बुद्धले मोक्ष पाए हुन्थ्यो

- ईगम खालिङ

वनभोजमा मातेर उभिरहेको एकजना शिक्षकले मौका पारेर एकजना शिक्षिकालाई भन्छन्, “गुरुमा ! सुन्नुहोस् त, म पनि विवाहित अनि तपाईँ पनि विवाहित, मेरो पनि नानी छ अनि तपाईँको पनि, तर विवाहितहरूले मनोरञ्जन गर्नुहुँदैन भन्ने कुरो कुनै कानुनको किताबमा लेखेको छैन ! त्यसैले भनेको एकपल्ट ‘आई लब ह्यू’ भनिदिनुहोस् न ! तपाईँको मुखबिन्दबाट यति सुन्न पाए मेरो जीवन एकैचोटि सफल हुनेछ । भोलि त ‘आत्मा परिवर्तन’ भनोस् कि ‘क कसले आविष्कार गर्यो ?’ भनेर सोधोस् म बुद्धले मोक्ष पाएजस्तो चुपचाप अष्टमार्गको बाटोमा हिँड्नेछु ।”

त्यो सुनेर गुरुमा खितिति हाँस्न मात्र थालेकी थिईन् “के भो ? के भयो हरे, गुरुमा?” भन्दै उनको साथी आइहालिन् । त्यसपछि गुरुमा पनि “सरले पनि साह्रै हँसाउनुहुन्छ !” भनी राखेर साथीसित उतैतिर लाग्छिन् ।

शिक्षकलाई खूब रिस उठेर आउँछ र फतफताउँदै त्यहाँबाट अर्को ठाउँतिर लाग्छन् । अलिक पर, एउटा सानो डाँडामा आइपुगेपछि, उसले आफूलाई सम्हाल्दै तलतिर निहाल्छन्: तल अर्को एकजना शिक्षकले चार-पाँच जना गुरुमाहरूसित गल्प जोत्दै रहेछन् । त्यो देखेपछि ऊ आफैँसित बरबराउँछन्, “यो सर त भालेहरूसित हिँडेको कहिल्यै देखेको छुइनँ । यिनी पनि मुजुर भएको भए कहिले पोथी भइसक्थ्यो होलान् !

पिउँदै, नाँच्दै, गाउँदै अनि दाउ छोप्दै त्यो दिन पनि त्यतिकै बित्छ । अनि राति पूरा भएर सुत्छन् । भोलि बिहानीपख “के तिम्रो बुद्धले मोक्ष पायो” भनेर सपनीमा श्रीमतीले सोद्धा ऊ निद्रामा नै ‘बुद्ध कि बुद्ध” भन्दै कराई पठाउँछन् । उसको छेउमा सुतिरहेको साथी पनि तर्सिएर बिउँझी पठाउँछन् ।

भरे बलुकी फुर्सद हुँदा उसको साथीले गम्भीर भएर सोध्छन्, “साथी, तपाईँ बौद्ध धर्म मान्नुहुन्छ ?” उसले मुसुक्क हाँसेर ‘होइन’ भन्छन् । साथीले छक्क परेर फेरि सोध्छन्, “होइन भने, बुद्धचाहिँ को हो नि ?” “बुद्ध ! बुद्ध मेरी श्रीमतीको नाम हो ।” त्यति भनेर ऊ भजन गाउँदै पलङको छेउमा टोलाइरहन्छ, हातमा मात्र पानीको ग्लास लिएर ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु