देवकोटा नेपाली साहित्यको सिंगो संस्था

- भारती गौतम

"घनघोर दु:ख सागर संसार जान भाई,
नगरे घमन्ड कहिले मर्नु छ हामीलाई,
दश वर्षको उमेरमा प्रष्फुटित कवितात्मक उपरोक्त हरफको मिर्मिरे उज्यालो छिप्पिईसक्ता त्यसको अभिव्यक्ता नेपाली साहित्याकासको सूर्य वनी चम्किसकेको थियो। सूर्यको आफ्नो परिधि हुंदैन, परिभाषा हुदैन, परिमाण हुदैन अनि परिचय समेत हुदैन। सूर्यको सिंगो परिचय उसको उज्यालो भएजस्तै नेपाली साहित्याकास मा झुल्किएको लक्ष्मी प्रसाद देवकोटा सूर्यको एउटै परिचय सिर्जना हो। सर्जक र सिर्जनाको घेरा नाघेर उ सर्जक आफै सिर्जनामा समाहित भैसकेको छ। देवकोटाको मनुष्यत्व र सर्जकत्व सवै एकाकार भएर सृष्टीकर्ताको एउटा अभूतपूर्व रचना देवकोटालाई कुनै वाक्य, विशेषण, र वर्णनमा वाध्न सकिदैन।
वर्षेनी फक्रिने वसन्त भन्दा पनि वढी संगीतको विषय भैसकेको व्यक्तित्व, हिमाल चुलिए भन्दा पनि अग्ला ठेलीमा चिरफार गरिसकिएको कृतित्व, परमेश्वरको प्रार्थना जत्तिकै मुखाग्र भैसकेको जीवनकथा को फेरि कथा भन्नु भनेको चन्द्रमामा मान्छेले टेकेको समाचार आजको अखवारको आवरण पृष्ठमा छापिनु जस्तै हो। तर त्यसो भनेर त्यो दिग्विजयी को महिमा घट्ने पनि हैन। सुन्दर पहेंलो गुलावको फूल , तेजस्वीसूर्य, उज्यालो मुस्कान हांसीरहने चन्द्रमा, समुद्र एवं आकाश वारेका अभिव्यक्तिहरु, सुन्दा सुन्दा र हेर्दा हेर्दा हाम्रा ईन्द्रियहरुलाई कहिल्यै थकाई लाग्दैन। त्यसैगरी हाम्रो युगका विभूति , मानवजातीका गौरव, तीनै अद्दितिय देवकोटाको सानो परिचय फेरि एकपटक सुनौ। कोठामा सानो झ्यालवाट छिरेको सूर्यको किरणले सम्पूर्ण सूर्यको नै प्रतिनिधित्व गरे जस्तै या अंजुलीमा ऊघाएको पानीले महासागरको अस्तित्व बोकेजस्तै देवकोटाको सानो चिनारी पनि समष्टी मा देवकोटा नै मान्नु पर्ने हुन्छ।
पण्डीत र कवि तिलमाधव र अमरराज्यलक्ष्मी देवकोटाको कोखवाट साहिला छोराको रुपमा डिल्लीवजारमा आज भन्दा ११२ वर्ष अगाडीको लक्ष्मी पूजाको दिन जन्मिएका लक्ष्मी प्रसाद देवकोटाको नाम न्वारानमा तीर्थमाधव राखिएको थियो। लक्ष्मीपूजाको दिन जन्मिएर नाम लक्ष्मी प्रसाद भनिए पनि लक्ष्मीको वास भने देवकोटाको नाम सम्म मात्रै सिमित रह्यो। लक्ष्मी आफैले उपेक्षा नगरेको भएपनि लामो समय सम्म देवकोटाको साथ लक्ष्मीलाई प्रिय भएन। वालककालदेखि नै देवकोटाको दिमाग जति तन्दुरुस्त थियो उनको शरीर त्यो अनुसार थिएन। पहिली पत्नीको देहावसानपछि आफूभन्दा पच्चिस वर्ष कान्छि अमरराज्यलक्ष्मीसंग तिलमाधव देवकोटाको विहे पश्चातका छ भाई छोरामा साहिला लक्ष्मी प्रसाद अंग्रेजी ट्युसनले दाजुले पैसा कमाएको देखेर वालककाल देखिनै अंग्रेजी शिक्षा प्रति आकर्षक भएका रहेछन्। उनले प्रतिकुल परिस्थितिमा पनि अंग्रेजी शिक्षा लिएरै छोडे। त्यति मात्र हैन उनले वालककालमा सोचेको र कल्पेको भन्दा वढि ट्युसन पढाए,। दाजुको भन्दा कता हो कता वढि आमदानी पनि गरे। तर अव्यवहारिकता, अम्मल र आफ्नै अस्तव्यस्ततामा गरिवी सधैं उनको साथमा नै रह्यो। आर्थिक कष्ट माथि पनि वेलावेलाआईपरेका पारिवारिक दैवी प्रहारले पनि देवकोटाको जीवनवाट पिडाको वाक्लो तुवांलो कहिल्यै हट्न सकेन। आकर्षक व्यक्तित्वका धनी देवकोटाको शरीरलाई भने रोगले प्रायजसो अंगाली नै रह्यो। निम्सरो शरीर मात्र हैन असाधारणरुपले सक्रिय उनको दिमाग लाई यसको संतुलन विग्रिएको समेत भनियो। फलस्वरुप रांचीको मानसिक अस्पतालमा उपचारार्थ भर्ना हुनु परेको समेत विडम्वनाले देवकोटाको विक्षिप्त आत्मसम्मान प्रसिद्द कविता पागल मा व्यक्तियो। चुरोटको अम्मलले देवकोटाको पकेट मात्रै रित्याएन यसले भावनात्मक , पारिवारिक, शारिरिक सवै क्षेत्रमा अपांग वनायो। यसै अम्मलले उनलाई आधा शताव्दी पनि पार गर्न नदिई जीवन नै समाप्त पारिदियो। सरस्वतीलाई दास वनाउन सक्ने देवकोटालाई चुरोटको अम्मलले स्वाभिमान, आत्मप्रतिष्ठा वाट पुरै निर्वस्त्र वनाई दियो।
पेशा: अत्यन्त प्रतिभाशाली, सरल,मीलनसार , उदार देवकोटा, आकर्षक वाक्शक्तिले पनि समृद्द थिए। देवकोटाका पेशाहरुमा सानु रहेको बेला आफ्नै वुवाका रचना साफीगरिदिने वाट ट्युसन पढाउने शिक्षक, वकील, जागीरे, प्राध्यापक, सरकारी सल्लाहकार, मन्त्री, प्राज्ञ, सवैनै रहेका छन।,सवै पेशामा पाएका सफलता ले एउटा वावु र पति पेशामा देवकोटालाई सफल तुल्याउन मद्दत चांहि पुर्याएको थिएन। धेरै समय एउटै पेशामा भन्दा अलिअलि सवै क्षेत्रमा उनी संलग्न रहेका थिए। उनले युगवाणी र ईन्द्रेणी पत्रिका मार्फत पत्रकारिता पनि आंशिक रुपमा अंगालेका थिए। शिक्षण संस्थाहरुमा हिन्दिको सट्टा नेपाली भाषाको वाहुल्यको लागि प्रयास गर्ने देवकोटाले आफ्नो मन्त्रित्व कालमा त्रिवि निर्माणस्थल कीर्तिपुरको छनौटमा ठूलो योगदान समेत पुर्याएका थिए।
देवकोटाको कृतित्व; अगाध प्रतिभाले सम्पन्न देवकोटा का कृतित्वको वारेमा विवेचना गर्नु भनेको देवकोटा सिंगो व्यक्तित्वको विवेचना गर्नु हो। देवकोटाको लागि स्वास-प्रस्वास जत्तिकै स्वाभाविक रहेको उनको लेखनको वयान गर्न उनी जिवित रहेको आधा शताव्दि समय पनि पर्याप्त हुदैन। देवकोटालाई रांचीमा उपचार गर्ने डाक्टर वर्कले हिलले "देवकोटा नेपालमा जन्मिनु भूगोलको गल्ति(geographical mistake) भने पनि नेपालमा देवकोटाको जन्महुनु नेपाल र नेपाली भाषाको लागि नियतिको सवैभन्दा अमूल्य वरदान मान्नु पर्ने हुन्छ। आफ्ना समकालिन कवि शिरोमणी लेखनाथ पौड्याल, नाटक सम्राट वालकृष्ण सम, गोपाल प्रसाद रिमाल संग प्रभावित देवकोटाले ती सवैलाई असाध्य आदर गर्ने गरेकोवाट नेपालीसाहित्यको सिंगो भन्डार देवकोटाको विनम्रता अनुमान गर्न सकिन्छ।
देवकोटाको कृतिको कुरा गर्दा नेपाली साहित्य भन्डार नै केलाउनु पर्छ।, समय र परिस्थितिको अनुमति अनुसार नामै मात्र लिन खोज्दा पनि देवकोटाका कृतिले कागजका थुप्रै पाना भरिन सक्छन्। "देवकोटा पन्त प्रसाद निराला सवै हुन्" भन्ने भारतीय विद्वान राहुल सांकृतायनको अभिव्यक्ति ले पनि न्याय गर्न नसकेका देवकोटाको विद्दता अनुपम रहेको छ।
खण्डकाव्यमा मुनामदन, कुन्जिनी, राजकुमार प्रभाकर, लुनी, म्हेन्दु, ,रावणजटायु युद्द आदि गरेर सन् १९३२ देखि उनको स्वर्गारोहण पछि २०५९ मा छापिएको तुषार वर्णन समेतगरी तीनदर्जन भन्दा वढी र केही अझै अप्रकासित रहेको वताइएको छ। "मुनामदन बाहेक मेरा सवै रचना जलाइदिए हुन्छ" भन्ने देवकोटाका खण्डकाव्य मध्ये मात्र नभएर देवकोटाका रचनाको शगरमाथाको शिखरमा मुनामदन स्थापित रहेकै छ।
त्यसैगरी महाकाव्यहरुमा तीन महिना भित्र पुरा भएको शाकुन्तल देखि दस दिनमा तयार सुलोचना लगायत आधा दर्जन जति छन्। ती मध्ये पनि पौराणीक विषयवस्तु लिएको शाकुन्तल र सामाजिक मान्यताले दुखेका जीवन को सुलोचना वढि उल्लेखनिय देखिन्छ।
पुतली र सुनको बिहान जस्ता वाल कविता संग्रह देखि भिखारी , देवकोटाका कविता र नवरस अनि फुलफुलेको वागमा आदी गरेर डेढ दर्जन भन्दा वढि छापिएका कविता संग्रह मध्ये भिखारी, यात्री,मार्ग , पागल आदी कविताहरु सवैको मनमा कुदिएर रहेका छन्।
कृषिवाला र सावित्री सत्यवान जस्ता गितिनाटकले पनि नेपाली साहित्याकाशलाई उत्तिकै उजिल्याएका छन्।
लक्ष्मी निवन्ध संग्रह र दाडिमको रुखनेर लगायतका आधा दर्जन निवन्ध संग्रहमा लक्ष्मी निवन्ध संग्रहको नाम नसुन्ने विरलै कुनै नेपाली होला। त्यसमा पनि लक्ष्मी निवन्ध संग्रहको के नेपाल सानु छ, एउटा अनुपम निवन्ध भएर रहेको छ।
देवकोटा को वहुमुखी प्रतिभाले केहि कथा संग्रह, उपन्यास, अनुवाद, समालोचना आदि विधामा पनि कलम चलाएको नै पाईए पनि देवकोटालाई वास्तवमा कवि वढी मानिएको छ। उनका कविता, खण्डकाव्य, महाकाव्य मात्र नभएर उनका सम्पूर्ण रचना कवितात्मक, छन्। प्रकृति प्रेम, लयात्मक काव्यिक विम्व प्रयोग,सामाजिक व्यंग्य,नारी सुलभ कोमलता, उपमा प्रयोग शाव्दिक निर्माण आदि देवकोटाका विशेषता हुन्। यी सवै कुनै न कुनै रुपमा उनका रचनामा भेट्टिन्छन्। देवकोटाका रचनाको संख्याभन्दा पनि वढि विश्लेषित देवकोटाको परिभाषा अनुसार देवकोटाले पूर्वीय अध्यात्मले निर्धारण गरेको मानवतावादमा प्राच्यिय भौतिकताको परिमार्जन भेट्न सकिएको र प्राच्चिय दर्शनको भौतिक चिन्तनलाई पूर्विय आदर्शले उजिल्याउन खोजिएको तथ्य प्राध्यापक राजेन्द्र सुवेदि वताउछन्।
कृतित्वको आधारमा गरिएको देवकोटाको वैचारिक विश्लेषण अध्ययन गर्दा देवकोटा उनको लेखनको प्रारम्भिक कालमा प्राचिन आदर्शका पक्षधर र पुनरुत्थानवादि रहेको पाईन्छ भने केहि समय देवकोटा समय सापेक्ष पूजीवादी प्रजातान्त्रिक सिद्दान्त तर्फ आकर्षित भएका देखिन्छ। पछिल्लो समयमा कृषिवाला र प्रलय आदी रचना ले समाजवादी लक्षतिर देवकोटाको विचार उन्मुख देखिन्छ। जीवनको अन्तिम चरणमा आएर देवकोटा भक्तिवादि र आध्यात्मिक देखिए पनि उनका रचनाहरु मानववादि र प्रकृतिवादि भने सधै नै रहिरहेका पाईएको छ।
यसरी लक्ष्मी प्रसाद देवकोटालाई नेपाली साहित्यको सिंगो संस्था नै हुन् भन्दा अत्युक्ति हुंदैन। देवकोटा विश्व साहित्य ईतिहासको एउटा आधारभूत खम्वा हुन्।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु