मृत्यु घुमेको दिन

- विमल लामिछाने

काले भाग, भाग छिटो भाग । मर्नलाई घर आको ? तेरा मामाहरु आउदैछन् रे छिटो भाग । अघिल्लो वर्ष चौरासी पुगेकी हजुरआमाले लौरो टेक्तै छेउमा आएर सुटुक्क कान फुकिन् । हजुरआमाका गोडा थरथर कामेका थिए । कालेले खनेको उसकै गाउँको बाटो भएर ऊ कालेको मृत्यु बोकेर कालेकै घर घेर्न आउँदैथियो । मृत्यु घुमेको खबर सुनेर कालेपनि निकै डरायो । आङ सिरिंग पार्यो र तनक्क जीउ तन्काउँदै पुलुक्क पछाडी हेर्यो अनि आमैका पछ्यौरीको पर्दामा लुक्तै ओरालो खनियो ।
विर्खेडाँडामाथि विरौटै खेतका टुप्पाको घुमाउने आलीमा टुक्रुक्क बसेर शीरको छत्रेटोपी झिकेर अनुहार हम्किँदै कालेले सम्झियो— सँधै रेडियोमा आउने धोकेबाज र कथित आतंककारीको मृत्यु झै घुम्दै गरेको आफ्नो मृत्यु । अनि मानसपटलमा समाचार बनेर घुमिरहयो उसका बा, आमा, उनै हजुरआमा र श्रीमतिको चित्कार । आफ्नो पसिनाले भिजेको माटो, आपूmलाई मायाँ गर्ने गाउँ, डाँडाकाँडाले भरिएको जुकेनीका फाँट, याक्सी र सीमखेतका गह्राहरु चक्कर मार्दै आँखाभरी फनफनी घुमेको देखेर अझ सम्झियो आफ्नै चिता र मृत्युले घेरा मारिरहेको बुद्धको देश ।
अलि टाढा जानपनि उसका खुट्टा लागेनन् । फर्किनपनि सहज थिएन । साहस बटुल्दै उसको मृत्यु आउने गौडा कल्पियो— हँ हो साच्चै मलाई लिन आउँदैछ त ? गर्गरेको ओरालो हुँदै कि सल्लेरीको उकालो हुँदै ? यत्रो गाउँका मान्छे कही जानुपरे मेरो अनुमति लिन्छन् । मलाई नसोधी कोही सदरमुकाम छिर्न त पाउँदैन । सारा गाउँ मसँग थरर कामेको छ । उ मेरा सामुन्य शीर नझुकाई कसरी आउँछ होला ? कायर मृत्यु ! लुकेर आउँछ या मैले थाहा नपाउने गरी पैदल नै सुटुक्क आउँछ ? घरपछाडीका चियाका बुट्टामा या अलैंचीका बोटहरुमा लुसुक्क लुक्तै पो आउने हो कि ? साँझको झिसमिसेमा वा विहान मान्छेको निन्द्रा नखुल्दैको मिर्मिरे उज्यालोसँगै आउने हो .... ?
अँ हँ तर उ आउँन सक्तैन । आइगएपनि उसले मलाई चुडाउन सक्ला तर मलाई विश्वास छ मेरो वर्गीय मुक्तिआन्दोलनलाई चुँडाउन कदापी सक्ने छैन । कालेले विश्वास बटुल्यो र घुमाउने खेतको आलीमै ढल्कियो ।
काले धेरैदिनको थकानले खत्रकै गलिसकेको थियो । लोलाएझै भएको रहेछ । एक्कासी जीवनभर कहिल्यै नदेखेको भिमकाय राक्षसजस्ता जंगली भेषका हतियारधारी मान्छे कोही सामुन्नेबाटै झम्टिँदैथिए, कोही घेरा मार्दै । कालेको मुटु ढक्क फुल्यो ।
मनमा त्रासको बाढी बगिरहेको भएपनि केही प्रारम्भिक प्रश्नहरु गर्न तम्सियो काले । अरु प्रश्न त के गर्नु, उही तपाई को हो र यहाँ किन आउनु भयो ?
कालेको प्रश्न भूँईमा खस्न नपाउँदै उसले कालेको दाउरे हात मकै भुट्ने सिन्का समाए झैँ च्याप्प समायो र भन्यो तेरो काल हुँ म । ‘ल अब उठ, आजबाट तेरो मिति सकियो । काले धेरै यातनापछि जेल कोचिन्छ, आतंककारीको जनसरकार प्रमुखको बिल्ला भिरेर ।
अलिपछि काले जेलबाटै चिठी लेख्छ, — हजुरआमा, गाउँ त्यस्तै छ कि कस्तो भयो ? खमारेमा धान पाक्यो कि, तपाईहरुलाई खान पुग्यो कि पुगेन ? पुगेनभने डाँडबारीको मकै कोदो जे मिल्छ खानु है, तर मेरो कत्तिपनि चिन्ता नगर्नु, किनभने म मामाघरमा छु ।
म मामाघरमै खाँदैछु, मलाई मामाघरको मेजमान राम्रो मिलेको छ । पहिले हजुरबाले दारको ठूलो ठेकीमा फनफनी घुमाउने मदानी झै बेरिएको छ मेरो शरिर । तपाईले कल्पनासमेत नगरेको विकसित मेरा मामाघरमा आजकल डिजिटल मापन गरेर खाना दिने चलन छ । दाल भातका साथै चखिलो चटनी मामाहरुले पालैपालो पस्किनुहुन्छ, म ज्युनार गर्छु, स्वादिलो मानेर । नखाउँपनि कसरी सानैदेखि तपाईले तेल लगाएर सुमसुम्याएका मेरा कल्कलाउँदा कलिला हात र खुट्टाका औलाहरुमा पिन ठोकेर भएपनि पालैपालो ट्यूवेलको पानी पेले झै मामाहरुले पेल्नुहुन्छ, भल्भली । अनि म मेरै आँखामा सञ्चित नुनिला ढीक्कासँग तिनै राता पानीका फोहोराहरु तनतनी पिउँछु र प्यास मेटाउँछु ।
म यहाँपनि त्यहीँ मुक्त आन्दोलन र त्यही गरिबी पढ्दैछु, हजुरआमा । आजकल मेरो भजन कृतनपनि शुरु भएको छ, लामखुट्टे र भुसुनाले बजाएको मुर्चुङ्गामा म रमेकै छु यो चिसो सिँडीमा । त्यसैलाई ओच्छाउँदैछु र त्यही ओढ्दैछु । मामाघरमा मलाई आराम छ हजुरआमा । गरिबीले निम्त्याएका समस्याहरु गन्दै म यसैको रापतापबाट दिक्षित हुँदैछु । दुई हातले लामखुट्टे मारेको अंक जोड्दै र मृत्यु र मुक्तिका दिनहरु घटाउँदै गरिबमाथिको सामाजिक विभेद घोक्तैछु । त्यसैले हजुरआमा, मेरो पीर पटक्कै नगर्नु है । म सकुशल भएको खवर मेरी प्रियसी, आमा र बालाईपनि सुनाइदिनु है, म मामाघरमै छु । उही तपाईहरुको काले ।
एक वर्षपछि काले रिहा हुन्छ । कालेले पहिले हजुरआमालाई नै सम्झिन्छ, अनि क्रमशः परिवार र उसैको इच्छा र सहयोगमा बुबाले चैतको पसिना पुस्तै दुःखले आर्जेकोे फुसको घर । काले हानिएर जान्छ र खोज्छ, तर घर भेट्तैन । अनि खोज्छ परिवार । न उसले हजुरआमा भेट्छ, न बुबा र उसकी प्रियसी नै । फगत उसले भेट्छ त केवल अर्धचेतकी शोकाकुल निरीह विरामी आमा...... । त्योपनि अलिपर छिमेकीको गोठमा । आमा, आमा, ए.. आमा...। अँ हँ कालेकी आमाको आवाज खुलेन, मात्र हात हल्लाइन्, र बच्चाले मन कुड्याउँदा झै मुख पारेर भक्लक भक्लक झारिन परिवारको कहालीलाग्दो विछोडमा तड्पिएको मनभित्र बयल्लीसकेका आँशुका ढिका । काले स्तब्ध ।
०००
कालेलाई देखेर डिलमाथिबाट छिमेकी भाउजु कुदेर आउँछिन् र सुनाउँछिन् कालेकी आमाको कहानी । ‘जुनदिन तिमी फन्दामा परेको थियो । त्यही दिन नौला मान्छेहरुले तिम्रो घर घेरे, बालाई बाँधे र रणसंग्राम मच्चाए । आमा र तिम्री श्रीमति बलात्कृत भएछन् । तिम्री प्रियसीलाई अलिपर खोल्सामा पालो पालो... र छोपेर गए । बुढी हजुरआमाले प्रतिकार गर्दा गोली लाग्यो रे । उनीहरुले त्यही दिन घरपनि जलाइदिए, गाउँलेलाई बन्देज थियो त्यहाँ जान । बुबालाई बाँधेर लगेका थिए अहिलेसम्म फर्केका छैनन् । भोलीपल्ट घरमुनी मकैबारीमा तिम्री आमाको धड्कन चलेको देखेर गाउँलेले उ त्यो गोठमा राखिदिएका हुन् । पालो पालो खान दिँदैछौ ......।’
कालेलाई छाँगाबाट खसेजस्तै भयो । अमिलो थुक अड्काउँदै निल्यो, घिरौला जस्तो घाँटी तनक्क तन्कायो र सुकीसकेका उसका आँखा फेरि फनफनी घुमे, जसरी त्यो दिन घुमेको थियो । मुर्मुरियो, चिच्यायो, बर्बरायोपनि तर उसको के लाग्थ्यो र । शारिरिक रुपमा काले निरिह र कमजोर थियो । तरपनि उसको तर्कना, तिर्सना अनि उसले बुझेको सामाजिक विभेद र वर्गीय आन्दोलनको ज्वाला भने निभेको थिएन । अझ दनदनी बल्दै गयो ।
कालेको मन भुलाउने ठाउँ छैन । बेचैन भएको छ । अब उसले भूमिगत भएर बदला लिनु एकमात्रै विकल्प देख्छ । खोलापारी खत्रीगाउँको बरडाँडा ठुटे बजारबाट भूमिगत समुहको सम्पर्कमा पुग्छ काले । भूमिगत मुक्तिसेनामा भर्तीपछि बनपालाको शिविरमा सैन्य तालिममा काले उत्कृष्ठ सेनामा छनौट हुन्छ । अब कालेमा उत्साह र जाँगर थपिएको छ । मनमा बदलाको भाव बढ्दैछ । कालेको लगनशिलता, साहस र इमान्दारिताका कारण केही मोर्चामा सफलता पाएपछि काले कमाण्डर भएछ । उसको प्लेट फमपनि फेरिन्छ । काले अब काले होइन, ‘कमरेड कौशल’ बनिसकेको छ । बोलाउँदा पनि सबैले कमरेड ! कौशल, सम्बोधनसहित बालाउँछन् । कमरेड कौशलकै योजना र कमाण्डमा कयौ हमला भए, अधिकांश विजयी हाँसिल भएपछि उच्च नेतृत्वबाटपनि प्रशंशा पाउँछन् कमरेड कौशलले ।
समय फेरिँदै जाँदा उनको दार्शनिक मापन ज्यामितीय रुपमा त्यो पनि उनले नसोचेको गरी फेरियो । क्षमतामा अब्बल भएपनि अब उनको मापन मोटाई, गोलाई र उचाईबाट हुने भएको छ । कौसलकै कारण सिंगो टिम अब्बल भएको ताज यति चाँडै झुक्ला भन्ने उनलाई के थाहा ? उनी त केवल लडाकु न थिए । तर भइदियो त्यस्तै । तीनपटक नाप्तापनि उनको छातीको चौडा ज्यामितीय हुन सकेन । जेल, नेल र शोकको सेपमा परेका उनको सुकेको विराले पेट, खिन्याउरे पाखुरा र तीघ्राको गोलाई पुग्ने कुरै भएन । परिणाम कौशलले बहिर्गमनकै बाटो रोज्नुप¥यो । बहिर्गमनसँगै उनको ‘कमाण्डर कमरेड ! कौसल’ को पोगरी पनि चुँडियो र कालेमै पुग्यो ।
काले सम्झिन्छ, त्यो दिन मान्छे मान्छेसँगै डराएको थियो । मन मनसँगै डराएको थियो र मसँग अरु र उसँग मपनि डराएको थिएँ । त्यो दिन म हारिरहेको थिएँ, उ जितिरहेको थियो । तर म त्यही दिनदेखि उसँगै लडाई लडिरहेछु, निरञ्तर । म पुन–पुन जितिरहेको थिएँ, उ पुन–पुन हारिरहेको थियो । अहिले उ जितिरहेछ म पुन–पुन हारिहेछु ।
आज फेरि काले बुढी भइसकेकी अर्धचेत आमाको लाज छोप्ने एकसरो फरीया र एउटा ढाका किन्न उही छिमेकी मुखियाका बेँशीको पराल बोक्तैछ । कुलाका भित्तामा परालको भारी बिसाएर पसिना पुस्तै उही बिर्खेडाँडामाथि विरौटै खेतका टुप्पाको घुमाउने आलीमा टुक्रुक्क बसेर पारी टारी खेतका निनहरुमा ठोक्कीएर अस्ताउन लागेका राता घामको उज्यालोमा मनमनै पढिरहेछ उसले बुझेको सामाजिक विभेद र वर्गीय मुक्ती आन्दोलनभित्र उसको मृत्यु घुमेको त्यो दिन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु