हाइकु कसरी लेख्ने ?

- विजयराज आचार्य

कविता विधाको सबभन्दा सानो रूपलाई हाइकु भनिन्छ । हाइकुलाई लघु कविता भन्ने चलन पनि छ । हाइकु विश्वको धेरै देशमा प्रसिद्ध बनिसकेको छ ।
हाइकु लेखनको सुरुवात जापानबाट भएको हो । हाइकुलाई जापानी परम्परागत छोटा कविताको रूपमा लिइन्छ । हाइकु शब्दको उत्पत्ति जापानी होक्कुबाट भएको हो ।
हाइकु लेखनको सुरुवात जापानी कवि माचुओ बासो (१६१४–१६९४) ले गरेका हुन् ।
। उनलाई जापानमा हाइकु सम्राटको रूपमा सम्मान दिइन्छ । बासोले लेखेको एक हाइकु यस्तो थियो ः
पुरानो कुवा
भ्यागुतो हाम फाल्छ
जल आवाज
हाइकु लेखनको सुरुवात माचुओ बासोले गरेको भएता पनि हाइकुलाई छुट्टै स्वतन्त्र विधाको रूपमा स्थापित गराउने काम चाहिँ आधुनिक जापानी कवि मासाओका सिकी (१८६७–१९०२) ले गरेका थिए । उनले १८९० पछि हाइकुलाई स्वतन्त्र विधाको पहिचान दिने काम गरे ।
मासाओका सिकीको एउटा आधुनिक हाइकु यस्तो छ ः
साँझको चन्द्र
आलुबखडा फुल्छ
बाँसुरीमाथि
हाइकुलाई सूत्रमा मिलाएर लेख्ने चलन छ । ५÷७÷५ को नियम पालन गरेर तीन हरफ र सत्र अक्षरमा लेखिएको छोटा कविता नै हाइकु हुन् । हाइकु पहिलो र तेस्रो हरफमा पाँच÷पाँच अक्षर, दोस्रोमा ७ अक्षर गरी जम्मा १७ अक्षरमा लेखिन्छ ।
सूत्र र हरफ मिलाउँदैमा हाइकु बन्न सक्दैन । प्रकृति, ऋतु, संस्कृति, साँस्कृतिक सम्पदा, प्रेम, प्रणयलाई विम्ब बनाई गहिरो अर्थ लाग्ने गरी कलात्मक तरिकाले लेखिएका छोटा र चोटिला कविता नै हाइकु हुन् ।
ऋतुगत विम्बलाई किगो भनिन्छ । किगो हाइकुको मुटु जस्तो मानिन्छ ।
प्राकृतिकस्थल र साँस्कृतिक सम्पदाहरूमा भ्रमण गरी हाइकु लेख्दा उत्कृष्ट हाइकु लेख्न सकिन्छ । यसरी भ्रमण गरी हाइकु लेख्ने परम्पराको थालनी पनि हाइकु सम्राट माचुओ बासोले गरेका थिए ।
बासोले जापानका विभिन्न प्राकृतिकस्थलहरूको भ्रमण गरी तिनै स्थानका विम्ब टिपेर उत्कृष्ट हाइकु सिर्जना गरेका थिए । नेपालमा पनि विभिन्न प्राकृतिक र साँस्कृतिक स्थलहरूको भ्रमण गरी त्यहीका विम्ब टिपेर हाइकु सिर्जना गर्ने परम्पराको थालनी भइसकेको छ । हाइकु भ्रमण गरेर लेखिने विधाको रूपमा पनि स्थापित हुँदै छ ।
समाजमा भएका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गरेर पनि हाइकु सिर्जना गर्ने चलन संसारभरि मौलाई रहेको छ । यसरी लेखिने हाइकुलाई सेन्यू भन्ने चलन छ । सेन्यु हाइकुको एक उदाहरण यस्तो छ ः
चन्चल खेल
कामुक खेलाडीको
क्षणमै गोल
(प्रकाश पौडेल ‘माइला’)
हाइकु लेख्ने कविलाई हाइकु कवि, हाइकुकार भन्ने चलन छ । पछिल्लो समयमा हाइकु लेख्ने कविलाई हाइजिन भन्ने चलनले व्यापकता पाउँदै आएको छ । अङ्ग्रेजीमा भने एयभत भनेर नै सम्बोधन गर्ने चलन छ ।
नेपालमा हाइकु लेखन परम्पराको सुरुवात २०१९ सालबाट भएको हो । नेपालको पहिलो हाइजिन शङ्कर लामिछाने हुन् । उनले २०१९ सालको भदौ महिनाको रूपरेखामा ‘सूर्योदय’ शीर्षकको हाइकु प्रकाशन गरेका थिए । त्यो नै नेपाली भाषामा लेखेको पहिलो हाइकु थियो । शङ्कर लामिछानेको पहिलो हाइकु यस्तो थियो ः
माकुरा जाल
झोलिएको ओसले
तन्किदै गयो
नेपालको हाइकु लेखनको प्रारम्भ भएको लामो समयसम्म यस विधाले खासै महत्व पाएको थिएन । साठीको दशकपछि हाइकु विधामा नेपाली कवि र पाठकको रुचि ह्वात्तै बढेर आएको छ ।
२०७० सालमा रामकुमार पाँडेको नेतृत्वमा नेपाल हाइकु केन्द्र स्थापना भयो । स्थापनासँगै केन्द्रले सक्रिय रूपमा हाइकु सम्बन्धी विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
सूत्र र हरफ मिलाउँदैमा मात्र हाइकु नबन्न सक्छ । उत्कृष्ट हाइकुमा कम शब्दमा सौन्दर्य चेतना, स्मृति र अनुभूतिलाई व्यक्त गर्ने कला चाहिन्छ । थोरै पढेर धेरै दिमागी कसरत गर्ने अवसर हाइकुले दिनु पर्छ ।
नेपाल हाइकु सिर्जनाको हिसाबले उर्वरभूमि हो । हिमाल, पहाड, जङ्गल, झरना, नदीनाला, चराचुरुङ्गी, ताल–तलैया लगायत प्राकृतिक हिसाबले उर्वर भूमि हो । नेपाल साँस्कृतिक सम्पदा, वर्षभरि परिवर्तन भइरहने छ वटा ऋतुहरूका साथै साँस्कृतिक हिसाबले पनि धनी छ ।
नेपाली र जापानी भाषामा लेख्दा हाइकु ५÷७÷५ को सुत्रमा बाँधिएर लेख्न सकिन्छ ।
अङ्ग्रेजीमा भने यो नियम कार्यान्वयन हुन सक्दैन ।
एउटा हाइकुको भावमा आधारित भएर बनाइएको चित्रलाई हाइगा भनिन्छ । हाइगाको उदाहरण यस्तो छ ः
शुक्रवार नै
धरहरा ढल्दछ
समुद्र पुर्न
(रामकुमार पाँडे)
फोटो हेरेर त्यसकै पेरिफेरिमा रहेर लेखिएको हाइकुलाई चित्र हाइकु अथवा हाइबुन भनिन्छ । एउटा हाइबुन यस्तो छ ः
पानी खोज्दै छ
सुन्दर किमोयो त्यो
कुवा सुकेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु