एक अत्यन्तै कलात्मक र शक्तिशाली आख्यानः पसिनाका पाइला

- प्रा. डा. गोविन्दराज भट्टराई

दशैं लाग्ने बेलामा अविरल भतिजले यो पुस्तक ल्याएर छोडेछन् । मलाई बेलुकामात्र थाहा भयो । यसको आगमनबारे निकै अघिदेखि सूचना पाउँदै आएको थिएँ, फेसबुकले देखायो राम्रो आवरण पृष्ठ, स्रष्टा भाइ लक्ष्मण गाम्नागेले पनि सुनाए आउँदैछ दाजु यस्तो माल भनेर ।
म ठान्दै थिएँ मनमा, कुन दिन भाइले पाण्डुलिपी पठाउँछन् होला । उनका धेरै पुस्तकमा मैले लेखेको छु । हास्य व्यंग्य कविता र निबन्धमा देशमै बैल्यो गरी स्थापित स्रस्टा उनी. यो भिन्न विधा, झन् खुशी बोकेर आउँनेछन् । हाम्रो परिवारको नयाँ उपन्यास ।
तर ‘पुस्तकै आयो’ भनेपछि मनमा आंशिक क्रोध उत्पन्न भयो– अब भाइले टेर्न छाडेछ भन्ने । अनि मनले पनि निश्चय गरेँ– यसको पुस्तक पनि म पढ्ने छुइन । तर त्यस्तो कुरा अरुलाई सुनाउनु भएन । जोरीपारीले खुच्चिङ गर्लान् । आफूले ता ६ वर्षको उमेरदेखि यो काखमा बोकेको पनि ५२ बर्ष बितेछन् । हिजोआज सुन्दा कसैलाई ता म भर्खर ४२ पुगेँ भन्दा रहेछन् । उनले ‘गाम्नागे’ पदवी लिएको पनि पछि नै हो । पाठकले नै हिसाव गरुन् उनको उमेर कति भयो !
मैले रिसमा नपढ्ने विचार गरेँ, तर अञ्जनाले त्यही दिन थालिछन् । सकेर लेखिछन् पनि, थाहा भएन । दाजुले पनि त्यही दिन थालेर सक्नुभएछ र लेख्नु पनि भएछ । अरु पाठकका पाठकीय मन्तब्य पनि निरन्तर आउन थाले । उनीहरू मलाई प्रत्येकपल्ट सोध्ने गर्छन्, “दाइलाई गाम्नागेले नयाँ पुस्तक दिएनन् ? गज्जव छ वा !” “दाइलाई गाम्नागेले भूमिका लेखिमागेनन् ? गज्जव छ वा !”
तथाकथित दशैं आयो । पहिराले छोपेको घरबारी जस्तो । त्यसै त्यसै मनको कटेरामा लुकेर बितायौँ । त्यसमाथि पनि कामका भारीले थिचिएको । पसिनाका पाइला नपढ्ने नै बिचारले बसिरहेको थिएँ । एकदिन सुनेँ– भाइ गाम्नगेलाई कोरोनाले गाँज्यो, बुहारी, छोराछोरीसहित । त्यसपछि दिनानुदिन फोन गर्छु, हाल सोध्छु, बोल्दाबोल्दै घाँटी अवरुद्ध सुन्छु । फेरि भोलि सोध्छु, झन् साह्रो छ । पर्सि सोध्छु– बोल्नै नसकिने छ । भेट्न जाने आँट छैन । हाम्रा परिवारका दुई लडाकु, राम र लक्ष्मणलाई कुन दोखले यो व्याधी कहाँ सल्कायो थाहा छैन ।
पन्ध्र दिन पछि बीसको उन्नाइस भयो भने, फेरि अठाह्र, अनि सत्र गर्दैगर्दै तीनमा झ¥यो । भिडियो कलमा बोलाएर हेरेँ, साढे चौँसठी कोलोको भाइ ता ४२ किलोजस्ता देखिने गरी सुकेछन् । अनि धेरै माया लागी खपीनसक्नु हुँदा तीन दिन अघि फोन गरेर भनेँ, ‘बेस्सरी भिटामिन पेल्नु भाइ ।' त्यसो त यो कुरा अरुलाई पर्दा वेदान्त, आफूलाई पर्दा मर्लान्त भने जस्तै हो । तै पनि तिमीहरु प्रथम विजेता हौ ।”
अनि भाइको मायाले पढ्न बसेँ । दुई दिनमा सक्न कस्सिएको अलिकति समय चुँडेर अर्थोकलाई पनि मन्साउनु प¥यो । हिजो राति कुतुहलपूर्ण १५ पृष्ठ बाँकी छाडेर सुत्न झरेँ । त्यस पीरले आज तीन बजे उठेर त्यति सिध्याई केही लेख्न बसेको छु ।
पढिसकेपछि पनि एकपल्ट भाइप्रति मनमा क्रोधै उत्पन्न भयो– यस्तो शाक्तिको भाषा र शैलीको वरदान पाएका गाम्नागेले जीवनका धेरै वर्ष यो शक्तिलाई अप्रकट लुकाएर हाम्रो ठुलो नोक्सान गरे. । बितेका चार दशक आख्यानमा मात्र समर्पित भइरहेको भए उनी कहाँ पुग्थे होलान्, हाम्रो परिवार कहा पुग्थ्यो होला कल्पना गर्न सकिँदैन ।
उपन्यासलाई जीवनको प्रतिरुप कल्पना भनिएको छ । प्रत्येक आख्यान कल्पना हो तर फेरि प्रत्येक आख्यान यथार्थकै प्रतिविम्व कल्पना । भनिएको छ fiction is something made out of nothing आख्यान भनेको एउटा चिज हो जसको निर्माण सुन्यबाट हुन्छ।
पसिनाका पाइला जोर चुल्ठी बाटिएको कला रहेछ । पढिसक्ता लाग्यो यसबाट दुई स्वतन्त्र आख्यान बन्ने रहेछन् । अहले पनि बनियेरै टासिएका मात्र हुन् एक भएर पति–पत्नी जस्ता । उनीहरू एक्ला एक्लैमा पनि पूर्ण मानव हुन् तर फेरि नारीलाई लाग्छ ‘म दापको एउटा मात्र फब्लेँटो हुँ, पुरुषसँग नजोडिई पूर्ण हुन्न ।’ पुरुषलाई लाग्छ– ‘म दापको एउटा मात्र फब्लेँटो हुँ, नारीसँग नजोडिई पूर्ण हुन्न ।’ सृष्टीको रहस्य तेस्तै ।
प्रस्तुत आख्यानमा नारी र पुरुष जोडिने र फुक्लिने कर्महरूको एक अनन्त शृङ्खला बुनिएको छ । जीवन भोगेर सकिने बेलामा पनि एकले अर्कालाई नभेटेर छामिरहेको हुन्छ ।
हाम्रा सम्पूर्ण सुख र दुखका, आशा र निराशाका आदि–श्रोत नर–नारी नै हुन् । तिनैको मिलन र वियोगका शृङ्खलाले बनेको प्रस्तुत आख्यान जीवन जस्तै यथार्थ र अति सुन्दर छ । सुन्दरको तात्पर्य दुखको मसला पनि पर्याप्त चाहिन्छ नत्र त्यो कृत्रिम लाग्नेछ।
तर भूगोल, इतिहास, संस्कृति, धर्म र चेतनाको चौघेरा हेर्दा यो नेपालको एक जीवन्त विम्व हो । तीसका दशकदेखि पचासभित्रको, लेखकका जीवनका संघर्ष प्राप्ति र वञ्चनाको ।
त्यसो त यो हामी सबैको हो । त्यसमा पनि भूटान, सिक्किम, कालेबुङ, दिङ्ला, चन्दनपुर आदि गर्दै विद्याको तिर्खाले भौँतारिएर उडेका हाम्रा पिता कुलको जीवनी गाथा पृष्ठभूमिमा राखेर यो जन्मिएको छ भने यतिखेरको सर्वोन्नत भूमि अमेरिका पुगेर यसको यात्रा बिसाएको छ । त्यसैले यो नेपाली जातिको कथांशको एक झलक जीवनी हो ।
त्यसमा पनि हाम्रो परिवार पूर्वका अक्कर भीर र पहाड नाघ्दै मधेश झ¥यो । औलो र उष्णता खप्तै त्यहाँ जीवन खोज्यो, त्यहाँबाट मुक्ति र उज्यालो खोज्दै काठमाण्डौ बेगियो । आज हाम्रा परिवारका २०० भन्दा बढी सदस्य काठमाण्डौमा टेकिएर अन्यत्रतिर उड्न पखेटा चाल्दैछन् ।
यसमा पनि अध्ययन खातिर काठमाण्डौ प्रवेश गर्ने छोरा–छोरी खालमा म नै पहिलो थिएँ २०३० सालको असारमा जुनबेला सिंहदरबार जल्दै थियो । दोस्रो लटमा हाम्फाल्ने एक पात्र हुन् भाइ लक्ष्मण गाम्नागे लगायतको एक हुद्दा बढ्दै गयो.
यी सबै संघर्षहरू प्रकारान्तरले उनकै हुन् अथवा हाम्रै परिवारका । म अघिअघि भोग्दै थिएँ, पछिपछि एक हुल भाइबैनी । गाम्नागे मात्र होइन, अझ पहिले राम, छविलाल, माधव भाइहरु थिए । कमल खगेन्द्र, लक्ष्मण, माधवा आदी पात्रहरु त्यसैबेलाका थिए । सबैका नाम भिन्न छन. कति फ़ेरिये. यो जीवनको प्रतिच्छाया हो कलाले बुनिएको।
यो आख्यान भाइको जीवनीपरक गाथा हो । तर जीवनीले ता डाँडाभाटा मात्रै बुन्छ त्यसमा खाँबा–खुट्टी, भित्तो–छानो, र कोठा–चोटा आफैं थप्दै सबै कल्पनाको प्रचुरताले लगिन्छ । त्यसैगरी यहाँ थपघट पारिएको छ । तर घडेरी त मेरै हो पनि कसरी भन्नु, त्यो उखेलेर भाइले आफ्नो पो घर बनाएछ ।
म लेखौँला भन्थेँ, कलम कापी ठिक्क तिखारेर बसेको थिएँ, त्यो ब्रह्मटोलको नर्ककुण्डमा डेरा गर्ने, दिसा बस्न टेकु दोभानको सिस्नोघारी पुग्ने, जैसीदेवलको पानतले टावरमा दोब्रिएर पानी बोक्ने, बागबजारकी बिनावी बुढीको पानी खन्याइमाग्ने, ठमेलदेखि फ्याङ्ग्रे साइकलमा बत्तिएर पढाउन धरमथली पुग्ने अरु कोही थिएन, त्यो गोविन्दराज भट्टराई नै थियो, संगसंगै लागेर मच्चिने इने लेखक लक्ष्मन थिये. ती ठाउँमा भाँडा कराही माझ्ने, बढार्ने र बूढीहरूबाट तर्केर हिँड्नकला हामीले सिकेका थियौं। भाइ सबैतिर भोक्ता नै थियो । म लेखौँला भन्थेँ, उसले पो लेखेछ । केर्खा बजारका टहरालाई झोडाका दोकाने लिम्बूले ओगटे जस्तो ।
प्रथम कृत्ति विशेषगरी सबै नै असी प्रतिशत भनौँ जीवनीपरक हुन्छ । विश्वभरि त्यस्तै छ । सानै उमेरमा आसामतिर लागेका लील बहादुरले बसाइँ लेखे, दार्जिलिङ कालेबुङको परिवेश भोग्ने लैनसिंह वाङ्देलले माइतघर, दार्जीलिंग भोग्ने इन्द्रबहादुर राईले आज रमिता छ भूटान घुमेर आएको मैले मुगलान, खोज्दै जाँदा सबैको त्यस्तै हो । पूर्वदेखि आएको, काठमाण्डौ, नुवाकोट, रसुवा आदि आदि गर्दै अनेक जागिरका आशा र हण्डर खाँदै मर्दै बाँच्दै गर्ने गाम्नागेले आफ्नो कथासँगै दृष्टिकोण लेखे पनि यो सबैमा लागु हुन्छ ।
पात्रहरू जुटाउन ठूलो कल्पना गरेका छन् । सहदेव र उर्मिलालाई अमेरिकामा पक्रेर फ्ल्यासब्याकमा खोतल्दै जाँदा आत्मअनुभूतिमा यी कुरा आएका छन् । अन्त्य पनि उतै हुन्छ।
पात्र–पात्रा धेरै छन् । लामो जीवनमा कति हो कति आउँछन् जान्छन् । तर यसमा तिनै आआफ्ना जीवनी बताउँदा सहदेव र उर्मिला अनि घरकी आमा विशिष्ट स्थानमा, अरु बहिनी, साथी भाइ पत्नी धेरै अभिन्न सदस्य पनि छन् । तर यसको सार तत्व खिचेर म चार कुरा भन्दछु–
(क) यो भर्खरै शिक्षाको ÷चेतनाको उज्यालो देखिन थालेको नेपाली समाजमा जन्मेका सचेत र शिक्षित परिवारका सन्तानले ठूलो उज्यालो खोज्न गरेको संघर्षको पृष्ठभूमिको कथा हो । उसबेला वीएड पढ्न झापादेखि काठमाडौ आउनुपथ्र्यो । आज घरघरै डिग्री कलेज छन् । उसैबेला यस्ता अवसर स्थापित भएको भए देशै उल्टिएर काठमाण्डौमा खााँदिने थिएन ।
(ख) समानान्तर रुपमा नेपालमा एकतन्त्री (पञ्चायती) शासन पद्दति भएको समय अन्य पार्टी, दल बिचार कसरी निशिद्ध थिए, कसरी भूमिगत संगठनहरू विचारका संवाहक भए र क्रमशः २०३७, २०४६, २०६२ गर्दै केही परिवर्तन आउन सक्यो यहा त्यसको अलिकति गम पाइन्छ ।
(ग) यसमा नारी स्वतन्त्रताले सर्वोच्च स्थान लिन्छ । हाम्रो जस्तो रुढ समाजमा धर्म–संस्कार भन्दा पनि जातपात छुवाछुतको अमानवीय शृङ्खला अभ्यास हुने ठाउँमा उर्मिला, लेखकपत्नी, बहिनी, लेखक– अरु पात्रले पनि उग्रतातिर नगै अनेक अभ्यासलाई सहज बनाउन खोजेका छन् । नर र नारीको अस्तित्व र मनलाई मात्रै केन्द्रमा राखी मानवनिर्मित भेदका वाधाहरू नाघेर देखाएका छन् ।
(घ) नयाँ पुस्ताले कति दुखले संघर्षले चेतनाको संसार खोज्ने प्रयत्न गरेका छौँ । त्यो उता भूटानदेखि इलाम, विराटनगर, काठमाण्डौमा हामी नै थियौँ । आज एक सर्बमिश्रित अमेरिकासम्म पुग्यौँ । यो सारा हाम्रै कथा हो ।
सर्वाधिक महत्वको कुरा चाहिँ अत्यन्त सुन्दर पूर्वेली नेपाली बोलीमा अन्यत्रको पनि भाषिक सुवास मिसाउँदै औपचारिक अनौपराचारिक एकै ठाउमा जोड्दै उच्च शैलीको निर्माण गरेका छन् । जिज्ञासा र कौतुहल सिलाएर अब के होला, यसो भए हुन्थ्यो भन्ने कुरामा चिन्तित पाठक सँगसँगै दौडिन्छ ।
मूल पात्रको सकारात्मक, जीवनवादी दृष्टिकोण, उच्च मनोवल– यी कुराले नयाँ पुस्तामा प्रभाव पार्नेछन् भन्ने लाग्दछ ।
समग्रमा यो एक अमर कृति आयो । बेलाबेला व्यङ्ग्य छ, हास्य मिश्रित ठट्टा, उक्तिहरू, गीतहरू नेपाली भाषाको अन्तरतहसम्म पुगेर निर्माण गरिएको ।
त्रुटी भन्नु त्रुटी ता होइन बेलाबेला लेखक बिस्तारै सम्म बाटो नहिँडेर पाखैपाखा हाम्फाल्छन् । उनी शान्त भएर विस्तारै सम्म ठाउँमा बगेको बेला एक जादूगर लाग्छ ।
यत्रो शक्ति गोप्पे राखेर सम्पूर्ण जीवनसाहित्य कलाकै तर अन्य कर्ममा होम्ने भाइलाई एक मुड्की हान्ने मन छ तर धेरै धराप छ, विचारणीय छ यो निर्णय । वास्तवमा जति साहित्य गरे पनि आख्यान नासिर्जेसम्म लेखक पूर्ण हुदैन।
समकालीन नेपाली उपन्यासमध्येको उत्कृष्ट हारमा उभिने पसिनाका पाइला नपढ्ने नब लेखकले धेरै गुमाउँछन कि भन्ने चिन्ता छ मलाई । मुख्य कुरा ता जादू जस्ता कथा बुन्ने यो अद्भूत कला देखेर कतिपटक मै लोभिँदै थामिँदै गरेँ । मेरो मूल्यांकनमा यो वर्षकै एक उत्क्रिस्ता कृति हो।
छिट्टै अर्को उपन्यास आओस् त्यसमा चाहिँ पाण्डुलिपी पढ्न पाउँ ।

कीर्तिपुर

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 7 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु