मानवता

- अनिता ढकाल गौतम

आकाश छानो विश्वमा सानो यो देश नेपाल
जात र भाषा अनेक सीप क्या रैछ कमाल
अनेक थर भए नि हामी मिलेर बसेका
हिमाल पहाड खोच र बेसी मधेश लेकका

मानव जात नशामा बग्ने रगत रातो छ
ढुक्ढुकीभित्र फेरिने सास सबैको तातो छ
तैपनि पनि आज किन हो यहाँ भेद नै गरेको
रङ्ग र थर जात वा लिङ् मान्छेले हेरेको

चेलीका मर्म छन यहाँ धेरै अस्मिता लुटेका
बाटोमा हिंड्दा एसिड हान्दा मुहारै जलेका
कहि त जल्ने चेलीको हर दाइजो लोभैमा
सामाजिक् सन्जाल् परेर कठै आँसुको भेलैमा

मुटु यो दुख्छ सवैको यहाँ आँसुले धुने हो
मरेर लानु के नै पो छ र बैगुनी हुने हो ?
दुख्ख र पीर वेदना अहो परेली भिजे नि
क्रन्दन सुन्दा मानिस बीच कलेजी जले नि


खाडीमा गई पसिना झारे बगाए तरर
देशका नेता चढेर हिंड्ने पजे्रो सरर ।
कमाई धन फर्कदा घर आफन्त छन् पर
घर न घाट जल्यो नि मन साथैमा को छ र

दुई दिने चोला रिस र राग पालेर के हुन्छ?
आँसुको मूल्य बुझ न प्यारा यो मन कहन्छ
दर्शन के हो बोकेर ऐले कताको सोचमा ?
मानवता नै भुलियो आज यो विश्व माझमा


(छन्दः झ्याउरे लय)


निब्वाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला, हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु