नियात्रा विधाका विशेषता

- जय छाङ्छा

नियात्रा एक स्वतन्त्र विधाको रूपमा विकसित भई नेपाली साहित्यिक जगतमा स्थापित भइसकेको छ । त्यसैले साहित्यका अन्य विधाहरूका आफ्नै विशेषता भएजस्तै यसका पनि आफ्नै मौलिक विशेषता छन् । यात्राको विवरण मात्र प्रस्तुत गर्दैमा नियात्रा भन्न सकिँदैन । नियात्रा बन्नका लागि यात्रा वृत्तान्तलाई साहित्यमा पाइने गुण तथा सरल, रोचक शैलीमा लेखिनुपर्छ । जसले पाठकको मन तथा मस्तिष्कमा स्थायी किसिमले प्रभाव पार्न सक्षम होस् । नियात्राकारको संवेदनशीलता, यात्री मनको भाव, विचार र कल्पनाशीलताले यात्रा विवरणभन्दा माथि उठेको हुनुपर्छ । अर्थात् जब नियात्राकारले यात्रा वर्णनको सिलसिलामा आफ्नाे अन्तरहृदयको ऊर्जा भरेर लेखन कार्य गर्छ, तब नियात्रा साहित्यको सिर्जना हुन्छ । यस आधारमा नियात्राका विशेषताहरू निम्नानुसार छन्ः

नियात्राकार स्वयं नायक,

नियात्राकारको सक्रिय भूमिकाको अनिवार्यता,

कल्पनाशीलता,

व्यक्तिपरक सिर्जना,

चित्रात्मकता,

आत्मानुभूतिको प्रस्तुति,

सत्यता र विश्वासनीयताको सिर्जना,

प्रत्यक्षदर्शी एवम् वास्तविक सिर्जना,

संवेदनशील शिक्षित वर्गले सहज किसिमले सिर्जना गर्न सक्ने,

स्वदेशको भन्दा विदेश जाँदाको नियात्रा सिर्जना मोह,

गद्य, पद्यलगायत सबै विधामा सिर्जना हुने,

भौतिक उन्नति प्रगति, रहनसहन, वातावरण तथा जनजीवन बारेमा केन्द्रित भएर सिर्जना हुने,

पत्र–पत्रिका, साहित्यिक पत्रिका आदिमा प्रकाशनका निम्ति उपयुक्त ठहरिने आदि ।
नियात्राकार स्वयं नायक

नियात्रा साहित्यको सिर्जना आँखाले देखेको वर्तमानलाई, भोगिएका चिजहरू र सो विषयहरूमा गरिएका अनुभूतिहरूलाई चिन्तन मनन गरी सरल, सहज, मनोरम आदिलाई रेखाचित्रात्मक रूपमा तयार पारिने साहित्यको एउटा लोकप्रिय विधा हो । जसमा नियात्राकार स्वयं नायकको भूमिकामा रहन्छ र त्यसमा नायकमा हुनुपर्ने गुणहरू साहस, संघर्ष, अनुकूलता, प्रतिकूलता, समस्याहरूको आगमन, परिस्थितिलाई अनुकूल बनाउने क्षमता आदिको प्रविष्टिका कारणले पाठकहरूको मनलाई तान्न सक्ने शक्ति हुन्छ । यिनै कारणले पनि नियात्रा विधा लोकप्रिय बन्न सफल भएको छ ।

यसको उदाहरणका रूपमा नियात्राकार सत्यमोहन जोशीको न्युजिल्यान्डमा पुग्दाको वर्णनलाई लिन सकिन्छ । उनको कृति ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ (वि.सं.२०४९) का अनुसार सन् १९५३ जुन १ तारिख (तद्नुसार २००९ जेठ १९ गते सोमबार) का दिन ललितपुरको बखुंबहालबाट न्युजिल्यान्डका लागि प्रस्थान गर्छन् र जुन ४ तारिखमा भूमध्यरेखा पार गर्दा प्रमाणपत्र प्राप्त भएको कुरा उल्लेख गर्छन् । त्यसरी नै जुन ५ मा सिड्नी, अस्ट्रेलियाबाट न्युजिल्यान्डका लागि स्काइमास्टर फ्लाइङ बोटबाट समुद्रको यात्रा गरी जुन ६, १९५३ मा वेलिङ्टन पोर्टमा उत्रिएको कुरा लेख्छन् । न्युजिल्यान्डमा प्रवेश गरेपछि विभिन्न पत्रपत्रिका, रेडियो आदिले सगरमाथाका प्रथम आरोही न्युजिल्यान्डबासी सर एडमन्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गेले १९५३ मे २९ का दिन सफलतापूर्वक आरोहण गरेकाबारे विविध कोणबाट अन्तरवार्ता लिएका कुराहरू बडो उत्साही र रोमाञ्चक क्षणहरू उल्लेख गर्छन् । यसबाट के स्पष्ट हुन्छ भने नियात्राकारले भोगेका, देखेका, अनुभूति गरेका कुराहरूले नै महत्वपूर्ण रूपले नियात्रामा स्थान पाएको हुन्छ ।

नियात्रा साहित्यको सिर्जना आँखाले देखेको वर्तमानलाई, भोगिएका चिजहरू र सो विषयहरूमा गरिएका अनुभूतिहरूलाई चिन्तन मनन गरी सरल, सहज, मनोरम आदिलाई रेखाचित्रात्मक रूपमा तयार पारिने साहित्यको एउटा लोकप्रिय विधा हो ।

यस्तै अर्का नियात्राकार दौलतविक्रम विष्टको वि.सं. २०१० माघ महिनाको यात्रा वर्णनलाई लिऊँ– ‘मेरो आसनदेखि बिल्कुलै सामनेको दुई आसनमा दुई नवयौवना नारी बसेका थिए । तिनीहरूको दृष्टि मतिर थियो अथवा अन्य कतैतिर थियो, त्यो कुरा परमात्मै जानोस् । किन्तु हेराइको केन्द्र भने म बसेपट्टिकै दिशातिर थियो । ती दुवैको शरीरमा शोभा पाइरहेको नीलो सारी, नीलो ब्लाउज तथा घाँटीमा रहेको सुनको सिक्री, अनि कानमा लड्केको इयररिङ आदिको समानताले ती दुवै एउटै परिवारका हुन् भन्ने प्रष्ट बोध गराइरहेको थियो । तर दुवैको अनुहारको बनावटमा यत्ति फरक पर्न गएको थियो, जसले गर्दा मेरो अन्तरात्मा त दुवैलाई एउटै बाबुको छोरी हुन् भनेर कबुल गर्न प्रस्तुत थिएन । उमेर यही १६–१७ थियो, बर्ता भए १८ ।’ (प्रगति द्वैमासिक साहित्य संकलन, २०११ वैशाख–जेठ, सम्पादकः नारायण बाँसकोटा, ‘वायुयानमा पैंतालीस मिनेट’ शीर्षकीय नियात्रा, पृ.९६) ।

यस्तै प्रसंगमा लिन सकिन्छ केदारमणि आचार्य दीक्षितको २०११ साल जेठ महिनाको यात्रा वर्णन ‘बसमा बद्री’ शीर्षकीय नियात्रा– ‘यो यात्रा रानी जगदम्बाको सवारीसाथ गरेको हो । ... हरिद्वारमा केही दिन बसी, यहाँको पुण्यस्थलमा स्नान, दान र दर्शन गरी एक दिन हामी यहाँबाट ऋषिकेशतिर लाग्यौं बसमा । यहाँ एक रात एउटा धर्मशालामा बस्नुपर्‍यो । भोलिपल्ट बिहान नुहाई, गोदान आदि गरी आफ्नाे खाना खाइसकेर हामी ७ बजे बस चढेर बाटो लाग्यौं । श्री केदारनाथपट्टि मोटरको बाटो रूद्रप्रयागसम्म र बद्रीनारायणपट्टि त्योभन्दा टाढा पीपलकोटीसम्म मात्र बनेको रहेछ । त्यसैले डाँडी र भारी बोक्ने डोट्टेलको बन्दोबस्त गर्नुपरेको थियो ।’ (भारत यात्रा प्रसंग, वि.सं.२०४१) ।

उल्लिखित उद्धृत वाक्यांशहरूका आधारमा नियात्रा सिर्जना गर्दा नियात्राकार नै स्वयं नायकको भूमिकामा पाइन्छन् । तसर्थ नियात्रामा सर्जक स्वयं नै नायक हुन्छन् भन्नलाई कत्ति पनि अप्ठेरो हुँदैन ।
नियात्राकारको सक्रिय भूमिकाको अनिवार्यता

नियात्रा सिर्जनाका निमित्त नियात्राकारको सक्रिय भूमिका अनिवार्य तत्वको रूपमा हुन्छ । जसरी सूर्यको प्रकाशको उपस्थितिमा वस्तु र छायाको जस्तो । वस्तुको अनुपस्थितिमा छायाको कल्पनासम्म गर्न सकिँदैन र उज्यालो प्रकाशको अभावमा वस्तुको छाया बन्न सक्दैन । त्यसरी नै यात्रीको सक्रिय भूमिकाबिना नयाँ स्थानको यात्रा हुन सक्दैन । नयाँ स्थान पुग्ने चाहना, समर्पण, सक्रियताका साथै सिर्जनात्मक तिर्खाको कारणबाट नै नियात्रा सिर्जना सम्भव हुन्छ । यसर्थ भन्न सकिन्छ कि नियात्राकारको सक्रियता नै यात्रासाहित्यको जननी हो भने नियात्राको प्रमुख विशेषता पनि हो । नियात्राकारको नयाँ स्थान हेर्ने, घुम्ने र बुझ्ने लालसासहित सोका लागि आवश्यक सक्रियता, समर्पण र प्रतिबद्धताबिना यात्रा सम्भव हुँदैन । यात्रा नभई नियात्राको सिर्जना हुन सक्दैन ।

त्यसैले नियात्राकारको सक्रिय भूमिका सर्वोपरि हुन्छ नियात्रा सिर्जनाका लागि । यस कुराको पुष्टिका रूपमा उद्धृत गर्न सकिन्छ नेपाली साहित्यका विद्वान् प्राध्यापक राजेन्द्र सुवेदीका भनाइलाई– ‘नियात्राका पनि आफ्नै किसिमका विशेषताहरू रहन्छन् । यात्रा आफैँमा एउटा गति हो र यस गतिमा समाहित बन्दै जाने यात्री सहभोगबाट आर्जित अनुभूतिको गतिमय अभिव्यक्ति हो ।’ (नियात्राकार हरिकुमार श्रेष्ठको कृति ‘मैत्री एक्सप्रेस’को भूमिकाबाट) ।

नियात्रा लेखन र पठन स्थिर हुँदैन । सिर्जनामा समेत गति वा नियात्राकारको सक्रियता अभिन्न अंगका रूपमा हुन्छन् । नियात्राकार लैनसिंह वाङ्देलकै नियात्राका केही हरफहरूलाई लिऊँ– ‘सेक्रेकरको अग्लो डाँडोबाट रातमा देखिने प्यारिसको बत्ती, एफलटावर आदि अद्भूत छ । यो नगरको सुन्दरताको बयान गरेर साध्य छैन । कार पार्क गरेर हामी प्लास द तेत्रतिर बढ्छौं, टुरिस्टहरूको हुल छ यहाँ । पाँचै मिनेटमा पेन्सिल, क्रेयोन अथवा पेस्टलमा टुरिस्टहरूको पोट्रेट बन्छ । कैयन् टुरिस्टहरूले त्यहाँ आफ्ना पोट्रेट लेखाइरहेका छन् । कलाकारको बजारै छ त्यहाँ । रमाइलो छ । यस किसिमले गुजारा गर्ने हजारौं मामुली कलाकारहरू छन् प्यारिसमा ।’ (रोमको एउटा फूल र प्यारिसको एउटा काँडा, पृ. ५३) ।

यस्तै अभिव्यक्ति छ नियात्राकार घनश्याम राजकर्णिकारको पनि– ‘बोस्टन जाने बस समात्न चाइनाटाउनको बाबुली पुग्नु थियो । बस ९ बजे हिँड्ने ०८ः१५ सम्म त सब–वेको ट्रेनभित्र नै थियौं । सब–वेबाट बाहिर निस्किँदा पानी सिमसिम परिरहेको थियो । हामी उत्रेको ठाउँ अलि फरक परेछ । हामीले बुक गरेको बस रहने ठाउँ बाबुली पत्ता लगाउन हम्मेहम्मे पर्‍यो ।’ (यात्रा अमेरिकाकोः माया नेपालको, पृ.११५) ।

नियात्रा लेखन र पठन स्थिर हुँदैन । सिर्जनामा समेत गति वा नियात्राकारको सक्रियता अभिन्न अंगका रूपमा हुन्छन् । नियात्राकार लैनसिंह वाङ्देलकै नियात्राका केही हरफहरूलाई लिऊँ– ‘सेक्रेकरको अग्लो डाँडोबाट रातमा देखिने प्यारिसको बत्ती, एफलटावर आदि अद्भूत छ ।

नियात्राकार जय छाङ्छा बादल रुँदाको जुरिचमा लेख्छन्– ‘प्र्mयाङफोर्टका रंगीन दुनियाँ काइजर स्ट्रास्सेमा राम्रोसँग जमेको छ । काइजर स्ट्रास्सेको शरीरभरि बैंस फुलेको छ । अंगप्रत्यंगभरि माद चढेको छ । यौवनपुष्पित देहलताको पसल थापेर बसेकी छे– सुकुमारी काइजर स्ट्रास्से । उन्मत्त र कामुक भावनामा पस्रिएकी छे– निर्लज्जतापूर्वक । यथार्थमा भन्ने हो भने काइजर स्ट्रास्से रात्रिरानीको प्रमुख थलो हो । बैंककको पातपोङ, सुरीभोङ, आम्स्टर्डामको ड्यामस्क्वायर, बम्बईको फोकल्यान्ड स्ट्रिटजस्तै निन्दित ठाउँ हो– काइजर स्ट्रास्से ।... दिनमा भन्दा साँझतिर दोब्बर चहलपहल हुने यस स्थानमा डिस्को थेक, ज्याज क्लब, नाइट क्लबहरू छन् । सहरबासी दिनभरिको थकाइ बिसाउन बियरको चुस्की लिँदै बाजागाजाको आनन्दमा डुब्न हरेक साँझ यहाँ झुम्मिन आउँछन् । (बादल रुँदाको जुरिच, ‘सूर्यास्तपछि मुस्कुराउँछ काइजर स्ट्रास्से’ शीर्षकीय नियात्रा, पृ.३–४) ।

माथि उद्धृत गरिएका नियात्राका वाक्यांशहरूबाट पनि स्पष्ट हुन्छ कि जहिले पनि नियात्राकारको सक्रियताबिनाको नियात्रा सिर्जना हुनै सक्दैन । नियात्राकारले जे देख्छ, सो देखाइको बारेमा जे महसुस गर्छ वा तुलना गर्छ, त्यही कुरालाई आफ्नाे सिर्जनामा उतार्ने हुन्छ । तर कहीँकतै जाने काम नगरी वा यात्रा गरेको स्थानको बारेमा तादात्म्य नमिल्ने गरी वा एक स्थानमा बसेर कल्पना गरेर वर्णन गरेर मात्र नियात्राको सिर्जना हुन सक्दैन । तसर्थ अब्बल र यथार्थपरक नियात्रा सिर्जना हुनलाई नियात्राकारको सक्रियता अनिवार्य हुन्छ ।
कल्पनाशीलता

वास्तवमा नियात्रा लेखनका लागि कल्पनाशीलताको अवसर एकदम कम हुन्छ । तथापि स्थान र समयानुसार कल्पनाशीलताको लेप नलगाए रोचक र चित्ताकर्षक नियात्रा सिर्जना हुन सक्दैन । किनकि नियात्राकार वर्तमान समयलाई काखी च्यापेर अतीत तथा भविष्यतर्फ पनि लम्कन सक्ने स्थिति रहन्छ । जसले पाठकलाई आफ्ना लेखनतर्फ आकर्षित गराइरहन सक्ने सामथ्र्य राख्छ । तर कल्पनाशीलता त्यो बिन्दुसम्म ग्राह्य हुन्छ, जहाँसम्म यथार्थतालाई आघात पुर्‍याउँदैन । त्यसैले नियात्रा लेखनमा यथोचित मात्रामा कल्पनाशीलताको पनि स्थान रहेको हुन्छ ।

केही उदाहरणका रूपमा लिन सकिन्छ । जस्तो कि नियात्राकार निर्मोही व्यासका केही हरफहरूलाई – ‘रेसमकीराले किम्बुको पात खाएर त रेसम ओकल्छ भने यहाँ त एउटा प्रतिभाशाली कविले पाकेको किम्बुफल नै मुठी भरिभरि खाएको, अनि किन नओकलियोस् रसिलो कविता, होइन त?’ (सेरोफेरो सबै मेरो, वि.सं. २०६० को ‘घुम्दै फिर्दै बर्दहा’ शीर्षकीय नियात्रा, पृ.२०) ।

नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’ का केही हरफहरू– ‘हामी अर्को दिनको प्रथम प्रहरको नाङ्लोमा फनफनी निफनिन्छौं । एक धर्को आयु हाम्रो बाँच्ने वैङ्कको खातामा घट्छ । तर हामी भने नवीन दिनको पहिलो स्पर्शमा कौमार्य गन्धले मुग्ध हुन्छौं । जीवनहरू यसरी नै आफसेआफ गुडिरहेका छन् मृत्युनजिक पाइताला बढाउँदै मुस्काउँदै, कोपिला निमोठिन मुस्काउँदै फक्रेको फूलजस्तै ।’ (समुद्र पारि समुद्रवारि, वि.सं. २०६१ को ‘ट्युनिसको समुद्र छ मभित्र’ शीर्षकीय नियात्रा, पृ. १९) ।

नियात्राकार भीष्म उप्रेतीको यथार्थपरक कल्पनाशीलता यस्तो रहेको छ– ‘खाएदेखि जसले पनि हुन्छ नि । रक्सी जातले खाने होइन मान्छेले पो खान्छ त ।’ (यात्राका केही थुँगा फूल, वि.सं.२०४६ को ‘फाँट फाँटमा रमाएको मन’ शीर्षकीय नियात्रा, पृ ४४)।

नियात्राकार जय छाङ्छाका केही हरफहरू– ‘पृथ्वीलाई बाडुली चल्दा भूकम्प जान्छ भने वान्ता गर्दा ज्वालामुखी फुट्दछ ।’ (कंगारूको देशदेखि आइफेल टावरसम्म, वि.सं. २०५२ को ‘गोरखा पोखरा यात्राः मेरो अनुस्मरणमा’ शीर्षकीय नियात्रा, पृ. १४) ।

वास्तवमा नियात्रा लेखनका लागि कल्पनाशीलताको अवसर एकदम कम हुन्छ । तथापि स्थान र समयानुसार कल्पनाशीलताको लेप नलगाए रोचक र चित्ताकर्षक नियात्रा सिर्जना हुन सक्दैन । किनकि नियात्राकार वर्तमान समयलाई काखी च्यापेर अतीत तथा भविष्यतर्फ पनि लम्कन सक्ने स्थिति रहन्छ ।

नियात्राकार वियोगी बुढाथोकी अस्टे«लियाको भिक्टोरिया राज्यमा अवस्थित ग्राम्पियन राष्ट्रिय उद्यानमा पुग्दाको अनुभूति यसरी उल्लेख गर्छन्– ‘लाग्यो, यी ढुङ्गाहरू त्यसकारण अभागी रहेछन् । देवताको स्थान पाउन सक्ने मुलुकमा नहुनुको पीडा तालु खुइलिएको टाउकोमात्र नभएर निर्वस्त्र चाङमाथि चाङको उचाइ बोकेर निरीह बाँच्नु परेकोमा कति पीडामा बसेका होलान् ।’ (बेलग्रेभको छुकछुके रेल, वि.सं. २०७६ को ‘बरखी बारेको छहरा’ शीर्षकीय नियात्रा, पृ ६९) ।

केही नियात्राकारका माथि उद्धृत गरिएका हरफहरूले पनि स्पष्ट हुन्छ कि नियात्राको बलियो अङ्ग भनेको कल्पनाशीलता हो । कल्पना मिश्रण गरेर सिर्जना गरिएको नियात्रामा मिठास, आनन्द र ज्ञानवध्र्दक हुन्छ । जसको कारणबाट पाठकहरूले नियात्रा पठनका समयमा स्वर्णिम आनन्दको अनुभूति गर्न सक्दछन् र नियात्राको महत्व तथा लोकप्रियताका बारेमा आफसेआफ विचारहरूका मन्थन गर्न सक्तछन् । त्यसैले नियात्रा सिर्जना गर्दाको समय र परिस्थिति अनुसार कल्पनाशीलताको घुलन गर्न सक्नु अव्वल नियात्राकारको दायित्व हो ।
व्यक्तिपरक सिर्जना

नियात्रा व्यक्तिगत स्तरको हुन्छ । अर्थात् नियात्राकारका आफ्ना अनुभूति, आफूलाई अनुपम लागेका कुराहरू, आफूले देखेका चीजहरू, आफूलाई मन परेका कुराहरू, आफूलाई नराम्रा लागेका चीजहरू, आफूले पाएका सुखका फेहरिस्तहरू, आफूले भोगेका दुःख कष्ट र पीडाहरू, आफूले व्यक्त गर्ने प्रतिक्रियाहरू, आफूले दिनु पर्ने सुझावहरू आदि कुराहरूको प्रविष्टि हुन्छ ।

फेरि नियात्राकार कुन स्थानमा जान रूचाउँछ । त्यही स्थानमा जान्छ । कहिले र कसरी जाने त्यसबारेमा पनि व्यक्तिगत तवरमा पूर्ण स्वतन्त्र हुन्छ । कुन उद्देश्यका लागि यात्रा गर्ने हो, सो पनि स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने हुन्छ । त्यसैगरी सिर्जना भएको नियात्रामा कसैले यो यो चीज किन नराखेको भन्ने प्रश्न उठाउने स्थान हुँदैन । अतः नियात्रा लेखन व्यक्तिपरक सिर्जना हो ।

उदाहरणका रूपमा उद्धृत गर्न सकिन्छ नियात्राकार नरेन्द्रराज प्रसाईका केही वाक्यांशहरू– ‘वास्तवमा गणेश रसिक मेरो मन पर्ने साथी दाइ हुन् । मलाई उनको गीत मन पर्छ, निबन्ध मन पर्छ, संगीत मन पर्छ, स्वर मन पर्छ । अनि ती सबैभन्दा मलाई उनी नै मन पर्छ ।’ (रेलको रमाइलो, वि.सं. २०६१ को ‘टाउके हिमाल’ शीर्षकीय नियात्रा, पृ ५१) ।

नियात्राकार छविरमण सिलवाल आफ्ना कृतिमा उल्लेख गर्छन्– ‘म भने ओछ्यानमा पल्टिएर ठमेल पो सम्झिन थालेछु । साँच्चै, मेरो जीवन नै ठमेल र पेप्सिकोलाको दूरी नाप्दैमा बितेको छ । अझ भन्ने हो भने ज्यादाजसो समय त ठमेलमै बित्छ ।’ (ग्रीनबिचको साँझ, वि.सं. २०७५, ‘क्यामडेन टाउनमा ठमेलको झल्को’ शीर्षकीय नियात्राबाट, पृ.६७) ।

नियात्राकार विनय रावल आफ्ना वैयक्तिक विचार यसरी उल्लेख गर्छन्– ‘बैकक अन्तरराष्ट्रिय विमानस्थलको ३ घण्टा बसाइपछि थाई समय अनुसार साँझ करिब ६ः३० बजे हामी दुई (डा.तुलसीप्रसाद भट्टराई र म) याङ्गुन (रङ्गुन) उड्ने थाई विमानमा चढ्यौं । विमानमा चढ्दा केवल अमेरिकन र युरोपियनहरूलाई मात्र देख्दा एकछिन त हामी आत्तियौं । कारण के भने कतै हामी अर्कै ठाउँमा उड्ने विमानमा त चढेनांै?’ (ठुल्दिदीको देश, वि.सं. २०५८ को ‘भाग २’ को नियात्रा, पृ.४) ।

फेरि नियात्राकार कुन स्थानमा जान रूचाउँछ । त्यही स्थानमा जान्छ । कहिले र कसरी जाने त्यसबारेमा पनि व्यक्तिगत तवरमा पूर्ण स्वतन्त्र हुन्छ । कुन उद्देश्यका लागि यात्रा गर्ने हो, सो पनि स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने हुन्छ । त्यसैगरी सिर्जना भएको नियात्रामा कसैले यो यो चीज किन नराखेको भन्ने प्रश्न उठाउने स्थान हुँदैन । अतः नियात्रा लेखन व्यक्तिपरक सिर्जना हो ।

यसरी नै अमेरिकाबाट निम्तो आएर पनि तेस्रो पटकको प्रयासमा भिसा मिल्दाको समयमा आफ्ना विचारलाई यसरी व्यक्त गर्छन् नियात्राकार कृष्णप्रसाद पराजुली– ‘तीनपल्टमा बल्ल भिसा (अमेरिकी दूतावासले) दिंदा झ्वाँक त नचलेको होइन, भिसा कै लागि निकै खर्च भइसकेको थियो । तैपनि म खुशी भएँ । पछिल्लो पल्ट भिसा दिने अधिकारीको नम्र व्यवहारले पनि मलाई पुलकित बनाएको थियो ।’ (पूर्वीय पाइला पश्चिमी देशमा, वि.सं.२०६९, ‘अमेरिका जाने तुलबुली र प्रवेशाज्ञा’ शीर्षकीय नियात्रा, पृ.१५) ।

माथि उद्धृत गरिएका केही नमुनाहरू मात्र हुन् । यसरी नै अन्य नियात्रा सर्जकहरूले पनि आफ्ना व्यक्तिपरक भनाइ र अनुभूतिहरूलाई आफ्ना सिर्जनामा प्रयाप्त मात्रमा उल्लेख गर्ने गरेका छन् । यसरी आफ्ना विचारहरूलाई स्वतन्त्ररूपमा समावेश गर्न सकिने सिर्जना विधा नियात्रा हो ।
चित्रात्मकता

नियात्रा साहित्यको रचना चित्रात्मक तरीकाले गरिने गरिन्छ । भौगोलिक, प्राकृतिक तथा रहनसहन आदि चीजहरूलाई सजीव देखिने गरी चित्रण गरिने प्रयास रहन्छ । चित्रमय वर्णन पठन गर्दा पाठकहरूका आँखाहरूमा दृश्यहरू सल्बलाउने स्थिति हुने भएकोले नियात्रा रोचक हुन्छ । अर्थात् ऐनामा देखिने आफ्नै प्रतिविम्बजस्तो बर्णन गरिएको हुनुपर्दछ । चित्रात्मक प्रस्तुति न त संस्मरण हुन्छ । न त रेखाचित्र नै । त्यसैले पनि विधाको दृष्ट्रिले नियात्राको स्वरूप अन्य विधाको भन्दा फरक अनुभूति हुन्छ ।

चित्र हेरेजस्तै दृश्य सल्वलाउने वर्णन गर्न नियात्राकार खप्पिस हुनुपर्छ । जसले पाठकलाई आकृष्ट गर्न सक्दछ । यस्तै उदाहरणमा लिन सकिन्छ नियात्राकार डा. गोविन्दराज भट्टराईका अभिव्यक्तिलाई–‘कुपोषणले सिध्दिएको गिठ्ठे नेपाली बोली र जनजिब्रोको भित्री मर्मअनुसार साँच्चै गिठ्ठोजस्तो जिन्निएको थियो । सबै भन्थे गिठ्ठे योभन्दा अग्लो हुनै सक्दैन । पारिघरको चाउरे अर्को हाम्रो दौतरी । चाउरेका गाला झुम्राजस्तै नरम थिए । ऊ दाँत खोलेर हाँस्दा दुवै गालाहरू मुजा परेर झुम्रो बटारिएजस्ता देखिन्थे । पिरिक्कै च्यातिन्छन् कि जस्तो लाग्थ्यो । निधारमा पनि उसको छाला तीन पत्र फोल्डिङ्ग हुन्थ्यो । हिजोआज कसैले बसको फोल्डिङ्ग सिट भन्नासाथ म चाउरेको निधार सम्झन्छु ।’ (एक्लै एक्लै एक्लै (वि.सं.२०६०), ‘चिलाउने चौरमा पलाएको मृगतृष्णा’, शीर्षकीय नियात्रा, पृ.१–२ ।

नियात्रा साहित्यको रचना चित्रात्मक तरीकाले गरिने गरिन्छ । भौगोलिक, प्राकृतिक तथा रहनसहन आदि चीजहरूलाई सजीव देखिने गरी चित्रण गरिने प्रयास रहन्छ । चित्रमय वर्णन पठन गर्दा पाठकहरूका आँखाहरूमा दृश्यहरू सल्बलाउने स्थिति हुने भएकोले नियात्रा रोचक हुन्छ । अर्थात् ऐनामा देखिने आफ्नै प्रतिविम्बजस्तो बर्णन गरिएको हुनुपर्दछ ।

नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा वर्णित शब्दहरू– ‘बाबाहरू शिवरात्रिका जोगीहरूजस्तै नानाथरीका आसन जमाएर बसिरहेका छन् । कतै जुरोबाट खुट्टा निस्केको गोरूको दर्शन चलिरहेको छ । बाँसैबाँसको खट राखेर ठूलो हनुमानजीको मूर्ति सिँगारिंदै छ । अबिर, टीका, औंठी, चुरा, माला बेच्नेहरू पनि धेरै छन् । हातहातमा फूलपाती लिएर बेच्ने बसेका केटाकेटीहरू पनि त्यत्तिक्कै छन् । नास्ता गर्ने, चिया मिठाइका पसलेहरूले पनि ठूलै ठाउँ ओगटेका छन् । मेला त आखिर, कोही चिठ्ठा खेलाइरहेका छन्, हजामहरू कपाल काटिरहेका छन्, दाह्री काटिरहेका छन् । सर्कस देखाउने, खेलौनाहरूमा चढाएर मेला जमाउनेहरू पनि जताततै देखिएका छन् । कसैलाई फुर्सद छैन, सबैलाई असारको १५ जस्तै भ्याइनभ्याइ छ ।’ (नबिर्सने दिनहरू, (वि.सं.२०६२), ‘गढीमाईको मेलामा दङ्गैदङ्ग’ शीर्षकीय नियात्राबाट, पृ.९२) ।

नियात्राकार हेमराज पाण्डेद्वारा सिर्जित कृतिमा– ‘युध्दसङ्ग्राहलय भित्रभित्रैबाट नागवेली आकारका सयौं सिंढीहरू फटाफट उक्लिएर हजारौं पर्यटकको भीडबाट युध्दस्मारक अवलोकन गर्दा बेग्लै मजा आयो । युध्दस्मारकभित्र सुरक्षित खुकुरी, भाला, तोप, बन्दुक, तरबार, खुडा, ढालले तत्कालीन युध्दकौशलको कला, सीपलाई चिरिच्याट्ट उजगार गथ्र्यो । चुपी, चक्कु, छाती कवाज, दाँतवाला चुपी, बुलेटप्रुफ ज्याकेटले दुस्मनका अभेद्य दुर्गहरू कसरी ढाल्ने पूर्वहोसियारी संकेत गर्दथ्यो ।’(साइत जुरेको डाँफे, (वि.सं.२०६८), ‘लालकिल्लाभित्रको रमझम क्षण’ शीर्षकीय नियात्रा, पृ.७२) ।

नियात्राकार विष्णु एस्.राई शिमला जाने क्रममा गोरखपुर रेल्वे जक्सनका देखेका दृश्यहरूलाई चित्रात्मकरूपमा यसरी व्यक्त गर्छन्ः ‘साइनबोर्डमुनि यात्रुहरूले खाएर फालेका उच्छिस्ट भोजन र रङ्गबिरङ्गी प्लाष्टिकका झोलाहरू स्वीपरले बढारेका फोहोरसँग मिलेर हावाको तालमा नृत्य गर्दैछन् ।.... सारा प्लेटफर्म मान्छेले खाँदिएको छ– मान्छे उभिरहेका, बसिरहेका, सुतिरहेका, कुरा गरिरहेका, बाझिरहेका र गाइरहेका । एउटा परिवारका पाँच जना सदस्यहरू गोलाकारमा बसेर चना र मुरईको भोजन गर्दै छन््, पाँच औंलामा औंठी लाएको एउटा मान्छे मोबाइलमा चर्को स्वरले हकार्दै छ कसैलाई, र एउटा छ, सात वर्षको बालक आफ्नाे स्यानो केटोलाई बाहिर झिकेर पिसाब पर बसेको कुकुरसम्म पुर्याउन प्रयासरत छ ।’ (नौ डाँडापारि, (वि.सं.२००६), शिमला यात्रा, शीर्षकीय नियात्रा, पृ.७५–७६) ।

भारतको उत्तरपूर्वी पर्वतीय विश्वविद्यालयको निमन्त्रणामा चार दिने भाषाशास्त्रीय सम्मेलनमा सहभागी हुनका लागि शिलाङ पुग्दा अतिथि गृहको कोठा नं. ३३ मा बस्ने वन्दोवस्त मिलाइएको र सो कोठा बारे यसरी वर्णन गर्छन् नियात्राकार डा.गोविन्दराज भट्टराई– ‘त्यो कोठा अति भव्य, सुन्दर रातो कार्पेट ओछ्याइएको र सुसज्जित थियो । त्यहाँ दुईवटा बडे फलामे पलङ थिए । साथै सोफा, गिलास, टेबिल, घर्रा, दराज, टेलिफोन सेट, भित्तामा झुण्ड्याइएका कलात्मक चित्र, सिलिङ पङ्खा र सुविधा सम्पन्न बाथरूम थिए ।... गुम्बजाकार बत्ती, टेबिल बत्ती, टि.भी.सेट, सिडी प्लेयर, कलात्मक फलामे पलङ.... आलमारी, दराज, कफीदानी, हिटर, पानी उमाल्ने भाडो, चियाका पुरीया, चिनीको ढिक्का, कफीका पोका, अलिकति फलफूल, बिस्कुट र तातो चिसो पानीको व्यवस्था गरिएको रहेछ । यस्तै अत्याधुनिक र उच्चस्तरको आतिथ्यले मलाई उकुसमुकुस बनायो, म आत्तिएँ ।’(आराधना, ‘पूर्वको स्कटल्याण्डमा रातभर जाग्राम’ शीर्षकीय नियात्रा, पृ.७१, अंग्रेजीबाट नेपाली अनुवाद टेकनारायण ढकाल)।

अव्वल नियात्राहरू सिर्जना गर्दा यस्ता चित्रात्मक वर्णनहरूले पाठकहरूलाई आकर्षित त गर्छ नै अझ चित्र हेरेजस्तै वर्णन पढ्दा प्रभावित पनि हुने हुन्छन् । तसर्थ नियात्रा विधा सिर्जनसमयमा सम्भव भएसम्म आँखै अगाडि सल्बलाउने तरिकाले वर्णन गरिनु जरूरी छ ।
आत्मानुभूतिको प्रस्तुति

आफ्ना पारिवारिक वा आफ्नाे मनोरञ्जनका लागि यात्रामा निस्कने र सो समयमा केही देखेका, भोगेका कुराहरू समावेश गरी छपाएर आफ्नाे नाम फैलाउन यात्राविवरण लेखेर छपाउने प्रचलन आमरूपमा रहेको छ । यसबाट नियात्रा विधालाई हानी नोक्सानी त पुग्दैन । बरू यस विधाको उन्नति र प्रगतिका लागि केही हदसम्म टेवा पुर्याउने भए पनि नियात्रा विधालाई विशेष योगदान पुर्याउनभने सक्षम हुने छैनन् ।

वर्तमान समय वा २१ औँ शताब्दी कम्प्युटरको जमाना र इन्टरनेट सञ्जालले सबैतिर स्पर्श गरेको युग हो । त्यसैले जो कोहीले पनि आफूले जानेका कुरा वा यताउता घुमेका कुराहरू लेखेर आफ्नाे फेसबुकवालमा पोष्ट गर्ने आम प्रचलन छ । यसरी पोष्ट गरिएका रचनाहरू इण्टरनेटको सामाजिक सञ्जालमा पढ्ने वा हेर्नेहरूले राम्रो ९ीष्पभ० तथा प्रतिक्रिया ९ऋयmmभलत० आदि जनाउने गरिने प्रचलन रहेकोले आफ्नाे रचनालाई कतिजनाले मन पराए वा अन्य के कस्तो प्रतिक्रिया आयो भनी खुशी हुने गरिन्छ । यसबाट नियात्राका साधन ारत स्रष्टाहरूलाई पनि खुशी मिल्छ भने भर्खरै लेख्न सुरू गरेकाहरूलाई हौसला मिल्ने हुन्छ ।

यस्तै नवनियात्राकारहरूलाई हौसला बढाउन नियात्राका एक साधक पोष चापागाईले लेखेका छन्– ‘नियात्रा विधा जीवन हो । जीवनमा आइपर्ने घट्ने तमाम कुरा नियात्रामा लेख्न सकिन्छ । गफ गर्नुभन्दा नियात्रा लेख्न सजिलो हुन्छ ।’ (अक्षरका रङहरू, सम्पादकः अच्युत घिमिरे, पाना ४०) ।

आफ्ना पारिवारिक वा आफ्नाे मनोरञ्जनका लागि यात्रामा निस्कने र सो समयमा केही देखेका, भोगेका कुराहरू समावेश गरी छपाएर आफ्नाे नाम फैलाउन यात्राविवरण लेखेर छपाउने प्रचलन आमरूपमा रहेको छ । यसबाट नियात्रा विधालाई हानी नोक्सानी त पुग्दैन । बरू यस विधाको उन्नति र प्रगतिका लागि केही हदसम्म टेवा पुर्याउने भए पनि नियात्रा विधालाई विशेष योगदान पुर्याउनभने सक्षम हुने छैनन् ।

वास्तवमा आफ्नाे नाम प्रकाशमा ल्याउन र आफ्ना कुराहरू लेखेर अमर हुन चाहनेहरूले पनि नियात्रा लेख्ने कोशिस गरिरहेका पाइन्छन् । तर जत्ति पनि प्रकाशित भएर आएका पाइन्छन् । तिनीहरूलाई नियात्राको कसीमा जाँच्दा अव्वल नियात्राका कोटिमा भने पुग्न सक्दैनन् । जेजस्तो भए पनि आत्मश्लाघा वा आत्मप्रशंसाका संतुष्टि भने सर्जकलाई मिल्ने गर्दछ । त्यस प्रकारका रचनाहरूले नियात्रा विधालाई केही मात्रामा भए पनि अप्रत्यक्ष फाइदा पुग्न सक्दछ भनी भन्न सकिन्छ ।
सत्यता र विश्वासनीयताको सिर्जना

नियात्राकारले आफ्ना यात्राको समयलाई केन्द्रमा राखेर सिर्जना गर्ने विधा हो नियात्रा । जसमा कहिले, कहाँ, कसरी, किन, के कालागि भन्ने कुराहरू स्पष्ट खुलाएको हुन्छ । यी सबै चीजहरूलाई समावेश गरेर नियात्रा तयार पारिने हुनाले समय कालखण्डमा इतिहासको पनि काम गर्ने हुन्छ । जसरी मार्को पोलोका यात्रामा ईस्वी संवत १२७१ को समयमा इटलीबाट खानबालिक (बेइजिङ्को तत्कालीन अवस्थाको नाम) सम्म पुग्दा बाटोमा भेटिएका, देखिएका साथसाथै विभिन्न धर्मावलम्वीहरूका बसोबास स्थान, विभिन्न स्थानका चाडबाड र संस्कृतिहरूलाई उल्लेख गरेका छन् । जुन कुराहरूले तेह्रौं शताब्दीको ती स्थानहरूका बारेमा बताउँछ । जस्तो कि पेकिङबाट बङ्गाल जाँदा जार्डाण्डान प्रान्तमा देखेको र मार्को पोलोलाई अनौठो लागेको कुरा आफ्नाे पुस्तक ‘द ट्राभेल्स’ मा यसरी उल्लेख गरेका छन्–'यहाँका वासिन्दाहरूका पूजा गर्ने मूर्तिहरू छैनन् न त गिर्जाघर नै छ, तर तिनीहरू आफ्ना घरका प्रमुखलाई पुज्छन् र भन्छन् ‘उहाँको कारण नै हाम्रो अस्तित्व छ’ ।' (द ट्राभल, पृ.१८२)। (०६)

'These people have no idols or church, but they worship the head of the house, saying: FFrom him we have our being'. (The Travels, Marco Polo, 'From Peking to Bengal, Zar-dandan province', page 182)

वास्तवमा मार्को पोलोका यात्रामा लिपिबद्ध भएका यी हरफहरू किराती राईको संस्कृतिसँग मेल खान्छ । यसबाट राई जातिको इतिहास र संस्कृतिको अन्वेषण गर्ने हो भने प्राचीन यात्राहरूलाई अध्ययन गरी अनुसन्धान गर्नु पर्ने कुरा मार्को पोलोका यात्रालेख एक अनुपम उदाहरण हुन सक्छ ।

यस्तै कुरा नियात्राकार कुमारी लामा आफ्नाे कृति उज्यालो अन्धकारमा उल्लेख गर्छिन्–‘सोह्रौं शताब्दीको त्यो घर जहां शेक्सपियर जन्मेका थिए, जुन झोलुङ्गोमा उनी सुतेका थिए, जुन भोटो उनलाई लगाइए, जुन बगैंचामा उनी दौडिए ती सबैसबै सुरक्षित....म आवक् भएं । आँखाहरू रसाएजस्तो भयो ती खाटहरू स्पर्श गर्न पाउंदा, त्यो फायर प्लेस देख्दा, डाइनिङ् टेवल र उनलाई सानोमा लगाइदिने गरिएको केटीको जामा देख्दा । छोराहरूलाई इभिल स्पिरिटले लैजान्छ अथवा चोर्छ भनेर केटीको जामा लगाइदिन्थिन् रे उनकी आमाले ।’ (‘सम्झनामा स्ट्राटफोर्ड अपन एभन’ शीर्षकीय नियात्रा, पृ.९३) ।

यी माथि उद्धृत नियात्रांशहरूले सत्यतालाई साक्षी राखेर नियात्रा लेख्ने कार्य भएको पाइन्छ । किनकि कतिपय पाठकहरू वर्णनमा समेटिएका स्थानमा पुग्दा उल्लेख वा पठन गरिएका कुराहरूलाई हेर्न लालयित हुन्छन् । यदि पहिल्यै पढेका कुराहरू असत्य सावित भए नियात्राकार र उनको वर्णन बारेमा प्रश्न उठाउन सकिने हुन्छ । तसर्थ नियात्रा लेखन गर्दा सत्यता र विश्वासनीयताको सेरोफेरोमा लेखिन जरूरी छ भन्न सकिन्छ ।
प्रत्यक्षदर्शी एवम् वास्तविक सिर्जना

नियात्रा कल्पनालाई मात्र आधारित बनाएर कदापि तयार पार्नु हुंदैन । नियात्राकारले आफ्नै आँखाले देखेका दृश्यहरू, यात्रामा भेटिएका, सम्पर्कमा आएका, मिलेका सुख र खुशीहरू, हेर्नु पर्ने दृश्यावलीहरू, भोगिएका दुःख तथा कष्टहरू, आइपर्ने समस्याहरूसँग बच्ने ??

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु