श्रद्धाञ्जलीको मर्म

- लक्ष्मी उप्रेती

समय कहिले कहीँ कुरूप र कठोर हुने रैछ
संसारका मानिसको मुस्कान
एकैपटक खोसेर तहसनहस पार्ने
शून्यमा शून्यवत बनाउने जीवनकाया।

आकास उहि छ आफ्नो साम्राज्यमा फिजिएको
सूर्य उदाउछ अस्ताउछ समय गति बनेर एकसुरले
धरती उहि छ आफ्नो निष्ठामा पसारिएको
आफ्नो पद्धतिमा अनवरत चल्ने प्रकृति प्रभाह
यसमा अलिकति पनि संसय छैन्
तर यहाँ त मानिसहरू नै परास्त परास्त
घरमा थुनिनुको पराकाष्ठा उफ!
मन मस्तिष्क नै एक्लिएर एकलकाटे
हरे! के भनौं यो समयको क्रुरतालाई
ऊ बिष ओकलेर हाँसिरहेछ मान्छेलाई रूवाउदै
युद्धमा हारे भन्दा भनि भयानक हार मान्छेको
हे दैव! कति दिन आफ्नाबाट भाग्नु
बिदा भएका प्रियजनलाई टुलुटुलु अलगैबाट हेर्नु
यो विडम्बना हो कि नियति हो मानिस हुनुको।

ए समय! अब मजाक नगर
मानिसहरूको निर्मम पिडाको मर्म बुझिदे
श्रद्धाञ्जलीका अक्षर पढ्न गाह्रो गाह्रो
तर बारम्बार श्रद्धाञ्जली दिइरहनु परेको छ
आफन्त या अरूहरूमा संवेदित भई
अन्तिम बिदाईमा स्पर्शहिन आफ्नाको पिडा
श्रद्धाञ्जलीको मर्म कति दुख्ने हुन्छ
अझ कति भोगाउछस समय ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु