जा मिल्यो । मनले भन्यो, “देशको भविष्य भनेका बालबालिकाहरू हुन् । उनीहरूलाई यस समाजमा सही दिशामा हिँडाउनु पर्दछ । असल मार्गमा हिँडाउन बाल सिर्जना गरिन्छ भने म पनि बालसाहित्य किन नलेख्ने ?”
प्रशिक्षण कार्यक्रम दुई घण्टाको भए पनि मलाई दुई मिनेटको जस्तो अनुभव भयो । समय त फुत्तै भागेछ । समय सकिएपछि सबै प्रशिक्षार्थी घर फर्किन थाले । कमल सरले विनय सरलाई खाममा पारिश्रमिक राखेर दिँदै भन्नुभयो, “हजुरलाई अहिले शान्ति मेडमले आफ्नो गाडीमा पु¥याउनु हुन्छ ।” फेरि मछेउ आएर भन्नुभयो, “विनय सरलाई बल्खु छोडिदिनू न मेडम ल ! बिहान हजुरलाई भनेको भए सरलाई लिएर आउनु हुने रहेछ । आखिर बाटो एकैतिर पर्छ । भन्नै भुलेँछु । ल भैहाल्यो अहिलेलाई पु¥याइदिनू । तपाईंको जय होस् ।”
फर्किने क्रममा विनय सरले सोध्नुभयो, “तपाईं के लेख्नुहुन्छ ?”
“कविता लेख्छु सर । अरू त खासै केही लेखेकी छैन । लेख्न मन लाग्छ । के लेखूँ के लेखूँ भइरहँदा डायरी लेख्छु । त्यत्ति नै हो । तर आजको कक्षाले मलाई धेरै ऊर्जा मिलेको छ । आज सरले भनेको सूत्र प्रयोग गरेर म पनि बालकथा लेख्न सक्छु कि भन्ने लागेको छ । सकँुला नि है सर ?”
“किन नसक्नु जत्ति पनि सक्नु हुन्छ । सबैभन्दा ठूलो कुरा मन हो । मनमा इच्छा भएपछि सकिन्छ । त्यसपछि लगनशीलता चाहिन्छ । विस्तारै भित्रबाट आउँछ ।” यति भनेर उहाँ चुप लाग्नुभयो । त्यति कुरा मेरालागि भने गुरुमन्त्र भयो ।
सम्भवतः चालकसँग धेरै बोल्न हँुदैन भनेर हो कि ! अथवा अन्तरमुखी स्वभावको भएकोले हो कि ? बानेश्वरदेखि बल्खुको जाम छिचोल्दै छिचोल्दै हामीहरू साँचल आइपुग्यौँ । उहाँले अगाडिको चोक देखाउँदै भन्नुभयो, “म झर्ने यहीँ हो ।” झर्ने बेलामा भन्नुभयो, “दुई तीनवटा बालकथा लेखेर मलाई पठाइदिनू । म हेर्छु तर प्रीति फन्टमा चाहिन्छ है मलाई त ।”
उहाँसँगको पहिलो झलकबाट नै बाल्यकालमा हराएका मेरा बुबाको झिनो सम्झना आयो । गुमाएका अभिभावक बाटोमै भेट्टाएँजस्तो लाग्यो । त्यस दिनको खुसी अलि बेग्लै थियो, त्यही खुसी लिएर घर पुगेँ ।
मैले रातदिन लगाएर दुईवटा बालकथा लेखेँ । छिट्टै नै प्रीति फन्टमा टाइप पनि सिकेँ । हात राम्रोसँग नबसिसकेकाले हजार शब्द टाइप गर्न तीन घण्टाभन्दा बढी समय लाग्यो । दुईवटा कथा टाइप गरेर एक हप्ताभित्रै सरको मेलमा पठाएँ । यति गर्दा ठूलै युद्ध जितेजस्तो लाग्यो । पठाएको दुई÷तीन दिनमै प्रतिक्रिया आयो, “शान्तिजी ! तपाईंमा बालकथा लेख्ने क्षमता छ । दुवै कथा राम्रा छन् । अभैm अरू लेख्दै जानुहोस् । धेरै धेरै शुभकामना छ ।”
विनय सरको मेल पढेर ठूलो हौसला मिल्यो मलाई । जुनसुकै क्षेत्रमा अघि बढ्न पनि अग्रजको हौसला चाहिँदो रहेछ । त्यसैबेला उहाँ अध्यक्ष रहनुभएको बालसाहित्यसम्बन्धी संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रसँग जोडिने मौका पाएँ र उहाँकै सक्रियतामा विभिन्न ठाउँमा उद्देश्यमूलक बालकथा लेखन कार्यशालामा सहभागी हुने अवसर पनि प्राप्त गरेँ । त्यसले गर्दा बालकथा लेखनमा मेरो कलम अझ माझिदै गयो ।
कम बोल्ने र धेरै काम गर्ने विनय सरको स्वभाव थियो । उहाँ ‘काम नगरी बस्नै मन लाग्दैन’ भन्नुहुन्थ्यो । त्यसैले गर्दा बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट हरेक महिना केही न केही कार्यक्रम भइरहन्थ्यो । त्यसले गर्दा हामीहरू सधैँ सक्रिय भइरहन्थ्यौँ ।
विनय सरकै सक्रियतामा उपत्यकाव्यापी बालकथा लेखन प्रशिक्षण कार्यक्रमहरू भए । त्यसमा मैले पनि सहप्रशिक्षकको रूपमा भाग लिने सुअवसर पाएँ । वास्तवमा बालबालिकालाई प्रशिक्षण दिएर लेखिएका कथाहरू सम्पादन गर्न पाउँदा मैले आपूmलाई गौरवान्वित ठानेकी थिएँ । यसरी आपूm पनि गर्ने र नयाँ पुस्तालाई पनि काम लगाउने उहाँको कला अचम्मको थियो ।
वि.सं. २०७२ चैत ११ गते सात दोबाटोमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रको बैठक थियो । बैठक सुरु हुनुभन्दा अगाडि उहाँ नजिकैको पुस्तक पसलमा छिर्नुभयो । त्यतिबेला उहाँले एउटा अङ्ग्रेजीमा लेखिएको बालकथा सङ्ग्रह किनेर मलाई उपहारमा दिनुभयो, त्यो दिन मेरो जन्मदिन थियो । एउटा गुरुको उपहार योभन्दा ठूलो अरू के हुनसक्छ र ! त्यस उपहारले मलाई बालसिर्जनामा लाग्न थप प्रेरणा दियो । बेलाबेलामा उहाँ भन्नुहुन्थ्यो, “कसैलाई उपहार दिँदा पुस्तक दिनुहोस् ।” साँच्चै पुस्तक उपहारले मनै सिर्जनशील हँुदोरहेछ भन्ने कुरा मलाई त्यतिबेला महसुस भएको थियो ।
२०७२ सालमै मेरो चितुवालाई झ्याइँकुटी बालकथासङ्ग्रह प्रकाशित भयो । मेरो किताब निस्किँदा उहाँ जति खुसी सायद म पनि भइँन होला । मेरोलागि किताब निकाल्नु ख्यालख्यालको कुरा थियो तर विनय सरका लागि त्यो अत्यन्त महत्वपूर्ण थियो । उहाँ भन्नुहुन्थ्यो, “एउटा बालसाहित्यकार, त्यसमा पनि महिला बालसाहित्यकारको पुस्तक निस्कनु आपैmमा महत्वपूर्ण कुरा हो, किनकि उनीहरू बालमनोविज्ञान सजिलैसँग बुझ्न सक्ने हुन्छन् ।” कुनै बेलाको बोली असाध्यै प्रिय र कहिल्यै नबिर्सिइने हुन्छन् । पुस्तक निस्केपछि उहाँले बधाई दिँदै भन्नुभयो, “शान्तिजी ! कम्प्युटर र कुर्सी कहिल्यै नछोड्नू होला ।” यो वाक्य पनि मलाई गुरुमन्त्रजस्तै लाग्छ । साँच्चै आजभोलि धेरै बेर कम्प्युटरमा बस्दा पनि विनय सरको वाणीको सम्झना आउँछ, आज उहाँको आशीर्वाद जुन मलाई मिलेको छ ।
अभिभावकत्वको न्यानो घामले तङ्ग्रिन नपाउँदै एकाएक बादलले छेक्दै थियो । सृष्टिको नियम कसले रोक्न सक्छ र ! हाम्रो ऊर्जाका स्रोत, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अभिभावकको एकाएक दुःखद् निधनका कारण म झरीले रुझेसरी भएँ । २०७६ को मङ्सिर महीना । उहाँ मेडिसिटी अस्पतालमा बसेको पनि धेरै दिन भइसकेको थियो । त्यतिबेला म कहिले सुनवल र कहिले भरतपुर भएँ । फेरि भेट गर्न नदिने गरेको गुनासो अरू अग्रज र साथीहरूबाट थाहा पाएँ । त्यसैले मन हँुदाहुँदै पनि अस्पताल जान हतारिइनँ । काठमाडौँ आएको बेलामा एक दिन जेसुकै होस् भनेर अस्पताल गएँ । गङ्गा मेडमलाई फोन गरेँ । अस्पतालको लिफ्टमा उहाँका माहिला छोरा दीपङ्कर भेट हुनुभयो । उहाँ बुबासँग विदा मागेर हिँड्नु भएको थियो । बुबाको यस्तो अवस्थामा पनि छोरो परदेश लाग्नुपर्ने कस्तो बाध्यता हँुदो रहेछ भनेर मन त्यसै–त्यसै अमिलो भयो । मनलाई कठोर बनाएर शुभयात्रा भन्दै म बिरामी कोठामा पसेँ । आँखाभरि उर्लेका आँसुलाई आँखाभित्रै दबाएर विनय सरको कारुणिक अनुहार नियालेँ । कहाँ हराएछ है त्यत्रो जाँगर र जोस, जुन आपूm प्रयोग गरेर पनि अरूलाई दिइरहनु हुन्थ्यो । कहाँ हराएछ आँखाको चमक र अनुहारको कान्ति ! त्यत्रो ऊर्जा आज विनय सरको भौतिक शरीरसँगै सुतिरहेको थियो । गङ्गा मेडमले ख्वाउन खोज्दा पटक्कै खान मान्नु भएन । त्यतिबेला उहाँको व्यवहार केटाकेटीको जस्तो देखिएको थियो । मैले त्यतिबेलै आस मारिसकेकी थिएँ । सरलाई सोधेँ, “मलाई चिन्नुहुन्छ ?”
उहाँले चिम्लिएका आँखा खोल्नुभयो र चारैतिर घुमाउनु भयो । मलाई पुलुक्क हेरेर फेरि आँखा चिम्लिएर भन्नुभयो, “शान्ति हो शान्ति ।”
सरलाई भेटेको भोलिपल्ट कोकगोष्ठी परिवारसँग देवघाटको निमन्त्रणामा गएकी थिएँ । मुग्लिङ नपुग्दै विजयराज आचार्य सरको फोन आयो, “हजुर कहाँ हुनुहुन्छ ? विनय सरको स्थिति नाजुक छ । आउनुहोस् न मेडिसिटी अस्पतालमा ।”
विनय सरको अवस्था सुनेपछि एकाएक यात्रारत मन खस्किदै कृष्णभीरको सुक्खा पहिरोजस्तै भयो । बसभरि आदरणीय अग्रज कविहरू हुनुहुन्थ्यो । उहाँहरूको कविताले सबैलाई जस्तै मलाई पनि आनन्दित बनाइरहेको थियो । मसँग बस्नुभएको थियो सरला खकुरेल आमा । उहाँ विनय सरलाई चिन्नु हुँदैनथ्यो । त्यसैले मेरो मनको विस्फोट उहाँसँग प्रकट गरिनँ । मेरो कविता सुन्ने चाहना त्यसै–त्यसै हराएर गयो । कृष्णभीर कटेर बस अगाडि कुदिरहे पनि मेरो मन भने पछाडि पछाडि दौडिन थाल्यो ।
देवघाट आश्रममा झोला बिसाएर बाहिर निस्किएँ । मन्जुजीको फोन आयो । पक्कै नराम्रो खबर होला । मेरो मनले अड्कल काट्यो । नभन्दै उहाँले भन्नुभयो, “विनय सर अब रहनु भएन ।” मन त थियो डाँको छोडेर रुन तर तीर्थधाममा आएका आदरणीय कविहरूको खुसीलाई बिथोल्न चाहिनँ । त्यसैले मन मात्र चुपचाप रोयो र चुपचाप आँसु पुछ्यो । आवाज आएन । नजिकै रहनुभएकी प्रभा भट्टराई म्यामलाई यो कुरा सुनाएँ । उहाँ पनि तरङ्गित हुनुभयो । शब्दले श्रद्धाभाव प्रकट गर्नुभयो । मलाई अलिकति सास आयो । जे भन्नु छ प्रभा म्यामलाई भन्दै गएँ । दुःख बिसाउँदै गएँ । अरू आदरणीय कविहरूको आनन्दलाई घच्च लगाइनँ । त्यसैले अरू केही बोलिनँ । बेलुकी कार्यक्रम सकिएपछि रमेश खकुरेल बाबालाई सुनाएँ । उहाँले पनि शब्दले समवेदना दिनुभयो ।
भोलिपल्ट बिहानै नदीमा गएँ त्रिशूली र कालीको सङ्गम, जहाँबाट दुवै नदी एउटै नारायणीमा विलीन थिए । जसरी बग्दछन् नदी त्यसरी बग्दछ जिन्दगी । भेट्नु र छुट्नु जीवनकै प्रक्रिया रहेछ । विनय सर, मेरा बालसाहित्यका पिता ! उहाँको भौतिक शरीर नभए पनि उहाँले देखाएको बाटो भएर म निरन्तर यसरी नारायणी भएर बग्न पाऊँ भनी प्रार्थना गरेँ । यस्ता नदीजस्ता निर्मल पितालार्ई अन्जुलीले जल अर्पण गरेर श्रद्धा प्रकट गर्नुबाहेक अरू के नै गर्न सकेँ र !
(धोबीघाट, ललितपुर)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु