पात र बतासको कथा

- शिव गौतम.

अचानक रखमा पातहरुले साउती, र
मसिनो कोलाहल गर्न थाले
हलचलका चापलाई हाँगाहरुले
हलुका-हलुका हल्लाउन थाले
बतासले फेरि पनि पातलाई
आश देखायो होला
मसँग आयौ भने
आकाशै-आकाश उडाई लान्छु भन्यो होला।

बतासले सँधै यस्तै मीठा-मीठा
बात गरेर जान्छ
पातका मनमा तूफान र आँधीको
भावी जीवनमा एउटा बरबादीको
सुरुवात गरेर जान्छ।

आफ्ना सखा र शाखा छोडेर
आफू हुर्केका हाँगा र बिँगालाई छोडेर
मुलायम सपनाहरु सँगालेर
पात एक दिन पलायन गर्छ
बातास सँग, बतासकै हात समाएर।

आकाशमा घरी फिरिरी नाच्दै
घरी माथि घरी तल झर्दै
हवाका छाल सँगै
आरोह र अवरोह सँगै
रुखलाई बिर्सेर
आफ्ना दु:खलाई बिर्सेर
बादल सँग जिस्किँदै, मस्किँदै
आकाशै-आकाश
पात र बतास।

मायालु हातहरुले छाम्न छोडेपछि
बतासले थाम्न छोडेपछि
एक पल्ट झरिसकेको भनेर
गौरव र गरिमाबाट गिरको भनेर
रुखले आफूसँगै फेरि गाँस्न नमानेपछि
पातपतिङ्गर भएर
कतै कसिङ्गर भएर
बाटो हेरिरहन्छ
कुनै दिन फरि अर्को बतासले
उसको जीवन उचालिदिन्छ कि भनेर।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु