विनयशील विनय कसजू

- विजयराज आचार्य

पाल्पामा जन्मेर रिडीमा बाल्यकाल
‘लेखकमा यदि राष्ट्रभक्ति छ र आफ्नो मातृभूमिलाई गुन लगाउन चाहन्छ भने त्यसले बालसाहित्यमा कलम चलाएकै हुन्छ । संसारका विश्वप्रसिद्ध लेखकहरूले यो कर्म गरेर आफ्नो मातृभूमिलाई मात्र होइन, दुनियाँकै बालबालिकालाई ठूलो गुन लगाएका छन् । यसरी बालसाहित्य सिर्जना गर्ने महान् लेखकहरूमा लेभ तोल्सतोय, म्याक्सिम गोर्की, प्रेमचन्द, रवीन्द्रनाथ ठाकुर, लक्ष्मीप्रसाद देवकोटा रहेका छन् ।’ विनय कसजूले बारम्बार दोहो¥याई रहने शब्द हो यो । उनले पनि पत्रकारिताबाट सुरु गरेको आफ्नो यात्रालाई साहित्यका विविध विधा हँुदै जीवनको उत्तराद्र्धमा बालसाहित्यमा समर्पित गरे । उनले सबैभन्दा बढी योगदान पनि बालसाहित्यमै दिए ।
तिनै महान् विचार राख्ने ख्यातिप्राप्त स्रष्टा विनयकुमार कसजूको जन्म वि.सं. २००४ श्रावण महिनामा पाल्पा जिल्लाको तानसेन बजारको भगवती टोलमा भएको थियो । उनको जन्म आमा तारादेवी कसजू र बुबा मोतीकुमार कसजूको कोखबाट भएको हो ।
आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएको भएता पनि सधैँ विपन्नको पक्षमा चिन्तित भई उनीहरूको जीवनस्तर उकास्न लागिपर्ने कसजूको पुर्खाचाहिँ भक्तपुरबाट व्यापारको सिलसिलामा पाल्पा हुँदै गुल्मीको रिडी पुगेको थियो । कसजूको खास घर रिडीमा भएता पनि श्रावण महिनामा नेवारहरूले मनाउने चाडपर्वमध्ये तानसेनको भगवती जात्रा चर्चित थियो । विनय कसजूको काकाको घर तानसेनको भगवती टोलमा थियो । तारालक्ष्मी त्यही जात्रा हेर्न आफ्नो देवरको घर आएकी थिइन् । त्यति नै बेला विनय कसजूको जन्म काकाको भगवती टोलस्थित घरमा भएको थियो ।
उनको जन्म संयोगले पाल्पामा भए पनि बाल्यकाल र किशोरावस्था कालिगण्डकीको किनारमा भएको रमणीय र ऐतिहासिक ठाउँ रिडीमा बितेको थियो ।
विनय कसजूको न्वारानको नाम बद्रीकुमार कसजू थियो । कक्षा ९ मा पढुञ्जेल पनि उनको नाम बद्री नै थियो । कक्षा ९ मा पढ्दा उनले विश्वप्रसिद्ध बङ्गाली लेखक रवीन्द्रनाथ ठाकुरको चर्चित उपन्यास गोरा पढ्ने अवसर पाए । गोरा उपन्यासको मुख्य पात्रको नाम विनय थियो । त्यो पात्रबाट उनी एकदमै प्रभावित भए । त्यतिबेला उनी काठमाडौँको फर्पिङमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा पढ्थे । त्यस स्कुलको प्रधानाध्यापक चर्चित साहित्यकार धरणीधर कोइराला थिए । उनले आफ्ना गुरु कोइरालासँग आफ्नो नाम फेर्ने प्रस्ताव गरे । कोइरालाले उनको प्रस्ताव स्वीकार गरे । यसरी उनी बद्रीकुमारबाट विनयकुमार कसजू बने र त्यही नामबाट साहित्य, पत्रकारिता, राजनीति र समाजसेवाका क्षेत्रमा ख्याति कमाए ।

जोगीको सङ्गत
विनय कसजूको बाल्यकाल र किशोरावस्था गुल्मीको रिडीमा बितेको थियो । रिडी नेपालकै चर्चित धार्मिकस्थलमध्ये एक हो । रिडीमा लगेर मान्छे जलाएमा सिधै स्वर्ग पुगिन्छ भन्ने जनविश्वास थियो । त्यही विश्वासले गर्दा गुल्मी जिल्लाबाहेक अर्घाखाँची, प्युठान, स्याङ्जा लगायतका जिल्लाहरूबाट पनि धेरै दिन लगाएर अन्तिम संस्कार गर्न लास रिडीमा ल्याउने चलन थियो ।
रिडीमा माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दथ्यो । माघे सङ्क्रान्ति मेला भर्न विभिन्न जिल्लाबाट हजारौँ मानिसको ओइरो लाग्दथ्यो । मेला भर्न नेपालका विभिन्न ठाउँदेखि भारतको गुजरातसम्मबाट जोगीहरू आउँथे । तिनीहरू लामो समयसम्म रिडीमै बस्थे । विनय कसजूकी आमा तारादेवी निकै धार्मिक स्वभावकी थिइन् । उनको सङ्गत त्यहाँ आउने जोगीहरूसँग हुन्थ्यो । विनय कसजूलाई आमाको धर्मप्रतिको लगावको गहिरो प्रभाव परेको थियो ।
विनय कसजू पहिले खोलामा गएर माछा मार्ने र माछामासु खाने गर्दथे । उनको हिमचिम र प्रभाव जोगीसँग बढ्दै गयो । जोगी संन्यासीको प्रभावकै कारणले उनले माछा मासु खान च्वाट्टै छाडिदिए । बाह्र वर्षसम्म उनी शुद्ध शाकाहारी बने । कक्षा ८ सम्म रिडीमै पढेका उनी कक्षा ९ मा पढ्न काठमाडौँ आए । त्यसपछि उनको सङ्गत जोगीबाट टुट्यो ।
एस.एल.सी. उत्तीर्ण गरेर उनी आई.ए. पढ्न भारतको वाराणसी गए । त्यहाँ फेरि उनको सङ्गत जोगीसँग हुन पुग्यो । त्यतिबेलासम्म उनी लक्का जवान भइसकेका थिए । कलेज पढ्ने भएकाले उनी विचारमा पनि परिपक्व बन्दै थिए । के ठिक हो ? के बेठिक हो ? राम्रैसँग छुट्याउन सक्ने भइसकेका थिए उनी । उनले वाराणसीमा सङ्गत गरेका जोगीमा ढोँगी र लुटाहा प्रवृत्ति देखे । यस्तो विकृति र विसङ्गतिको जालो देखेपछि उनलाई जोगीहरूप्रति पूरै वितृष्णा जाग्यो । त्यति नै बेला उनले प्रसिद्ध लेखक राहुल सांकृत्यायनको साम्यवाद हीँ क्योँ ? भन्ने पुस्तक पढ्ने अवसर प्राप्त गरे । त्यसपछि उनी पूर्ण रूपमा भौतिकवादी बने, जबकि उनी रिडीमा हुँदा उनको जोगीसँगको सङ्गत र आनिबानी देख्दा परिवारले उनी पनि जोगी बन्छन् भन्ने सोचेका थिए ।

गुल्मीको ठिटो: वाग्लुङमा बिहे
विनय कसजू विवाह पहिले नै निकै परिपक्व भइसकेका थिए । उनले राजनीति, पत्रकारिता र साहित्यको क्षेत्रमा अमूल्य योगदान गरिसकेका थिए । प्रधान पञ्च भएर राजनीतिक नेतृत्वको अनुभव पनि सँगालिसकेका थिए । त्यतिबेलासम्म रिडीमा बाल्यकाल र पूर्व किशोरावस्था, कक्षा ९ र १० को पढाइ र काठमाडौँको आई.ए.को पढाइका साथ वाराणसी, फेरि रिडी हुँदै उनले पाल्पामा बसाइँ गरेका थिए ।
विनय कसजूको विवाह वाग्लुङ बजारका तेजबहादुर राजभण्डारी र रत्नदेवी राजभण्डारीकी छोरी गङ्गादेवी राजभण्डारीसित २०३२ सालमा भएको थियो । कसजू दम्पतीको कोखबाट तीन छोरा अभिनव, दीपङ्कर र सरोवरको जन्म भएको थियो ।

अड्किँदै अघि बढेको शिक्षा
मान्छेसित जति धन सम्पत्ति भए पनि सबै कुरा सरल तरिकाले अगाडि बढ्न सक्दैन । विभिन्न व्यवधानले गर्दा विनय कसजूको पढाइ पनि सरासर हुन सकेन । अड्कदै अगाडि बढ्दै जानु प¥यो । उनले शिक्षाको प्रारम्भ रिडीकै सूर्यप्रसाद श्रेष्ठबाट गरेका थिए । औपचारिक शिक्षाको थालनी पनि रिडी बजारकै मिडिल स्कुलबाट गरे । त्यतिबेला त्यस स्कुलमा कक्षा ८ सम्म मात्र पढाइ हुन्थ्यो । कसजूले कक्षा ८ सम्मको शिक्षा २०१७ सालमा पूरा गरे ।
कक्षा ८ भन्दा माथि पढाइ हुने स्कुल रिडी आसपासमा थिएन । पढाइलाई निरन्तरता दिन उनले घर छाडेर अन्यत्रै जानुपर्ने भयो । आर्थिक रूपमा सम्पन्न भएकोले उनी २०१८ सालमा काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भए । त्यही विद्यालयबाट उनले २०२० सालमा एस.एल.सी. उत्तीर्ण गरे ।
एस.एल.सी. उत्तीर्ण गर्ने बित्तिकै कसजू विज्ञान विषय अध्ययन गर्ने उद्देश्य राखेर भारतको वाराणसी गए । त्यहाँ उनले विज्ञान विषयमा भर्ना भएर अध्ययन गर्न थाले । उनलाई विज्ञान पढाइप्रति रुचि भएन र गाह्रो लाग्न थाल्यो । त्यसैले उनले विज्ञान विषय पढ्न छाडिदिए । त्यसपछि उनी भारतकै इलाहावादको यु.पी. बोर्डअन्तर्गत मानविकी तथा सामाजिक सङ्कायमा भर्ना भए । घरायसी कारणले गर्दा उनले नियमित रूपमा कलेजमै गएर पढ्न सकेनन्, घरमै स्वाध्ययन गरेर परीक्षामा सहभागी बन्दै गए । वि.सं. २०२२ मा उनले दोस्रो श्रेणीमा आई.ए. उत्तीर्ण गरे ।
आई.ए. उत्तीर्ण गरेपछि कसजू विभिन्न सङ्घसंस्थामा सक्रिय भए । त्यसै समयमा उनी रुरु गाउँ पञ्चायतको प्रधान पञ्च पनि भए । तिनै कारणले गर्दा उनले स्नातक तहको अध्ययनलाई कलेजमा नियमित उपस्थित भएर निरन्तरता दिन सकेनन् । उनले स्वाध्ययनबाट नै परीक्षामा मात्र सामेल भएर २०२९ सालमा पाल्पाको तानसेनमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको त्रिभुवन डिग्री कलेजबाट स्नातक तह उत्तीर्ण गरे ।
त्यसपछि कसजूको औपचारिक शिक्षामा पूर्ण विराम लाग्यो । उनले यसरी प्राप्त गरेका प्रमाणपत्रहरू जीवनको उत्तराद्र्धमा राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्त हुँदा देखाउनुपर्ने भएकाले मात्र प्रयोग भयो । त्यसअघि उनले कहीँ कतै जागिर नै नखाएकाले प्रमाणपत्र लिनुपर्ने आवश्यकता नै देखेनन् ।
उनले जीवनको लागि आवश्यक शिक्षा भने मृत्युपर्यन्तसम्म लिइरहे । सास छउञ्जेल उनले आपूmलाई सिकारु सम्झेर अध्ययन गरिरहे । अध्ययन नै उनको जीवनको सबभन्दा रुचिको विषय पनि बन्यो । उनले एउटै विधामा वा विषयमा मात्र अध्ययनलाई सीमित राखेनन् । उनको अध्ययनको दायरा निकै फराकिलो थियो । साहित्यका विभिन्न विधा, पत्रकारिता, राजनीति, संस्कृति, सूचना, प्रविधिको क्षेत्रमा गहिरो अध्ययन गरेर विशेषज्ञता हासिल गर्न उनी सफल भए । उनले ती सबै क्षेत्रमा अमूल्य योगदान गरी राष्ट्रलाई ठूलो गुन लगाउन पनि सफल भए । जीवनको उत्तराद्र्धतिर भने उनी पूर्ण रूपमा बालसाहित्यको अध्ययन, लेखन, सम्पादन र प्रशिक्षणमा समर्पित भए । कसजूले आफ्नो जीवनको धेरैजसो समय अध्ययन र अनुसन्धानमै समर्पण गरे । उनको रुचि पनि नयाँ नयाँ विषय र प्रविधिको अध्ययन र सिर्जनामा थियो ।

प्रधान पञ्चदेखि वामपन्थी बुद्धिजीवीसम्म
२०२४ सालदेखि उनी औपचारिक रूपमा राजनीतिमा होमिए । त्यतिबेला उनी २० वर्षका थिए । २०२४ सालमा रुरु गाउँ पञ्चायतका प्रधान पञ्चले राजीनामा दिए । एक वर्षको लागि प्रधान पञ्चको पद खाली हुने भयो । त्यहाँ प्रधान पञ्चको लागि चुनाव हुने भयो । गाउँलेले उनलाई चुनावमा उठ्न आग्रह गरे । उनले पनि गाउँलेको आग्रहलाई स्वीकारे । उनी उठ्ने भएपछि अर्को उम्मेदवार नउठेपछि उनी निर्विरोध प्रधान पञ्चमा निर्वाचित भए । त्यतिबेला प्रधान पञ्चको उम्मेदवार बन्न २१ वर्ष पुग्नु पर्ने नियम थियो । गाउँलेले मन पराएकोले उनी २० वर्षकै कलिलो उमेरमा प्रधान पञ्च भएर रुरु गाउँ पञ्चायतको शासनको बागडोर सँभाल्न सफल भए ।
प्रधान पञ्चको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेपछि उनी एक दशकसम्म राजनीतिमा खासै सक्रिय भएनन् । एकैचोटि उनी २०३६ सालमा राजनीतिमा व्रिmयाशील भए । २०३६ सालमा जनमतसङ्ग्रहको घोषणा भएलगत्तै कसजूले आफ्नै अध्यक्षतामा जनपक्षीय बहुदल प्रचार समिति खोलेर आन्दोलनको सक्रिय नेतृत्व गरे । पाल्पा जिल्लामा पहिलो पटक उनकै नेतृत्वको समूहले बहुदलको पक्षमा विशाल आमसभा गरेर जनतालाई सचेत गराउने काम ग¥यो । पाल्पा जिल्लामा जनमतसङ्ग्रहमा बहुदल पक्षको शानदार विजय भएको थियो । यसरी विजय प्राप्त गर्न विनय कसजू लगायत स्थानीय कम्युनिष्ट पार्टीका सदस्यहरूको सक्रियताले महŒवपूर्ण योगदान पु¥याएको थियो । त्यसपछि उनको सक्रियता राजनीति र पत्रकारितामा ह्वात्तै बढ्यो ।
२०४२ सालमा सत्य समाचार साप्ताहिकबाट शिक्षक आन्दोलनलाई सघाए बापत तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले २०४२ जेठ ५ गते उनलाई गिरफ्तार गरी २८ गतेसम्म हिरासतमा राखेको थियो । सत्य पत्रिकाकै तीज विशेषाङ्कमा राजतन्त्रविरोधी तीज गीत प्रकाशन गरेबापत २०४२ सालकै असोज ६ गते उनलाई पुनः गिरफ्तार गरी २० गतेसम्म प्रहरी हिरासतमा राखिएको थियो । यी दुवै मुद्दा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि बहुदलीय व्यवस्था स्थापनालगत्तै खारेज भएका थिए ।
तानसेनको उनको घर कम्युनिष्ट नेता, कार्यकर्ता र प्रगतिशील लेखक कलाकारको सम्पर्क र जमघटस्थलको रूपमा चिनिन्थ्यो । कम्युनिष्ट नेता मनमोहन अधिकारीदेखि प्रगतिशील साहित्यकार पारिजातसम्म पाल्पा जाँदा कसजूकै घरलाई सम्पर्कस्थलको रूपमा प्रयोग गर्थे ।
कसजूले वामपन्थी आन्दोलनलाई राजनीतिक रूपमा क्रियाशील भएर पत्रकारिता र साहित्यको क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएका थिए । उनले दिएको योगदानको उचित मूल्याङ्कन गर्दै २०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको वामपन्थी सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न उनलाई आग्रह गरेको थियो । त्यतिबेला कसजूको बसाइँ पाल्पाको तानसेनमा थियो । उनले पाल्पा र पत्रकारिता छाड्न सकेनन् । त्यसैले प्रधानमन्त्रीको पे्रस सल्लाहकार बन्ने प्रस्तावलाई अस्वीकार गरे ।

साहित्यमा प्रवेश
विनय कसजू समयसँगै आफ्नो जीवनकथालाई परिवर्तन गर्न सक्ने व्यक्ति थिए । उनले सुरुका दिनमा रिडीमा भएको पुख्र्यौली व्यवसायलाई साथ दिए । रिडीमा उनको परिवारको ठूलो थोक व्यापारको पसल थियो । त्यहाँ गाउँ–गाउँबाट मान्छेहरू सुठो, टिमुर, अदुवा, फापर, दालचिनीका बोक्रा लिएर बिक्री गर्न आउँथे । उनले गाउँलेले ल्याएका सामान तौलेर एकातिर राख्थे र त्यसको सट्टामा उनीहरूको मागअनुसार मट्टीतेल, नुन, भेली, मसला लगायत मागेका कुरा दिन्थे ।
त्यसपछि उनी बसाइँ सरेर पाल्पाको तानसेन आए । त्यहाँ उनले किराना पसल, फेन्सी पसल, पुस्तक पसल, प्रेस, कम्प्युटर तालिम केन्द्र जस्ता व्यवसाय चलाउँदै साहित्य, पत्रकारिता र राजनीतिमा सक्रिय बने ।
कसजूले समयसँगै आपूmलाई बदल्न नसकेको भए रिडीबजारको व्यापारी बनेर उतै अस्ताउने थिए । सुरुका दिनमा व्यापार, राजनीति र पत्रकारितामा बढी सक्रिय भएता पनि जीवनको उत्तराद्र्धमा उनी पूर्ण रूपमा साहित्यमा समर्पित भएर लागे । यही कर्मले नै उनलाई युगौँयुगसम्म अमर बनाउने छ । पछिल्लो समयमा बढी योगदान दिएको क्षेत्र भए पनि उनले लेखनको प्रारम्भ भने १५ वर्षकै उमेरबाट थालेका थिए ।
कसजूको पहिलो रचना रिडीको परिचय शीर्षकमा गोरखापत्रको शनिबारीय अङ्क २०१९ सालमा प्रकाशन भएको थियो । पहिलो साहित्यिक कृतिको रूपमा पशुतन्त्र लघुकथासङ्ग्रह २०३९ सालमा प्रकाशित भएको थियो । उनले साहित्यका विविध विधामा कलम चलाए । थुप्रै पुस्तक पनि प्रकाशन गरे । विशिष्ट योगदानचाहिँ बालसाहित्य र लघुकथामा दिए । साहित्यमा सक्रिय भएका प्रारम्भिक दिनमा लघुकथामा र जीवनको उत्तराद्र्धमा बालसाहित्यमा उनले दिएको योगदान नेपाली पाठकसमक्ष युग–युगसम्म बाँचिरहनेछ ।

लघुकथामा योगदान
विनय कसजू २०३० को दशकदेखि लघुकथा लेखनमा समर्पित भएर लागेका थिए । उनले आफ्ना चारवटा र विजयसागरका चारवटा लघुकथा राखेर २०३३ सालमा भाग–एक र २०३४ सालमा भाग–२ चौतारो हवाई पत्रिका प्रकाशन गरेका थिए । नेपालमा हवाई पत्रिकामा साहित्यिक रचना छाप्ने प्रचलनको सुरुवात पनि चौतारोमार्पmत् विनय कसजूले गरेका थिए ।
विनय कसजूको पहिलो लघुकथासङ्ग्रह पशुतन्त्र २०३९ सालमा प्रकाशित भएको थियो । यो नै उनको पुस्तकाकारमा निस्केको पहिलो साहित्यिक पुस्तक हो । त्यसपछि उनका लिस्नो (२०५३), थोपा थोपा (२०५७) र स्याललाई स्लिपिङ ब्याग (२०६६) लघुकथासङ्ग्रह प्रकाशित भए । विनय कसजूले सम्पादन गरेको प्रतिनिधि नेपाली लघुकथाहरू २०६५ सालमा प्रकाशित भएको थियो । २०७७ सालमा उनले लेखेका लघुकथाको विश्लेषणसहित सबै लघुकथा समेटेर विनय कसजूका लघुकथा ः सिर्जना र विवेचना पुस्तक प्रकाशित भएको छ ।
विनय कसजूले जीवनको उत्तराद्र्धमा नयाँ र पुराना पुस्ताका लेखकलाई लघुकथा लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम गरी नेपाली साहित्यमा लघुकथा विधालाई समृद्ध बनाउन उल्लेखनीय योगदान पु¥याएका थिए ।

बालसाहित्यमा योगदान
‘कुनै पनि स्रष्टा देशप्रति उत्तरदायी छ भने उसले बालसाहित्य लेख्नुपर्छ’ भन्ने मान्यता विनय कसजूको थियो । विश्वका नाम चलेका लेखकले यो कर्म गरेका छन् । ‘हामीले पनि हाम्रो समाज सुन्दर बनाउने हो भने बालसाहित्य लेखेर बालबालिकालाई त्यहीअनुसारको शिक्षा दिनुपर्छ,’ कसजूले बारम्बार दोहो¥याउने शब्द हुन् यी ।
उनले २०२२ सालदेखि नै फाटपूmट रूपमा बालसाहित्य लेखेका थिए । खासमा उनी २०६० को दशकदेखि भने बालसाहित्यमै समर्पित भएर लागे र सबैभन्दा बढी उपलब्धि पनि यही विधामा हासिल गरे । उनले बालसाहित्यका कथा, कविता, चित्रकथा, तथ्यपुस्तक, जीवनी, अनुवाद लगायत क्षेत्रमा विशिष्ट योगदान दिएका छन् ।
उनका झ्यापुल्लेको बिजोग (२०६१), बाघको सत्कार (२०६१), मुसालाई दोसल्ला र अरू कथाहरू (२०६१), वनको दमकल (२०६४), कान्छाको मोटर (२०६६), स्माइल प्लीज (२०६९), विनय कसजूका १०० बालकथाहरू (२०६६), साइबर बालकथा (२०६९), सुजनको डर (२०६९), सूर्यको बिहे (२०६९), जुल्फी खाने कौवा (२०६९), मेवालाल (२०६९), माकुरालाई मोजा (२०७३), बाँसुरी बजाउने भूत (२०७३), डल्फिनको गीत (२०७४) बालकथासङ्ग्रह प्रकाशित छन् । उनले पछिल्लो समयमा लेखेका झण्डै सय वटा बालकथाहरू पुस्तकको रूपमा प्रकाशन हुनै बाँकी छन् ।
कसजूका घडीहरूको जमघट (२०६३), जन्मदिनको उपहार (२०६३), मुसाको भोजमा बिरालो (२०६६), रातो भाले (२०६६), अनौठो आकाश सूर्य र ग्रहण (२०६७), म्याउँ म्याउँ बिरालो (२०६८), हाम्रो स्कुल खोइ ? (२०६९), हाम्रो पुस्तकालय (२०७०), मेरो किताब (२०७०), कोसिस गर्छु (२०७०), तीन पाङ्ग्रे साइकल (२०७०), भोकाएको बिरालो (२०७०), आज स्कुल जान्न (२०७०), मलाई माया गर्छिन् (२०७२), टिउराको सपना (२०७२), जलवीर र सुरी (२०७४), अबोलाको मोबाइल फोन (२०७६), बोकाको आत्मकथा (२०७६), सुनको मुटु भएको केटो (२०७६) चित्रपुस्तक प्रकाशन भएका छन् ।
कसजूले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्यले आफ्ना केही बालसाहित्यका पुस्तकलाई अङ्ग्रेजी भाषामा समेत उल्था गरी प्रकाशन गरेका छन् । तीमध्ये I can do (2070), Tricycle (2070) / Dreams of a Duckling (2074) हुन् भने The Cyber Planet (2071), The Animal Planet (2071) / The Story Planet (2071) बालकथाका पुस्तक हुन् ।
कसजू नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न एकदम रुचाउँथे । सूचना प्रविधिका ज्ञाता उनले आफ्ना ३० वटा बालकथालाई ‘बालबालिकाले सुनेर आनन्द लिऊन्’ भन्ने उद्देश्यले २०६२ सालमा बालमजदूर सरोकार केन्द्र (सिविन) सँग सहकार्य गरेर भालुको बगैँचा नामको श्रव्य सीडी निकालेका थिए । २०६६ सालमा २३ वटा कथा समेटेर अर्को बालकथाको सुन्ने (श्रव्य) सीडी स्माइल प्लिज पनि सिविनसँगकै सहकार्यमा निकालेका थिए । नेपाली र अङ्ग्रेजीका विभिन्न संयुक्त सङ्ग्रहहरूमा उनका दुवै भाषाका गरी एक दर्जनभन्दा बढी कथा प्रकाशन भएका छन् ।
उनको विमोचन कथासङ्ग्रह (२०६६), बीउ ट्वीट कथासङ्ग्रह (२०७५), स्मार्ट टिन्स किशोर कथासङ्ग्रह (२०७४) पनि प्रकाशित छन् । पुस्तकाकारका रूपमा प्रकाशित नभए पनि उनले रेडियो नाटक, कविता, एकाङ्की र निबन्धमा पनि उल्लेखनीय योगदान पु¥याएका छन् ।

सैद्धान्तिक समीक्षात्मक पुस्तकहरू
विनय कसजू बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनले साहित्यिक पुस्तक मात्र लेखेनन्, तथ्य पुस्तक र सैद्धान्तिक पुस्तक पनि लेखे । उनको मुख्य उद्देश्य बालसाहित्यलाई समृद्ध बनाउने थियो । त्यसैले उनले बालसाहित्य लेखन र सम्पादनसम्बन्धी सैद्धान्तिक पुस्तक लेखे । उनका बालकथा लेखन (२०६३) र बालकथा सम्पादन (२०७२) यी दुई सैद्धान्तिक पुस्तक प्रकाशित भएका छन् ।
उनले सिङ्गापुर, बेलायत, स्विडेन, अमेरिका, जापान, कोरिया लगायतका देशमा बालबालिकालाई पढ्ने बानीको विकास गराउन के के कार्य भएका छन् भनी गहिरो अध्ययन गरे अनि नेपाली बालबालिकामा पढ्ने बानीको विकास गराउने उद्देश्यले बालबालिकामा पढ्ने बानीको विकास (२०६८) प्रकाशित गरे । उनले आपूm प्रभावित भएको र आपूmले बालसाहित्यमा अग्रज मानेका राष्ट्रिय अन्तर्राष्ट्रिय स्रष्टाको बारेमा पनि पुस्तक लेखेका छन् ः हान्स व्रिmश्चियन एन्डरसन र उनका परीकथाहरू (२०६१), स्विडेनको बालसाहित्य र आस्ट्रिड लिन्ग्रेनको योगदान (२०७०) र शान्तदास भन्नुहुन्छ (२०७५) । हान्स व्रिmश्चियन एन्डरसन र उनका परीकथाहरूबाहेक अन्य पुस्तकहरू समीक्षात्मक पुस्तकअन्तर्गत पर्दछन् ।

कुशल सम्पादक
विनय कसजूले जिन्दगीको लामो समय र निरन्तर गरिरहेको कर्म हो सम्पादन । उनले सुरुमा विभिन्न पत्रपत्रिका, हवाईपत्र सम्पादन गरे भने पछिल्लो समयमा साहित्यका खासगरी बालसाहित्यका पुस्तक सम्पादन गरेर यस क्षेत्रमा उल्लेख्य योगदान दिए । उनी कुशल सम्पादक थिए ।
विनय कसजूले बालसाहित्यका विविध विधाका १०० भन्दा बढी पुस्तक सम्पादन गरेका छन् । उनले कथासङ्ग्रह, चित्रकथा, चित्रपुस्तक, जीवनी लगायतका विधाका दर्जनौँ पुस्तक सम्पादन गरेर आफ्नो सम्पादन सीप देखाएका छन् । विभिन्न विषयमा कार्यशाला गरी लेखिएका उद्देश्यमूलक बालकथासङ्ग्रहका पनि दर्जनौँ पुस्तक उनले सम्पादन गरेका छन् । त्यस्तै विभिन्न विद्यालयमा आपैmँ वा साथीहरूले विद्यार्थीलाई कथालेखनसम्बन्धी प्रशिक्षण दिएर बालबालिकाद्वारा लेखिएका पुस्तकहरूको पनि सम्पादन गरी बालबालिकालाई साहित्य पठन र लेखनमा उत्साहित बनाउने कार्यमा पनि उनले सक्रिय योगदान गरे । उनले हाम्रा कथा (प्रतिनिधि बालकथासङ्ग्रह) को २०६६ सालमा सम्पादन गरेका थिए ।
कसजूले बालसाहित्येतर तर बालोपयोगी पुस्तकहरूको पनि सम्पादन गरेका छन् । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले लेखेको बालबालिकालाई कसरी असल बनाउने ? (२०६८) र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा बालसाहित्य विवेचनाको पनि उनले सम्पादन गरेका थिए । पछिल्लो पुस्तकमा बीस जना स्रष्टाले बालसाहित्यको विभिन्न विधामा लेखेका रचनाहरू रहेका छन् ।
उनले कार्यशालाबाट उत्पादित संयुक्त किशोर कथासङ्ग्रह किशोर कथा (भाग–१, २०७५) को सम्पादन गरेका छन् । त्यस्तै उनले गङ्गा कर्माचार्य पौडेलको सरस्वती (किशोर उपन्यास, २०७३), विजयराज आचार्यको गुडनाइट (किशोर कथासङ्ग्रह, २०७४), मञ्जु पौडेलको फेक आइडी (किशोर कथासङ्ग्रह, २०७६) सम्पादन गरेका थिए । यसरी उनले किशोर साहित्यका पुस्तक सम्पादन गरेर योगदान पु¥याएका थिए । उनले अङ्ग्रेजी, हिन्दी, कोरियाली लगायतका भाषाबाट नेपालीमा विभिन्न लेखकले अनुवाद गरेका पुस्तकहरूको पनि सम्पादन गरेका छन् ।
कसजूले नेपाली भाषाबाट विभिन्न लेखकले अङ्ग्रेजीमा अनुवाद गरेका बालसाहित्यका पुस्तकहरूको सम्पादन गरेका छन् । यस्ता कृतिहरूमा In Love of Soil (2069), Why the Crow is Black (2070), Daddy's Love (2070), Two Voiceless Girls of Shitlangpur (2070), The Lost Slippers (2071), Sammi's Umbrella, Realities of Ghosts and Short Stories सम्पादन गरेका थिए ।

पत्रकारितामा योगदान
विनय कसजूले विभिन्न सङ्घसंस्थामा आबद्ध भएर र स्वतन्त्र रूपमा आमसञ्चार र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् । उनले कलिलै उमेरबाट पत्रकारिता गर्न थालेका थिए । २०२२ सालदेखि भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णय पत्रिकाको संवाददाताको रूपमा रिडीबाट काम गर्न थालेका थिए । २०२२÷२३ सालतिरै गुल्मी साहित्यिक उत्साहवद्र्धिनी समितिद्वारा वार्षिक रूपमा प्रकाशन हुने संकलन–१ को सम्पादन गरेका थिए ।
उनले काठमाडौँबाहिरबाट पहिलो मनोरञ्जनात्मक पत्रिका पाहुर २०३० देखि २०३५ सम्म सम्पादन गरे । श्रीनगर परिवार तानसेनद्वारा सुरुमा सामयिक सङ्कलन र पछि त्रैमासिक पत्रिकाको रूपमा प्रकाशित श्रीनगर पत्रिकाको सम्पादन गरेका थिए । यो पत्रिका २०२८ सालदेखि २०३६ सालसम्म प्रकाशन भएको थियो । कसजूको रुचि प्रगतिशील पुस्तक र पत्रपत्रिका अध्ययन गर्नमा बढ्दै गयो । उनले यस्ता खालका पुस्तक र पत्रपत्रिकाको गहिरो अध्ययन गर्दै गए । त्यतिबेला सोभियत सङ्घबाट प्राभ्दा पत्रिका निस्किन्थ्यो । कसजू प्राभ्दा पत्रिकाबाट एकदमै प्रभावित थिए । रसियाली भाषाको प्राभ्दा शब्दको नेपाली अर्थ हुन्थ्यो ‘सत्य’ । प्राभ्दाबाटै प्रभावित भएर उनले २०४० सालदेखि आफ्नै सम्पादन र प्रकाशनमा सत्य पत्रिका निकाल्न थाले । सत्य पत्रिका २०५२ सालसम्म प्रकाशन भएको थियो । उनले सत्यको ५०० औँ अङ्क निकालिसकेपछि २०५२ सालमा विदाइ अङ्क निकालेर बन्द गरेका थिए । यसरी विदाइ अङ्क निकालेर बन्द गर्ने परम्पराको थालनी पनि सत्यबाटै भएको थियो । उनले विकास सञ्चार केन्द्रले प्रकाशन गरेको हाकाहाकी (विकासको लागि बहस) द्वैैमासिक पत्रिकाको २०५५÷५६ सालमा सम्पादन गरेका थिए ।
कसजूले पाल्पाबाटै २०५० सालदेखि निस्कन थालेको गाउँले देउराली पत्रिकाको प्रधान सम्पादक भएर काम गरेका थिए । गाउँले देउराली ग्रामीण पत्रकारिताको कोसेढुङ्गाको रूपमा मानिन्छ । गाउँले देउराली दक्षिण एसियाकै पहिलो विकास पत्रिका हो । गाउँमा हुने गतिविधिलाई पनि समाचार बनाउन सकिन्छ भन्ने मान्यतालाई यस पत्रिकाले स्थापित गरेकोले विनय कसजू ‘किसानको पत्रकार’ पनि भनेर चिनिन्छन् । २०५३ सालसम्म गाउँले देउराली पत्रिकाको सयौँ अङ्क पार भइसकेको थियो । त्यतिबेला विनय कसजू र गाउँले देउरालीको बारेमा राष्ट्रिय स्तरका पत्रपत्रिकामा व्यापक समाचार छापिएर चर्चाको शिखर चुमेको थियो ।
गाउँले देउरालीले चारवटा क्षेत्रलाई ध्यानमा राखेर समाचारलगायतका सामग्री प्रकाशित गर्ने गरेकाले जनतामाझ अत्यन्तै लोकप्रिय थियो । ती क्षेत्र थिएः १. ग्रामीण विकास, २. सार्वजनिक स्वास्थ्य, ३. महिला र लैङ्गिक सवाल र ४. ग्रामीण जीवनमा महत्वपूर्ण योगदान दिएका प्रेरणादायी व्यक्तिहरूको जीवनकथा । कसजूले गाउँले देउरालीको सुरुका तीन वर्षसम्म आपूmले सम्पादन गरेर मेघराज शर्मालाई उत्तराधिकार सुम्पेका थिए । गाउँले देउराली अहिलेसम्म पनि निरन्तर प्रकाशन भइरहेको छ ।
कसजूले २०२२ सालदेखि भैरहवाबाट निस्कने पत्रिकाको रिडीबाट संवाददाताबाट पत्रकारिताको यात्रा थालनी गरे । उनले पाल्पाको तानसेन हुँदै काठमाडौँसम्म आएर २०६५ सालसम्म सक्रिय पत्रकारिताको कर्मलाई निरन्तरता दिए । उनी आफ्नो पत्रकारिता यात्रामा मिशन पत्रकारिता, राजनीतिक पत्रकारिता, ग्रामीण पत्रकारिताका साथै विकास पत्रकारितासम्मको सशक्त रूपमा प्रयोग गर्न सफल भए । सामुदायिक रेडियोलाई नेपालमा स्थापित गराउने एक सक्रिय अभियन्ता पनि मानिन्छन् विनय कसजू । पाल्पाको मदनपोखरामा स्थापित सामुदायिक रेडियो, रेडियो मदनपोखरा सञ्चालनमा ल्याउन कसजूको उल्लेखनीय योगदान थियो ।
कसजू पत्रकारिता र आमसञ्चारको क्षेत्रमा पुस्तक लेखेर पनि उल्लेखनीय योगदान दिन सफल भएका छन् । साँचो कुरा (२०४५), सामुदायिक रेडियो (२०५७), सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग (२०६०), पत्रकारको अधिकार र जिम्मेवारी (२०६२) र मिडियाको लोकतन्त्रीकरण (२०६३) उनका यस्तै पुस्तक हुन् । उनले सशस्त्र द्वन्द्वमा समाचार सङ्कलन ः नेपाली पत्रकारहरूको अनुभव (२०६२) पुस्तकको सम्पादन गरेका थिए । पुस्तकको रूपमा प्रकाशन नभएता पनि उनले दर्जनौँ रेडियो नाटक लेखी विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गराएका थिए ।
विनय कसजूले नेपाल प्रेस इन्स्टिच्युटको तालिम संयोजक बनेर देशका ४० जिल्लामा पुगेर पत्रकारितासम्बन्धी तालिम दिएका थिए । त्यही तालिमबाट प्रशिक्षित पत्रकारहरू अहिले मूलधारका सञ्चार माध्यमका सफल पत्रकार बन्न सफल भएका छन् ।
सङ्घसंस्थाको माध्यमबाट योगदान
विनय कसजूले विभिन्न संस्थाहरूमा आबद्ध भएर विशेष योगदान पु¥याएका छन् । उनले प्रेस काउन्सिल नेपालको सल्लाहकार (२०५२–२०५६), राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य (२०५५), उच्चस्तरीय मिडिया सुझाव आयोग (२०६३) को सदस्य र राष्ट्रिय सूचना आयोगको प्रथम प्रमुख आयुक्त (२०६५–२०६९) को रूपमा आमसञ्चार तथा पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् ।
सञ्चारक्षेत्रका सङ्घसंस्थामध्ये उनले सबैभन्दा महत्वपूर्ण योगदान दिएको संस्था भने राष्ट्रिय सूचना आयोग हो । आपूm प्रमुख आयुक्त हुँदा उनकै नेतृत्वमा आयोगले कलेज, स्कुल जुनसुकै तहका विद्यार्थीले चित्त नबुझेमा आफ्नो परीक्षण गरेको उत्तर पुस्तिका हेर्न पाउने ऐतिहासिक निर्णय गरेको थियो । यो निर्णय हुनुभन्दा पहिला विद्यार्थीलाई ‘रिटोटलिङ’ गर्ने अधिकार मात्र थियो । उत्तर पुस्तिका हेर्न पाउने अधिकार थिएन । उनकै कार्यकालमा सूचनाको हक प्राप्तिसम्बन्धी डेढ दर्जनभन्दा बढी नियम कानुन बनेका थिए । पीडितले सूचना हेर्न पाउनुपर्छ भनेर कार्यान्वयनमा समेत आएको थियो । राष्ट्रिय सूचना आयोगको उनको नेतृत्वको कार्यकाल ‘सूचनाको हकका लागि राष्ट्रकै लागि स्वर्णिम काल’ मानिन्छ ।
विनय कसजू बालसाहित्यसम्बन्धी दुईवटा संस्था वालवाङ्मय तथा अनुसन्धान केन्द्र र नेपाल बालसाहित्य समाजमा आबद्ध भएर महत्वपूर्ण योगदान गरेका थिए । आफ्नै नेतृत्वमा २०६९ सालमा स्थापना भएको बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट लेखन, प्रशिक्षण र सम्पादनको क्षेत्रमा उनले महत्वपूर्ण योगदान गरे । उनले त्यही संस्थामार्र्पmत् विभिन्न विधामा कलम चलाइरहेका र नयाँ साहित्यकारहरूलाई बालकथा लेखनसम्बन्धी प्रशिक्षण चलाएर दर्जनौँ बालसाहित्यकार जन्माउन महत्वपूर्ण योगदान दिए । तिनै प्रशिक्षणबाट प्रशिक्षित कतिपय स्रष्टाहरू अहिले बालसाहित्यका मूलधारका लेखक बन्न सफल भएका छन् ।
बालसाहित्यमा नयाँ पुस्तालाई आकर्षण गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कथा लेखनसम्बन्धी प्रशिक्षण दिएर उनले सयौँ बालबालिकालाई कथा लेख्न सिकाएका थिए । उनले प्रशिक्षणलाई बालकथा लेखनमा मात्र सीमित नराखी संस्मरण लेखन, जीवनी लेखन, किशोरकथा लेखन, लघुकथा लेखनजस्ता विधामा समेत तालिम सञ्चालन गरेर दर्जनौँ साहित्यकारलाई प्रशिक्षण दिएका थिए ।
नेपालमा उद्देश्यमूलक बालसाहित्य लेखनको अवधारणा पनि कसजूले नै भित्र्याएका हुन् । उनले वातावरण, भूकम्प, बीमा, संस्कार, स्वास्थ्य, संस्कृति, सामाजिकीकरण लगायतका विधामा सम्बन्धित विषयका विज्ञलाई बोलाई साहित्यकारलाई प्रशिक्षण दिन लगाएर बालकथा लेख्ने कार्यशाला गराई कथा लेख्ने कार्यको थालनी गरेका थिए । यस्ता कार्यशालाबाट उत्पादित चौधवटा उद्देश्यमूलक बालकथाका संयुक्त सङ्ग्रह उनकै सम्पादनमा प्रकाशित भइसकेका छन् ।
नेपालमा किशोर साहित्यको कमी महसुस गरी किशोर साहित्य लेखन कार्यशालाको आयोजना गरी किशोर साहित्य लेखाउने कार्यमा पनि उनले महत्वपूर्ण योगदान दिए । नेपालमा पुस्तक सम्पादनको परम्परा खासै नभएकोले परिष्कृत पुस्तक प्रकाशनको अभाव खड्किएकोले उनको नेतृत्वको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा आपूmसहित कपिल लामिछाने, प्रमोद प्रधान, अनन्त वाग्ले र विजयराज आचार्यलाई आफ्नो पुस्तक बालकथा सम्पादनको पाण्डुलिपि अध्ययन र छलफलको आयोजना गरी आपूm लगायत अरू चार जनालाई पनि सम्पादन कार्यमा निख्खरता ल्याउन सहयोग पु¥याए ।
उनको ‘जुनसुकै काम धेरैभन्दा धेरै मान्छेले सिक्नुपर्छ, कुनै एक व्यक्ति नहुँदा त्यस क्षेत्रमा अभाव महसुस नहोस्’ भन्ने धारणा थियो । त्यसैले उनी लगायत दश जना साहित्यकारलाई बालसाहित्य लेखनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको व्यवस्था गरे । त्यसबाट प्रशिक्षित आधा साहित्यकारले अहिले पनि यो कर्मलाई निरन्तर दिइरहेका छन् । उनले बालवाङ्मय तथा अनुसन्धान केन्द्रको नेतृत्व २०७५ सालसम्म सँभालेर प्रमोद प्रधानलाई उत्तराधिकार सुम्पेका थिए । कसजूले नेपाल बालसाहित्य समाजमार्पmत् बालसाहित्यसम्बन्धी दर्जनौँ कार्यपत्र लेख्नुका साथै अनुसन्धानमूलक लेखहरू पनि लेखेका थिए ।

राम्रो कामको रामै्र फल
विनय कसजूले आफ्नो जीवनकालमा जे जति काम गरे त्यो पुरस्कार पाउने आशमा पक्कै गरेका थिएनन् । काम गर्दै जाँदा समाज र राष्ट्रको लागि उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरू पुरस्कृत हुनु सम्मानित हुनु स्वाभाविकै हो । विनय कसजू पनि उत्कृष्ट काम गरेबापत धेरै सङ्घसंस्थाहरूबाट पुरस्कृत, सम्मानित र अभिनन्दित भएका छन् ।
कसजूले बालसाहित्यमा विशिष्ट योगदान पु¥याएबापत नेवासास उत्कृष्ट बालपुस्तक पुरस्कार–२०६१ झ्यापुल्लेको बिजोग बालकथासङ्ग्रहका लागि प्राप्त गरे । नेपाल बालसाहित्य समाजबाटै २०६३ सालको नेवासास उत्कृष्ट बालपुस्तक पुरस्कार घडीहरूको जमघट चित्रकथाको लागि उनलाई दिइएको थियो । उनले सुकदेव सुकमाया बालसाहित्य पुरस्कार २०६३ सालमा प्राप्त गरे । उनले वनको दमकल बालकथाकृतिका लागि २०६४ सालको साझा बालसाहित्य पुरस्कार प्राप्त गरे भने बालसाहित्यमै उत्कृष्ट योगदान पु¥याएबापत २०७२ सालमा पारिजात बालसाहित्य सम्मानबाट सम्मानित भए । २०७३ सालमा उनले माकुरालाई मोजा बालकथासङ्ग्रहका लागि तेस्रो पटक नेवासास उत्कृष्ट बालपुस्तक पुरस्कार प्राप्त गरेका थिए । बालसाहित्यमै उत्कृष्ट योगदान दिएबापत उनले महाकवि देवकोटा पुरस्कार २०७४ पाएका थिए । यसैगरी, नेपालकै सबभन्दा ठूलो राशिको बालसाहित्य पुरस्कार नूरगङ्गा बालसाहित्य प्रतिभा पुरस्कार उनलाई २०७४ सालमा दिइएको थियो । उनलाई बालबालिकाका प्यारा लेखक भएकै कारण शुभकामना एकेडेमी, टौदहले शुभकामना सम्मान २०७४ सालमा प्रदान गरेको थियो ।
उनले पत्रकारिता तथा आमसञ्चारमा योगदान पु¥याएबापत पनि थुप्रै सम्मान पुरस्कार प्राप्त गरेका छन् । उनले गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार २०५८ सालमा प्राप्त गरेका थिए भने २०६० सालमा प्रेस चौतारीले उनलाई सम्मान गरेको थियो । उनले सामुदायिक पत्रकारिताका लागि अशोक फेलो २०५९–६१ पनि प्राप्त गरेका थिए । कसजूले २०६१ सालमा दयाशङ्कर स्मृति पुरस्कार प्राप्त गरेका थिए । रू. २५ हजार राशि भएको उक्त पुरस्कारमा आपूmले २५ हजार थपेर उनले द्वन्द्वपीडित पत्रकारको बीमा र स्वास्थ्य सेवाको लागि कोष स्थापना गरेका थिए । उनलाई नेपाल पत्रकार महासङ्घ, पाल्पा शाखाले मेघ गोविन्द झपेन्द्र पत्रकारिता पुरस्कार २०६७ प्रदान गरेको थियो । पत्रकारिता र साहित्यमा योगदान गरेबापत २०६८ सालमा उनलाई चक्रपाणि पाठक स्मृति समाजद्वारा सम्मान र पदक प्रदान गरिएको थियो । २०६८ सालमै सम्पादक समाज नेपालले वरिष्ठ पत्रकार सम्मान पनि गरेको थियो ।
उनले २०७३ सालमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पाए भने सोही साल नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाबाट पुरस्कृत पनि भए । २०७४ सालमा उनलाई राष्ट्रिय मानवअधिकार सम्मान प्रदान गरिएको थियो । यसअघि मानवअधिकारको क्षेत्रमा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उनलाई प्रकाश मानवअधिकार पुरस्कार (२०५२) प्रदान गरेको थियो ।
पछिल्लो समयमा बालसाहित्यमा समर्पित भएर लाग्दालाग्दै २०७६ मङ्सिर १० गते ७२ वर्षको उमेरमा उनको असामयिक निधन भएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु