लन्ट्याक म्यारेज

- कृष्ण प्रधान

बिहे-बटुल, मेला-पात, पूजा-आजा, सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा, जनसभा, जूलूस, मरौ-परौका घरमा राती रुङ्नु जाँदाको समय भेटघाट । परिचय आदान-प्रदान । मुस्कानको भाषामा प्रतीकात्मक सङ्केतको आरोहण-अवरोहण । लभको क्रिचमा ब्याटिङ्-बलिङ् । सामिप्यको स्कोर बढ़ेपछि एकान्तमा मिठाइलो भेटघाट । कहिले सिनेमा, कहिले फूलबारी, कहिले-काहीँ ता सुनसान फारसभित्र भेटेर लम्बेतान कुराकानी । हात समाता-समात् । आरम्भमा कुरीकुरी; बिस्तारै टेसिलो ठुस्का-ठुस्की । दुइ हृदय एक भएपछि ढ्याङ् । अर्थात् जीवन-साथी कन्फर्मड। मनपर्दो जीवन-साथी फेला परेपछि साइसुत्तै कुम्लोकुटुरो पोको पारी सुइँकुच्चा ठोकी बिहे गर्ने आधुनिक ढाँचालाई 'भागी बिहे' भन्नु नै न्यानो सुनिन्छ । म्यारेजलाई साधारणतः तीन भागमा बाँड़िएको पाइन्छ - (क) कन्ट्याक्ट म्यारेज, (ख) लभ म्यारेज अनि (ग) लन्ट्याक म्यारेज ।
'भागी बिहे'-लाई 'लभ म्यारेज' भन्दा जिब्रोलाई स्वाद परेजस्तै 'मागी बिहे'-लाई पनि 'कन्ट्याक्ट म्यारेज' वा 'एरेञ्ज म्यारेज' भन्नु नै स्वादिलो वा टेसिलो लाग्छ । परम्परागत संस्कृतिकै आधारमा 'कन्ट्याक्ट म्यारेज' वा 'एरे़ञ्ज म्यारेज' गरिन्छ । यस्ताखाले म्यारेजमा कर्मकाण्ड, पूजा-पाठ सबै नै नियमपूर्वक पालन गरिन्छ । 'एरे़ञ्ज म्यारेज' वा 'कन्ट्याक्ट म्यारेज' बिस्तारै आरम्भ हुन्छ भने 'लभ म्यारेज'-मा 'प्रणयकाण्ड'-को च्याप्टर कुम्लोकुटुरो पोको पारी सुइँकुच्चा ठोकेकै दिन क्लोज्ड हुन्छ र 'ठाटाक-ठुटुककाण्ड' बामे सर्न थाल्छ ।
तेस्रो वा अन्तिम म्यारेज हो 'लण्ट्याक म्यारेज' । सामान्य हेराहेर् वा देखादेख् भएपछि सबै कुरा एक मिलिकमै ठामठिम भइहाल्ने खालको 'लन्ट्याक म्यारेज'-लाई उत्तर आधुनिक विवाहकै श्रेणीमा ढुक्कैले राख्दा हुन्छ । 'लन्ट्याक म्यारेज'-मा झ्याइँ-झ्याइँ बाजा-गाजा बजाउने, जन्तीको लावा-लस्कर लाने न झ्याउला हुन्छ न ता कुनै कर्मकाण्डकै लण्ठा । दसैँकै दिन टीका सँगसँगै टीकाटालो पनि । एउटै ढुङ्गाले दुइवटा चरो ढ्याङ् । साँप पनि ठहरै; लट्ठी पनि जस्ताको त्यस्तै । एक पन्थ दुइ काज । 'चितायो कि बितायो' भन्ने खालको यस्तो म्यारेजमा कुनै मन्दिर गई पूरोहितलाई वकिलको रूपमा उभ्याई वर-पीपलको रूखलाई साक्षी राखी सिउँदोमा सिन्दूर हालेपछि लण्ठैसाफ । बाबु-आमा पनि लण्ठामुक्त । 'लन्ट्याक म्यारिज'-मा 'दसैँ टीका' पनि 'टीकाटालो' पनि एकैखेपा ठामठिम गर्ने परम्परालाई 'बाटो खोलिएको' भनिन्छ । घरकाहरूलाई कुनै लण्ठामा नपारी 'लन्ट्याक म्यारेज'-को उत्तर आधुनिक परम्परा सम्हाल्ने बुझकी छोरीको निम्ति दसैँकै 'टीकाटालो' मार्फत् मञ्जूरी भएको 'गेट पास' हो यो 'लन्ट्याक म्यारेज' ।
'एरेञ्ज होस्' या 'कन्ट्याक्ट', 'लभ' होस् वा 'लन्ट्याक म्यारेज' । यी मघ्ये जुनसुकै म्यारेजको निम्ति सबैलाई केही न केही मात्रामा छूट छ । घरबाट उचित अनुमति होस् वा नहोस् पर्वाह छैन । 'गधे से दिल लगी तो परी क्या चिज है ?' अब गूँदजस्तो टाँसियो-टाँसियो । दसवटा हात्तीले त्यो छुट्याउन सक्तैनन् भने मान्छे मूलाले के ताछ्ला र ! आदिकवि भानुभक्त आचार्यले त्यसै भनेका छैनन् -
"जब खारेको प्रेमको गूँदले
एक बनी दुइ टाँसिन्छन् ।
तब मृत्यु ता के
मृत्युञ्जयले पनि त्यो छुट्याउन सक्तैनन् ।।"
(भानुभक्त आचार्य)
आरम्भमा सामान्य गञ्जागोल भए पनि सबै ठामठिम भइहाल्ने कुराहरू हुन् । सबै कुराहरू ठामठिम भई सकेपछि 'ग्राण्ड पार्टी' गरिनुपर्ने परम्परा हामी सबै गोर्खेहरूले मात्र जानेका छौं ।
'लन्ट्याक म्यारेज पार्टी'-को नालीबेला पनि केलाइराखुँ क्यारे ! भाड़ामा लिएको विशाल 'बन्क्वेट हल' वा गाउँकै 'कम्युनिटी हल' अथवा 'समाज घर'-मा वा घरकै 'आँगन'-मा मानिसहरू ग्वारग्वार्ती आएर घुइँचो बनाएकाले एउटा तोरीको गेड़ो पस्ने ठाउँ छैन । बारीको छेउमा बनाइएको बारको छेउमा गाउँका ठूला-बड़ाहरू ठेलम्-ठेल । भुराहरूलाई कुनै चान्स छैन । कसैले फोल्डिङ् छाता, कसैले सलवार कुर्त्ताको पिस, कसैले प्रेशर कुकर, कसैले नन् स्टिक प्यान ता कसैले चारानीभरिको फुली नववधुको सुकोमल हातमा आशीर्वादसहित प्रदान गरेको दृश्य ईर्ष्णीय देखिन्छ । कानको जाली फुटाउञ्ले आवाजमा 'बक्स' आफ्नै धुनमा एक्लै फ्लाँकिरहेछ । क्याटररहरू टाई-सुटमा आमन्त्रित अतिथिहरूका माझबाट स्वेटर बुन्ने धागोको काँटाजस्तै छिरेर वल्लो छेउ र पल्लो छेउ पेट्रोलिङ् गरिरहेछन् । आवश्यकताअनुसार हातको ट्रे टाउको माथिमाथिबाट पास गर्दैछन् । मानौ, स्कूलको वार्षिक खेलकूद प्रतियोगितामा अभिभावक र आमन्त्रित अतिथिहरूले 'पासिङ द पार्सल' खेलेजस्तो ।
तरूणीहरू इत्रिँदै, छिल्लिँदै, मस्किँदै, लच्किँदै ग्वार-ग्वार्ती आइरहेछन् । सबैको ओंठ रङ्गिएका छन् । मैनबत्तीले पालिश गरेजस्तो चिल्लो काठजस्तो मुहार । स्टाइल-स्टाइलको साड़ी पहिरिएका एक हूल आइमाई मानिसहरूको आगमन । ब्लाउज उस्तै...रूमाललाई पनि जिताउने खालको । कतिको ता अदृश्य ब्लाउज । कुनै-कुनै ब्लाउजको अघिल्तिरका दृश्य देख्दा पुरूषहरुको टाउको सिग्नल डाउन नभई उपाय छैन ।
नामै नसुनिएको , नदेखिएको कपड़ा पहिरिएकी अर्का हूल तरूणीहरूको दृश्य फेरि अर्कै छ नाराण ! कसैले 'हिप् ह्याङ्गिङ्' ता कसैले 'ब्रेष्ट प्रोमोटिङ' । एउटी युवतीले पाईजामाजस्तै कपड़ा पहिरिएकी दृश्य उदेकलाग्दो देखिँदैछ । फेदतिर फ्याल्-फ्याल् गरी काटिएको । अचानक हेर्दा कसैले छुराले चिरेकोजस्तो । यो बटम् (फेद्) हो अनि टप (माथिल्लो) चाहिँ सिल्कको स्याण्डो भेष्ट । एकजनाले भनिहालिन् "क्या राम्रो क्लाउन् कट् लाएकी हो'कि ! वैंशको डिलमा पुगेका यी युवतीहरू सबै 'लन्ट्याक म्यारेज'-कै उम्मेद्वार हुनाका निम्ति पार्टीमा आएका हुन् भन्दा सानो मुख ठूलो कुरा नहोला कि !"
पार्टीमा आएका बूढ़ाबूढ़ीदेखि भुराभुरीसमेतका आँखा ती युवतीहरूमाथि नै विचरण गरे तापनि बूढ़ीहरू लाजले टाउको निहुराउँछन् । युग बदलिसकेको छ ।
एकजनाको जिज्ञासा - "यो केटी कसकी छोरी हुन् ?"
- "फ्लानुकी छोरी ।"
- "केटीहरू गतिलो स्पिडले बढ्छन् ।"
- "कता ?"
- "त्यो म भन्दिनँ, भन्न सक्तिनँ ।"
- '"ऊ त्यो रातो भेष्ट लाउने केटो चाहिँ को हुन् फेरि ? बाँदरजस्तो निक्कै पो उफ्रिँदैछन् ता हँ मोरो !"
भिडियोग्राफर उस्तै व्यस्त । तरूणीहरूकै भीड़मा मात्र क्यामेरा विचरण गरिरहेछ । भन्नु केही छैन, "लन्ट्याक म्यारेज"-कै उम्मेद्वारलाई आफ्नो क्यामेरामा बन्दी बनाउने प्रयास गरेका हुन् कि ! ठेगान छैन । "लन्ट्याक म्यारेज"-को सफल उम्मेद्वार अर्थात् नववधु डेकोरेटेड चेयरमा फूलै-फूलले सिँङ्गरिएर गजधम्म बसेकी छन्। शरीरका चारैतिर झिङ्गा र मौरीहरू निष्फिक्री घुमिरहेछन् । बेहुली सजाउने कम्पनीले पाँच घण्टासम्म समयका साथै परिश्रम फुर्मास गरेको स्पष्टै देखिँदैछ । केशराशीमा पाँचपल्टसम्म स्याम्पू निक्षेप ; दुइ बोतल परफ्यूम । ओंठमा एउटा सिङ्गै लिपष्टिक खर्च गरेकोजस्तो छ्याङ्ङै देखिँदैछ । आँखाका चारैतिर कुना-काप्चामा आई लिनर, आई सेडो, आई ब्रो, गाँजलले पनि नपुगेर फेभरिक कलर मेहनत गरेर खर्च गरेजस्तो देखिन्छ ।
उपरोक्त सिँगार सामग्रीको गठबन्धनले हो वा के ले हो को'नि ( ! ) नववधु बेलाबखत उल्टी गर्लिन्-गर्लिन् जस्तो वाक्-वाक् गर्छिन् ।
यो दृश्य देखेर एकजना अनुभवी बुजुर्ग व्यक्तिले उनको मुख मेरो कानैमा अड़ेसाएर भने - "देख्नुभो ज्यू...देख्नुभो ? यो एड्भान्सड् बुकिङको साइन् हो ।"
मेरो मुख स्याउँस्याउँती चिलाइ हाल्यो । प्वाक्कै बिचैमा बोलिदिएँ - "टु इन वान । एउटामा एउटा फ्री ।"
मेरो फिलामा हत्केला बजार्दै उनी बोले - "कुनै लण्ठा बेगरै साउँ-सूद एकैचोटि पाए के खोज्नु ? कुनै लण्ठा नहुने यस्तो म्यारेजलाई के भन्छ थाहा छ ज्यू ?"
- "मलाई थाहा छैन"- सुस्तरी बोलेँ म ।
ती बुजुर्ग व्यक्ति स्वर ठूलो पारी एकै श्वाशमा बोलिपठाए - "लन्ट्याक म्यारेज....!!!"

उत्तर बङ्गाल (भारत)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु