एकता र क्रान्तिको सन्देश : ‘झिमरुक नदी र चिबे चराको कथा’

- डा.कृष्णराज अधिकारी

मोहन विक्रम सिंह (जन्म– वि.सं. १९९२) नेपाली वाम आन्दोलनका प्रमुख व्यक्तित्व हुन् । प्युठानको सामन्ती परिवारमा जन्मी अर्थशास्त्रमा स्नातकोत्तर गरेका र २००७ सालमा नेपाली काँग्रेसमा आबद्ध भएका सिंह २०१० सालदेखि निरन्तर कम्युनिष्ट पार्टीमा संलग्न रहँदै आएका छन् । कम्युनिष्ट पार्टीको विभाजन पछि त्यसको एउटा घटक (ने.क.पा. चौ.म., ने.क.पा. मशाल)को नेतृत्व समेत गर्न पुगेका सिंह अध्ययन र लेखनमा बढी क्रियाशील देखिन्छन् । उनको व्यक्तित्वका विभिन्न पाटाहरूमध्ये राजनीति र साहित्य नै प्रमुख रहेको पाइन्छ । राजनीतिक व्यक्तित्वले साहित्यिक व्यक्तित्वलाई छायामा पारेकोले उनको साहित्यिक योगदानको चर्चा र मूल्याङ्कन निकै कम हुने गरेको पाइन्छ । उनले वैचारिक लेखहरू मात्र होइन विभिन्न विधामा साहित्यिक रचनाहरू समेत सिर्जना गरेका छन् । उनका प्रकाशित कृतिहरूमा ‘इन्ल्काब जिन्दावाद’ (कविता सङ्ग्रह–२०१७), आदि विद्रोह (खण्डकाव्य–२०२७), युग बोल्छ (नाटक–२०२९), गंगा काबेरी एक्सप्रेस (कविता सङ्ग्रह–२०३६), झिमरुक नदी र चिबे चराको कथा (खण्डकाव्य–२०४२ ?), विचार, विवेचना र विश्लेषण (समालोचना–२०४२), बाह्र मई (नाटक–२०४६), क्रान्ति किन हुन्न (नाटक–२०४७), साहित्य संवाद (समालोचना–२०४९), चार दशक (वैचारिक लेख–निबन्ध सङ्ग्रह–२०४९), आदि प्रमुख रहेका छन् । पौडेल (२०७१ः ६०)का अनुसार उनका डेढ दर्जन जति साहित्यिक र साढे दुई दर्जन जति वैचारिक र राजनीतिक क्षेत्रका कृतिहरू प्रकाशित छन् ।
२०२७ साल पुसमा भद्रगोल जेलमा रहँदा लेखिएको ‘झिमरुक नदी र चिबे चराको कथा’ काव्य डेढ दशकपछि प्रकाशन भएको देखिन्छ । पुस्तकमा प्रकाशन मिति उल्लेख नगरिए पनि पुस्तकको भूमिकामा लेखकले यसलाई करिव डेढ दशकपछि प्रकाशन भएको भनेबाट यसको प्रकाशन २०४१–०४२ तिर भएको अनुमान गर्न सकिन्छ । यसमा प्युठानमा प्रचलित लोककथालाई २०१० सालमा प्युठानको नारीकोटमा भएको किसान विद्रोहसँग जोड्दै र क्रान्तिको आवश्यकता औंल्याउँदै टुङ्ग्याइएको छ । भौगोलिक र सांस्कृतिक दृष्टिले विविधतायुक्त नेपालका विभिन्न ठाउँहरूमा विभिन्न लोककथा, दन्त्यकथा, मिथक, लोकोक्ति र किम्बदन्तीहरू प्रचलनमा रहेका छन् । स्वैरकल्पनाले भरिएका त्यस्ता लोककथाहरू सुन्दा अविश्वसनीय र भ्रामक जस्ता लागे पनि तिनीहरू भित्र केही न केही प्रतीकात्मक वा साङ्केतिक अर्थ लुकेको पाइन्छ । कतिपय लोककथा र मिथकहरू भौगोलिक संरचना, आदिम समाजका अवशेष र अवचेतन मनको प्रकटीकरणका रूपमा अभिव्यक्त भएका हुन्छन् । रहस्यमय लाग्ने हिमाल, पहाड, गुफा, ओढार र नदी जस्ता प्राकृतिक वस्तुहरूलाई लिएर आदिम मानवले विभिन्न कल्पना गर्दै तिनलाई मानिस, पशु, बोटबिरुवा र चराहरूसँग जोड्दै कथाहरू बुन्न थाल्यो । अनि त्यसलाई अरू समक्ष सुनाउँदै जाँदा पुस्तौं पुस्ता सर्दै गयो । त्यसरी सर्दै जाँदा लामो अन्तरालमा कतिपय सन्दर्भहरू हराउँदै र कतिपय थपिँदै जान थाले । प्रस्तुत काव्यको विषय प्युठानकै भौगोलिक संरचनामा आधारित लोककथा हो । प्रचलित कथा अनुसार प्युठानमा बग्ने झिमरुक र माडी दुई नदीहरू दिदी बहिनी हुन् । उनीहरू दुवैले पहाड काटेर खेत बनाउँदै जाने सल्लाह गरेर आ–आफ्ना ठाउँबाट निस्किए । झिमरुकले खेत बनाउँदै गरेको बेला चिबे चराले गएर माडीलाई चुक्ली लगाउँदै झिमरुकले खेत नबनाइकन गएको कुरा सुनायो । त्यो सुनेर माडी झिमरुकलाई भेटाउन खेत नबनाइकन दगुरिन् । छिटो बग्दा उनी तल धस्सिइन् जसले गर्दा खेतहरू माथि पर्न गए । चिबेले उता फेरि झिमरुकलाई गएर चुक्ली लगायो कि झिमरुकले खेत नबनाइकन गइन् । त्यो सुनेर झिमरुक रिसाइन् र खेत बनाउन छाडी अर्कै बाटो दगुरिन् । अन्तमा ऐरावती भन्ने ठाउँमा दुवैको भेट भयो र दुवै मिलेर देउखुरीको विशाल फाँट बनाए । यही लोककथालाई आधार बनाएर खण्डकाव्यको रचना गरेको कुरा कवि आफैंले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् ।
प्रस्तुत काव्य पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई खण्डमा विभक्त गरिएको छ । पूर्वाद्र्धमा चार अङ्क र उत्तराद्र्धमा तीन अङ्क गरी पूरै काव्यमा जम्मा सात अङ्क रहेका छन् । गद्य लयमा लेखिएको यस काव्यको पूवाद्र्धमा ४१ कवितापुञ्ज (स्ट्यान्जा) र उत्तराद्र्धमा ३७ कवितापुञ्ज गरी जम्मा ७८ कवितापुञ्ज (स्ट्यान्जा) रहेको पाइन्छ । पद्य कवितामा चार पंक्तिको एक श्लोक मानिएझैं गद्य कवितामा एउटा भावप्रवाह वा झोक्कालाई एउटा कवितापुञ्ज मानिन्छ । कवि सिँहले चार पंक्तिदेखि ४६ पंक्तिसम्मलाई एक कवितापुञ्जमा राखेका छन् । पूर्वाद्र्धमा झिमरुक र माडी नदीको उद्गम र तिनको पवित्र उद्देश्य, तिनले पहाडसँग गर्नुपरेको सङ्घर्ष अनि चिबे चराले झिमरुक र माडीलाई एक अर्का विरुद्ध लगाएको चुक्ली अनि दुवै नदीको मिलन र तिनले बनाएको विशाल फाँटको चर्चा गरिएको छ । अजङ्गका पहाड र कडा चट्टानहरू फोर्दै फाँटहरू बनाउने अनि तिनलाई सिँचित गर्दै धर्तीलाई हराभरा र सुन्दर बनाउने महान् उद्देश्य बोकेर अघि बढेको झिमरुक नदीलाई पहाडहरूले सधैं अवरोध गरिरहन्छन्, बाटो छेक्दै अघि बढ्न रोकिरहन्छन् । तर पवित्र र महान् उद्देश्य लिएको झिमरुकलाई सहयोग गर्न तिनै पहाडको फेदीबाट बगेका सानातिना खोलाहरू उसैसँग समाहित हुन्छन्, मिल्दै जान्छन् । अनि नदी विशाल र शक्तिशाली हुँदै जान्छ । एकीकृत शक्तिले नै ठूलो अवरोध हटाउन सक्छ भन्ने तिनलाई थाहा छ । यहाँ कविले ससाना खोलाहरू झिमरुकमा मिसिएको र झिमरुकको शक्ति बढ्दै गएको देखाएर क्रान्तिकारी शक्तिहरू एक भएमा मात्र दुश्मन विरुद्ध लड्न सकिने विचार प्रस्तुत गरेका छन् । विशाल पहाडहरूको अघि आफ्नो शक्ति कमजोर रहेको ठान्ने झिमरुक नदीमा विस्तारै आत्मविश्वास बढ्दै जान्छ । उसले नयाँ रणनीति अपनाउन थाल्छ । नदीलाई रोक्नु भनेको झन् ठुलो उथलपुथललाई निम्त्याउनु हुन्थ्यो । कविले क्रान्तिकारीहरूमा आत्मविश्वासको आवश्यकता देखाउन नै यस्तो सङ्केत गरेको स्पष्ट हुन्छ । आफ्नो शक्ति थाहा नपाएको झिमरुकले सङ्घर्षको परिणामपछि मात्र वास्तविक शक्ति थाहा पाउँछ । पहाडसँग जुध्दै अघि बढेको झिमरुक नदीलाई यहाँ कविले क्रान्तिकारीहरूले अपनाउनु पर्ने रणनीति अनि आफ्नो र दुश्मनको शक्ति–मूल्याङ्कनसँग जोडेर प्रस्तुत गरेका छन् —
झिमरुकले केही सोच्दै थिइन
नयाँ रणनीति बनाउँदै थिइन
नयाँ युद्धका लागि आफूलाई तयार पार्दै थिइन्
उनले शक्तिको मूल्याङ्कन गर्दै थिइन्
आफ्नो, अनि त्यो पहाडको
जो अगाडि चट्टान बनेर उभिएको थियो ।
यसरी एकातिर अजङ्गका पहाड र चट्टानहरूले नदीलाई अघि बढ्न रोकिरहेका हुन्छन् भने अर्कातिर चिबे चराहरू दिदीबहिनीलाई मिल्न नदिई अनेक चुक्ली लगाएर आपसी वैमनश्य र अविश्वास खडा गराउन सक्रिय भूमिका खेलिरहेका हुन्छन् । यसलाई ‘फुटाऊ र राज गर’ को नीति अख्तियार गर्ने शासक वर्गको रणनीतिलाई सङ्केत गरिएको छ । नदीहरू आपसमा नमिलुन्जेल शक्ति कमजोर हुनुका साथै खेत–बारी सिञ्चित गर्न नसक्दा धर्ती नै उजाड हुन्छ भने मिलेर अघि बढ्दा पहाडरूपी व्यवधानहरू पन्छाउँदै अघि बढ्ने र धर्ती पनि सिँचित भई उर्वर र हराभरा हुने हुन्छ । प्रचलित लोककथा र प्युठानको भौगोलिक संरचना अनुसार पनि चिवे चराले चुक्ली लगाएपछि आपसी रिस र दुःखले एक्ला एक्लै भास्सिएर हिँड्दा पहाडसँग सङ्घर्ष गर्न र खेतहरू बनाउन नसकी फाँटहरू सुख्खा रहेका तर एक अर्काको मायाले सताएर आत्मालोचना गर्दै दुबै ऐरावतीमा गएर मिलेपछि उनीहरूको शक्तिमा गुणात्मक परिवर्तन आई देउखुरीको विशाल फाँट बनाउन पुग्छन् । यहाँ कविले मित्र शक्तिहरूवीचको एकतामा जोड दिएको पाइन्छ । क्रान्तिकारीहरू फुटेर होइन जुटेर मात्र आफ्नो उद्देश्यमा पुग्न सक्छन् भन्ने सन्देश पनि यस काव्यले दिएको छ । गल्तीबाट शिक्षा लिन र आत्मालोचना गर्नबाट पछि पर्नु हुँदैन भन्ने कुरा झिमरुक र माडीको मिलनले देखाएको छ । महान् उद्देश्य र गुणात्मक परिवर्तनका लागि आफ्नो पृथक अस्तित्व गुमाउन तयार हुनुपर्छ भन्ने कुरा पनि यहाँ दर्शाइएको छ । पहाडबाट झरेका हरेक खोलाहरूको आ–आफ्नो अस्तित्व रहेकोमा जसरी नदीमा मिसिएपछि तिनीहरूको छुट्टै अस्तित्व रहँदैन त्यसैगरी झिमरुक र माडी पनि आ–आफ्नो अस्तित्व गुमाएर एउटै नदी राप्ती बनेपछि उनीहरूको शक्तिमा गुणात्मक परिवर्तन आएको हुन्छ । त्यही गुणात्मक शक्ति र परिवर्तनले गर्दा देउखुरीको विशाल फाँट बनाउन सकेका हुन्छन् ।
पूर्वाद्र्धको तेस्रो र चौथो अङ्कमा कविले मानिसहरू वीचको असमानता, अन्याय, शोषण र जालझेलको सुरुवातको उल्लेख गरेका छन् । झिमरुक र माडी मिलेर निर्माण गरेको स्वर्णिम भूमि देउखुरीको फाँटमा पसिना बगाउने मानिसहरू नाड्गै र भोकै बस्ने स्थिति कसरी बन्यो, यो स्थितिलाई धर्म, संस्कृति र कानुनले कसरी जोगाउँदै आयो अनि धर्मावती नाम रहेको झिमरुक नदीको तिरमा कसरी पापको राज कायम भयो भन्ने कथा–सन्दर्भलाई यहाँ खोतलिएको छ । पहिले झिमरुकको तिरमा कहीँ कतै जालझेल, शोषण र षड्यन्त्र नरहेको र त्यहाँ बस्ने सबै खुसी र सन्तुष्ट रहेकोमा चिबे चराले झिमरुकलाई के के भनेर चुक्ली लगाएछ, उनी रिसाएर चिबेलाई लखेट्दै हिँडिछन् । चिबे मान्छेका माझमा लुकेर बसेछ । चिबेको रिसले गर्दा झिमरुकले आफैंले निर्माण गरेको खेत उजाड पारिछन् । उता चिबे भने मान्छेको हुलमा हाँसेर बस्दै मान्छेलाई अन्याय, शोषण र जालझेल गर्न सिकाएछ । त्यही बेलादेखि समाजमा ‘काम गर्ने भोकै बस्ने, चिबे चराले भकारी बाँध्ने’ नियम चलेछ । यो थाहा पाएपछि झिमरुकले कडा श्रम गरेर पनि भोकै र नाङ्गै बस्नुपर्ने किसानलाई सन्देश दिँदै्र आफू एकदिन उर्लेर आउने र चिबे चरा र तिनका बन्धु–बान्धवसहित सेता महलमा बस्ने सबैलाई बगाएर लैजाने उद्घोष गरिछन् । उनले चिबे चरालाई शरण नदिन पनि किसानहरूसँग आग्रह गरिछन् । यसरी कथाको सन्दर्भबाट कविले कुनै शोषक र शोषित वर्ग नभएको आदिम साम्यवादी समाज कसरी शोषणमा आधारित वर्गीय समाजमा फेरिँदै गयो भन्ने कुराको सङ्केत गरेको पाइन्छ । चिबे चरालाई यहाँ जाली, फटाहा, छुल्याहा र भँडुवाको प्रतीकका रूपमा अघि सारिएको छ । चिबे चराहरू अहिले पनि हाम्रो समाजमा लुकेर बसेका छन् । शोषण र लुटको राज्य कायम राख्न तिनले एकथरि मानिसलाई उत्प्रेरित गर्दछन् भने श्रमिक र उत्पीडित वर्गलाई मिल्न नदिन अनेक षड्यन्त्र गरिरहन्छन् । नदीमा ठुलो बाढी आउँदा किसानका घर, खेत र गोठ बगाउँछ तर शोषक, सामन्त र फटाहाहरूलाई त्यसले असर गर्दैन, उनीहरू त सकुशल हाँसेर बसेका हुन्छन् । बगाउनु पर्ने र लडाउनु पर्ने सधैं सकुशल ! नेपालमा धेरै पटक बाढी रूपी आन्दोलनहरू भए तर पनि चिबे रूपी जाली, फटाहा र शोषकहरूलाई बगाउन सकेन । आन्दोलनका बेला चिबे रूपी फटाहाहरू जनताको माझमा लुक्दै हाँस्न र रमाउन पाइरहे । यसलार्ई नेपाली क्रान्ति र आन्दोलनको विडम्बना नै भन्नुपर्दछ ।
काव्यको उत्तराद्र्धमा २०१० सालमा प्युठानमा भएको किसान सङ्घर्षको सन्दर्भलाई प्रस्तुत गरिएको छ । झिमरुकको तिरमा फहराइरहेको कलम चक्कु अङ्कित रातो झण्डा र त्यसको गानबाट सुरु भएको काव्य क्रान्तिको सन्देशसहित अन्त गरिएको छ । २०१० सालमा प्युठानमा प्रगतिशील अध्ययन मण्डलले जनता शिक्षण शिविर सञ्चालन गरी त्यसले किसान सङ्घर्ष समेत चलाएको थियो । नारीकोटमा भएको त्यस सङ्घर्षबाट किसानहरूले साहुहरूबाट आफ्ना माग पूरा गराउन सफल भएका थिए । त्यही ऐतिहासिक सन्दर्भलाई अघि सार्दै कविले यहाँ क्रान्तिको आवश्यकताको वकालत गरेका छन् । स्पार्टाकसले रोपेको विद्रोहको बीजलाई प्युठानका किसानहरूले जोगाएको, स्पार्टाकसको तत्काल हार भएपनि उनको विद्रोहले क्रान्तिको मार्गलाई चौडा पारिदिएको भाव यहाँ व्यक्त गरिएको छ । यहाँ झिमरुक नदीलाई क्रान्ति र चिबे चरालाई प्रतिक्रान्तिसँग पनि जोडिएको छ । झिमरुकले आफ्ना छालहरू मार्फत् क्रान्तिको सन्देश प्रवाह गर्दै हिँड्ने र चिबे चराले त्यसको प्रवाह रोक्न अनेक षड्यन्त्र गर्दै र चुक्ली लगाउँदै हिँड्ने गरेको हुन्छ । जसरी झिमरुकको गतिसँगै चिबे पनि उडिरहन्छ त्यसरी नै क्रान्ति सँगसँगै प्रतिक्रान्ति पनि हिँडिरहेको हुन्छ भन्दै त्यसप्रति सजग र सचेत रहन आग्रह गरिएको छ । नदी र पहाडको लडाइँ अनि झिमरुक र चिबे चराको लडाइँलाई कविले वर्गीय लडाइँका रूपमा प्रस्तुत गर्दै यो लडाइँ धर्तीमा मानव मानव वीच विभेद रहेसम्म, धर्ती र स्वर्गको भेद रहेसम्म, मानिस र देवतामा भेद रहेसम्म अनि मानिस मानिसभन्दा बढी र मानिसभन्दा कम रहेसम्म समग्रमा भन्दा वर्ग रहेसम्म निरन्तर चलिरहने कुरा व्यक्त गरेका छन् । वर्गीय लडाइँ कुनै एउटा देश, गाउँ र ठाउँमा मात्र लडिन्न र कुनै निश्चित समयमा मात्र लडिन्न यो त सबै ठाउँमा, सबै देशमा र सधैं सधैं चलिरहन्छ, युग युगसम्म रहिरहन्छ भन्दै कवि लेख्छन्—
लडाइँ पुरानै हुन्छ
नदी र पहाडको लडाइँ
झिमरुक र चिबे चराको लडाइँ
तर त्यो नयाँ रूपमा लडिन्छ
धर्तीमा लडिन्छ
आकाशमा लडिन्छ
धर्तीको वल्लो पाखामा लडिन्छ
धर्तीको पल्लो पाखामा लडिन्छ
संसारभर लडिन्छ
युग–युगदेखि लडिन्छ
युग–युगसम्म लडिन्छ (पृ.४०)
यसैगरी प्रत्येक नदीहरूको पृथक अस्तित्व भएपनि समुद्रमा गएपछि पृथक अस्तित्वको अन्त भई महान् अस्तित्व कायम हुने कुरा यहाँ व्यक्त गरिएको छ । हरेक खोला नदीमा नमिलेसम्म त्यसले खोलाकै अस्तिस्त र स्वतन्त्र पहिचान कायम राखेको हुन्छ । तर विशाल स्वरूप कायम गर्न र महान् उद्देश्यका लागि नदीमा मिल्नुको विकल्प रहँदैन । खोला कुनै न कुनै ठाउँमा पुगेर नदीमा मिसिएकै हुन्छ । नदीमा मिसिन नसकेका खोलाहरू बीचमै सुक्न वा हराउन थाल्छन् । एकीकृत शक्ति बनेर विशाल पहाडहरू छिचल्दै, चट्टानहरू फोर्दै अघि बढेका नदीहरू पनि आखिर समुद्रमा मिल्न पुग्छन् । एउटै लक्ष्य र उद्देश्य लिएर गठन भएका क्रान्तिकारी पार्टीहरूले पनि आ–आफ्नो अस्तित्वको लडाइँ लड्ने होइन एकीकृत भएर पृथक अस्तित्व गुमाउँदै महान् अस्तित्वमा समाहित भएमा मात्र लक्ष्य पूरा हुन सक्छ भन्ने सन्देश यस काव्यले दिएको देखिन्छ ।
क्रान्ति भन्ने कुरा शब्दमा सरल र सजिलो भए पनि सम्पन्न गर्न त्यति नै जटिल र गाह्रो हुन्छ । परिवर्तनप्रतिको प्रतिबद्धता र निष्ठा, स्वप्नशीलता, दृढ इच्छाशक्ति, वस्तुगत परिस्थितिको अनुकूलता अनि त्याग र बलिदान विना क्रान्तिको सपना नदेखे पनि हुन्छ । यो कसैलाई इच्छा वा रहर लाग्दैमा पाइने वस्तु होइन । यसका लागि व्यक्तिगत उन्नतिका सबै महत्वाकाङ्क्षाहरू, उच्च जीवनका प्रलोभन, आमाको ममता, पत्नीको आँसु, सुख, सृमृद्धि र घरबार सबै सबैको त्याग अनि जीवनको बलिदान गर्नुपर्छ भन्दै कवि लेख्छन्—
क्रान्ति !
क्रान्ति त्यसै आउन्न
त्यसका लागि बलिदान गर्नुपर्छ
मर्दामर्दै हाँस्न तयार हुनुपर्छ
हाँस्दाहाँस्दै मर्न तयार हुनुपर्छ
यो सोचेर कि—
मर्नेहरू मरेर गएपनि
बाँच्नेहरू हाँसिरहन पाऊन्
यो सोचेर कि
वनका फूलहरू झरेर गएपनि
घरका फूलहरू फूलिरहन पाऊन् (पृ.२७–२८) ।
मानिसलाई सबैभन्दा ठुलो डर मृत्युको हुन्छ । मृत्यु जन्मसँगै जोडिएर आएको हुन्छ, त्यसैले मृत्यु अपरिहार्य र निश्चित छ । तैपनि मानिस मृत्युदेखि सधैं त्रसित रहन्छ । तर मानिसले क्रान्तिको लक्ष्य लिएर अघि बढ्ने क्रममा मृत्युलाई नजिकैबाट नियालिरहेको हुन्छ । ऊ मृत्युसँग जिस्किइरहन्छ । मृत्यु उसका लागि कुत्रै डर वा त्रासको वस्तु रहँदैन । झन् क्रान्तिको वलिवेदीमा आफूलाई होमिसकेपछि त उसका लागि डर भन्ने वस्तु नै बाँकी रहँदैन । ऊ हाँस्दाहाँस्दै मर्न र मर्दामर्दै पनि हाँस्न तयार भएको हुन्छ । माक्र्सकै शब्दमा भन्ने हो सर्वहाराहरूका लागि गुमाउनका लागि आफूले लगाएको हत्कडी बाहेक केही हुने छैन तर जित्नका लागि उसका लागि सिङ्गो संसार हुनेछ । यहाँ कविले क्रान्तिको उदात्त चरित्रलाई प्रस्तुत गरेका छन् । जव मानिस क्रान्तिका लागि निष्ठापूर्वक समर्पित भावले लागिरहन्छ त्यसबेला उसलाई न मृत्युको भय न त कुनै व्यक्तिगत लोभ र मोहको बन्धन ! त्यतिखेर उसलाई संसारको कुनै शक्तिले पनि छेक्न र रोक्न सक्तैन । त्यो स्थितिमा ऊ अजर र अमर बनेको हुन्छ । यसलाई कविले गीताको एघारौं अध्यायमा वर्णित कृष्णको उदात्त स्थिति तथा आत्माको अमरताको भावलाई क्रान्तिको उदात्त भावमा लगेर जोड्न पुग्दछन् —
‘...त्यसपछि संसारमा कुनै
यस्तो शक्ति बाँकी रहने छैन
जसले
तिमीहरूको बेगलाई रोक्न सकोस्
तिमीहरू अजेय बन्नेछौ
निर्भय र सबै खतराबाट बाहिर
बन्धनमा बसेर पनि बन्धनदेखि स्वतन्त्र
दुःख–कष्टमा रहेर पनि
त्यसको शोकबाट मुक्त
मरेर गएपनि
मृत्युको कालो छायाभन्दा टाढा
अजर ! अमर !
नैनं छिन्दन्ति शस्त्राणी, नैनं... ...
ह्वाङ–्हो ! ह्वाङ–्हो !
पूर्वाद्र्धमा लोककथाको सन्दर्भ र उत्तराद्र्धमा प्युठानमा भएको किसान सङ्घर्षको सन्दर्भ अघि सारेपनि दुवै सन्दर्भबाट कविले समाजमा विद्यमान शोषण, उत्पीडन र अन्यायका विरुद्ध शोषित–उत्पीडित वर्गहरू एकजुट भई शोषण र उन्पीडनरहित सुन्दर धर्तीको निर्माणार्थ क्रान्तिमा लाग्नुपर्ने सन्देश दिएका छन् । झिमरुक नदी र चिबे चराको लोककथालाई क्रान्ति र त्यसको आवश्यकताका रूपमा जोड्नु निश्चय नै प्रतीकात्मक र सुन्दर कुरा हो । यही लोककथालाई नै अलि विस्तार गरेर एउटै आख्यानतन्तुमा जोडेको भए काव्य अरू कलात्मक र अझ प्रभावकारी बन्ने थियो । कविले क्रान्तिको आग्रहलाई पनि लोककथाकै सन्दर्भबाट प्रस्तुत गरेको भए यो प्रतीकात्मक काव्य बन्ने थियो र यसको काव्यात्मक उचाइ अरू बढ्ने थियो । तर उत्तराद्र्धमा आउँदा २०१० सालको प्युठानको किसान सङ्घर्षलाई जोड््दा यसले कलात्मक क्षति व्यहोर्नुपरेको देखिन्छ । काव्यमा लोककथाको मूलसन्दर्भलाई एकातिर मिल्काएर अर्को ऐतिहासिक सन्दर्भलाई समाउन खोजिएको छ । यसरी अर्को सन्दर्भ ल्याउँदा दुवै सन्दर्भलाई कलात्मक रसायनद्वारा समायोजन गर्नु स्वाभाविक भएपनि यहाँ त्यसरी स्वाभाविक समायोजन हुन सकेको छैन । क्रान्तिको आवश्यकता र सान्दर्भिकता देखाउनकै लागि यसरी भिन्न सन्दर्भलाई जोड्दा काव्यात्मक प्रभावमा क्षति पुगेको देखिन्छ । विचार, कवित्व र आख्यानको उचित तालमेल मिलाउनुमै कविको सामथ्र्य रहेको हुन्छ । यहाँ भावको तीव्रता भएर पनि कथाप्रवाहलाई सोही अनुरूप संयोजित गर्न सकिएको छैन । कवित्व र आख्यानको शैल्पिक संयोजन उति स्वाभाविक नदेखिए पनि प्रस्तुति र शब्दविन्यास भने ओजपूर्ण र काव्यात्मक रहेका छन् । उद्देश्य अनुरूप ओजगुणलाई प्रवाहमय शैलीमा प्रस्तुत गर्नुलाई काव्यको सुन्दर पक्ष मान्न सकिन्छ । पूर्वाद्र्धमा विचार प्रतीकात्मक रूपमा आए पनि उत्तराद्र्धमा कलालाई वैचारिक आग्रहले थिचेको पाइन्छ । समग्रमा हेर्दा काव्यमा कलात्मक पक्ष वा काव्यशिल्पलाई भन्दा विचार वा भावलाई बढी ध्यान दिइएको भएपनि क्रान्तिकारी भाव र एकताको सन्देशलाई ओजपूर्ण वाक्य र प्रतीकात्मक शैलीमा प्रस्तुत गर्नुलाई काव्यको महत्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।

पोखरा—६, बैदाम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु