अन्योल

- राजेन्द्र पौडेल.

पल्लो गाउँका ठुलाघरे इलमे काका इलमकै खोजिमा यताउता भौँतारिरहे । बर्खे पानी नओत्ने घरको छानो हेरे । बृद्घ आमाको च्यातिएको चोली हेरे । श्रीमतीको निन्याउरो अनुहार अनि साना छोराछोरीको सुकेनास लागेजस्तो ज्यान । के गरौँ के नगरौँ उनी अन्योलमा परे । ठुलाघरे र इलमे नामले आफैलाई गिज्याएजस्तो अनुभव गरे । अब आमाको चोली फेर्ने , श्रीमतीको अनुहारमा चमक ल्याउने र छोराछोरीलाई पेटभरी खाना खुवाउने सपना बोकेर कहीले इन्डिया त कहीले साउदी , कतार गरे । उनले जान नखोजेको देश र गर्न नखोजेको काम सायदै बाँकी होलान् । लगातारको प्रयासपछि इलमे काका ऋणधन गरेर जापान प्रवेश गरे ।
केही समयपछि श्रीमतीलाई पनि यतै बोलाए । मेहनत गरेर ऋणधन पनि मिलाए । घर बनाए । एकदुई ठाउँ घडेरी जोडे । छोराछोरीले राम्रो पढून् भनेर निजी विद्यालयमा भर्ना गरे । पछि सेमीबोर्डस , बोर्डस अनेक गरे पढाइको स्तरमा खासै सुधार देखिएन । उनीहरूले जेनतेन एसएलसी पास गरे । राम्रो पढ्लान् , प्रगति गर्लान् भन्दा झन उच्चशिक्षा प्रवेश गरेलगत्तै कुलतमा फस्न लागेको खबरले काका दुखी भए । कुलतमा फस्न दिनुभन्दा यतै बोलाउनु उपयुक्त ठानेर यतै बोलाए ।
यता आएपछि काकाकाकीलाई छोराछोरी पढाऔँजस्तो पनि लागेन , छोराछोरीलाई त झन हाइसुख , पढाइको नाम नै लिन चाहेनन् । उनीहरू सबैले पढाइको अन्तिम उद्देश्य पैसा कमाउनु नै हो भन्ने ठानेर सबै मिलेर काम गर्न थाले । महिनामा तीनचार लाख कमाइ हुन लागेपछि सबै दङ्ग थिए ।
उता इलमे काकासँगै पढेका साथीले आफ्ना छोरीहरू पढाउन अनेक सङ्घर्ष गर्दै थिए । उनी इलमे काकाजस्तो विदेश जाने चक्करमा त कहिल्यै फँसेनन् तर गर्न नखोजेको काम कुनै पनि बाँकी थिएनन् । आफ्नै साथीले आफ्ना छोरीहरूको शिक्षादीक्षाका निम्ति बाख्राकुखुरा पाल्ने, खेतीपातीदेखि ठेलागाडामा तरकारी बेच्ने गरेको , छोरीहरूको उच्चशिक्षाका निम्ति खर्च जुटाउन नसकेर जग्गाको टुक्रासमेत बेचेको सुनेर सहयोग गर्नुकोसट्टा यता इलमे काकाको परिवार खिसिट्युरी गरेर बसिरहे । चारपाँच वर्षसम्म यिनीहरूको खुट्टा भुइँमा भएन ।
उता साथीका छोरीहरू पढाइ सम्पन्न गरेर एउटीले सिभिल इन्जिनियर बनेर देश विकासको नक्सा कोर्न थालिन् भने अर्कीले गाउँमै कृषिफार्म खोलेर बाआमासँगै काम शुरु गरेकी छन् । यता इलमे काकाका छोराछोरीहरू नेपालका डाक्टर , इन्जिनियरले भन्दा धेरै कमाउँछौँ भन्दै फुर्ति गरिरहे । आफ्ना सन्तानहरू अठारबीस वर्ष पुगेपछि स्वतन्त्र जीवनयापन गर्ने जापानी समाजमा चौबीसपच्चीस वर्षका छोराछोरी बाबुकै डिपेन्डमा भएकाले भिसा नवीकरण गर्ने समयमा अध्यागमनले प्रश्न ग¥यो । काका फेरी अन्योलमा परे । वकिलसँग सल्लाह गरी अनेक जुक्ति लगाएर यसपटकलाई एकवर्षका लागि भिसा नवीकरण गराए । अर्काे वर्षसम्ममा छोराको विजनेस भिसा बनाउने र छोरीको विवाह गरिदिने सोँच बनाए ।
केही समयपछि काकाले छोराको विजनेस भिसा एप्लाइ गरे । छोरीको विहेका लागि जापानमा पढ्दैगरेको केटो खोजे अनि नेपाल गएर एकैपटक छोराछोरीको विहे धुमधामसँग नै गरिदिए । अब छोराछोरीलाई एतै बस्ने वातावरण मिलाएर दुईचार वर्षपछि नेपाल फर्किएर सुखको सास फेर्ने सुन्दर कल्पना गर्दै थिए तर अफसोस ! छोराको विजनेस भिसा लगाएर बुहारी बोलाउने , ज्वाइँको वर्किङ्ग भिसा बनेपछि छोरीलाई ज्वाइँको डिपेन्डमा सारिदिने योजनामा कुठाराघात भयो । अध्यागमनले नत छोराको भिसा दिएर बुहारी बोलाउने सपना साकार हुन दियो नत ज्वाइँको भिसा दिएर छोरी अड्याउने । बरु उल्टै विद्यार्थीले नियम विपरित ओभरवर्क गरेको आरोपमा ज्वाइँलाई एकमहिने तयारी भिसा थमाइदिएपछि इलमे काका आज पनि अन्योलमा परेका छन् ।

टोकियो जापान

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु