योगिता राईको समयबोध का कवितामा मानवीय संवेदना

- बैद्यनाथ उपाध्याय

कवि गोपालदास नीरजले भनेका छन-जब लेख्नका लागि लेखिन्छ तब जे लेखिन्छ त्यस्को नाम हो गद्य, तर जब नलेखिकन बस्न सकिंदैंन र आफैं लेखिन्छ त्यस्को नाम हो कविता। कवयित्री योगिता राईको ‘समयबोध’मा संगृहीत कविताहरू पनि पहाडबाट प्रस्फुटित झरना जस्तै सतत प्रवाहित भएको देखिन्छ। यस संग्रहको पहिलो कविता ‘त्यो म जस्तै मान्छे’, अनि अन्तिम कविता ‘झमकको सम्झना’ ले उनको निष्कपट कवि मनको परिचय बहन गरेको छ।
रूपरङ्ग त्यसको मेरो भन्दा
अलिकति बेग्लै छ
बोली विचार फरक भए नि
रगतको रङ्ग एउटै छ।
चाहिंदो भोजन एकनास छैन
भोक भने तर हामी दुईको सँधै एकनासे छ।
मेरै जस्तो भोक भएको
त्यो... मजस्तै मान्छे।
सानैदेखि कविहरूप्रति उनको मनमा उच्च विचार रहेको कुरो उन्ले आफ्नो कुरामा यसरि लेखेकी छन- पहिलेदेखि सुन्दै आएको, कविहरू सानैदेखि भावुक, संवेदनशील, अध्ययनशील र लेखनमा असाध्यै रूचि राख्ने स्वभावका हुन्छन। मलाई लाग्छ कवयित्री योगिता राईको स्वभाव पनि धेर थोर यस्तै किसिमको हुनुपर्छ। उनका कविताहरू पढेर मलाई त यस्तै लाग्छ। ‘समयबोध’मा कुल पैंतीसवटा कविताहरू समाविष्ट भएका छन। सबै कविताहरू भावनाको उकुसमुकुस, जातीयताबोध, सांसारिक दुख-वेदनाका सुस्केराहरू, सामाजिक असमानताका पीडाहरूले ओत-प्रोत पनि छन। वास्तविक अर्थमा भन्नुपर्दा कविताहरू मर्मस्पर्शी अनि पठनीय हुनुका साथै पाठकको मनमा गहिरो छाप छोडने किसिमका छन।
शारिरीका अक्षमताको बाधा छिचोलेर मानवीय उत्कर्षको उत्तरणमा अघि बढिरहेकी नेपाली चेली झमक घिमिरेलाई लिएर उन्ले कविता रचेकी छन। यस्ले उनको सामाजिक सचेतनता र जिम्दारीको भावनालाई पनि प्रष्ट पारेको छ। ‘झमकको सम्झना’ कवितामा कवयित्री आफ्नो मानवीय उद्गार यसरि पोख्छिन-
जब पनि म
हिमाल देख्छु,
धरती देख्छु

घाम देख्छु
मलाई झमक सम्झना आउँछ।
उसो त उनी हेर्दा
हिमाल, धरती र घामजस्तो
पटक्कै देखिन्नन।
उनका कविताहरू सामाजिक सरोकारका कविता हुन। उन्ले हाम्रो समाजमा व्याधि स्वरूप रहेको जात-पातको व्यवस्थामाथि प्रहार गर्दै ‘जात’ शीर्षकको कवितामा यसरि लेखेकी छन-
लु आऔँ सबै मिलेर
यस लाशलाई
‘बरमुडा त्रिकोण’-मा पुऱ्याऔँ
अन्तिम संस्कार गरिवरी
किरिया खाऔँ
यो मुर्दा जात को।
कवयित्री आफैं नारी भएको हुनाले हाम्रो समाजमा नारीहरूको विवशतामाथि पनि उनले भावोद्गार गरेकी छन-
जुन साँझ घर पस्न
मलाई अबेर हुन्छ
जुठा भाँडाहरू
टेबलदेखि लिएर जुठेल्नासम्म
लबस्तर लडिरहेका हुन्छन।
अघि दिनभरि घामले
लाडे पल्टाइराखेका लुगाहरू
बाहिर तारभरि ठुस्किरहेका हुन्छन।
बिहान इष्टदेवलाई पुकारेर जलाएको दियो
निभिसकेको हुन्छ।
म आत्तिदैं ती सबैलाई सम्हाल्न थाल्छु
थाह छ मलाई
यो आत्तिएको ज्यानले कहिल्यै
तातो चिया पाउँदैन।
त्यसैले एक गिलास चिसो पानी पिउँछु।
म ठुस्केर बसेका
सबै देवीदेउरालीलाई
मानमनितो गर्छु
दर्जा अनुसारको पाती चढाउँछु।
यसरि उन्ले आफु नारी हुनुको विवशतालाई सम्पूर्ण नारी जातिको आधारमा प्रस्फुटित पार्न सफल भएकी छन। गरिबीको विभत्सतालाई उन्ले ‘डोकोहरू’ शीर्षक कवितामा यसरि अभिव्यक्ति दिएकी छन-
रित्ता डोकोहरू यी
रित्तै हातहरू बोकेर
रित्तो रित्तोझैं जिन्दगी जिउन
दिन रात व्यस्त रहन्छन।
...........................
यो चियाको बोटमा फल्ने पैसा
कहिल्यै नदेखेका
यी डोकाहरू
विश्वबजारको चियाको
ती मूल्य र स्वाददेखि
सँधै पल्लै छेउ टाढा बसेका
या बसाईएका यीहरू ।
कालो कित्लीको
फिका चियाले थकाई मार्छन
खुइय्य.....
देशका कृषकहरूको दूर्दशाको चित्र खिँच्दै ‘मेरो देश’ कवितामा कवयित्रीको कलम बोल्छ-
नसप्रने नफल्ने नपाक्ने
र नफल्ने त
ती हुतिहारा अभागी लोदरे
कृषकहरू हुन।
जो आफ्नो खेतबारीमा फसलभन्दा धेरै
ऋण फलाउँछन
फलेपछि आत्महत्या गर्छन
गरिरहन्छन।
स्सालाहरू...।
खडेरी परेको भाग्य
बोकेर जन्मन्छन/ मर्छन।
जसरी पनि मर्नै जन्मेकाहरू।
योगिता राई लेख्छिन- दार्जिलिङमा जन्मेर यहीं हुर्केकाले होला, दार्जिलिङ म आफैंभित्र पाउने गर्छु। दार्जिलिङले भोगेका कष्टहरू र त्यसका पीडाहरू जहिलेतहिले म आफैंभित्र दुखिरहेको अनुभव गरेकी छु। यस्तै दार्जिलिङको दुखाई र पीडाहरू उन्ले दार्जिलिङ-1, दार्जिलिङ-2 शीर्षक कविताहरूमा पोखेकी छन। अति सरल र सहज प्रकाशभङ्गीमा कविताहरू अधिक बोधगम्य र हृदयस्पर्शी पनि भएकाछन।
योगिता राईको साहित्यिक उत्तरणको विषयमा विशिष्ट लेखिका डा. वीणा हाङखिम लेख्नुहुन्छ- नेपाली साहित्यको क्षेत्रमा वर्तमान युवा पीढीको हाँचमा एउटा जल्दोबल्दो र छुट्टै शैलीद्वारा आफ्नो पहिचान बनाउन सक्षम योगिता राई गद्य-पद्य दुवै फाँटमा पाठकवर्गको मन जित्न सफल बनेकी छिन। काव्य क्षेत्रमा सहज कवित्व र गद्य लेखनमा सहज अभिव्यक्ति उनको पैराशी हो। उनी फूल-फूलबाट बास्ना लिन्छिन र माटोको सुगन्धबाट जीवनको लय भर्छिन र यसैले उनको अभिव्यक्तिमा एउटा बिर्सिनसक्नुको मोह छ।
वास्तवमा कवयित्रि योगिता राई नेपाली साहित्य जगत्मा एक उज्ज्वल सम्भावना लिएर उदाएकी छन। उनको लेखनीमा सहज, सरल र सतत अभिव्यक्तिको प्रबलता पनि छ। उनि साँच्चिकै जनता की कवयित्री हुन। जन मनको पीडा, दुखाई र भोगाईमा उनको भावोद्गार अभिव्यक्त भएको छ। यही प्रवृत्तिले उनलाई साहित्य आकाशमा निकै माथि पुऱ्याएको पनि छ। आउँदा दिनहरूमा लेखिकाका कलमबाट जनजीवनका सशक्त अभिव्यक्तिहरू प्रस्फुटित भै रहुन। मेरो लेखकीय हार्दिक अभिनन्दन योगिता राईज्यूलाई।

खांखलाबारी, उदालगुडी-784509, बीटीआर, असम।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु