विकाश

- विनोद नेपाल

अचेल गाउँ हँंदै सदरमुकामसम्म पुग्ने गाडीहरु चल्न थालेको र धेरैतिर सडकहरु बनेको उसलाई बाबुले फोनमा भनेका थिए । यसैले ऊ विमानस्थलबाट सरासर बस बिसौनी पुग्यो ।
धेरै वर्षपछि गाउँ फर्केको र सुन्दर गाउँको फेरिएको रुप हेर्न आतुर ऊ बसमा बस्यो । मानिसहरुका कुराकानी सुन्दै र आकलझुकल सोधिने प्रश्नको जवाफ दिंदै गाउँ पुग्यो ।
गाडी बाट ओर्लियो र दायाँबायाँ नियाल्यो ।
उसलाई गाउँ नितान्त नौलो लाग्यो ।
बाटो चौडा भएछ तर चौतारी मासिएछ । चाडपर्वमा मेला लाग्ने त्यत्रो चौरको नामोनिशान मेटिएछ । दसैं तिहारमा पिङ हाल्ने माझ गाउँको पिपलको बोट काटिएछ । डाँडाको मन्दिर खण्डहर भएछ । पोखरी पुरिएछ ।
देखेर नमीठो मान्यो ।
अलि तल पुग्दा आफूले पढेको विद्यालय देख्यो । नयाँ भवन बनेको र विद्यालयको रुप नै फेरिएको देखेर ऊ खुसी भयो ।
घर पुग्यो । बाबुसँग एकसाथ धेरै जिज्ञासा राख्न थाल्योे ।
‘स्कुल त राम्रो बनेछ नि बा,विद्यार्थी पनि प्रशस्तै होलान् नि ?’
बाबुले भने ‘भवन मात्रै राम्रो हो, मान्छेहरु शहरमा बस्न थाले,यसैपनि गाउँमा मान्छे कम छन्,यहाँ बस्नेहरु पनि पढ्न शहर जान्छन्’,‘विकास भनेको यही त रहेछ’

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु