मेरो देश जलिरहेछ

- डा. राधा शर्मा

आज अझै अर्को ठूलो बमपड़्क्यो
मन नै अशान्त भयो।
मानवतालाई नै कलङ्कित पार्दै
मानव समूहमा
अधिकारको तीव्र आवाज गुन्ज्यो।
जात र जातिको नाममा,
बलत्कृत नारीको
अस्तित्वमा,
जिउँदा जाग्दाहरुले
नीतिको नाममा
देशलाई तोड्ने काम गरे।
नारी अस्तित्वलाई रमिता बनाए।
नारी जीवन र अस्मितालाई राजनीतिको खेल बनाए।
जनता आवाक,
बुझ्न नसक्ने राजनीतिमा
देश जलिरहेछ।
नारी अस्तित्व लाश भइ जलिरहेछ।
भोट र सत्ताको लोभको चपेटोमा
आज मेरो देश रोइरहेछ।
यो कस्तो धर्मयुद्ध हो,
यो कस्तो कर्मभूमि भो,
साँचो राजनीति गर्नेहरु
लजाएर नबोल्ने भए।
राजनीति नबुझ्नेहरु आज
नीतिको बखान गर्छन्।
राजको चाहना राख्छन्।
आज मेरो देश जलिरहेछ।
आज मेरी आमा रोईरहेकी छिन्।
आफ्नी छोरीको अस्तित्व
शक्ति र बलको चेपारोमा परेर रोइरहेको देख्दा ,
कलिलै फूल ओसमा परेर मरेको देख्दा
आज मेरो देश रोइरहेको छ।
राजनीति हाँसीरेहेको छ शरम नमानी,
शतरंजको गोटी समान
भएको छ जात, जाति
नारी अस्तित्वको मुद्दा आज ।
नीतिज्ञहरु रमाएर खेल्छन् खेल,
देशहित आज निजहित भएको छ।
आज मेरो देश बलिरहेछ ।
मेरो देश शतरंजको बोर्ड भएको छ।
राजनीतिको रापिलो आगोमा
होमी रहेको छ मेरो देश।
यही रापिलो आगोमा
हात सेक्न तम्सीरहेका
बाहिरी योद्दाहरु मौका छोपिरहेछन्।
तर शतरंजका खेलाड़ीहरु
राजालाई हटाई राजा बन्ने रहरमा
रमाइरहेका हुन्छन्।
हो आज मेरो देश रोईरहेछ।
बाहिरी र भित्री उष्णताले
आज मेरो देश जलिरहेछ।

सेन्ट जोसेफ्स कलेज, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु